सुष्मा तिमिल्सिना
|

सलिमा नसरीनद्वारा लिखित "आइमाईको कुनै देश छैन" नामक विश्वचर्चित पुस्तक भारतको परिवेशमा आधारित भएर लेखिएता पनि यो हरेक नेपालीले पढ्नै पर्ने पुस्तक हो; विशेषत: पुरुषहरूले । पढ्दै गर्दा यो पुस्तकको हरेक लाइनले तपाईंलाई जगाउने छ । उठाउने छ । हिँडाउने छ । जब तपाईं फेरि शान्त भएर पढ्नु हुन्छ रोकिन खोज्नु हुन्छ थामिनु हुन्छ फेरि पनि तपाईंमाथि त्यही क्रम दोहोरिने छ । यो पुस्तकले पुरुषतन्त्रका नाममा समाजमा विद्यमान प्रवृत्ति र चरित्रहरूलाई कडा प्रहार मात्र गरेको छैन त्यसको समाप्तीबाट मात्र समुन्नत, समतामूलक र सम्य संसारकाे निर्माण हुनसक्छ भनेर ठाेकुवासमेत गरेको छ । तसलिमा नसरीनकाे भोगाई जस्तो उनको संस्मरण जस्तो उनका जीवन दर्शन र भोगाई बीचकाे तादात्मयले यस कृतिलाई अझ जीवन्त समेत बनाएको छ । 

नारी जुनबेला प्रेमिका हुन्छे त्यसबेला ऊ दासी हुन्छे । जुनबेला श्रीमती बन्छे त्यसबेला पनि दासी नै रहन्छे, उच्च स्तरकी दासी । उसले पुरुष प्रेमी या पतिको आदेश-निर्देश मानेर हिँड्नु पर्छ । पुरुषले जस्तो चाहन्छ नारीले आफूलाई त्यसै अनुरूप ढाल्नुपर्छ । नारीमा यौनेच्छा हुनुहुँदैन । यदि उसले आफ्नो यौनेच्छा प्रकट गर्छे भने नारी निर्लज्ज हुन्छे, भ्रष्ट हुन्छे, वेश्या हुन्छे । स्वास्नी मानिस पुरुषको हातको खेलौना हुन् । पुतली हुन् । वस्तु हुन् र मेशिन हुन् । समाजको लागि स्वास्नी मानिस हुन् कि स्वास्नी मानिसका लागि समाज ? स्वास्नी मानिसको इच्छालाई मूल्य नदिने यो पुरुषतान्त्रिक समाजमा आफ्नो इच्छालाई प्रतिष्ठित गर्नु के स्वास्नी मानिसको लागि सजिलो छ ? स्वास्नी मानिसका लागि नितान्त आफ्नो, बिल्कुल छुट्टै, जहाँ कोही उसलाई दु:ख दिने नहोस्, जहाँ कसैले उसमाथि हस्ताक्षेप गर्न नसकोस् । के यस्तो घर वा कोठा हुन्छ ?

अमेरिकी नारीवादी लेखिका, मेरिलिन फ्रेञ्चले लेखेकी छन्- " प्रत्येक पुरुष बलात्कारी हुन्छन् र यो उनीहरूको चरित्र हो । उनीहरू हाम्रो बलात्कार आफ्नो दृष्टिबाट आफ्नो तन्त्रमन्त्र र आफ्नो कानुन अनुसार गर्छन् ।" अर्की डरकिंसले भनेकी छन्- "बलात्कार कुनै दुर्घटना होइन, कुनै गल्ती होइन । पुरुषतान्त्रिक संस्कृतिमा कामुकताको नाम हो बलात्कार । जहिलेसम्म यो संज्ञा रहिरहन्छ, त्यसबेला सम्म पुरुष यौन आक्रमणकारी स्वास्नी मानिस त्यसको शिकारको रूपमा चिनिरहने छन् । जुन मानिसले यस संस्कृतिलाई स्वभाविक ठान्ने गर्छन्, तिनीहरू शान्त दिमागले बलात्कारको शिलशिलालाई जारी राख्छन् ।"

यिनै यथार्थ लाई जोड्दै यस पुस्तक भित्र विवाहको प्रसंङ्ग पनि बडाे रोचक ठंगले प्रस्तुत गरिएको छ । भनिएको छ- "विवाहको अर्थ हो स्वास्नी मानिसले गुलामीको साङ्लाे पहिरिनु" यदि यस्तै हो भने के स्वास्नी मानिसको लक्ष्य हुनु पर्दैन होला ? विवाह प्रथालाई दृढतापूर्वक हतोत्साहित गर्नु। विवाह प्रथालाई निर्मूल नगरेसम्म, स्वास्नी मानिसले आफ्नो स्वतन्त्रतालाई के प्राप्त गर्न सक्छन् होला? यस भित्र नारिवादको परिभाषा पनि उल्लेख गरिएको छ - "फेमिनिज्म इज ए रेडिकल नोशन द्याट वीमिन आर ह्युमेन बिइङ्ग्स।" यो परिभाषा त्यो मानिसलाई नै गाह्रो लाग्छ जसले स्वास्नी मानिसलाई सम्मान दिन सकेको छैन ।

"स्वास्नी मानिसको कुनै श्रेणी हुँदैन, कुनै जात हुँदैन । ऊनीहरुको एउटै जाति हुन्छ, एउटै वर्ण हुन्छ, स्वास्नी मानिसको जात, स्वास्नी मानिसको वर्ण । यदि कुनै स्वास्नी मानिसले आफू लाई माथिल्लो जात, माथिल्लो वर्ण अथवा शिक्षित अथवा आत्मनिर्भर अथवा प्रतिभावान् भन्छिन् भने त्यस महिलाका लागि कुनै माफी हुँदैन, यस पुरुष प्रधान समाजमा सबै स्वास्नी मानिस समान छन्..।"

"सम्पूर्ण संसारमा पुरुषहरूले जति अशान्ति मच्चाए पनि शान्ति पुरस्कार पुरुषले नै पाउँछन् । तथापि, शान्तिका लागि उनीहरूले केही पनि नगरेका किन नहोऊन् । आजभोलि त शान्ति पुरस्कार पनि पूँजीवादको पाल्तु बनिसकेको छ..।"

"प्रत्येक पुरुष बलात्कारी हुन्छ, यो उनीहरूको चरित्र हो । ऊनीहरु हाम्रो बलात्कार आफ्नो नजरबाट आफ्नो तन्त्रमन्त्र र आफ्नो कानुन मूताविक गर्छन् ।"

समग्रमा पुस्तकले यी नै विषयवस्तुको उठान गरेको छ । यो भन्दा फरक विषयवस्तु पनि पुस्तकभित्र छैन । आजको आधुनिक युगमा समाजको यथार्थ, आफ्नो जीवन प्रेम र यौनलाई यसरी खुलेर लेखेको पुस्तक मैले पहिलो चोटी पढेकी हुँ । यो किताबसँगकाे मेरो यात्रा एकदमै महत्त्वपूर्ण रह्यो । बीएन पुस्तक संसार प्रालिद्वारा प्रकाशित यस पुस्तकको मूल्य जम्मा रू १७० रहेको छ । र, भनिएको छ तसलीमा नसरीनकाे विश्वचर्चित यस पुस्तक बजारमा सजिलै उपलब्ध छ ।