नेपालको राजनीतिक आन्दोलनको परिवर्तनमा महिलाहरूको भूमिका महत्त्वपूर्ण छ । मुलुक सङ्घीयतामा गइसकेपश्चात् महिलाको समानुपातिक एवं सार्थक राजनीतिक सहभागिताको उपलब्धि थोरै मात्रामा भए पनि देखिन पुगेको छ । संविधान, नीति, ऐन, नियम र जनचेतना लगायतका धरातलीय पृष्ठभूमिसहितको आधारशिला तयार गरिँदै छ । यसो हुँदा सम्बद्ध आरक्षणसँगसँगै आधारभूत तहदेखि नै सबै तहमा महिलाको क्रान्तिक द्रव्यमान थोरबहुत मात्रामा देखिन पुगेको महसुस धादिङको माख्लो भेगमा रहेको खनियाबास गाउँपालिका उपाध्यक्ष यो माया तामाङको रहेको छ । यस द्रव्यमान बढ्दै गएको खण्डमा मात्र  सर्वोच्च र उच्च पदहरूमा महिलाको उपस्थिति स्वाभाविक, जैविक एवम् दिगो हुने उनको बुझाइ छ । 



पालिका उपाध्यक्ष तामाङ महिलाहरूले प्राथमिक शिक्षिका, स्वास्थ्य परिचारिका, प्रसूति सम्बन्धी डाक्टर, नौदेखि पाँचसम्मका अन्य परम्परागत जागिरमा सङ्कुचित हुनुपर्ने या  परम्परागत पेसागत परिचय त्याग्नुपर्ने अड्डी कस्छिन् । “घरमा सधैँ भात पकाएर हुँदैन । इज्जत, प्रतिष्ठा र पैसा भएको पेसामा पनि महिला सहभागिता बढ्नुपर्छ”, उनी अगाडि भन्छिन्, “संवैधानिक र कानुनी संरचना पर्याप्त महिलामैत्री बनिसकेका छन्, अब गुणात्मक परिणामका लागि राम्रो अभ्यासको आवश्यकता छ । हाम्रो पालिकाले सोही काम गरिरहेको छ ।” तामाङले अघिल्लो चुनावमा १६ सय ५५ मत ल्याएर उपाध्यक्षमा विजयी भएकी हुन् । 



जनता दिगो विकासको खाका कोर्न सक्नेहरू आफ्नो प्रतिनिधि होउन् भन्ने चाहन्छन् । जनताका हरेक दुःखमा साथ दिने जनप्रतिनिधिको आवश्यकता छ अहिले  । यस कुरालाई उपाध्यक्ष तामाङले बुझेकी छन् । पालिकाले ०७६ सालदेखि सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सुरु गरेको छ । यसैगरी मातृशिशुको लागि बर्सेनी ३ लाख पोषण भत्ता पनि व्यवस्था गरेको छ । उपाध्यक्ष तामाङकै जोडबलमा पालिकामा महिला उद्यमशीलता ढाका रिफ्रेसर तालिम ०७६ देखि सुरु भएको छ । हाल १० जनाले पछ्याउरा, साडी बुनिरहेका छन् भने ३९ जनाले तालिमप्राप्त गरी आयआर्जनमा लागिसेका छन् । 



यसैगरी, एकल महिला उत्थानअन्तर्गत एकल महिला बाख्रा पैँचो कार्यक्रम सञ्चालनमा आइरहेको छ, जसअनुरूप वर्षेनी ५ वडाका ५/५ जनाले २५ वटा बाख्रा पाइसकेका छन् । हालसम्म ७५ जना एकल महिलाहरू लाभान्वित भइसकेका छन् । आगामी वर्षमा यो सङ्ख्या ५० मा पुर्‍याउने उपाध्यक्ष तामाङले बताइन् । वडापिच्छे आमा समूहका लागि भवन निर्माण (१६ वटा) गरेर २५ जनालाई दुनाटपरी र ३० जनालाई व्रिकेट चुल्हो सम्बन्धी सीप विकास तालिम पालिकाले दिइसकेको उनले बताइन् । सो भवनहरूमा स्वास्थ्य, शिक्षा एवं सरसफाई सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू हुँदै आइरहेका छन् । 

प्रा.वि., मा.वि. र कलेज गरेर पालिकामा २७ वटा शैक्षिक संस्थाहरू सञ्चालित छन् । झार्लाङ मा.वि. यसैवर्षदेखि प्लस टू लेभलमा उक्लिएको छ भने नीलकण्ठ बहुमुखी क्याम्पससँग सहकार्य गरेर बछेलादेवीमा ब्याचलर लेभलको पढाइ सुरु गरिएको छ । बछलादेवीमा ब्याचलर पढ्न आउने महिलाको सङ्ख्या २२ रहेको उपाध्यक्ष तामाङले बताइन् । बालविकास केन्द्रमा कार्यरत शिक्षिकाको तलब साढे ८ हजार बाट १३ हजारमा पुर्‍याइएको छ । पालिकाले दुई वटा कलेज सञ्चालनको खाँका कोरेर पनि काम अघि नबढेको अवस्था रहेको छ । 



पालिकामा जनजाति समुदायको बाहुल्यता एवं शैक्षिक गुणस्तर सुधारोन्मुख रहेकाले बाल विवाह विरुद्ध सचेतनामूलक कार्यक्रमहरू आफूले जोड दिइरहेको उनी बताउँछिन् । जसका लागि 'किशोरकिशोरीसँग उपाध्यक्ष' कार्यक्रम सञ्चालनमा ल्याउने तयारी छ, जो ८ क्लासका विद्यार्थीहरूबाट नै सुरु गरिने उनले बताइन् । हालसालै पालिकाको आठ वटा माविका विद्यार्थीहरूलाई बालविवाह रोकथामको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालित गरेको पनि उनले बताइन् । 

पालिकामा खनियाबास ग्रामीण अस्पताल, खनियाबास आँखा केन्द्र क्लिनिक सञ्चालनमा आइरहेका छन्, जहाँ अक्सिजन प्लान्ट, एक्स रे मसिन, फार्मेसी तथा ल्याब रहेको छ । अस्पतालमा आँखा, प्रसूति, फार्मेसी सेवा लगायत सम्पूर्ण आधारभूत स्वास्थ्य सेवा उपलब्ध छ । हरेक विद्यार्थीलाई तीन महिनामा एकचोटी होल बडी चेक गर्ने सुविधा उपलब्ध गराउनतर्फ पालिका उन्मुख भएको उपाध्यक्ष तामाङले बताइन् । अस्पताल सञ्चालनमा आएपश्चात् ग्रामीण महिलामा देखिने पाठेघर खस्ने समस्याको गाउँमै सहज रूपमै समाधान हुन सकेको अस्पतालका डा.शिव विष्ट बताउँछन् ।



उपाध्यक्ष र अध्यक्षबिच हरेक कामकारबाहीमा सहकार्य हुँदै आएको उनले खुलाइन् ।केन्द्र एवम् प्रदेश सरकारको समन्वयमा महिला सशक्तीकरणसँग सम्बन्धित कार्यक्रमहरू ठुलो भ्लोयुममा सञ्चालनमा आउन नसकेको उपाध्यक्ष तामाङले बताइन् । “स्थानीय सरकारलाई नै उत्तरदायी बनाउने हिसाबले पनि ती सहयोगहरू प्राप्त नभइरहेको हो कि भन्ने पनि लाग्दछ, तर महिला हिंसासँग सम्बन्धित केही कार्यक्रमहरू भने आइरहेका छन्”, उनले भनिन् । वडा नम्बर ३ र ५ लाई कृषि पकेट क्षेत्र बनाउने क्रममा महिला, एकल महिला, दलितलाई सीप विकास र आयआर्जन उन्नतिमा अगाडि बढाइएको समेत उनले बताइन् । 



पर्याप्त संवैधानिक र कानुनी संरचना बनिसकेको आजको अवस्थामा महिलाको समानुपातिक र समावेशीसँगसँगै सार्थक राजनीतिक प्रतिनिधित्व भएमा महिला हकहितका लागि धेरै कामहरू गर्ने सक्ने उपाध्यक्ष तामाङले बताइन् ।  



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार