काठमाडौं - नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले १२ औँ जनगणना २०७८ को प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै १० वर्ष अघिको तुलनामा १०.१८ प्रतिशतले बढेर यो संख्या पुगेको हो । यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो।
हाल नेपालमा पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार र महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार रहेको छ । १० वर्षअघिकाे तुलनामा नेपालकाे जनसंख्या वृद्धिदर घटेको छ । नेपालकाे जनसंख्या वृद्धिदर यसपल्ट ०.९३ प्रतिशत छ । २०६८ मा यसको वृद्धिदर १ प्रतिशतभन्दा बढी थियाे । सार्वजनिक तथ्याङ्कअनुसार जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ ।
जनगणना घर र परिवार संख्या
राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ । ती परिवारहरू जम्मा ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसेका देखिएको छ । अर्थात्, १० वटा घरमा औसतमा १२ परिवार बसोबास गरेको देखिएको छ । हालको परिवार संख्या १० वर्षअघिको भन्दा करिब २४.५७ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७५७ परिवार थप भएको देखिएको विभागले जनाएको छ ।
परिवारको आकार
राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार प्रतिपरिवार ४.३२ जना सदस्य रहेको देखिन्छ, त्यो ०६८ मा ४.८८ जना थियो । सहरी क्षेत्रको परिवारमा सालाखाला ४.२५ जना रहेका छन् भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेको देखिएको छ । १० वर्षअघि क्रमशः ४.३२ जना र ५.०२ जना थियो । भौगोलिक क्षेत्रानुसार हेर्दा हिमाली क्षेत्रमा सालाखाला ४.२७ जना, पहाडमा ३.९५ जना र तराई क्षेत्रमा ४.६५ जना प्रतिपरिवार रहेको देखिएको छ ।
प्रदेशगत आधारमा हेर्दा परिवारमा औसत सदस्य संख्या गण्डकी प्रदेशमा सबैभन्दा कम (३.६६ जना) र मधेस प्रदेशमा सबैभन्दा बढी (५.६६ जना) रहेको छ । ०६८ सालमा क्रमशः ४.१६ जना र ५.८० जना थियो । जिल्लाअनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा (३.४१ जना) देखिएको छ भने परिवारको आकार सबैभन्दा ठूलो रौतहट जिल्लामा ५.९२ जना देखिएको छ ।
कुन प्रदेशमा कति ?
प्रारम्भिक जनगणनाअनुसार सबैभन्दा धेरै जनसंख्या मधेसमा देखिएकाे छ । कर्णाली प्रदेशमा सबैभन्दा थाेरै जनसंख्या रहेकाे विवरण विभागले सार्वजनिक गरेकाे छ ।
मधेस प्रदेशमा सबैभन्दा धेरै ६१ लाख २६ हजार २ सय ८८ जनसंख्या रहेको छ भने कर्णालीमा १६ लाख ९४ हजार ८ सय ८९ जनसंख्या छ । यस्तै, प्रदेश १ मा ४९ लाख ७२ हजार २१ तथा बागमती प्रदेशमा ६० लाख ८४ हजार ४२ जनसंख्या रहेको छ ।
गण्डकी प्रदेशमा २४ लाख ७९ हजार ७ सय ४५ तथा लुम्बिनी प्रदेशमा ५१ लाख २४ हजार २ सय २५ जनसंख्या रहेको छ । सुदूरपश्चिम प्रदेशमा २७ लाख ११ हजार २ सय ७० जनसंख्या रहेको जनगणना २०७८ काे तथ्यांकले देखाएकाे छ ।
काठमाडौंमा सबैभन्दा बढी, मनाङमा सबैभन्दा कम
देशभरका शहरमध्ये सबैभन्दा बढी जनसंख्या काठमाडाैं (२० लाख १७ हजार ५३२ ) मा देखिएकाे छ भने सबैभन्दा कम मनाङ (५ हजार ६ सय ४५ जना) मा देखिएको छ । यसैगरी प्रदेश १ काे मोरङ, लुम्बिनी प्रदेशकाे रुपन्देही, प्रदेश १ कै झापा र सुनसरी जनसंख्याका हिसाबले क्रमशः दोस्रो, तेस्रो, चौथो र पाचौँ स्थानमा देखिएका छन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्छन् ।
गाउँपालिका र नगरपालिकाको हकमा जनसंख्या
राष्ट्रिय जनगणना २०७८ले बाँकेको बैजनाथपुर गाउँपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको देखाएको छ । गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँके जिल्लाको बैजनाथसहित राप्तीसोनारी र खजुरा, रुपन्देही जिल्लाको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी हुन् ।
सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकाहरुमा मनाङको नार्पा भूमी, मुस्ताङ्गको लो-घेकर दामोदरकुण्ड, मनाङको मनाङ ङ्सियाङ र नासोँ गाउँपालिका छन् । सबैभन्दा धेरै जनसख्या बाँकेको बैजनाथ गाउँपालिकामा ७०,३१५ र सबैभन्दा कम जनसंख्या भएको मनाङको नार्फाभूमि गाउँपालिकामा ४४२ रहेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार शहरी क्षेत्र वा नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका हुन् ।
सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरुमा डोल्पाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभाको मादी, तेह्रथुमको लालिगुराँस र दोलखाको जिरी नगरपालिका छन् । सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकामा ८,६५,९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १०,१८७ जनसंख्या रहेको विभागले जानकारी दिएको छ ।
लगभग २२ लाख जनसंख्या विदेशमा :
अहिले कुल २१ लाख ६९ हजार ४७८ व्यक्तिहरू विदेशमा बसोबास गर्दै आएको प्रारम्भिक तथ्यांकले देखाएको छ। जसमध्ये १७ लाख ६३ हजार ३१५ पुरूष र ४ लाख ६ हजार १०३ महिला विदेशमा बसोबास गर्दै आएका छन् । त्यो भनेको ८१.२८ प्रतिशत पुरूष र १८.७२ प्रतिशत महिला विदेशमा छन् ।
१० वर्ष अघिको तथ्यांकलाई हेर्ने हो भने जम्मा विदेशिनेको संख्या १९ लाख २१ हजार ४९४ जना थियो । जसमध्ये पुरूष १६ लाख ८४ हजार २९ जना पुरूष र महिला २ लाख ३७ हजार ४०० जना थिए। त्यतिबेला विदेशिने पुरूषको संख्या ८७.६४ प्रतिशत थियो भने महिलाहरूको जम्मा १२.३६ प्रतिशत मात्रै थियो । त्यसअनुसार अहिले महिलाहरू विदेशिने दर बढेको छ ।
यस्तै भौगोलिक क्षेत्रअनुसार तराईका १० लाख ६५ हजार ९६९, पहाडका ९ लाख ८४ हजार ८९६ हजार र हिमालका १ लाख १८ हजार ६१३ व्यक्तिहरू विदेशमा रहेको देखिन्छ ।
३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक
३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ । रदेशका ७७ जिल्लाहरूमध्ये अधिकांश हिमाली र पहाडी जिल्लाहरूको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको हो । तराईका सबै जिल्लाहरुको जनसंख्या वृद्धिदर धनात्मक छ ।
सबैभन्दा ऋणात्मक वृद्धिदर रामेछाम जिल्लामा -१.६५ प्रतिशत छ । सवैभन्दा कम जनसंख्या वृद्धि हुनेमा रामेछापसहित खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम छन् । सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुर जिल्लामा ३.३२ प्रशित छ । रुपन्देही, चितवन, बाँके र सुनसरी जिल्ला पनि बढी वृद्धिदर भएका जिल्ला हुन् । हिमाली जिल्लाहरूमध्ये मुगु जिल्लामा सबैभन्दा बढी (१.८० प्रतिशत) वाषिर्क जनसंख्या वृद्धिदर देखिएको छ ।
राष्ट्रिय जनगणना–२०७८ नेपालको १२औँ र वि.सं. २०७२ मा जारी भएको नेपालको संविधानपछिको पहिलो जनगणना हो । यस जनगणनामा पहिलो चरणको स्थलगत कार्य ०७८ भदौ ३० देखि असोज १८ गतेसम्म र दोस्रो चरणको स्थलगत कार्य ०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सम्पन्न भएको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...