सुर्खेत - खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २ खाद्यान्न पुर्‍याइएको हो । 

लिमी क्षेत्रमा खाद्यान्नको चरम अभाव भएपछि  वडा अध्यक्ष पाल्जोर तामाङ खाद्यान्न पठाउनुपर्ने माग गर्दै काठमाडौंमा पुगेका थिए । जनप्रतिनिधिले खाद्यान्न पठाउन पहल गरेपछि सेनाको हेलिकोप्टरमार्फत् लिमीमा खाद्यान्न ढुवानी गरिएको हो ।

लिमी क्षेत्रमा पठाएको २५० क्विन्टल खाद्यान्नले करिब चार महिना खान पुग्ने हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । ‘यो खाद्यान्नले त्यहाँ तीनदेखि चार महिना पुग्छ’,  उनले भने, ‘अभाव भए थप पठाउनेछौँ ।’

लिमी क्षेत्रमा हिमपातका कारणले आवातजावत गर्न समस्या हुने गरेको छ । नाम्खाका लागि यस वर्ष एक हजार क्विन्टल चामल ढुवानी गर्न स्वीकृति मिलेको थियो । तर, हालसम्म ढुवानी भएको थिएन । खाद्यान्न ढुवानी समयमा नहुदाँ भोकमरीको समस्या निम्तिएको थियो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...