कृष्ण सुनुवार

हिले विश्व राजनीति तातेको छ । जति रफ्तारमा अफगानिस्तानबाट अमेरिकन फौजको बहिर्गमन देख्दा विश्व अचम्ममा पर्यो, त्यति नै तालिवानको अफगानिस्तान कब्जाको रफ्तारले धेरै रहस्यहरू उब्जाएको छ । हिजोसम्म अमेरिकी नेतृत्वको नाटो फौजको आक्रमणले थिलथिलो परेको तालिबान अचानक अत्याधुनिक हतियार बोकेर चितावाट उठेर सत्ता समाल्न पुगेको छ । यो नै अचम्मको विषय बनेको छ ।

र, यससँगै अमेरिकी सेनाले २० वर्ष सम्म तालिम तथा हातहतियारले सुसज्जित गरिएका अफगान सेनाको क्षमतामा राजनितिक विश्लेषण गर्न जरुरी देखिएको छ । अहिलेको अवस्था हेर्दा लाग्छ, अमेरिकाको यो २१औँ शताब्दीको सबैभन्दा ठूलो हार हो । अनि अर्कोतिर, यसलाई तालिबान वा इस्लामको जितको रुपमा पनि व्याख्या गरिँदै छ । 

यसमा तालिबानको आत्मविश्वास त एकातिर छ । तर, अमेरिकी फौजले एउटा दैलोवाट अफगानिस्तान छोड्नु र तत्कालै तालिबानले कुनै व्यावधान बिनै अर्को दैलोवाट छिर्न सक्ने ल्याकत राख्नुले अमेरिकी नियतमा पनि सङ्का गर्ने छुट दिएको छ । तालिबानले अर्कोतिर अमेरिकी सेनाहरूको पूर्ण बहिर्गमनको समयलाई पनि नपर्खनुले भन्छ, ‘दालमे कुछ काला हे’ ।

अमेरिकाको युद्व इतिहास हेर्दा, भियतनाम युद्वलाई निकै मह्तवपुर्ण मानिन्छ  । जब, दक्षिण भियतनामबाट १९७२ मा अमेरीकन सेना फक्र्यो,  उत्तरी भियतनामी फौजलाई दक्षिणी भियतनामलाई नियन्त्रणमा लिएका थिए ।

तर, अहिले साडे दुई महिनाको अवधि भित्रै केही ठाउँ छोडेर तालिबानले देशै आफ्नो अधिनमा ल्याउन सफल भएको छ । यसले तालिबानको सैन्य, रणनीतिक तथा राजनितिक तीनै पक्षमा पूर्ण रूपले विकसित र सबल भएको देखाउँछ । अझै, तालिवान अहिले पहिले भन्दा आन्तरिक रूपमा एकीकृत र बाह्य रूपमा प्ररिष्कृत पनि देखिएको छ ।

समग्रतामा विश्लेषण गर्दा अमेरीकन दास्त्वबाट अफगानीहरुले मुक्ति पाएको जस्तो देखिन्छ । तर, अफगानिस्तालाई हेर्दा आम नागरिकहरू आफ्नै तालिबानी स्वतन्त्रता सेनाहरूबाट भने निकै नै त्रसित देखिन्छन् । तर, तालेवान के हो  भन्ने थाहा पाउँदा–नपाउँदै केही हदसम्म तिनलाई स्विकार्नु भनेको ठ्याक्कै ‘मर्नु भन्दा बहुलाउनु निको’ भने जस्तो मात्रै हो ।

विगतमा तालिबानलाई आन्तरिक रूपमा पुस्तुन जातीको धेरै संख्यामा समर्थन हुने गर्थ्याे भने अहिले उतरी अफगानी, ताजिक, उजबेक तथा टर्क जनजातिको पनि तालिबानमा उल्लेख्य सहभागिता देखिएको छ । त्यसैगरी, बाह्यरूपमा क्षेत्रीय र भूराजनीतिक महत्व बुझेर सोही अनुसार कुतनीतिक हात पनि तालिबानले बडाइरहेको स्थिति छ । यति हुँदाहुँदै पनि तालिबानको पुनरोदय आफैँमा कम रहस्यमय भने छैन । 

रहस्य १, अमेरिकाले चिनेको तर नबुझेको अफगानिस्तानः 

तालिवान पूर्ण रूपमा धार्मिक रूपले प्रशिक्षित समूह हो । ‘उनीहरू युद्ध स्वर्ग जान लड्छन् । तर, उनीहरू विरूद्ध लड्ने फौजहरू आर्थिक लाभको लागि लड्छन्’ भन्ने भनाई निकै चर्चित छ अफगानिस्तानमा । जब कुनै समूह धार्मिक तथा राजनीतिक रूपमा प्रशिक्षित हुन्छन्, उनीहरूलाई हराउन निकै मुस्किल पर्न जान्छ । नेपालमा तत्कालीन  माओवादीहरू घरेलु हतियार बोकेर, अत्याधुनिक हतियार बोक्ने प्रहरी र सेनासँग लडेर धेरै लडाइँ जित्न सफल हुनुको मुख्यकारण पनि तिनले बोकेको राजनीतिक पक्षलाई मानिन्छ । 

अमेरिका अफगानिस्तानमा केको लागि लडेको थियो भनेर प्रष्ट रूपले भन्न सकिन्न तर तालिबानका लागि यो लडाइँ विदेशी कब्जा विरूद्धको थियो । जिहादको लागि थियो । यो लडाइँमा तालिबानको लागि धर्म पनि एउटा हतियार बन्यो । मुख्यगरी, उनीहरू धर्म र अफगानी राष्ट्रियता तथा पहिचानको समिश्रण गरेर अफगानीलाई युद्धको लागि आह्वान गर्थे । 

अर्कोतिर अफगानिस्तानमा युद्ध शुरू गर्नुअघि तत्कालीन बुस सरकारले कुनैपनि अध्ययन गरेको देखिँदैन । अफगानिस्तानको इतिहासलाई पल्टाएर हेर्दा निकै नै गर्विलो छ । कुनैपनि विश्व शक्तिसँग आत्मसमर्पण नगरेको देशमा दरिन्छ अफगानिस्तान । तालिवानले अफगानी जनतालाई सामु यही रटान मारिरह्यो । अफगान सरकार चुनावबाट चुनिएको भएपनि अमेरीकन सरकारको समर्थनमा बनेको हो भन्ने कुरा पनि सबैले हेक्का राखिरहे । 

उता अमेरिकीहरू फगत एक व्यक्ति ओसामा बिन लादेनका लागि अफगानिस्तान छिरेका थिए । तर, २० वर्ष त्यही भुले, लेखाजोखा गर्दा जब ४२.२६ ट्रिलियन अमेरिकी डलर सिध्याए । त्यसमाथि २३१२ अमेरिकन फौजले बलिदान दिँदा पनि केही परिवर्तन देखेनन्, यहीँबाट तिनले अफगानिस्तान छाड्न पर्ने आँकलन गरे । यो अत्याशलाग्दो परिणामकै कारण अमेरिकीहरू अफगानिस्तान छोड्न बाध्य भए । बस उनीहरू अफगानिस्तान छाड्ने उचित मौका मात्र पर्खिरहेका थिए । 

एक रूपले हेर्दा अमेरीकाले ओसामा बिन लादेनलाई मारेर एउटा लडाइँ जितेका थिए । तर, तालिबानसँगको युद्ध हारेको सहर्ष स्विकार गर्नुलाई धेरै तर्फबाट विश्लेषण गर्न सकिन्छ । अहिले अमेरिकाको परिस्थितिलाई हेरेर विश्लेषण गर्ने हो भने यसको मुख्य पाँच कारणहरू रहेका छन्ः 

१. अमेरिकी राष्ट्रपतिले भोटरसामु चुनावमा अमेरिकी फौजलाई घर फर्कने गरेको प्रतिबद्धता । २. बसाइँको समय बढ्दै जाँदा, अमेरिकन फौजमा मृत्यु र घाइतेको संख्या बढ्न सक्ने आँकलन, जुन कुरा अमेरिकी जनतालाई स्विकार्य थिएन । ३. अफगानिस्तानमा जति धेरै बस्याे, उति धेरै समस्यामा फस्ने डर अमेरिकालाई सताएको थियो । ४. ओसामा बिन लादेनलाई मार्न सफल हुनु र अल–कायदालाई हराएको ठान्नु । ५. बाइडेन प्रशासनले देशभित्रको समस्या र चीनमाथि आफ्नो ध्यान केन्द्रिकृत गर्ने मनासाय बनाउनु  ।

रहस्य २,  तालिबान शक्तिशाली भन्दा कमजोर अफगान सरकारः 

सन् २००४ को संविधानमा जब निर्वाचित राष्ट्रपतिलाई स्वेच्छाचारी बनाउने धारा र उपधारहरू राखियो यसले ‘चेक एण्ड ब्यालेन्स’को अबधाराणालाई खण्डित गर्यो । अर्कोतिर, अफगानिस्तान जस्तो विविदताले भरिएको देशलाई केन्द्रिकृत राज्यसतामा रूपान्तरण गर्यो । त्यसमाथि भ्रस्टाचार संस्थागत हुन थाल्यो । शक्तिले मान्छेलाई भ्रष्ट बनाउछ भन्ने तात्पर्य व्यवहारिक रूपमा देखा पर्यो । सरकारी उच्च तहमा नातावाद र कृपावादले सम्पूर्ण प्रणालीलाई ध्वस्त पार्दै लग्यो । 

यसरी एक किसिमले केन्द्रीकृत राज्यसत्ता विस्तारै सम्पूर्ण अफगानी जनतासँग सम्पर्कविहीन हुँदै गयो । अफगानी सरकार राजनीतिक र आर्थिकरूपले पारदर्शिताबाट विमुख हुँदै गयो । अमेरिकाको हमलापछि तालिवानलाई सत्ताबाट हटाउँदै केही  हदसम्म  धर्मले गाँजेको  राजनीतिमा परिवर्तन त ल्यायो तर साथसाथै त्यहाँ भ्रष्टाचारको केन्द्रिकृत प्रणाली स्थापना गर्यो ।

एकातिर अमेरिकन सरकारले ट्रिलियन डलर सहयोग गरिरहेको थियो भने अर्कोतिर अफगान फौज खाना देखि हातहतियारसम्मको अभाव खेपिरहेको थिए । तालिबान विरूद्व लडेर घाइते भएका कैयौँ सैनिकहरूले आफ्नो पेन्सन पाउनबाट बञ्चित हुनुपरेको थियो । जब भ्रष्टाचारमा सम्मिलित व्यक्तिहरूलाई पक्राउ पूर्जी थमौती हुन्थ्यो, कसैले पनि यसलाई गम्भीररूपमा लिँदैन थिए । यस्ता विकृतिसँगै अफगान सरकार निकै कमजोर बनेको थियो । अफगानिस्तान कानुनविहीनताको अवस्थामा थियो । 

यसवाट बुझ्न सकिन्छ, तालिबानको पुनारागमन उनीहरू शक्तिशाली भएर भएको होइन । अफगानिस्तान सरकार धेरै हदसम्म संवैधानिक, राजनितिक र आर्थिक संकटमा फस्नुलाई तिनको उदयको प्रमुख कारण मान्न सकिन्छ ।

तत्कालीन ट्रम्प सरकारले तालेवानी नेता मुल्लाह अब्दुल घानी बरादर जेल मुक्त हुन सहयोग गरेको थियो  । बरादरलाई २०२० मा तत्कालीन ट्रम्प सरकारका विदेश मन्त्रीले भेटेका थिए । अहिले २०२१ मा आएर मुल्लाह अब्दुल घानी बरादर अफगानिस्तानमा नयाँ राष्ट्रपति बन्ने तयारीमा छन् । यसबाट प्रष्ट हुन्छ, अमेरिकी सरकारले अफगानिस्तानको शक्ति अफगान सरकार भन्दा तालिबानलाई मानेको देखिन्छ ।

रहस्य ३, पाकिस्तानको दोहोरो चरीत्रः 

मेरा अफगानिस्तानका दुई मित्रहरूले केही दिनदेखि लगातर #SanctiononPakistan अभियान समाजिक सञ्जालमा चलाइरहेको देखिन्थ्यो । पाकिस्तानले बाराम्बार तालिबानलाई सहयोग नगरेको भनेर पुष्ट्याउन खोज्थ्यो । तर, पाकिस्तानको इतिहास र व्यावहारबाट पाकिस्तानको अफगान द्वन्द्वमा सक्रिय भूमिका देखिन्थ्यो । हुन त, सन् २००१ मा जब अमेरिकाले तालिवान सरकारमाथि हमला गर्यो कैयौ रिपोर्टहरुका अनुसार, धेरै जसो तालिबान लडाकु आफ्नो गाउँ फर्केर निष्क्रिय बसेका थिए, तर केही लडाकुहरू पाकिस्तान छिरेर, सुरक्षित बसे ।

अमेरीकन–अफगान सरकारको हारमा पाकिस्तानको निकै महत्वपूर्ण भूमिका देखिन्छ । खासगरी आइएसआइले तालिबानलाई शुरूवात देखिनै सहयोग गरेको देखिन्छ । सन १९९६ मा जब तालिबानले पहिलो पटक काबुल कब्जा गर्न सफल हुँदा आइएसआइले महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसकखत तालिबानलाई आइएसआइले युद्ध रणनीति तयार पार्न निकै सहयोग गरेको थियो ।

अघिल्लो महिना २२ वर्षे पाकिस्तानी नागरिक अब्दुल रसिद अफगानिस्तानको नानगरहर प्रान्तको लडाइँमा मृत्युवरण गरे तर उनको अन्तेष्टि पाकिस्तानको पेशावर सहरमा भएको थियो । जहाँ हजारौँ  पाकिस्तानी तालिबानको समर्थनमा नारा जुलुस लगाइरहेको देख्न सकिन्थ्यो । डिडब्लु न्यूजका अनुसार पाकिस्तानको क्वाटा सहर र बालुचिस्तान प्रान्तको पिसिन सहरमा तालिबान पक्षका गतिविधिहरू अत्यधिक बढेको देखिन्थ्यो । 

व्यक्तिगत रूपमा तालिबानका समर्थक भेटिएलान् । तर, जब तालिबानको समर्थनमा ठूला–ठूला जुलुसहरू आह्वान हुन थाल्यो, योबाट प्रष्ट हुन्छ कि  पाकिस्तान सरकारको तालिबानप्रति पूर्ण समर्थन थियो । जब तालिबानले अफगान–पाकिस्तानबिचको महत्वपूर्ण नाका स्पिन बोल्डक कब्जामा लियो, तालिबानहरूलाई पाकिस्तानको हवाइ सेनाको संरक्षण थियो । 

अरू भन्दा पाकिस्तानका आधिकारिक फेसबुक पेजमा कतिपय प्रसंगमा ‘तालिबानको अनुमतिबाट’ भन्ने शब्द प्रयोग गरेको देखिन्थ्यो मानौँ कि  पाकिस्तानले तालिबानलाई अफगानिस्तानको आधिकारिक सरकार मानिसकेको छ ।

तालिबानको १९९६–२००१ शासन प्रणाली हेर्ने हो भने निकै नै कहालीलाग्दो दृश्य देखिन्छ । खासगरी, तालिबान शासनमा अफगान महिलाहरू नरकको जीवन व्यतीत गर्न बाध्य थिए । बुर्का र घरको पुरुष साथमा बाहेक बाहिर हिँड्न मिल्दैन थियो । जागिर र शिक्षावाट पूर्णरूपमा वञ्चित थिए । गीत–संगीत, टेलिभिजन, चलचित्र, चित्रकला, फोटोग्राफी प्रतिबन्धित थियो । विभिन्न भाषिक र धर्मिक अल्पसंख्यक राज्यवाट उत्पीडन भोग्न बाध्य थिए । काबुल फुटबल रंगशालालाई विरोधीहरूको हत्या गर्ने बधशालामा बदलिएको थियो ।

रहस्य ४, अमेरिका र तालिबानबीचको सम्झौताले दिएको सन्देशः

जब फेब्रुवरी १९, २०२०मा अमेरिकी सरकार र तालिबानबीचमा शान्ति सम्झौता भयो तर यो सम्झौतामा अफगान सरकारको सहभागितालाई पूर्ण बन्चित गरियो  । यसबाट स्पष्ट भएको थियो कि अमेरिकाले राजनितिक रूपमा नै अफगान सत्ता तालिबानलाई हस्तान्तरण गरेको थियो  । जसको शुरूवात २०१८बाट भएको थियो  जब तत्कालीन ट्रम्प सरकारले तालेवानी नेता मुल्लाह अब्दुल घानी बरादर जेल मुक्त हुन सहयोग गरेको थियो । बरादरलाई २०२० मा तत्कालीन ट्रम्प सरकारका विदेश मन्त्रीले भेटेका थिए । 

अहिले २०२१ मा आएर मुल्लाह अब्दुल घानी बरादर अफगानिस्तानमा नयाँ राष्ट्रपति बन्ने तयारीमा छन् । यसबाट प्रष्ट हुन्छ, अमेरिकी सरकारले अफगानिस्तानको शक्ति अफगान सरकार भन्दा तालिबानलाई मानेको देखिन्छ । अहिले आएर जसरी अमेरिका तालिबानको पुनःउदयमा रोइकराइ बसेको छ, यो त फगत एक नाटक मात्र हो । ‘तँ रोए जस्तो गर, म कुटे जस्तो गर्छु’ भने जस्तो मात्र हो । 

रहस्य ५, तालिबानको उदय पछि विगतले भविष्यको प्रश्न गरिरहेको अफगानिस्तानः  

अहिले केही हदसम्म तालिबान सत्तामा आइसकेको छ । तर, आधिकारिक रूपमा सत्ता लिन अर्को एक हप्ता लाग्न सक्छ । खासमा तालिबानले कस्तो एजेन्डा अबलम्बन गर्छ भन्ने विश्वको अहिले प्रमुख चासो हो ।

तालिबानको १९९६–२००१ शासन प्रणाली हेर्ने हो भने निकै नै कहालीलाग्दो दृश्य देखिन्छ । खासगरी, तालिबान शासनमा अफगान महिलाहरू नरकको जीवन व्यतीत गर्न बाध्य थिए । बुर्का र घरको पुरुष साथमा बाहेक बाहिर हिँड्न मिल्दैन थियो । जागिर र शिक्षावाट पूर्णरूपमा बञ्चित थिए । गीतसंगीत, टेलिभिजन, चलचित्र, चित्रकला, फोटोग्राफी प्रतिबन्धित थियो । विभिन्न भाषिक र धार्मिक अल्पसंख्यक राज्यवाट उत्पीडन भोग्न बाध्य थिए । काबुल फुटबल रंगशालालाई विरोधीहरूको हत्या गर्ने बधशालामा बदलिएको थियो ।

यतिबेला तालिबान प्रवक्ता सुहेल सहिनले महिलाहरूलाई तत्कालीन घानि सरकारले गरेभन्दा राम्रो व्यवस्था हुने भनेतापनि स्थानीय रिपोर्ट अनुसार, तालिबान लडाकुहरू अहिले घरघर पसेर १२ वर्षसम्मको बच्चाहरूलाई जबर्जस्ती बिहे गरिदिरहेको खबरले अफगानिस्तानको भविष्य निकै कष्टपूर्ण हुने देखिएको छ । अहिलेको तालिबान केही हदसम्म प्ररिष्कृत त देखिएको छ । उनीहरूले भू-राजनीतिक सन्तुलन पनि मिलाउन खोजेको देखिन्छ । केही हदसम्म तिनले पाकिस्तान, चीन र रसियालाई आफ्नो पकडमा लिएको देखिन्छ । 

तर, अमेरिका तथा युरोपियन युनियन तालिबान प्रति सकरात्मक देखिँदैनन् । चीन र रसिया जस्तो मुलुकको समर्थनमा बाँच्न त सकिन्छ तर यो शताब्दीसम्म अमेरिका र युरोपियन युनियनको समर्थन बिना तालिबानलाई विश्व मानव बनेर जिउन चैँ निक्कै नै गाह्रो हुनेछ ।

समग्रतामा विश्लेषण गर्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भनेको जस्तो अमेरिकन दासत्वबाट अफगानीहरूले मुक्ति पाएको जस्तो देखिन्छ । तर, अफगानिस्तालाई हेर्दा आम नागरिकहरू आफ्नै तालिबानी स्वतन्त्रता सेनाहरूबाट भने निकै नै त्रसित देखिन्छन् । तर, तालिबान के हो ?  भन्ने थाहा पाउँदा–नपाउँदै केही हदसम्म तिनलाई स्विकार्नु भनेको ठ्याक्कै लाई ‘मर्नु भन्दा बहुलाउनु निको’ भने जस्तो मात्रै हो ।

(लेखक दक्षिण एसियाली मामलाका अध्यता हुन्  ।)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...