काेराेनाले सुस्तायाे व्यवसाय

'बादलुको घुम्टोले इलाम बजार छोपिँदा मैले सब लाइ बिर्सेछु तिमीलाई सम्झिँदा'

सर्जकहरू त्यसै सृजना गर्दैनन् । बुद्धवीर लामा को यो गीतले भनेझैँ बादलुको घुम्टो यहाँको विशेषता नै हो । यस बाहेक यहाँको चियाबारी, हरियाली, साना-ठूला खोला-नाला, पोखरी, मठ-मन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरता पर्यटक आकर्षणका तत्त्व हुन् ।

प्राकृतको वरदानस्वरूप रहेको यहाँको उर्वर भूमि एवं पौरखी कृषकहरूको अथक मेहनतले गर्दा यो जिल्ला आर्थिकरूपले धनी मानिन्छ । साँस्कृतिक, प्राकृतिक तथा आर्थिक पक्षहरूमा समृद्ध रहेको यो जिल्ला 'पहाडकी रानी, नगदेबालीको खानी' भनेर चिनिन्छ । यहि नगदेवालीहरूले इलामेहरूको आर्थिक अवस्थालाई पनि सुधार्न सहयोग पुर्याएको मात्र छैन् । धेरै उद्योग र व्यवसायकै लागि पनि उर्वर बनिदिएको छ ।



देशको पुरानो नगरपालिका मध्ये एक हो इलाम । पूर्वी इलामलाई आर्थिक पक्षमा समृद्ध बनाउन यहाँका व्यापारिक केन्द्र नयाँबजार, पशुपतीनगर, गोर्खे आदिको मुख्य भूमिका रहेको पाइन्छ । तिनै मुख्य व्यापारिक केन्द्रमध्ये एक रहेको छ, फिक्कल बजार । पश्चिममा इलाम नगरपालिका, उत्तरमा माईजोगमाई गाविस, दक्षिणमा रोङ गाउँपालिका र पूर्वमा भारतको पश्चिम बङ्गाल राज्य अन्तर्गत दार्जिलिङ्ग जिल्लाले छेकेको सूर्योदय नगरपालिकाको केन्द्र हो फिक्कल बजार । देशको एक मात्र अलैंची विकास केन्द्र पनि यही नगर अर्थात सूर्योदयमा पर्दछ । र त्यही बजार स्थित मेचीराजमार्गले छोएको इलामतर्फ जाने बाटो दायाँपट्टि छ प्रभा सापकोटाको पसल ।



५० हजारबाट शुरू गरेको उद्योगः
२०६२ चैत २४ गतेबाट २०६३ वैशाख ११ सम्म चलेको १९ दिने आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्यो । देशमा २०६२/६३ सालमा वर्तमान राज्य व्यवस्थाको जग बसिरहँदा प्रभाले भने फिक्कलमा आफ्नो व्यवसायको जग बसालिन् । व्यापारकै हिसाबले अघि रहेको झापामा घर भए पनि यहाँको वातावरण, मौसमले लोभ्याएको र व्यापारकै निम्ति यो ठाउँ चुनेको उनी बताउछिन्, 'अब त यताकै भइएछ कहिले कहि घर जाँदा पनि धेरै बस्नै सक्दिन म त यतै आइ हाल्छु ।' उनले यहाँ व्यापार शुरू गर्दा इलाम स्टाण्डदेखि झापा स्टायाण्डसम्म जम्मा ७ वटा छुर्पी पसलहरू रहेको सम्झन्छ । भन्छिन्, 'केही थिएन यस्तो एक दुईवटा टिनको घर मात्र थियो । छुर्पी पसल त गन्न सकिन्थ्यो नि त्यतिबेला ए अहिले त ५० भन्दा बढी छ ।' मुक्तकण्ठले हाँस्छिन् उनी । ४ जनाको परिवार छ प्रभाको । छुर्पी बेचेरै उनले १ छोरा, १ छोरीलाई पढाउछिन् । 

सानो पसलमा ओलन अर्थात् दूधबाट उत्पादित घ्यू, छुर्पी, ललिपप त्यस्तै अक्कबरे, चिया लगायतका सामानहरू  अटाएका छन् । उनले रु ५० हजारबाट व्यवसाय शुरू गरेका थिए । व्यवसाय शुरू गरेको १५ वर्षसम्म आइपुग्दा अहिले रु ५ लाखको सामानहरू लगाउने गरेका छन् । ती सबै सामानहरू इलाम मङ्गलबारे, नयाँबजार र पाँचथरबाट ल्याउने गरेका छन् । शिक्षा, स्वास्थ्य, खेलकुद, उद्योग, व्यापार वाणिज्य, पर्यटन समेतको केन्द्रको रूपमा रहेको यस क्षेत्रमा मौसम चाहे हिउँद होस् या बर्खा सदाबहार जाडो नै हुने भएकाले यहाँ छुर्पी व्यापार निक्कै उपयुक्त मान्न सकिन्छ । नाङ्लोभरि भरी छुर्पी फिजाएर बेचिरहेका उनले होलसेल र खुद्रा मुल्यमा काठमाडाैँ पनि पठाउने गरेका छन् । 



कोरोनाको निम्त्याएको अन्यौलताः
पर्यटनको दृष्टिकोणले हेर्ने हो भने इलाम पर्यटकको पहिलो रोजाईमा पर्न जान्छ । फिक्कल अझ प्रमुख क्षेत्रको रूपबाट रहेको छ । इलामको अर्थतन्त्रमा पर्यटनको महत्वपूर्ण भूमिका छ । यद्यपि महामारीले यसलाई धेरै असर गरेको छ ।

पूर्वनिर्धारित लक्ष्यअनुरूप काम गर्ने पर्यटन सूचना केन्द्र यसपटक लक्ष्यविहीन काम गरिरहेको छ । गत वर्षसम्म लक्ष्यअनुसार पर्यटक गणना काम गरिरहेको सूचना केन्द्र यसपटक भने लक्ष्यविहीन सरह भएको छ । यसको प्रमुख कारण कोरोना महामारी हो । मेची राजमार्ग हुँदै इलाम प्रवेश गर्ने झापा र इलामको सीमा रोङ् गाउँपालिकाको जोरकलाशमा इलाम सहित पूर्वी पहाडी जिल्ला प्रवेश गर्ने पर्यटकहरूको तथ्याङ्क संकलन गर्ने गरिन्छ । 

आर्थिक वर्ष २०७७(७८ मा ३९,८११ जना पर्यटक इलाम भित्रिएको सूचना केन्द्रको तथ्याङ्कमा उलेख गरिएको छ । त्यस अघी २०७६/७७ मा १,२९,०२० जना पर्यटक भित्रिएको सूचना केन्द्र जोरकलाश अधिकृत गगन घिमिरेले जानकारी दिए । उनका अनुसार ०७६/७७ मा पुरुष ७१,००७ जना र महिला ५८,०१३ जना पर्यटक भित्रिएका थिए । जसअन्तर्गत आन्तरिक तर्फ १,२८,०६४ र बाह्य पर्टक ९५६ जना इलाम भित्रिएका थिए ।



त्यसै गरी अर्थिक वर्ष ०७७/७८ मा पुरुष २५,२७२ जना र महिला १४,५३९ जना भित्रिएका थिए । तर यी सबै पर्यटक, आन्तरिक हुन् ।

यसरी तुलनात्मक रूपमा हेर्दा आर्थिक वर्ष २०७६/७७ मा भन्दा आर्थिक वर्ष २०७७/७८ मा पर्यटकहरू घटेको पाइएको छ । र ०७७/७८ मा आइपुग्दा बाह्य मुलुकबाट पर्यटक शून्य रहेको देखिन्छ ।

महामारीले समग्र देशकै पर्यटनहरूलाई पनि असर गरिरहेको बेला यसमा भर पर्ने व्यापारमा प्रत्यक्ष र परोक्ष प्रभाव परेको छ । यसबाट प्रभा अछुत हुनै सक्दैनन् । उनले दैनिक १० देखि १२ हजारसम्म आम्दानी गर्थिन् । तर यो कोभिड र लकडाउन अघिको स्थिति थियो । अहिले त दिनमा १/२ हजार पुर्याउन पनि हम्मेहम्मे पर्छ उनलाई । 'बाह्य पर्यटक नआई व्यापार चल्दैन । स्थानीयले किनेको भरमा त गाह्रै छ', थोरै निराश देखिन्छन् उनी । 

३ वर्षअघि टिनको सानो घुम्ती थियो उनको । त्यति बेला उनले ७ हजार रुपैयाँ भाडा बुझाउँथिन् । अहिले पसल पक्की घरको सर्टरमा छ । र पसलको थोरै ठूलो आकारसगैँ भाडा पनि बढेको छ । अहिले उनले १० हजार भाडा बुझाउछिन् । तर यी सबै बढिरहँदा व्यापार भने घटिरहेकै छ । अब महामारी चाँडै साम्य होस् र मानिसहरू सदा झैँ सहज जीवन बिताउन् । सदाझैँ आन्तरिक तथा बाह्य पर्यटको घुइँचो पसलमा लागिरहोस् भन्ने आशासहित उनी प्रत्येक विहान ६ बजे पसल खोल्छिन् । पर्यटकहरूलाई सेवा र स्वागत गर्न आतुर उनी ओठमा मुस्कान र नाङ्लाे भरी छुर्पी फिजाउँछिन् । 



पर्यटक पर्खिरहेको नगरपालिकाः
कोरोना महामारीकै बीच पनि सूर्योदय नगरपालिकाले 'नगर सौन्दर्यीकरण' अभियान अन्तर्गत नगरका विभिन्न पर्यटकीय स्थलहरूको भौतिक पूर्वाधार सुधार, निर्माण तथा वृक्षारोपण को कामलाई अघि बढाएको छ । यसले पर्यटन व्यवसायी र पर्यटकहरूको सुविधा बढाएकै छ साथै मनोरञ्जन पनि वृद्धि भएको छ । हाल नगर सोही पूर्णता पाइसकेका संरचनाहरूको प्रचारलाई पनि अघि बढाइरहेको छ । यसकै सफलताको रूपमा पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको कन्याम सडक खण्डलाई लिन सकिन्छ ।



परिस्थिती सहज बनेपछि धेरै भन्दा धेरै पर्यटन व्यवासायी र पर्यटकहरूको निम्ति नगरले यस्तो कदम चालेको नगर प्रमुख रण बहादुर राई बताउछन् । उनी भन्छन्, 'अहिलेको अवस्थाको आशा भनेको चाहिँ बाह्य नभएर आन्तरिक पर्यटक नै हो ।' नगरले स्रोतसाधनले भ्याएसम्मका कार्यक्रमहरू,व्यवसायीहरूलाई कर अनुसारको छुटको कार्यक्रमहरू पनि अघि सारेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

पवित्र राई

लेखकबाट थप...

सम्बन्धित समाचार