कारी महतो

जितिया पर्व थारू महिलाहरूको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारू बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरूले पनि धूमधामसँग मनाउँछन् । महिलाहरू सँगसँगै पुरुषहरू पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरूको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ ।

जितिया पर्व ठाउ“ अनुसार केही फरक तरिकाले मनाईन्छ । पूर्वी तराईमा विवाहित महिलाहरू मात्र ब्रत बस्छन् । तर चितवन र यस आसपासका जिल्लाहरूमा विवाहित र अविवाहित सबैले समान रूपमा ब्रत बस्दछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाईन्छ । सप्तमीको दिनलाई “लाहा खाएके”, अष्टमीको दिनलाई “उपास” र नवमीको दिनलाई “पारन” भनिन्छ । जितिया व्रत दुई किसिमको हुन्छ– साधारण र खर जितिया । सप्तमीको बिहान ब्रतालुहरू नजिकको खोला–नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाउँछन् । नुहाइसकेपछि अलिकति तोरीको पिना घिरौलाको पातमा राखेर खोलामा बगाउने चलन छ । तर अचेल घिरौलाको पातको सट्टा कर्कलाको पात पनि प्रयोग गरिन्छ ।

जितिया ब्रत कथा अनुसार चील्हो, सियरो नाम गरेका चील र स्याल जस्ता जनावरहरू पनि जितिया ब्रत बस्ने भएकोले ती जनावरहरूका निम्ति पातमा राखी पिना बगाउने गरिएको हो ।

जितिया ब्रत कथा अनुसार चील्हो, सियरो नाम गरेका चील र स्याल जस्ता जनावरहरू पनि जितिया व्रत बस्ने भएकोले ती जनावरहरूका निम्ति पातमा राखी पिना बगाउने गरिएको हो । त्यस दिनभरि चोखो बसी बेलुका फेरि खोलामा गई नुहाउँछन् । सोही राती कुखुरा नबास्दै “डट्खट” वा दर खाने गर्दछन् । “खर जितिया” व्रतमा “डट्खट” खाइँदैन । दर खाइसकेपछि ब्रतालुहरू जाग्राम बस्नुपर्दछ । उनीहरूले प्रत्येक घरबाट गीत गाउने महिला र पुरुषहरूलाई ब्युँझाएर गाउँको एकै ठाउँमा भेला गराउँछन् । ती रौराहर (गवैया) महिला पुरुषहरूले त्यसबेला गाउने गीतलाई “बदहा गीत” भनिन्छ । बदहा गीत भोलिपल्ट अर्थात् अष्टमीको बिहानसम्म गाउने चलन छ । बिहान सबेरै ब्रतालुहरू सबैजना खोला–नदीमा गई स्नान गर्छन् र अघिल्लो दिनझै पातमा पिना राखी बगाउँछन् । स्नान गरेर फर्केपछि सबैजना भेला भई बेलको पात टिप्न जान्छन् । त्यसलाई “बेलपाती लोर्हे जाई” भनिन्छ । ब्रतालुहरूसँगै गवैया महिला पुरुषहरू पनि जान्छन् । बेलको रूखको चारैतिर ब्रतालुहरू “झमटा नृत्य” र गीत प्रस्तुत गर्दछन् । त्यसबेला गाउने गीतलाई “फुला लोर्होनी गीत” भनिन्छ । गीत समाप्त भैसकेपछि मात्र ब्रतालुहरूले बेलको पात टिप्छन् । बेलको पात घरमा ल्याइसकेपछि उनीहरूले एक दुई माना जति मास भिजाएर राख्छन् । त्यस दिन ब्रतालुहरूले पानी पनि नखाई उपवास बस्छन् । त्यसदिन महिलाहरू नयाँ सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झमटा नृत्यमा झुमेर रम्छन् ।

उपाबासको बेलुकीपख करीब तीन–चार बजेतिर ब्रतालुहरू फेरि खोलामा गई पिनाले नुहाई पातमा अलिकति पिना बगाउँछन् । त्यसपछि घरमा आई नयाँनयाँ पहिरनमा जम्मा भई पाकडी वा पीपलको बोटमूनि झम्टा नृत्यमा झूम्छन् । गवैया महिला पुरुषहरू पनि त्यहाँ जम्मा भई गीत गाउछन् । त्यसबेला गाउने गीतलाई “डार कटोनी गीत” भनिन्छ । उता केटाहरु रूखमाथि चढेर रूखको हाँगा काट्न तम्तयार हुन्छन् र गीत सकिएपछि एउटा सानो हाँगा काटेर झारीदिन्छन् । ब्रतालुहरूले त्यस हाँगालाई भुइँमा नखसालाी कथा सुन्ने ठाउँमा लिएर जानु पर्ने हुन्छ । तर बाटोमा केटाहरूले एउटा मोटो रस्सी तेस्र्याएर बाटो छेक्छन् । गवैयाहरुले सुरिलो स्वरमा गीत सुनाएपछि बल्ल बाटो छोड्छन् । त्यसबेला गाउने गीतलाई “डगरोट गीत” भनिन्छ ।

कथा सुन्ने ठाउँमा त्यो हाँगा गाडेर सानो रूख बनाइन्छ । रूखमा चीलको गुँड पनि बनाइन्छ । त्यस रुखको चारैतिर ब्रतालु महिलाहरु फलफूल, पानी, दूध, दहि साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् । 

कथा सुन्ने ठाउ“मा त्यो हा“गा गाडेर सानो रूख बनाइन्छ । रूखमा चीलको गुँड पनि बनाइन्छ । त्यस रूखको चारैतिर ब्रतालु महिलाहरू फलफूल, पानी, दूध, दहि साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले जितिया ब्रत कथा घण्टौँ लगाएर सुनाउँछ । कथा सकिएपछि सबैजना घर गएर फलाहार गर्छन् । त्यसलाई “फराहर” भन्छन् । भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु फेरि खोलामा नुहाएर खोलाको किनारमा निराकार प्रतिमूर्ति (जसलाई थारू भाषामा “गरग्वाङ” भनिन्छ), बनाएर मासको गेडाले पूजा गर्छन् । मासको गेडा केही दिनपछि त्यस “गरग्वाङ” मा राम्ररी उम्रिएमा त्यस ब्रतालुको सन्तान सुखको राम्रो लक्षण मानिन्छ । खोलाबाट घर आइसके पछि ब्रतालुहरू दहीचिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानु भन्दा अगाडि गुइँठाको अङ्गारमा काठको धुप बाली सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई “पारन” भनिन्छ । त्यसपछि भने ब्रत सकिन्छ र ब्रत सकिएपछि अन्य परिकार माछा, मासु लगायत खान्छन् । पारन गरिसके पछि बाँकी रहेको भिजाएको मास भुटेर खान्छन् । त्यसदिन पनि दिनभरि झम्टा गीत र नृत्य गरिन्छ साथै सबैको घरबाट केरा, चिउरा, फलफूल बटुलेर कथा भन्ने मान्छे र पिपलको हाँगा काट्ने केटाहरूलाई दिन्छन् । यसरी जितिया पर्व सकिन्छ ।

जितिया ब्रतको कथासारः
जितिया ब्रत कथालाई जितबाहनको कथा पनि भनिन्छ । यो कथा परापूर्वकालदेखि प्रत्येक बर्ष जितियामा ब्रत बस्ने महिलाहरूले अनिवार्य सुन्नै पर्ने हुन्छ । यो कथा नसुन्ने ब्रतालुहरूको ब्रत अपुरो भएको मानिन्छ । वास्तवमा, यो कथा एउटा पौराणिक तथा नैतिक कथा हो । यसले ब्रतालुहरूलाई अनुशासित र कर्तव्यपरायण बनाउनमा निकै महत्वपूर्ण भूमिका खेल्छ । यो कथाको पूरा अंश भन्न सात आठ घण्टा लाग्छ तर अचेल एक दुई घण्टामै पनि सिध्याइन्छ । कथालाई मुख्य दुई खण्मा व्याख्या गरिन्छ । ती दुई खण्डमा पनि अन्य सहायक खण्डहरू छन् । यहाँ पहिलो खण्डको मात्र सारांश उल्लेख गरिएको छ ।

कथा अनुसार एउटा छुट्टै संसारमा छुट्टै राज्यको उदय हुन्छ जहाँ दुई वर्गको पनि अस्तित्व हुन्छ । एउटा वर्ग राजखान्दान र अर्को रैती । 

कथा अनुसार एउटा छुट्टै संसारमा छुट्टै राज्यको उदय हुन्छ जहाँ दुई वर्गको पनि अस्तित्व हुन्छ । एउट वर्ग राजखान्दान र अर्को रैती । सोही राज्यमा एउटा अविवाहित बुढीकन्याले कुनै पुरुषको संसर्ग विना नै एउटा छोराको जन्म दिन्छ । उमेर पाको भएकोले सबैले ती कन्यालाई “मस्वासी बुढीया” भन्थे र उनको छोरोलाई “मस्वासी बुढीयाको छोरा” । बुवाको कुनै अत्तोपत्तो नभएकोले छोराको नामाकरण नै भएन । आमाले छोरालाई “बबुवा” भनी सम्बोधन गर्थे । हुर्किंदै बढ्दै जाने क्रममा त्यो बालक अति नै तीक्ष्ण बुद्धि भएको र निकै प्रतिभावान बन्दै गए । जुनसुकै खेलकुदमा उसलाई हराउन सक्ने कोही पनि भएन ।

राजखन्दानका बालकहरूसँग खेल्ने क्रममा पनि सबैलाई जित्दै जान्थे । हारेको रिस पोख्ने क्रममा ती राजखान्दानका बालकहरूले उनलाई निकै पिट्थे । तर एकदिन पिटाइसँगै गाली गरे । उनलाई भनिएको थियो– “बिना बाउको छोरो” । त्यो बचन बाणको शब्दले उनी निकै रोए । ऊ सधैँ झैँ  रुदै घर आउँथे तर त्यस दिन आमाबाट आफ्नो बाबाको बारेमा जान्ने अडान लिन्छ । केही सीप नलागी आमाले बाध्य भएर आफ्नो जीवनमा घटेको घटनाको वृतान्त सुनाउछिन् । वास्तवमा उक्त गरीब बुढी एक्लै बस्थे । एकदिन राजपरिवारका सदस्यको क्रियाक्रमका लागि बुढीलाई पनि रक्सी बनाउन धान ल्याइ दिएका हुन्थे । तर वर्षात को मौसमका कारण धेरै दिन झरी बादल लागेर धान सुकाउन नपाएकोले बुढीले भगवानको जप गर्दै जसरी भए पनि धान सुकाउने व्यवस्था मिलाई दिन प्रार्थना गरिन् र आफ्नो भाकल पूरा भए पछि आफूले भगवानले चाहेको कुरा अर्पण गर्ने भाकल गरिन् । भाकल पूरा भएपछि बुढीले आफ्नो बाचा बिर्सिइन् जसले गर्दा भगवानले श्राप दिदै घरको करेसाबारीमा पिसाब फेरिदिए ।

राजखन्दानका बालकहरूसँग खेल्ने क्रममा पनि सबैलाई जित्दै जान्थे । हारेको रिस पोख्ने क्रममा ती राजखान्दानका बालकहरूले उनलाई निकै पिट्थे । तर एकदिन पिटाइसँगै गाली गरे । उनलाई भनिएको थियो– “बिना बाउको छोरो” ।

पिसाबबाट हरियो लहलहाउँदो साग उब्जियो तर श्रापको कारणले वरिपरिका सबै तरकारीका बोट सुकेर गए । तरकारीको अनिकालमा बुढीले भगवानले पिसाब फेरेको ठाउँमा उम्रेको साग पकाएर खाएपछि सोही दिन देखि गर्भवती भएको सबै कहानी बुढीले आफ्ना छोरालाई बताउँदै “बाबु तिम्रो बाबा स्वयम् भगवान नै हुन्” भनी आश्वस्त पारिन् । अब भने छोराको मन शान्त त भयो तर छोराको अर्को अडान बुढीआमाले थेग्न सकेन । वास्तवमा छोराले लिएको अडान थियो “बाबाको खोजी गरेर आफ्नो नामाकरण गराउने” ।

केही सीप नलागी बुढी आमाले आफ्नो एक्लो सहारा आफूबाट टाढा पठाउन बाध्य भइन । त्यो केटो वर्षौसम्म बाबाको खोजीमा भौतारिँदै गए र त्यस क्रममा उनले थुप्रै थुप्रै दुःख र पीडामा बाँचिरहेका मानव र पशुपंक्षीहरूलाई भेटे र सबैको आग्रह बमोजिम उनीहरूको दुःखको कारण र त्यसबाट मुक्त हुने उपाय पनि भगवानबाट पत्ता लगाउने आश्वासन दिँदै गए । कठोर यात्रापछि उनी त्यस्तो ठाउँमा पुगे जहाँ समुद्र पार गर्न सकेको खण्डमा आकाशको र धर्तीको मिलन हुने क्षितिज फेला पर्छ । त्यसै ठाउँबाट आकाशमार्ग भएर उनले भगवानलाई भेट्न सफल भए । उनी देवी देवताको रथ गुड्ने बाटोमा कुरेर बसे । त्यस बाटो भएर गुड्ने सबै रथ रोक्दै “भगवान को हो ?” भनी सोध्थे । देवी देवताको रथ रोक्न सक्ने बालक कुनै साधारण बालक हुनै नसक्ने अड्कलकासाथ सबैले भगवानकै छोरा भनी परिचय पाउथे ।

अन्तमा त्यो बालकले भगवानको पनि रथ रोकी दिन्छ । भगवान पनि अचम्ममा पर्दै “को हौ तिमी” भनी सोधे । बालकले आमाको सबै कथा सुनाएर उनकै छोरा भएको पुष्टि गरेपछि भगवानले पनि आफ्नै छोरा स्वीकार गरी काखमा राखी मुख्य उद्देश्यको बारेमा सोध्छन् । आफ्नो छोरा पहिचानको लागि यति संघर्ष गरी भेट्न आएको थाहा पाई नामाकरण गरी पहिचान दिन्छन्– “आजै देखि तिम्रो नाम ‘जितबाहन’ भयो, संसारका सबै प्राणी जगतले तिम्रो नाममा ब्रत बस्नेछ ।” त्यति मात्र नभई बालकले यात्राको क्रममा भेटिएका सम्पूर्ण पीडित र दुखीहरूको रहस्य पनि भगवानबाट थाहा पाए अनि त्यसबाट छुटकारा दिलाउने उपाय पनि आशीर्वाद स्वरूप पाए । फर्किने क्रममा पहिले आफूले भेटेका सबै दुखी प्राणीहरूलाई उनीहरूका दुःखका रहस्य र मुक्तिको उपाय भन्दै गए । वास्तवमा ती दुखीहरूको दुःखको कारण उनीहरूको पूर्वजन्मको फल नभई यही जन्ममा गरेको कुकर्मको फल हो भनी बताउँदै फर्के ।

आफ्नो छोरा पहिचानको लागि यति संघर्ष गरी भेट्न आएको थाहा पाई नामाकरण गरी पहिचान दिन्छन्– “आजै देखि तिम्रो नाम ‘जितबाहन’ भयो, संसारका सबै प्राणी जगतले तिम्रो नाममा ब्रत बस्नेछ ।”

उनले दिएका ज्ञानगुनका उपदेशहरू यसप्रकारका छन्, “आफ्नो व्यक्तिगत मात्र नभई अरूको सरसफाइमा पनि ध्यान दिनुपर्ने, वातावरण सरसफाइमा ध्यान दिनुपर्ने, पाहुनाहरूको सत्कार गर्नुपर्ने, अरूको बालीनाली मास्न नहुने, बाटोघाटो मास्न नहुने, आफ्नै खाद्यान्नमा चित्त बुझाउनु पर्ने, आफूले जानेका ज्ञानगुनका कुराहरू अरूलाई सिकाउनु पर्ने, छोराछोरीको विवाह समयमै गरिदिनु पर्ने” इत्यादि हरेक उपदेशको छुट्टाछुट्टै पट्कथाहरू पनि जितियाको कथाको यस खण्डमा रोचक तरिकाले बयान गरिन्छ ।

वर्तमान समयमा कथाको सान्दर्भिकताः
थारू समुदायमा जितियाको व्रत बसेका व्रतालुहरुले सुन्ने जितबाहनको कथा निकै महत्वपूर्ण मानिन्छ । निष्ठापूर्वक ब्रत बसी बेलुकाको समयमा जितबाहनको कथा सुन्ने महिलाहरू जीवनभरि नै अनुशासित हुन्छन् । महिलाहरूलाई मात्र नभई पुरुष वर्गलाई पनि कथाले विभिन्न व्यावहारिक ज्ञान सिकाउँछ र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनका लागि कथाले महत्वपूर्ण भूमिका खेल्दछ । बाबाआमाले आफ्ना छोराछोरीले बिराएको समयमा “तिमीले जितियाको कथा सुनेनौँ ?” भनी झक्झकाउने गर्दछन् ।

वर्तमान समयमा नैतिकताको खडेरी पर्न थालेको बेलामा थारू लगायत जितिया पर्व मनाउने सबै समुदायलाई जितियाको या जितबाहनको कथाको माध्यमबाट नैतिकवान बनाउन सकिन्छ । पहिचानको वकालत गर्नेहरुले समेत जितबाहनले चाहेकै जस्तो पहिचान खोजीरहेका प्रसंग पनि मिल्छ । कथाअनुसार आफ्नो नाम या पहिचानका लागि भगवानलाई भेट्न हिँडेको केटोले आफ्नो नामाकरण मात्र चाहेको भए उसले बाटोमा भेटेका दुःखीहरूको पीडालाई कम गर्न सक्ने थिएन । तर उनले पाएको अधिकार सहितको पहिचानले सबैको दुःख पीडाबाट मुक्तिको मार्ग पहिल्याउन सफल भए ।

देशको वर्तमान परिस्थितिमा पहिचान पक्षधरले चाहेको पहिचान पनि यस्तै खालको अर्थात् सबै वर्ग, जाति, लिंग, धर्म, क्षेत्रको पीडा कम गर्न सक्ने खालको पहिचान हो । यसकारण पनि जितबाहनको कथा एउटा पौराणिक कथा भएता पनि समय सान्दर्भिक रहेको देखिन्छ । 

इन्डिजिनियस भ्वाइसबाट साभार

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।