–समग्रमा भन्नुपर्दा तिज सम्पूर्ण नेपाली महिलाहरूको चाड होइन । यो हिन्दूहरूमा पनि पहाडिया हिन्दू महिलाहरूको चाड हो । यति भन्दा पनि त्यही समुदायका प्रगतिशील महिलाहरूमाथि अन्याय हुन जान्छ । बरु तिज केही अगतिशील र अशिक्षित पहाडिया हिन्दू महिलाहरूको मात्र चाड हो । 

नेपालका पहाडिया हिन्दुहरुको दशैँ, तिहार पछिको अर्को महान चाड तिज हो भन्दा फरक नपर्ला । किनकि जति भड्किलो र खर्चिलो दशैं र तिहार छन्, पछिल्ला वर्षहरुमा त्यत्तिकै भड्किलो र खर्चिलो तिज बनि बन्ने गरेको छ । अनि फेरि, दशैँ र तिहारलाई महत्व तिजलाई पनि राज्य र समाजले दिदैँ आएको छ । तडकभडक र पैचारबाजीका हिसाबमा पनि तिज दशैं र तिहारभन्दा कम हुने गरेको छैन ।

त्यो तडकभडक कुनै विपदले रोक्ने छैन, चाहे त्यो कोरोनानै किन नहोस ? चाहे मन्दिरमा पुगेर होस वा कुनै पर्टी प्यालेसमा पुगेर या फेसबुक लाइभमै किन नहोस ? माइतिमा भेट भएर चेलीले विरह गाउँदै नाचगान गर्ने अवसरको रुपमा व्याख्या गरिदैँ आएको तिज विस्तारै तामस, तडकभडक, महंगा गरगहना र सम्पन्नताको ढोंग देखाउने मौकाका रुपमा रुपान्तरण भएको पनि हामी आफैँले देखिरहेका छौँ । 

त्यसो त नेपाली हिन्दु महिलाको सबैभन्दा ठूलो पर्वको रुपमा हेरिएको तिजलाई पछिल्लो समय त्यहि संप्रदायका युवा पुस्ताका महिला लेखक र विचाकहरुले ठाडो रुपमा बहिस्कार गर्दै आएको पनि हामी देखिरहेका छौं । यस आलेखको आशय कसैको सांस्कृतिक आस्थामाथि ठेस पुर्याउनु होइन तर अझैपनि तिजलाई राष्ट्रिय पर्वको रुपमा हेरिरहनु कत्तिको जायज हो भनेर विचार–विमर्श गर्नु आजको आवश्यकता भने हो ।

राज्यसंरचना आफैँमा नेपाली (हिन्दु) दर्शनः

आजसम्म नेपालीहरुको महान् चाडको रुपमा दशैं र तिहारलाई लिइन्छ । अनि नेपाली महिलाहरुको महान पर्वको रुपमा तिजलाई । तर, वास्तवमा यि तिनै चाड पहाडिया नेपाली हिन्दु धर्मावलव्बीहरुको महान पर्वहरु हुन् । संयोगवश परम्परादेखिनै यि पर्वहरु न त आदिबासी समुदायको, न त मुस्लिमको, न त हिन्दु मधेसी संप्रदायभित्रका प्रमूख चाडहरु नै थिए । तर, राज्य, मुलधारको शासकीय समुदाय र अहिले आएर आम संचारले यि तिनै पर्वहरुलाई ‘महान’ नेपाली चाडको पगरी गुथाउँदै ब्रान्डिङ गर्न छोडेको छैनन् । अनि यस्ता विभेदकारी ब्रान्डिङले पुजिँवादी बजार र निश्चित संप्रदायको सांस्कृतिक हेजेमोनी अन्य आम समुदायमाथि लाद्न त सहयोग गर्ला, तर यो प्रवृतिले संघिय गणतान्त्रिक नेपालको मर्ममाथि त प्रहार गर्छ नै विभिन्न अल्पसंख्यकका राष्ट्रिय स्तरमा परिचित–अपरिचित सबै चाडपर्व र परम्परामाथि अट्टहास पनि गर्छ । 

तिज सबै नेपाली महिलाको चाड हुनै सक्दैन, अनि जति समाज प्रगतिशिल दिशातिर डोहोरिन्छ, यस्ता नश्लिय पितृसत्ताद्वारा लैङ्गिक र नश्लिय रुपमा विभेदकारी पर्वहरुको दायरा पनि साघुँरिदै जानेछ । 

राज्यसंरचना आफैँमा हिन्दु धर्मिक सौन्दर्यसँग अँगालो मारेर बसेको छ । राष्ट्रिय जनावरको छनौटबाट यो प्रष्ट भइहाल्छ । यसो हुँदा उसले मनाउने चाड र शासन पद्धति हिन्दु धर्मअनुसार नहुने कुरै भएन । धर्म संस्कृतीको नाम दिएर पर्वमा महिलाले के पहिरन लगाउने ? के खाने ? कसरी मनाउने ? कति हद सम्म मनाउने ? के गर्ने र नगर्ने भन्ने लगायत सबै तोकिदिएको छ । 

र, राज्यसत्ताको सबैभन्दा गम्भिर चरित्र यहाँ देखिन्छ कि यसले छोरी वंश वा सम्पत्तिको अधिकार दिन मान्दैन, नेपाली नारीलाई आफ्ना सन्तानको नागरिकताको अधिकार दिन कन्जुस्याईं गरिरहेछ । तर, उ स्त्रिद्वेषी पर्वलाई समग्र नेपाली महिलाको महान चाड भन्दै फलाक्न पछि पर्दैन । यसकै कारण तिजसँगै धर्मको मुखौटापछिको पितृसत्तामाथि पनि शंका उत्पन्न भएको हो ।

कसैले भनि पनि हाल्छ, ‘महिलाले तिजमा व्रत बस्नु, लोग्नेको खुट्टाको पानी खानु संस्कृति जोगाउनु हो ।’ त्यो पनि सार्वजनिक मिडियामा आएर । उदार देखिन खोज्नेहरू पनि यसलाई महिलाको व्यक्तिगत स्वतन्त्रता भन्दै व्याख्या गर्छन् । हुन पनि हो धार्मिक ग्रन्थका कथाहरुले नै भन्छ यो त । नमान्नु पनि कसरी ? समाजका विद्वानहरुले बच्चैबाट पढाइएको पाठ हो यो । महान हुनुको साँचो प्रमाणमाथि कसरी प्रश्न गर्नु ?

अब यसमा बजारको अर्थतन्त्रलाई के सरोकार । कस्मेटिक बेच्नैपर्याे । पर्व खर्चिलो बनाउने स्किम ल्याउनैपर्याे । राजनितिलाई पनि के चासो ? अधिकार भन्दा त आस्था जोगाउन पर्छ । महान चिजमाथि प्रश्न किन गर्ने ? यहि प्रश्न नगरेकै कारण, महिलालाई तुच्छ करार गरेर सामन्तवादी एउटा चाडले पितृसत्ताको पृष्ठपोषण गरिरहेको छ । सामाजिक वातावरणमै लैङ्गिक विभेदकारी प्रदूर्षणको वायु फैलाइरहेको छ । अनि यही दुर्गन्ध हामी महिलालाई अझै सुगन्ध लागिरहेको छ । त्यसैले त महिला स्वतन्त्रताको नाममा पितृसत्ता टिकाउने बलियो माध्यम तिज बनिरहेको आरोप स्वयम् त्यही पहाडिया हिन्दु सम्प्रदायका शिक्षित महिलाहरुले लगाइरहेको अवस्था छ ।

–महिला स्वतन्त्रताको नाममा पितृसत्ता टिकाउने बलियो माध्यम तिज बनिरहेको आरोप स्वयम् त्यही पहाडिया हिन्दु संप्रदायका शिक्षित महिलाहरुले लगाइरहेको अवस्था छ ।

नारीवादी दृष्टिकोणमा तिजः

४० वर्ष नारीवादी आन्दोलनमा बिताउँदा पनि कतिपय नेपाली नारीभित्रै लुकिरहेको हुन्छ । उनीहरु पितृसत्ताको विरोध गर्छन् । सडकमा नारा लगाउछन् । पेटिकोट लगाएर, प्लेकार्ड बोकेर भन्छन्, ‘म तिम्रो चंगुलमा छैन’ । नाविादी देखाउन हजार कसरत पनि गर्छन् । तर अन्ततः संकारका नाममा ‘सोचेजस्तो जिन्दगी रैनछ’ भन्दै यही तिजमा नाच्छन् र पितृसत्ताको चरणमा पर्छन् । 

यसरी हेर्दा आजका केहि नारीवादी(फिमेनिष्ट)हरु आफैँमा वैचारिक अस्पष्टतामा रहेको प्रष्ट हुन्छ । यो अस्पष्टतालाई अनुसन्धानकर्मी कैलाश राईले द्वैद चरितार्थ भन्ने गर्छिन् । ‘जब आफ्नोलागि आवाज उठाउने देखियो, त्यसबेला उठाए जस्तो गर्ने तर जब फेरि राज्यको वा बाहिर समाजको प्रभावशाली कार्यक्रमहरु आयो भने त्यतातिर पनि सामेल हुने प्रचलन छ’ कैलाश राईले भनिन् । 

तर सबैसबै महिला लेखकहरु राईले आरोप लगाएजस्तो ढोगीं पनि छैनन् । कतिपय पहाडिया हिन्दु धर्मावलम्बी समुदायका महिलाहरुनै तिजलाई पितृसत्ताको षड्यन्त्रको रुपमा बुझ्दै यसलाई बहिस्कार मात्रै गरिरहेका छैनन्, तिखो आलोचना पनि गरिरहेका छन् । केहि हप्ता पहिला सिर्जना ढकालले नयाँ पत्रिकामा तिजको तिखो आलोचना सहित तिजको नाममा नेपाली महिलाहरु अहिले आएर पितृसत्ता र पूँजिवाद दुवैको कोपभाजनमा परिरहेको तर्क थियो । बजारको लागि मुनाफाको गतिलो माध्यम बनेको उनको तर्क थियो । 

त्यसैगरि, अर्की लेखक सावित्री गौतमले तिजलाई स्त्रिद्वेषी पर्वको रुपमा करार गर्दै भनेकी थिइन्, ‘तर अझै पनि वर्षभरि महिनावारी भएका बेला भान्सा छोएको ‘पाप पखाल्न’ भनेर गरिने ऋषिपञ्चमीको पूजामा सहभागी भएर कहिलेसम्म महिनावारी पाप हो भनेकै कुरालाई समर्थन गरिरहने र सहरिया छाउपडी पालन गर्ने ?’ लेखको शुरुमै उनले आफूले तिज सम्बन्धि सबैखाले गतिविधि गर्न छोडेको बताएकी थिइन् । तिजलाई सक्त बहिस्कार गर्ने अर्की लेखकमा पर्छिन्, कान्तिपुरकै स्तम्भकार सरिता तिवारी । 

लेखक मात्रै होइनन् अन्य पनि छन् तिज बहिस्कार गर्ने नेपाली नारीको सूचिमा । शिक्षिका मुना कार्कीले फेसबुकमा लेखेकी छिन्, ‘पहिला तीज, ऋषि पञ्चमी भनेको संस्कृति हो, जोगाउनु पर्छ भन्ने बुझेँ, पत्याएँ पनि एक दुई चोटि व्रत नि बसेँ, पञ्चमी नुहाएँ । अब अहिले यसो केही बुझियो किन पो त्यसो गर्थे र !’ त्यसैगरि न्यायिक आन्दोलनमा सहभागी भइरहने युवा चार्टड एकाउन्ट मिना पोखरेलले पनि तिजलाई कटाक्ष गर्दै सामाजिक संजालमा भनेकी थ्यिन्, ‘ बाउको सम्पति खान नदिएको सट्टामा पुलाउ खान दिने दिनको शुभकामना ।’ 

त्यसो त अहिलेकी युवा लेखक सुमिनाले पनि आफ्नो लेखमा लेखेकि थिइन्, ‘महिला विशेष’ भनिएको यही चाड सम्भवतः स्वस्थानीपछिकै सबैभन्दा भयानक स्त्रीद्वेषी पर्व हो ।’ सुमिनाको धारणालाइ हेर्दा पनि प्रष्ट हुन्छ कि यस्ता स्त्रिद्वेषी चाडहरु महिलालाई कजाउनकै लागि षड्यन्त्रपुर्वक लादिएको हो । यि ढकाल, तिवारी, गौतम, कार्की र पोखरेल स्वयम् तिज मनाउने पहाडिया हिन्दु संप्रदायका महिला प्रतिनधि हुन् । जब साही संप्रदायका शिक्षित महिलाहरुले तिजलाई पितृसत्ताको षड्यन्त्रको रुपमा लिइरहेका छन् भने जनजाति महिलाहरुको तिजप्रतिको धारणा कस्तो हुन पर्ला ?

–जनजातिका चाडहरु पनि निश्चित समुदायले एकदमै हर्सोल्लाससँग मनाउने गरेका छन् । तथापि तिनका पर्व गैर-जनजाति समुदायले मनाउन त परको कुरा कुनै चासो नै राखेको पाइदैन । यसमै हाम्रो राज्य र समाजको एकल नश्लिय चरित्र छर्लङ्ग देखिन्छ ।

हिन्दुपरम्परा जनजातीमा कसरी लादियो ?

अरु चाड भन्दा हिन्दु दर्शनमा आधारित परम्परा सबैले मनाउन पर्छ भन्ने भ्रामक सम्प्रेषण राज्यसत्ता र सामाजिक संरचनाबाटै व्यापकरुपमा भएको पाइन्छ । जनजाति आफ्नो समुदायसँग नछुटिइ बसेकाले आफ्नो हिन्दु परम्परा मनाईएको पाँइदैन तर जब बसाईसराईको क्रममा आफ्नो समुदायसँग छुटिन थाले, त्यसक्रममा नयाँ ठाँउमा पुगेपछि नयाँ ठाउँको अभ्यास, नयाँ परम्परालाई नअपनाइ सामाजिकरुपमा अन्तर्घुलन हुन विकल्प नभएपछि जनजातिले हिन्दु परम्परा अपनाएको बताउँछन्- कैलाश राई ।

अरु जनजातिका पर्व ठिक ठिकै हुन्, सामाजिक हुन् । तर ‘हिन्दुपर्व चहि राष्ट्रिय पर्व हो, महान हो’ भन्ने खालको भाष्य राज्यले नै निर्माण गरिदिएका छन् । जसको प्रत्यक्ष प्रभाव जनजातिका पर्वहरुमा परेको छ । पुर्वदेखि पश्चिमसम्मका जुनसुकै पृष्ठभुमिका समुदाय वा व्यक्ति होस्, सबैलाइ थाहा छ तिज । तर किराँत समुदायका उधौली, उभौली कसैलाइ थाहा नहुनुको यही कारण हो ।

जनजातिका चाडहरु पनि निश्चित समुदायले एकदमै हर्सोल्लाससँग मनाउने गरेका छन् । तथापि तिनका पर्व गैरजनजाति समुदायले मनाउन त परको कुरा कुनै चासो नै राखेको पाइदैन । यसमै हाम्रो राज्य र समाजको एकल नश्लिय चरित्र छर्लङ्ग देखिन्छ । यस विषयमा दुवै समुदाय सचेत रहनु पर्ने धारणा राख्दै गीतकार तथा समाजसेवि मिना सिङ्गक भन्छन् ‘एकात्मक नश्लवादी नेतृत्वले आदिवासीहरूको पर्वमा किन बिदा दिने ? सकेसम्म हिन्दुकरण गरेर लैजाने ध्याउन्नमा छ शासक । मन्द विष पिलाई रहेका छन् । त्यसको असर देख्न सक्नुहुन्छ, किस्ति बोकेर श्रीमानको आयु माग्न मन्दीर गएका, तीजमा ब्रत बसेका जनजाति महिलाहरु ।’ 

सोसियल मिडियामा यसो आँखै डुलाउँदै गर्दा हिजोको दिनहरुमा हिन्दु र गैरहिन्दु दुबै महिलाहरुले आ–आफ्नै तरिकाले तिज ‘सेलिब्रेट’ गरे र गरिरहेका छन् । ह्यासट्याग ‘तिज स्पेसल’, ‘तिज भाइब्स’ भन्दै रातो सारी, छड्के तिल्हरी र गहनामा आफूलाई सोसल साइट तिर उभ्याउन पनि भ्याएकै छन् । ‘रातै टिकि रातै सारि रातै चुरि छन् छन्, तिजै आयो साथी सँगी नाच्न थाले छम् छम् ।’ भन्दै १ महिना अघि मेलिना राई पनि सोसल मिडियामा छाएको ज्वलन्त उदाहरण हो यो ।

यो धार्मिक सहिष्णुताका हिसाबले यसलाई सकरात्मक मान्न सकिएला । विरोध पनि गरेको हैन । तर कुरा पितृसत्ता र राज्यसत्ताको चरित्रलाई स्वयम् पहाडिया हिन्दुधर्मावल्बी शिक्षित महिलाहरुले नै स्त्रिद्वेषी पर्वको रुपमा करार गर्दै बहिस्कार गरिरहँदा जनजाति सेलिब्रेटीले यसको पृष्ठपोषण गर्नु आफैँमा कत्तिको जायज होला ? अनि हिन्दु पर्वलाइ जति प्रश्रय दिइन्छ । उधौली, उभौली, चासोक तङनाम, ल्होसार, माघी लगायतका आदिवासी जनजातिका हपर्वहरुलाई किन हामी त्यत्तिको स्थान दिन सकिरहेका छैनौ ? किन महान र नेपाली हुनन्न- जनजातीका चाडपर्वहरु ? किन देखिदैन मेलिना राईको जस्तो सहिष्णुता जनजातिका पर्वमा गैरजनजाति कलाकारको ? सँगै तिजलाई गैर हिन्दु महिलाहरुले जस्तो उपस्थिती र स्थान दिएको छ त्यसरि अन्य आदिवासीको पर्वहरुमा गैरआदिवासीको सहभागीता किन रहन्न ? यो विषयमा पनि दुवै समुदायले विचार पुर्याउन पर्ने हो कि ? ‘महान’ पछाडि सिर्फ एक शासकमात्र छैन । हामी अन्धविश्वासीहरु पनि छौँ जो अधिकारहरुको सवालमा सहिष्णुताको ख्याल गर्छ तर सहिष्णुताको सवालमा हामी बराबर छौँ छैनौँ भनेर खोज्दैनौँ ।

समग्रमा भन्नुपर्दा तिज सम्पूर्ण नेपाली महिलाहरूको चाड होइन । यो हिन्दूहरूमा पनि पहाडिया हिन्दू महिलाहरूको चाड हो । यति भन्दा पनि त्यही समुदायका प्रगतिशील महिलाहरूमाथि अन्याय हुन जान्छ । बरु तिज केही अगतिशील र अशिक्षित पहाडिया हिन्दू महिलाहरूको मात्र चाड हो । र, तिज सबै नेपाली महिलाको चाड हुनै सक्दैन, अनि जति समाज प्रगतिशिल दिशातिर डोहोरिन्छ यस्ता नश्लिय पितृसत्ताद्वारा लैङ्गिक र नश्लिय रुपमा विभेदकारी पर्वहरुको दायरापनि साघुँरिदै जानेछ । 

पवित्र राई

लेखकबाट थप...