काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीमाथि प्रतिबन्ध लागेकाे छ । भारतविरुद्धको साफ च्याम्पियनसिपको फाइनल खेलमा उनीमाथि प्रतिबन्ध लागेकाे हाे । प्रतियोगिताको लिग चरणका दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो ।

दक्षिण एसियाली फुटबल (साफ)ले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड पाएमा खेलाडीले अर्को खेल खेल्न नपाउने उल्लेख छ । खेलका क्रममा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ । तर, साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड पाएको कारण देखाउँदै फाइनलमा प्रतिबन्ध गरेको हो। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे साफको निर्णयका विषयमा पत्राचार पनि गरिसकेको जनाइएको छ। 

एसियाली फुटबल महासंघ (एएफसी)को अनुशासन नियमावलीमा कुनैपनि व्यक्तिले कुनै पनि प्रतियोगिताका दौरान दुई खेलमा पहेंलो कार्ड भएमा अर्को खेल गुमाउने उल्लेख छ । सो नियमावलीमा प्रतियोगिताका आयोजकले आफ्नै नियम बनाएमा त्यसलाई परिवर्तन गर्न सकिने उल्लेख छ । साफको नियमावलीमा भने अफिसियललाई दुई फरक खेलको पहेंलो कार्ड पाएमा प्रतिबन्ध लगाउन सकिने भन्ने उल्लेख गरिएको छैन। 

प्रमुख प्रशिक्षक अलमुताइरीले लिग चरणमा श्रीलंका र बंगलादेशविरुद्धको खेलका क्रममा पहेंलो कार्ड पाएका थिए। यसअघि प्रतियोगिताको यसै नियम अनुसार नेपालका स्ट्राइकर अञ्जन विष्टले पनि फाइनल खेल गुमाउने भएका छन्।

यसैगरी भारतका प्रशिक्षक इगोर स्टिमाचले फाइनलमा प्रतिबन्ध भोगेका छन् । स्टिमाचले माल्दिभ्सविरुद्ध भएको खेलमा दुई पहेंलोसहित रातो कार्ड नै पाएका थिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...