काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलाइरहेका ७ रेफ्रीको राजीनामासँगै लिग नखेलाउने निर्णय गरेकालाई थप ९ रेफ्रीले समर्थन गर्दै लिग नखेलाउने निर्णय गरेका छन् । 

शीर्ष डिभिजनको लिग जारी रहँदा  एन्फा अध्यक्षले गरेको व्यवहारका कारण लिग नखेलाउने निर्णय गरेको रेफ्री स्रोतले न्युज कारखानासँग बताएको छ । 

यस अघि जारी लिग खेलाइरहेका ७  फिफा रेफ्रीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा समक्ष राजीनामा पत्र बुझाएका थिए । यसअघि ९ रेफ्रीले राजीनामा बुझाए पनि विभागबाट दबाब आएका कारण आर्मीका दुई रेफ्रीले नाम फिर्ता लिएका हुन् । 

७ फिफा रेफ्रीलाई समर्थन गर्दै अन्य लिग खेलाउने क्याटगोरी ए का ९ रेफ्रीले समेत लिगमा सहभागी नहुने निर्णय लिएका हुन् । 
 
यस अघि एन्फाले गत डिसेम्बरमानै १० पुरुष र २ महिला गरी १२ रेफ्रीको फिटनेस टेस्ट गरी फिफा ब्याज नवीकरण गरेको थियो । 

तर लिग दौरान एन्फा अध्यक्ष सहित एन्फा रेफ्री निर्देशक गौतम कौरले पुनः टेस्ट मागेपछि आफूहरूले आपत्ति जनाएको र त्यसपछि एन्फा अध्यक्ष कर्माले आफूहरू प्रति गरेको घृणित व्यवहारका कारण राजीनामा दिन बाध्य भएको  रेफ्रीस्रोतले न्युज कारखानालाई जानकारी गरायो । 

‘हाम्रो डिसेम्बरमा मात्रै टेस्ट भएको हो । उहाँ  अहिले लगत्तै लिन्छु भन्नुहुन्छ । तर हामीले समय पनि मागेका छौं । एक महिना पछि राख्नुस् हामी तयार छौं भनेको हो ।  अहिले नै गर्दा लिग जारी छ । इन्जुरीको समस्या हुन्छ भन्ने हाम्रो तर्फबाट कुरा राख्दा उहाँले राजनीति गर्ने, पावर देखाउन आएको ।  मसँग सिधै कुरा गर्ने । लिग नखेलाउनु भनेर हामीविरुद्धनै लाग्नुभयो ।  त्यसपछि राजीनामा पत्र बुझाउन बाध्य भएको हौं ।’ रेफ्री स्रोत भन्छ । 

यससँगै सहिद स्मारक लिगको तेस्रो चरणका खेल भोलिदेखि रंगशालामा सुरु हुँदै गर्दा सो खेलहरू हुने वा नहुने भन्नेमा अनिश्चितता बढेको छ । 

लिगका लागि तयार गरिएका मुख्य १७ रेफ्रीले लिग नखेलाउने  हस्त लिखित निर्णय नै गरिसकेका छन् । यस्तै केही रेफ्रीभने एन्फा परिसर नजिक नभएकाले मौखिक प्रतिबद्धता जनाएका छन् । 

राजीनामा दिने ७ फिफा रेफ्री:

प्रकाश नाथ श्रेष्ठ, नवीन्द्र महर्जन, प्रज्वल क्षेत्री,  नानीराम थापा मगर,  सहदेव श्रेष्ठ, युनाल मल्ल, किशन कन्हैया यादव



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...