हेमन्त केसी

डोल्पा - नेपालकै गहिरो तालको परिचय बनाएको शे-फोक्सुण्डो ताल मौसम खुलेसँगै निलो देखिएको छ । छिनछिनमा रंग बदल्ने यो ताल फोक्सो आकारको भएकाले फोक्सुण्डो र शे गुम्बा नजिकै भएकाले शे-फोक्सुण्डो नाम राखिएको हो । यो तालमा जीवित कुनै पनि प्राणी नभएको विज्ञले बताउँदै आएका छन् ।

उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकामा रहेको यो ताल सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औँ शताब्दीमा निर्मित शे गुम्बा पनि यही छ । शे-फोक्सुण्डो राष्टिय निकुञ्जको बीचमा रहेको यो ताल कर्णालीको पहिचान पनि हो । यस तालको वरपर विभिन्न किसिमका जनावरहरू समेत हेर्न पाइन्छ ।

अग्ला पहाडबाट बगेर कञ्चन हिउँबाट ताल भरिने गर्दछ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस ठाउँमा डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पंक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ ।

यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण ६,८६६ मिटर , सिकाल्पो खाङ ६,५५६ मिटर , वेज चुचुरो ७,१३९ मिटर जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् । 








यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार