तेह्रथुम - लिम्बू समुदायको आफ्नै भाषा, लिपी, संस्कार, संस्कृति छ । जन्मदेखि मृत्युसम्ममा यो समुदायले गर्ने विधि र परम्परा मुन्धुम (धर्मशास्त्र) मा आधारित छ ।

लिम्बू समुदायमा मुन्धुम वाचन कवितात्मक हुन्छ। लयात्मक हुन्छ । मुन्धुमसाबा वा जान्ने बुझ्नेले यसलाई लोककथाका रूपमा सुनाउँदै आएका छन् ।

समय कालसँगै मुन्धुममा विषय र लय सिर्जनातात्मक पनि बनाउँदै लगेका हुन्छन् भने लिम्बू पुरोहित जस्तै फेदाङ्बारसाम्बाले विशेष धार्मिक पूजा, सामाजिक कर्मकाण्ड, साँस्कृतिक अनुष्ठान र धार्मिक पूजामा यसको शास्त्रीय पक्षलाई गाउँदै/बचाउँदै ल्याएका छन् ।

लिम्बू समुदायको पछिल्लो पुस्तामा मुन्धुम लोप हुँदै गएपछि किराँत याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिले दोस्रो याक्थुङ मुन्धुम गोष्ठी तेह्रथुमको छथर गाउँपालिका-५ ओख्रे स्थित ताक्लुङ गढीमा आयोजना गरेको छ । गोष्ठीमा मुन्धुमको थप खोजी बारे छलफल भएको थियो ।

चुम्लुङले विगतका वर्षदेखि नै मुख्यतः लिम्बू आदिवासीको भाषिक, साँस्कृतिक, सामाजिक तथा आर्थिक विकाससम्बन्धी काम गर्दै आएको केन्द्रीय अध्यक्ष योगराज वानेमले बताए । साँस्कृतिक गतिविधिहरूमा मुन्धुम लिम्बू आदिवासीको मौलिकपन भएको र विन दर्शनमा आधारित भएको महत्वपूर्ण दस्तावेजका साथै सामाजिक कार्य अघि बढाउने संस्कार संस्कृतिसँग सम्बन्धित रहेको अध्यक्ष वानेमको भनाइ छ ।

उनी भन्छन्, ‘चुम्लुङले मुन्धुमसम्बन्धी विभिन्न चर्चा परिचर्चा व्याख्या विश्लेषण गर्दै आएको र समाजमा व्यापक बनाउने उदेश्यका साथ मुन्धुम गोष्टी गर्दै आएका छौँ । गोष्ठी ऐतिहासिक तथा साँस्कृतिक स्थलमा प्रयोगात्मक रूपमा गरेका छौ । मुन्धुमहरू धेरै खण्ड भए पनि यहाँ सृष्टिसम्बन्धी १० वटा यक (गडी) बनाएर छलफल र बहस गरेका छौँ ।’

गोष्ठीमा पूर्वी नेपालका नौ जिल्ला र राजधानी काठमाडौँसहित मुन्धुमविद्हरूको सहभागिता रहेको थियो । गोष्ठीले कम्तीमा भोलिको पुस्तालाई मुन्धुमको महत्व बुझाउने कालाकार तथा मुन्धुमका खोजकर्ता यासेली योङहाङले बताए । मुन्धुमको प्रचलन दिनानु दिन कम हुँदै गएको कारण खिइँदै गएको र लिम्बु समुदायमा पनि मुन्धुमबारे फरकफरक बुझाइ बन्न थालेकोले एकताको सन्देश दिनुपर्ने उनको भनाइ छ ।

लोप हुँदै गएको मुन्धुम बारे जसको सवाल उसको अगुवाइको हिसाबले अगाडि बढ्नु पर्ने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । उनी भन्छन्, ‘नयाँ पुस्ता र पुरानो पुस्ताले मुन्धुम संरक्षणमा चासो देखाउन आवश्यक छ । सरोकारवालासँग मुन्धुमसम्बन्धी व्यापक छलफल गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानुपर्ने यदि यसो नगरिए कागजीय रूपमा मात्रै सीमित हुनेछ ।’

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार