प्रकाश तिरुवा

तिबेला नेपाली कांग्रेस महाधिवेशन केन्द्रित गतिविधिमा सामेल भएको अवस्था छ । लोकतान्त्रिक पार्टीका लागि नेतृत्व परिवर्तन एउटा उत्सव हो । नेतृत्व परिवर्तनसँग  पार्टीको आन्तरिक जीवन्तता र भविष्यसँग जोडोएको हुन्छ भने बाह्य रूपमा जनताका सामु सार्थक उपस्थिति साथै मुलुकको समुन्नति जोडिएको हुन्छ । नेतृत्व विश्वव्यापी रूपमा स्वीकारयोग्य, गतिशील र भू-अर्थराजनीतिका सम्बन्धमा जानकार भएको हुनुपर्दछ । नेतृत्व आफैँमा बहुविधात्मक हुनुपर्दछ । नेतृत्व परिवर्तन औपचारिकतामा मात्र सीमित नभएर पार्टीको आन्तरिक रूपान्तरण र मुलुकको आर्थिक र सामाजिक रूपान्तरणमा प्रभाव पार्ने खालको हुनुपर्दछ । नेतृत्व परिवर्तनले देशको आन्तरिक भूराजनीतिमा रूपान्तरण र बाह्य रूपमा विश्वव्यापी सम्पर्क सेतुको भूमिका निर्वाह गर्न सक्दछ ।

नेपालको एक मात्र पुरानो संसदीय राजनीतिको मुलधारको पार्टी भएकाले यसको आसन्न महाधिवेशनका सम्बन्धमा चासो हुनु स्वाभाविक नै हो । अझ यो विशेष परिस्थितिमा नेपाली कांग्रेसको महाधिवेशन हुँदैछ त्यसैले पनि आम सर्वसाधारणले कांग्रेसको आगामी नेतृत्वका सम्बन्धमा चासो खाख्नु एउटा लोकतान्त्रिक पार्टीका लागि सुखद कुरा नै हो ।

१४औँ महाधिवेशनको मिति तय भएसँगै राजनीतिक वृतमा पार्टी नेतृत्व परिवर्तनको बहस अहिले काँग्रेसका विभिन्न तहमा चलिरहेको छ ।

देउवा र पौडेलको पुस्ताबाट अब पार्टी चल्दैन भन्ने विषय जोडतोडले उठिरहेको छ । जुन विषय कांग्रेसको १३ औँ महाधिवेशनमा पनि उठेको थियो । अहिले पुनः साेही विषय कांग्रेसको आन्तरिक राजनितिको मुख्य विषय बनेको छ । नेताहरू विभिन्न समूह र ठाउँमा आन्तरिक छलफलमा व्यस्त छन् । कोरोना माहामारीको यो समयमा पनि नेताहरू विभिन्न माध्यमबाट आगामी महाधिवेशनमा नेतृत्वका विभिन्न तहमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् । यसैबीच कांग्रेसका युवा नेताहरूले पनि अब युवा एक ठाउँमा आउनुपर्छ भनेर एउटा नेतृत्व परिवर्तनको मुद्धालाई मूलभूत रूपमा उठाउने भनेर सामूहिक प्रतिबद्धता जाएर गरेका थिए । जसमा गगन थापा, बद्री पाण्डे, धनराज गुरुङ, जीवन परियार, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदिप पौडेल, रामहरि खतिवडा लगायतका युवा पुस्ताका नेताहरूको संलग्नता थियो । उनीहरूको सामूहिक प्रतिबद्धताको मुख्य विषय नै युवा नेतृत्व थियो । जुन १३ औँ महाधिवेशन ताका पनि उठेको थियो तर कार्यान्वयन हुन सकेन । त्यसपछि २०७४ को आम निर्वाचनमा पार्टीले लजास्पद हार सामाना गरेपछि वर्तमानमा नेतृत्वको बढी आलोचना भएको थियो जसको नेतृत्व गगन थापाले नै गरेका थिए । अग्रिम महाधिवेशनको माग राखेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने अभियानको नेतृत्व पनि थापाले नै गरेका थिए । पछि केही युवाहरूको समूहले लिखित रूपमा नै नेतृत्वप्रति असहमति जनाएका थिए यी सबै कुराको संकेत नै युवा नेतृत्वको थियो भन्दा फरक नपर्ला ।

नेपाल र दक्षिण एसियाली युवाहरू सिर्जनशील र ऊर्जावान हुन्छन् । ती विदेशमा नि श्रम गर्छन् । तिनका कर्म योग्यता र कार्य दक्षता अनुसार विविध हुन्छन् । धेरै युवाहरू गतिशील छन् । नेपालको ११ औँ जनगणना २०६८ अनुसार कुल जनसंख्याको ४० प्रतिशतभन्दा अलि बढि युवाको जनसंख्या छ । जुन अहिले केही परिवर्तन भएको होला । नेपालको राजनीतिलाई युगसापेक्ष अगाडि बढाउने काम कसैले गर्छ भने त्यो युवाबाट मात्र सम्भव छ । युवा भविष्यका सम्वाहक र वर्तमानका गति हुन् । युवाको परिचालन नै समृद्धिको मार्ग तय गर्ने आधारशीला हो । तर, वर्तमान पुस्ता त्यति सहजै युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छैन । अझ कांग्रेसमा त यो कुरा सम्भव प्रायः देखिँदैन । किनकि वर्तमान नेतृत्व नै अहिलेसम्म नेतृत्वको दाबेदारीमा देखिन्छ । वर्तमान सभापति देउवा पुनः एक कार्यकाल सभापति दोहोरिने सोचमा छन् भने १४ औँ महाधिवेशनमा देउवाका प्रतिद्वन्द्वी पौडेलदेखि सशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, विमलेन्द्र निधि, कल्याण गुरुङ, सुजता कोइराला, शेखर कोइराला लगायतकाले सभापतिमा दावेदारी प्रस्तुत गरेका छन् ।

यीमध्ये गुरुङ एकमात्र युवा पुस्ताका नेता हुन् । जसले सधैँ पार्टीभित्र र बाहिर सवल कांग्रेसको आवाज बुलन्द गरेको पाइन्छ । वर्तमान पुस्ताको तर्फबाट सायद यदि ठूलो 'रिक्स' मोल्ने शक्ति कसैमा छ भने त्यो कल्याणमा देखिन्छ ।उनी 'रिक्स' लिन तयार भएको कुरा उनको उम्मेदवारी घोषणाले  प्रमाणित गरेको छ।

यसरी उम्मेदवारीमा पहिलो पुस्ताको दावेदारी देख्दा दोस्रो पुस्ता नेतृत्वको प्रमुख पदमा आशा गर्ने ठाउँ छैन । त्यसैले   यसैपटक युवा नेतृत्व सभापतिमा आउने सम्भावना कम देखिन्छ । पार्टी बडो निर्दयी हुन्छ । समाजको चाहाना, आवश्यकता र भविष्यसँग कुनै सम्बन्ध हुँदैन । अझ कांग्रेस त विरासत र वरिष्ठतामा विश्वास गर्दछ । कांग्रेसमा एजेन्डा, विचार र कार्यक्रम भन्दा गुट, उपगुट, परिवारवाद र विरासत साथ साथै गिरोहले काम गर्छ । त्यहीँबाट जितेर आउनु दोस्रो पुस्ताका नेतालाई गाह्राे छ ।

जबसम्म पहिलो पुस्ता स्वेच्छाले आफ्नो दावेदारी छाड्दैन, तबसम्म युवा वा दोस्रो पुस्ता नेतृत्वमा आउँने सम्भावना भिमकाय छ । वर्तमानलाई नियाल्दा दोस्रो पुस्ता वा युवाले उम्मेदवारी घोषणा मात्र गर्ने साहासले युवाहरू परिवर्तनका लागि तयार छन् भन्ने हो । तर, एकाध युवाहरूले नेतृत्वका लागि दाबेदारी प्रस्तुत गरे तापनि कांग्रेसमा अधिकांश युवा जमात पदलुप्ता र आफू सधैँ सत्ता र शक्तिको कारिन्दा बन्न विभिन्न गुट, उपगुटमा आशातीत छन्।

दोस्रो पुस्तामा नेतृत्व परिवर्तनमा युवा हुनुपर्छ र अझ पहिलो पुस्ताको अभिभावकीय भूमिका रहनुपर्छ भन्ने चेत जबसम्म विकसित हुँदैन तबसम्म कांग्रेस आन्तरिक पार्टी सुदृढीकरणमा रुमलिन्छ । पहिलो पुस्ताले नेतृत्वमा पुनः दावेदारीले झन युवा वा दोस्रो पुस्ता पुनः पहिलो पुस्तालाई स्वीकार्न तयार छन् भन्ने कुराको आभाष दिलाउँछ जुन यो कांग्रेस पार्टीका लागि नि दुखद कुरा हो । आम सर्वसाधरण र कार्यकर्ता पंक्तिमा वर्तमान नेतृत्वबाट सबल कांग्रेस निमार्णको सम्भावना छैन भन्ने धारणा समय-समयमा एदाकदा सुनिन्न्छ ।

यी विचार वा धारणालाई आधार मान्ने हो भने नि वर्तमान नेतृत्वमा भएका र पहिलो पुस्ताका नेताहरूले नेतृत्वमा दावेदारी छोडेर एउटा अभिभावकको भूमिका निभाउने सम्भावना न्यून छ ।

वर्तमान पार्टी सभापतिले नै पुन नेतृत्वमा दोहोरिने कुरा गर्दा यो विषय झन पेचिलो बनेको छ । सामान्य पारिवारिक पृष्ठभूमिबाट कांग्रेसको राजनितिमा होमिएका देउवाले दुई दशक देखि नै आफ्नो गुट 'इन्टयाक्ट' राखेका छन् । उनको पार्टीमा लामो संघर्ष छ तर उनी टेस्ट हुन् । तैपनि पार्टीको नेटवर्किङ प्रणालीमा उनी एक्लैको ४० प्रतिशत भन्दा बढी पकड छ जुन भंग गर्ने वा नगर्ने हात महेन्द्र नारायण निधि पुत्र विमलेन्द्र निधिमा निहीत छ । तर, निधि स्वयंम सभापतिका लागि लभिङमा छन् जसले गर्दा देउवालाई केही सक्स छ । निधिको पनि पार्टीमा त्याग  र लगानी कोही भन्दा कम छैन । अझ भन्दा विविधता समेट्न र पहाडिया चिन्तनबाट मुक्त हुनपनि एकपटक नेतृत्वका लागि निधि नेतृत्व तहमा हुनुपर्ने थियो । तर, कांग्रेसकाे चिन्तन मनमनमा एकल निर्णय वा पहाडी खस-आर्य मात्र नेतृत्वमा हुनुपर्छ भन्ने चिन्तन बोकेको जमात ठूलो छ जुन कुरा निधि स्वयंमलाई पनि अवगत छ तर वर्तमान संविधान र पार्टीको विधानले परिकल्पना गरेको समाजवादउन्मुख पार्टी निमार्णका लागि पनि उत्पीडित वर्ग, समुदाय कांग्रेसको मुल नेतृत्वमा आउँदा पार्टीलाई थप मजबुद बन्न टेवा पुग्छ भन्ने कुराकाे बोध छैन ।

कांग्रेसका लागि निधि एउटा भोट बैंङ्क र नेतृत्वमा सबैलाई समान अवसर छ भनेर उदाहरणार्थ पेश गर्न मिल्ने पात्र बन्न सक्थे जुन कुरा कांग्रेसमा भएको कार्यकर्ता पंक्तिले बुझ्नुपर्छ तसर्थ निधिको पनि नेतृत्वमा आउने सम्भावना यही महाधिवेशनमा न्यून छ तर देउवालाई उनले गरेको दाबीले सकस चाहिँ छ । इतर पक्षका (रामचन्द्र, शशांक, प्रकाशमान, शेखर, सिटौला लगायत) सबै मिल्दा ६० प्रतिशत होल्ड छ । त्यसमा नि सिटौला पक्षको करिब १५ प्रतिशत भएको अनुमान गर्न सकिन्छ । सिटौला पक्षका जनाधार भएका नेता थापा आफैँ हुन् । यो अवस्थामा युवा सार्थक हुन्छ/ हुँदैन यो अहिले भन्न सकिने अवस्था छैन जसका लागि आगामि मंसिरसम्म कुर्नुपर्ने हुन्छ ।

पार्टीभित्रको गुट, उपगुट, नेताहरूको सिन्डिकेट र प्रतिनिधिमूलक परम्परागत निर्वाचन प्रणाली छिचोल्दा नेतृत्व समाल्ने भूमिकामा युवापुस्ता आउन सकस पर्ने देखिन्छ ।

यति मात्र होइन विपी पुत्र शशांक, निधि पुत्र विमलेन्द्र र सिंह पुत्र प्रकाशमान जो विरासतका उपजका रूपमा कांग्रेसको राजनितिमा ब्याजको फाइदामा छन् । उनीहरूलाई इन्काउन्टर दिन त्यति सहज छैन । किनकि कांग्रेसमा विचार, चाहाना, पार्टी र देशलाई सवल बनाउन सक्ने नेतृत्व भन्दा वरिष्ठता र विरासतमा विश्वास गरिन्छ । नेतृत्व सबल भएमात्र पार्टी सबल हुन्छ । विरासत र वरिष्ठताले भारतीय कांग्रेसको अवस्थामा पार्टीलाई पुर्याउन सक्छ। त्यसैले आगामी कांग्रेसकाबीच तमाम चुनौतीका पहाड छन् ।

एकातिर कम्युनिष्टमा आएकाले फुटको फाइदा लिनुपर्ने छ भने अर्कोतिर आन्तरिक शक्ति सन्तुलन जुन कुराको सामना गर्न सक्षम नेतृत्व आवश्यक छ । अहिलेको जटिल परिस्थितिमा भविष्यका निम्ति आशावादी हुने केही ठाउँ छन् कि भनी खोज्दा एउटा आशलाग्दाे क्षेत्र हो युवा जगत । तर युवा नेतृत्व उमेरले मात्र होइन । नयाँ सोच, संस्कृति र मुल्यमान्यता बोकेर आउने जुनसुकै उमेरको नेता भएनि त्यो युवा हुनसक्छ  ।

तर, त्यसरी कोही अगाडि आउन सक्ने ढोका पनि नेतृत्व हस्तान्तरणमार्फत नै खुल्ने गर्छ । यो कुरा सधैँ अनुत्तरित छ नेतृत्वका लागि उमेद्वारी घोषणा गर्न तम्सिएका कसैसँग पनि पार्टीको खस्कँदो सागलाई  पुनर्जीवन दिने न त ठोस योजना नै छ नत कुनै कार्यक्रम,  छ त केवल कुनै गुटको सहायता एकले अर्कालाई हराउने र नेतृत्वमा आउने । यो अवस्था वर्तमान सभापति देखि नेतृत्वका आकांक्षी सबैमा विद्यमान छ ।  तसर्थ सवल कांग्रेसका लागि हामीलाई वास्तवमा राजनितिमा नेतृत्वको अभाव खड्किएको छ ।

नेतृत्व तहमा युवा किन के लागि यो कुराको कांग्रेस जनमा बोध हुन सकेको छैन । यसका पछाडि म स्वयंम युवा नै दोषी देख्छु । युवा दोस्रो पुस्ता किन दोषी छ भने उनीहरू कहिले पनि नेतृत्वलाई सबल पार्टी बनाउन दबाव दिँदैन  बरू आफैँ गुटगत बचाउ र गुट निर्माणमा तल्लीन छन् ।

उदाहरणार्थ नेविसंघ लगायतका कांग्रेसका शुभेच्छुक तथा भातृ संगठनको जीवन्तताका लागि कोही युवाले सवालजवाफ गरेको देखिँदैन । युवा परिवर्तनका संवाहक हुन् जुन इतिहासले स्विकारेको छ । युवा शक्ति हो जुन प्रमाणित छ । तैपनि युवा जमात आफूमा भएको युवा शक्ति आफू पद र सत्ताको कारिन्दा बन्न चाहन्छ भने यो भविष्य माथिको बेइमानी हो ।

राजनीति के हो र राजनीतिक उदेश्य के हो भन्ने बारेमा बारम्बार युवाहरूका मत विभाजन हुनुले विविधता भएको महसुस हुन्छ । राजनीति भनेको साम्यवाद, समाजवाद, पुँजीवाद, गान्धीवाद, मण्डलावाद, मोदीवाद, देउवावाद आदिको प्रयोग होइन । मूलभूत रूपमा राजनीतिको उदेश्य भनेको त समाज वा राष्ट्र वा दुनियाँको हितका लागि समानता र विकासका लागि निश्चित उद्देश्यका साथ अगाडि बढ्ने र राज्य सञ्चालनमा भूमिका खेल्ने प्रक्किया हो । वादहरू त केवल पार्टी निमार्णका आधार हुन् तसर्थ दोस्रो पुस्ताले वाद भन्दा माथि उठेर सवल पार्टी निमार्णका लागि नेतृत्व परिवर्तनका लागि नेतृत्व लिनु आझको ज्वलन्त आवश्यकता हो । जसले गर्दा पार्टी र देशको लागि हिमायती बन्ने अवसर आम युवालाई प्राप्त हुन्छ ।

विगतको स्मरण गर्दापनि कांग्रेसको नेतृत्व पिपुल म्यान्डेटलाई वायरिङ वेसमा स्वीङ गर्ने खालको पाइँदैन । उदाहरणका लागि २०४८ सालको चुनावपछि  कांग्रेसमा देखा परेको  गणेशमान र  गिरिजाको विवादलाई लिन सकिन्छ । त्यो विवादको अन्तर्वस्तु केलाउन नसक्ता नेपालको संसदीय प्रणालीको विकासको गति आझको स्थानमा आएको हो । त्यसैको परिणामस्वरूप जीवनको उत्तरार्द्धमा गणेशमान र किसुनजीले पार्टी छोड्नु पर्यो । यसरी जीवनको उत्तरार्द्धमा सन्त नेता किसुन जी र गान्धीपथका समर्थक क्रान्तिका नायक त्यागि नेताले म कांग्रेस रहिनँ भनेर घोषणा गर्नु पनि नेतृत्वको असफलता हो । यसको फलस्वरूप नेपाली कांग्रेसको आन्तरिक राजनीति र मुलुकको राजनीति दुर्घटनाग्रस्त भयो । त्यसको निरन्तरता आज पनि कायम छ ।

वर्तमानमा आमसर्वसाधरणमा राजनीतिकाप्रति वा राजनीतिक दलसँग भरोसा समाप्त भएको अवस्था छ । मल्टिपार्टी सिस्टम भएको र समाजवादउन्मुख संवैधानिक व्यवस्था भएको आवधिक निर्वाचनलाई आत्मसाथ गरेको मुलुकका लागि पार्टी सत्तामा पुग्नुलाई मात्र उपलब्धि मानिँदैन, सार्थक उपस्थितिका माध्यमद्वारा जनता र सरकारका बीचमा सम्पर्क बढाई विश्वासलाई जोड्न सक्नुपर्छ । महाधिवेशनबाट आउने नयाँ नेतृत्वले जनमासमा सकारात्मकता विकास गरी राजनीतिकप्रतिको दृष्टिकोणमा परिवर्तन मात्र ल्याउन सकेका खण्डमा अधिवेशनको औचित्य सिद्ध हुन्छ । यसले एकातिर नेतृत्वको मूल प्रवाहिकरण गर्छ भने अर्कातिर कांग्रेसको भविष्य पनि सुरक्षित हुन सक्छ । परिवर्तनका लागि मात्र परिवर्तनले निकाश दिन नसक्ने हुनाले माटो सुहाउँदो राजनीतिक वातावरण निर्माण गरी सुदृढ कांग्रेसको परिकल्पना सहितको खाका तयार गरी मुलुकलाई समुन्नतिकाे मार्गमा निर्दिष्ट गर्ने गतिशील नेतृत्वले नै कांग्रेसको भविष्य निर्दिष्ट गर्दछ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।