गाउँको पश्चिमपट्टि पिलुवा खोला बगिरहेको छ । पूर्वपट्टि माया खोला बगिरहेको छ । गाउँको शिरमाथि हाङथुम डाँडा उभिरहेको छ । ती खोला र डाँडासँगै पुर्ख्यौली विरासत थामेर गाउँमै बसिरहेछन् असिम जीमि । माइला मझियाको जेठो नाति । विसं. १८३१ को लालमोहर सन्धिपिच्छे शाह राजाहरूद्वारा पल्लो किराँतको हरेक गाउँमा गाउँका प्रशासनिक र सामाजिक मामिलाहरू सम्हाल्न सुब्बा र मझियाहरू बनाइयो । त्यतिबेलै बनेका थिए असीमका चेप्चुबाजेहरू मझिया ।

बिस्तारै छोराहरूमा पुस्तान्तरण हुने क्रममा उनको बाजे मानबहादुर जिमि १७ वर्षको उमेरमै मझिया भए । सन्तानमा माइला भएकोले गाउँमा माइला मझियाको नामबाट परिचित भए । भलै भूमिसुधार ऐन र नापीपश्चात मझियाहरूको अस्तित्व समाप्त भयो । उनको बाजे सबैभन्दा अन्तिम मझिया बने । बाजेले मझिया बन्दा गरेको गाउँको विकासको साक्षी बनेर बसिरहेछ असीम ।

माइला मझिया विसं. १९८७ मा संखुवासभाको पूर्वी क्षेत्र मादी गाविसको जिमी गाउँमा जन्मिए । विसं. २००४ मा उनी मझिया बने । उनको जेठो दाइ र कान्छा भाइ पल्टन भाँसिएका थिए । त्यसैले बुबाको बिँडो थाम्ने काम उनको भयो । मादी गाविसको मुलखर्क, आले, मेहेले, ओइराङ र मङ्गलबारे उसको अधिकारमा पर्यो । गाउँ पञ्चायत होप्पिखोपमा थियो । मादी गाविसकै अर्को गाउँ रामबेनीकाे पञ्चायत भने ओखरबोटेमा थियो । उनी मझिया बन्दा खाँदबारी, चैनपुर र ओखरबोटे मात्रै विकास भएको थियो । सानो उमेरमै मझिया बने पनि उनमा दूरदर्शिता र इच्छाशक्ति व्यापक थियो । मझिया बनेपछि उनले गाउँको विकास र योगदानमा यति काम गरे जति सायदै कुनै मन्त्री र राजनेताहरूले अहिले गर्न सक्छन् ।

त्यतिबेला मादिमा धेरै खर्कहरू थिए । वस्तुभाउ र भेँडापालन अत्यधिक भएकोले ठाउँपिच्छे खर्कहरू बनाइएको थियो । तिनीहरूमध्ये एक थियो मुलखर्क । अलि सम्म र मिलेको ठाउँ । तर, एकदमै सुख्खा । जिमी गाउँबाट पूर्वपट्टि पर्ने मूलखर्कमा खड्का थरका छेत्रीहरू बस्थे । सुक्खा माटोको कारण उब्जाउ नहुने भएकोले ती खड्काहरू आजित भएर सिक्किमतिर बसाइँ सरे । तिनीहरूको घरजग्गा सबै माइला मझियाले किने । खड्काहरूबाट किनेको लगभग ३०० रोपनी जति जग्गालाई उनले आफ्नो किपट बनाए । घँगारु, तितेपाती अनि विभिन्न किसिमका काँडाहरू  फडानी  गरेर आफ्नो घर बनायो । त्यतिबेला सुब्बा र मझियाहरूले रस्ती रसाउने, बस्ती बसाउने अभियानस्वरूप आफ्नो किपटहरूमा बस्ती बसाउँथे । उनले पनि आफ्नो गाउँका छिमेकी, आफन्त, इस्टमित्र र नातेदारहरू भेलाएर मूलखर्कमा बस्ती बसाउन शुरू गरे । त्यतिबेला उनले मुलखर्कमा सडक ल्याउने सपना गाउँलेहरूलाई सुनाउँथे रे ।गाउँलेहरू सडक आउने कुरा त्यति पत्यार गर्थेनन् रे । त्यही सडकको निम्ती भनेर १० मिटर ठाउँ छोड्न लगाइ गाउँलेहरूलाई घर बनाउन अह्राए । बस्ती बसिसकेपछि २००९ सालमा आफ्नै किपटको जग्गामा आधारभूत शिक्षा प्रदान गराउन बाँसको चित्र र ढुङ्गामाटोबाट विनोद प्रावि नामको विद्यालय खोले । चैनपुर र धनकुटामा पढेलेखेका गाउँका अलिअलि शिक्षितहरूले त्यही अध्यापन गर्न थाले ।

त्यतिबेला सुब्बा, मझिया र मुखियाबीच खुब फुट थियो । पश्चिमपट्टि मादी गाविस अन्तर्गतकै रामवनेनी गाउँमा श्रीप्रसाद दाहाल भन्ने एकजना मुखिया थिए । उनी त्यतिबेला निक्कै शक्तिशाली थिए । दाहालहरूले त्यो ठाउँ पृथ्वीनारायण शाहबाट बिर्ता पाएका थिए । एकापसमा शक्ति प्रदर्शन र गर्नुपर्ने अहमले गर्दा उनीहरू पत्र लेखिकन मेलापातहरूमा फौदारी समेत गर्दथे । उत्तरपट्टिको मावादिन गाविसमा चैँ फागो थरको लिम्बूहरू सुब्बा थिए । सुब्बा र मुखियाहरूको उत्तर र पश्चिमपट्टि कब्जा भएकोले उनले पूर्वतिर कदम बढाए । तेह्रथुमको सिमानामा पर्ने मङ्गलबारे र ओइराङको धेरै खेतीयाेग्य ठाउँहरू किने । त्यहाँको जङ्गललाई किपट बनाएर संरक्षण गरे । तर, पनि उनको मनमा मूलखर्कनै थियो ।एकदिन ओइराङको किपटको जङ्गल डुल्दै गर्दा मुलखर्कमा एकीकृत बस्ती बसाउने अभियानको बारे सोच्न थाले । अनि त्यसको निम्ति कार्ययोजनाहरू बुन्न थाले।

मादीमा हिउँदे खेती नगर्ने भएकोले हिउँदमा गाउँका ९-१० जना साथीहरू भेलाएर उनी धरानतिर झर्थे । त्यतिबेला धरानमा लाहुरेहरूले बजार बसाइसकेको थियो । धरान झर्दा दुईतीन रात पैदलै हिँड्थे । बाटोमा पकाइ खान भाँडाकुडा सबै आफैँ बोक्थे । धरानमा साथीहरूलाई घुमाउँथे । विकास र योजनाकाबारे धेरै कुराहरू सिकाउँथे । अनि गाउँ विकासको योजना बनाउँदै नुन र रासनहरू बोकेर गाउँ फर्कन्थे ।

आफूले जानेको र गरेको कृषि क्षेत्र नै भएकोले उसले कृषिको माध्यमबाट विकास गर्ने सोच बनाए । विसं. २०२७ सालतिर इलाम गए । त्यहाँबाट अलैँची र उत्तीसहरू ल्याएर गाउँलेहरू भेलाइ अलैँची रोप्न सिकाए । अलैँचीसँगसँगै उत्तीस पनि रोपे । संखुवासभामा अलैँची खेती शुरू गर्ने पहिलो व्यक्ति उनै भए । पछि उनलाई अग्रज किसान भनेर पुरस्कृत पनि गरियो । बिस्तारै अलैँची खेती मादीका अन्य गुरुङ र छेत्रीहरूको पनि गर्न थाले । शुरूमा परीक्षण मात्रै गरेको अलैँची खेतीपछि गाउँलेहरूले आआफ्नो जग्गामा व्यावसायिक रूपमा गर्न थाले ।

उनले धेरैजसो विकासका कार्यहरू ०३५/३६ सालतिर गरे । शुरूमा उनले आफ्नै जग्गामा जिल्ला कृषिको अनुदानमा नर्सरी सञ्चालन गरे । नर्सरीबाट धुपी सल्ला, लाँकुरी र काइँयोजस्तो बिरुवाहरू हुर्काएर गाउँमा वृक्षरोपण कार्यक्रम चलाए । गोरेटो बाटोको छेउछाउ धुपी र सल्लाहरूले भरे । गाउँको शिरमा रहेको सुख्खा डाँडाभरि वृक्षरोपण गराएर हराभरा बनाए ।

उनले सानासाना केटाकेटीहरूलाई पनि हौसला र प्रेरणा प्रदान गर्न सयवटा पोलिव्याग भरेबापत एक रुपैयाँ दिन थाले । यसले वृक्षरोपण कार्यक्रमलाई थप गतिशील बनायो । ०३७ तिर इलामबाटै चियाको बीउ ल्याएर चिया खेतीको शुरूवात पनि गरे । शुरूमा आफ्नो करेसाबारीमा स्वउपभोगको निम्ती मात्रै शुरू गरेको चिया खेतीको निम्ति वातावरण अनुकूल हुने भएकोले उनले थप बीउहरू ल्याएर मङ्गलबारे ओइराङको ५०० रोपनी जग्गामा देवान साथीहरूसँग मिलेर व्यावसायिक खेती नै गरे । त्यसको नाम तुम्ना चिया कम्पनी राखे । याख्खा भाषामा तुम्नाको अर्थ जेठो हुन्छ । त्यो चिया कम्पनी संखुवासभाकै पहिलो चिया कम्पनी हो ।



त्यतिबेला गाउँका धेरैजसो युवाहरू पल्टने थिए । आफ्नै कान्छा भाइपनि पल्टने भएकोले उनले ब्रिटिश वेलफेयरसँग नजिक हुने अवसर पाए । ०३५ सालतिरै ब्रिटिश प्रोजेक्टसँग सहकार्य गरेर चार लाखको अनुदान ल्याए ।त्यो चार लाखबाट एकएक लाखको चारवटा इलाका कृषि केन्द्र, इलाका पशु सेवा केन्द्र, साना किसान सहकारी संस्था र एउटा अतिथि भवन बनाउन सफल भए । यसले मादीमा विकेन्द्रकरणको नयाँ लहर ल्यायो । गाउँलेका अनुसार उनको यो कार्यबाट रामवेनीको धेरै बिर्तावाल दाहालहरू चिँढिएका थिए रे । त्यतिबेला १ लाख भन्दा धेरै लागतको विकास योजनाहरूको उद्घाटन राजाले मात्रै गर्न पाउने प्रावधान रहेछ । राजा वीरेन्द्र ती चारवटा भवनहरू उद्घाटन गर्न मूलखर्क आउनै लागेका थिएछन् तर बिर्तावाल दाहालहरूले षड्यन्त्र गरेर राजालाई रोक्न सफल भए रे । यसरी उनले विकासको कार्यहरूमा अनेकौँ षडयन्त्र पनि भोगे ।

त्यसपछि श्रीपञ्चमीको दिनको अवसर पारेर सालिन्दा कृषि मेला सञ्चालन गर्न थाले । कृषि मेलामा संखुवासभाको धेरै ठाउँबाट किसानहरू आफूले उत्पादन गरेको बीउबिजन प्रदर्शन गर्न आउने गर्दथे । मेलामा प्रथम हुनेलाई पुरस्कृत गर्ने व्यवस्थासमेत गरे । यसबाट किसानहरू निक्कै खुसी भएर कृषिमा थप हौसिए । पछि मेलाले व्यापक रूप लिन थालेपछि स्थानीय गाउँलेहरूको श्रमदानबाट आफ्नै जग्गामा एउटा खेलमैदान खने । त्यहाँ मेलासँगसँगै फुटबल र भलिबल खेलको शुरूवात पनि गरे । त्यतिबेलै उनले गाउँका सक्रिय र सिर्जनशील युवाहरू भेलाएर हाङ्थुम क्लब भन्ने एउटा क्लब पनि दर्ता गरे । भनिन्छ संखुवासभामा पहिलोपटक फुटबल खेल शुरू गर्ने श्रेय पनि उनै माइला मझियालाई  जान्छ।उनको विकासको गति यतिमा मात्रै सीमित भएन । विसं. ०४४/४५ तिर वीरगञ्जबाट पानी मिल ल्याएर स्थानीय वालिङ खोलाबाट पानीमिल पनि सञ्चालनमा ल्याए । पछि त्यही पानी मिलमा मोटर जोडेर धरानको कृष्ण गृल भन्ने ट्रेडिङ कम्पनीसँग सहकार्य गरेर ०५१ मा पेल्टिसेडको माध्यमबाट बिजुलीबत्ती पनि बाले । गाउँलेहरूको अनुसार त्यो बिजुलीबाट लगभग बीसतीसवटा घरहरू उज्यालिएको थियो रे । ०४७/४८ तिर रेडक्रसको अनुदानमा वाटर एड कार्यक्रम अन्तर्गत गाउँमा खानेपानीको सुविधा उपलब्ध गराए । त्यहीताका एकजना बंगाली बिएस्सी शिक्षक ल्याएर मावि विद्यालय पनि सञ्चालनमा ल्याए । त्यतिबेला ताप्लेजुङको साँघु, चाँगे र फाकुम्बातिर्को धेरैजसो विद्यार्थीहरू पढ्नको निम्ती त्यहीँ आउने गर्थे रे । त्यतिन्जेलसम्म संखुवासभा जिल्लाभरि उनको हाइहाइ हुन थालिसकेको थियो ।खाँदबारी र चैनपुरलाई समेत उनले ठाडै चुनौती दिन थालिसकेका थिए, जुन त्यतिनेला सानोतिनो काम थिएन ।

उनको यस्तो विकास, समाजसेवा र निःस्वार्थ भावनालाई मध्यनजर गरेर राजनितिक दलहरूले उनलाई टिकट दिएर खुला राजनितिमा लाग्न समेत सुझाव दिए । उनलाई भेट्न गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र सूर्यबहादुर थापाजस्ता राजनेताहरू बारम्बार आइरहन्थे रे । तर, उनलाई राजनिति भन्दापनि समाजसेवामा नै मन लागिरह्यो । तैपनि उनले समाजसेवालाई नै प्राथमिकतामा राखेर तीनपटकसम्म क्षेत्रीय सभापति भएर पनि काम गरे । उनलाई गाउँ पञ्चायतको पटकपटक आउने गर्थे । तर, आफूलाई आएको गाउँ पञ्चायतको प्रस्ताव नकारेर उनले भाइ पर्ने स्थानीय डम्मरुप्रसाद जिमीलाई पञ्चायतको निम्ति सिफारिस गरिरहे । डम्मरुप्रसादले उनकै सिफारिसमा ४० वर्षसम्म गाउँ पञ्चायत खाइरहे । विसं. ०४८ मा पञ्चायतको अन्त्य भएर प्रजातन्त्र आयो । प्रजातन्त्रले धेरै राजनितिक दलहरूलाई स्वतन्त्रता प्रदान गरे । गाउँगाउँमा नापी आयो । नापीमा धेरैले आफ्नो जग्गाहरू नापे । उनले पनि ओइराङको जङ्गल छाडेर सबै जग्गाहरू नापे र धनीपूर्जा लिए । त्य तिबेला जङ्गल चैँ नापी गर्न नमिल्ने भएकोले ओइराङको किपटी जङ्गल त्यतिकै छाडियो । बीचबीचमा त्यसले निक्कै समस्या पनि निम्त्यायो । नापीपछि सुब्बा र मझियाहरूको सम्पूर्ण अधिकार खोसियो । पल्लो किराँतमा ०३५ मै नापी पुगेकोले त्यहाँको सुब्बाहरूको अस्तित्व त्यतिबेलै समाप्त भयो । तर, माझकिराँतको संखुवासभामा भने ०४८ मा मात्रै नापी भएकोले ०४८ पछि मात्रै उनको पद समाप्त भयो । तर, मझिया पद हटेपनि उनलाई सबैले माइला मझिया भनेरै सम्बोधन गर्थे । त्यसपछि भने उनले एक गाउँको अग्रज अभिवावक भएर समाजसेवा गर्न थाले ।

उनको भाइ पल्टनबाट रिटायर्ड भएर फर्के । पुर्ख्यौली काङ्ग्रेस पार्टीको छत्रछाँयामा हुर्किएकोले उनले काङ्ग्रेसको तर्फबाट ०५१ मा जिविस सभापति हुने मौका पाए । भाइ जिविस सभापति भएपछि माइला मझियालाई विकासको कार्यक्रमहरू गर्न थप सजिलो भयो । भाइ जिविस सभापति भएकै ताका उनले गाउँमा टेलिफोनको सुविधा पनि ल्याए । त्यतिबेला सदरमुकाम खाँदबारी,चैनपुर र ओखरबोटेमा मात्रै टेलिफोनको सुविधा थिएछ । चैनपुरको टेलिफोनको टावर भएकोले टेलिफोनले राम्रै सुविधा दियो । विकासको कार्यले यति तीब्र गति लिएपनि भने सडक र मोटरको सपनाले नै ठुँंगिरहेको थियो । फलस्वरूप ०५१ मा ४/५ लाख बजेट र स्थानीयहरूको श्रमदानमा विस्तृत मोटरबाटो अभियान अन्तर्गत लगभग १४ किमी लामो मोटरबाटो मङ्गलबारेबाट मुलखर्कसम्म खनियो ।

मङ्गलबारे मुलखर्क हुँदै ओखरबोटे जोडिएको बाटो चैनपुर हुँदै सदरमुकाम खाँदबारीसम्म पुग्यो । तर, मंगलबारेदेखि तेह्रथुमको वसन्तपुर जोड्ने बाटो भने सिमानाको आन्तरिक किचलोले बन्न सकेन । मङ्गलबारेबाट वसन्तपुरसम्म पैदल हिँड्नुपर्ने भयो जसको कारण मोटर ल्याउने उनको सपना अझै केही वर्ष पछाडि सर्यो । पछि ०६८/६९ मा भने त्यो बाटो तेह्रथुमको वसन्तपुरसँग जोडियो । तर, त्यतिबेला उनि परलोक भइसकेको थियो । ०५१ सालतिरै उनलाई नेपाल सरकारले जराजुरी कार्यक्रम अन्तर्गत स्वीजरल्याण्ड भ्रमणमा लग्यो ।

पञ्चायतकालको अन्त्य भएर प्रजातन्त्रको पुनर्वहाली भएपनि विसं. ०५२ बाट देशमा माओवादी जनयुद्ध शुरू भयो ।माओवादीले संखुवासाभामा पनि आफ्नो कार्यलय खडा गर्यो । माओवादीको जिल्ला इन्चार्ज चैनपुरका वासु शाक्य भए । उनीहरूले माइला मझियालाई शोषक सामन्त देखे । उनको जग्गाजमिन र सम्पतिलाई तारो बनाए । उनीविरुद्ध लड्न संगठित भएर लाग्न थाले ।

गाउँका कम्युनिस्ट पार्टी र अन्य विरोधीहरूको सहयोग पनि माओवादीहरूलाई उत्तिकै मात्रामा मिल्यो । परिणामस्वरूप ०५८ जेठ १५ को एकाबिहानै उनको घरमा माओवादीहरूले छापा मार्यो । उनको धनीपूर्जा सबै जलाइयो । ओखरबोटे बैंकमा राखिएको ४/५ तोला सून जफत गरियो । त्यतिबेला वस्तुभाउको रूपमा उनीसँग एउटा जर्सी गाई र बीउ गोरु मात्रै थिएछ । त्योपनि उनीहरूले लगिदिए । त्यतिबेला माओवादीले एउटा बिदाइ कार्यक्रम राखेको थिएछ । त्यसमा उनलाई पनि बोल्न लगाइयो । उनले त्यस कार्यक्रममा आफूलाई किन समातिएको हो थाहा नहुने कुरो गरेको थिएछ । त्यसको एक सातासम्म उनीहरूलाई घर छोड्न चेतावनी दिइयो । उनका छोराबुहारी र नातीनातिनीहरू जेठ १८ गते धरानको भरौलतिर झरे । उनी भने आफ्नो श्रीमतीसँग ओइराङको घरमा गएर बस्न थाले । त्यहाँ एकमहिना जति बसे । बिस्तारै ज्यानको सुरक्षाको डर भएकोले उनी छोराहरू भएतिरै झरे । मूलखर्कमा मोटर ल्याउने सपना हुँदाहुँदै पनि उनले बाध्यतावश भरौलमै बाँकी जीवन बिताउन बाध्य भए । उनीहरूको जग्गा जमिन भने गाउँलेहरूले उपभोग गर्न थाले ।



पछि ०६३ मङ्सिर ५ मा माओवादी र सरकार पक्षबीच बृहत शान्ति सम्झौता भयो । शान्ति सम्झौतापछि असुरक्षाको त्रास नहुने भयो । उनका छोरा नाति सबैजना मूलखर्क फर्के । त्यत्रो वर्ष माओवादीले कब्जा गरेको उनीहरूको घर जस्ताको त्यस्तै थिएछ । उनीहरूले सरसफाइ गरेर फेरि त्यही बस्न थाले । शान्ति सम्झौतापछि माइला मझिया भने एकपटक मात्रै मूलखर्क आए । त्यतिखेर उनीमा पहिलेजस्तो जोस थिएन । उनले माओवादीले कब्जा गरेको जग्गाजमिन र कागजातहरूको फेहरिस्त छोरानातिहरूलाई सुनाए । त्यतिन्जेलसम्म उनि प्रेसर, सुगर र विभिन्न तनावहरूले थलिसकेको थियो । ०६४ सालको एकदिन गोरु जोत्दाजोत्दै उनी बिरामी परे । उनलाई काठमाडौँको वीर अस्पताल पुर्याइयो । तर उमेर र रोगले गलेको उनी अस्पतालको सेवाले पनि बाँच्न सकेनन् । मङ्सिर ११ को एक बिहान उनले आफ्नो गाउँमा मोटरबाटो ल्याउने अपुरै सपना छोडेर आफन्तहरूको सामुन्ने सदाको लागि आँखा चिम्ले ।

अहिले मूलखर्कमा मोटरबाटो आइपुगेको छ । विनोद मावि उच्च माविमा परीणत भएको छ । एउटा प्रावि स्कुल सञ्चालनमा छ । माइला मझियाको नातिनी बुहारीले एउटा बोर्डिङ सञ्चालनमा ल्याएको छ । ४०/५० सैयाको एउटा अस्पताल बनेको छ । नमुना सडकको अवधारणा स्वरूप १०० मिटर पक्की बाटो बनेको छ । सुक्का जमिन खेतीयोग्य भएको छ । मानिसहरूले व्यापार, जागिर र पर्यटन थालेका छन् । आर्थिक, सामाजिक र राजनैतिक चेतना दुबो झैँ फैलिएको छ । बस असीम जिमी आफ्नो पुर्ख्यौली घरको बरण्डामा बसेर सोचिरहन्छन् बाजेको कहानी । बाजेको इतिहास । र, धाइरहन्छन् अड्डा र अफिसहरू आफ्नो गुमेको कागजात र धनीपूर्जाहरूको फिर्ता लिन । उनलाई गति दिन निरन्तर बगिरहेछ वालिङ खोला । उनलाई आँट दिन निरन्तर उभिरहेछ हाङथुम झरना ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सञ्जित फलाना

लेखकबाट थप...