काठमाडाैँ - संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलंका र पदक प्रदान गरेकी छन्।

तर पत्रकारहरू भने विवेकपूर्ण र पारदर्शी नभएको बताउदै ‘सुप्रबल जनसेवाश्री’ विभूषण बहिस्कार गरेका छन् । 

यसरी पद बहिस्कार गर्नेमा न्युज पोर्टल इकागज डटकमका प्रधानसम्पादक हरिबहादुर थापा लगायत अन्य तिन पत्रकारहरू कार्टुनिस्ट रवीन सायमी, नेपाल समयका सम्पादक नारायण अमृत र नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकाेटा रहेका छन् ।

२९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभूषण तथा पदक प्रदान गर्ने घोषणाको सूचीमा हरिबहादुर थापाको नाम ‘सुप्रबल जनसेवाश्री’ पदक पाउनेको १२औँ नम्बरमा छ। 


पत्रकार हरिबहादुर थापा


तर, आफुलाई सम्झेकामा सरकारलाई धन्यवाद दिदै थापाले आज सातौँ संविधान दिवसका अवसरमा पदक पाउनेको सूचीमा आफ्नाे पनि नाम रहेकाे र विगतमा पनि पदकका लागि पटक-पटक सोधिएको तर आफुले अस्वीकार गरिआएको सामाजिक सञ्जालमा लेखेका छन् ।  यसपालि भने सोध्दै नसोधी आफ्नाे नाम आएकाे पनि खुलाएका छन् । 

कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस र विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्ने उनकाे बिचारलाई समर्थन जनाउदै कवि विनाेदविक्रम केसीले ' पुरस्कार भनेपछि सिनाे पनि लाइदिने, पदक भनेपछि पतितङ्गर पनि लाइदिने यस्ताे सस्ताे र हलुका पर्यावरणमा तपाईं सानदार अपवाद साबित हुनुभाे । सबै पत्रकारकाे शिर उँचाे बनाईदिनुभाे । ' भनि लेखेका छन् ।

त्यस्तै कार्टुनिस्ट रवीन सायमीले पनि विभूषण अस्वीकार गरेका छन् ।

सायमीको नाम ‘प्रवल जनसेवाश्री’ पदक पाउनेको ६६औँ नम्बरमा छ। 


कार्टुनिस्ट रवीन सायमी


तर, सायमीले सरकारबाट घोषणा भएको उक्त विभूषण आफूले ग्रहण नगर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।  उनले लेखेका छन्, ‘सरकारले मलाई 'प्रवल जनसेवाश्री'बाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।'

त्यस्तै नेपाल समयका सम्पादक नारायण अमृतले लोकतन्त्रिक संविधानप्रति अगाध स्नेह र जनआन्दोलनमा सहभागी भएको एउटा पेशाकर्मीका हिसावले यसको जगेर्नाप्रति सदा दायित्वबोध रहेकाे तर विना खबर, विना प्रक्रिया र विना मापदण्ड वितरण गरिने यस्ता पुरस्कारमा दलीय भागबण्डाको स्पष्ट दपर्ण देखिएकाे कारण भागबण्डा अस्वीकार गरेकाे बताएका छन् ।


नेपाल समयका सम्पादक नारायण अमृत


उनले लेखेका छन् ' संविधान दिवसमा बिस्कुन बनाइने मानपदवी, विभूषण र अलंकार वितरणको अपारदर्शी प्रक्रियाप्रति म सधैं अहसमत हुँदै आइरहेको छु। 
कसैलाई लागेर ‘फलानाको नाम पनि यो शीर्षकमा राख्दिम् न’ भनेर हचुवाको भरमा नाम समाविष्ट गरिने प्रक्रियाले खास योगदान दिने व्यक्तिलाई अवमूल्यन समेत गर्छ भन्ने मर्म कहिले बुझिएलार ? 
त्यसैले, त्यो लामबाट मेरो नाम झिकियोस्। यसरी दिने पुरस्कारका लागि म योग्य छैन भन्दै म यो भागबण्डा अस्वीकार गर्छु।'

यसै विषयमा कुनै मापदण्ड, आधार र छनोटकर्ता को हो भन्ने नखुलाई सम्मानरपदक दिँदा पाउने मान्छे योग्य भए पनि उसको सम्मानभन्दा अपमान बढी हुने खतरा रहने तर्क राख्छन् लेखक तथा समिक्षक यज्ञश । उनले लेखेका छन् 'पत्रकार हरिबहादुर थापा, नारायण अमृत ,रवीन सायमी र कृष्णज्वालाले सरकारी पदक अस्वीकार गरेर पदक पाएकोमा भन्दा यसका आधार र मापदण्डमाथि उनीहरूले प्रश्न उठाएकोमा खुशी लाग्याे ।' 

त्यस्तै नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकाेटाले पनि पदकहरुको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै पदक अस्विकार गरेका छन् ।


नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकाेटा


उनले सामाजिक सञ्जालमा लेखेका छन्  'सामाजिक निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफै पदक स्वीकार गर्नु नैतिक हुने देखिनँ । नेपाली पत्रकारितामा थोरै पनि हस्तक्षेप गर्न सकेको भए मलाई सामाजिक प्रेरणा नै पर्याप्त छ ।'
 

 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार