दुई वर्ष अगाडि जसको घरमा पनि खुसी थियो । आम नागरिकको मुख पनि उज्यालो देखिन्थ्यो । तर, अहिले सबैतिर शोक छाएको छ । हाँसो गुमेको छ । मुस्कान बिलाएको छ । आफ्नै घर हुनेहरु आज कोठाबहालमा लिएर बसेका छन् । निजी गाडी चढ्नेहरु सार्वजनिक यातायातमा दौडधुप गरिरहेका छन् । मँहगा स्कुलबाट आफ्ना छोराछोरी निकालेर सरकारीमा हालेका छन् । आखिरी कारण के होला ? आफ्ना जायजेथा बैंकले लिलाम गरेका अवस्था नाजुक बनेको स्पष्ट बुझिन्छ । उनीहरुले मुख नखोलेपनि देख्नेले बुझिहाल्छन् । २०७२ सालमा नेपाल संविधान बन्दा देशले विकासको फड्को मार्छ भनेर धेरै आशावादी थिए । 

राजनीतिक किचलोको अन्त्य हुन्छ र मिलिजुली सरकारमा जाने क्रम पनि रोकिन्छ भन्ने अपेक्षा नेपाली जनताले गरेका थिए । मुलुकमा रोजगारीको मूल फुट्छ भन्नेमा पनि जनता विश्वस्त देखिन्थे । तर, यी सबै जनताको कल्पनामै सीमित भयो । देशमा रोजगारीको अवसर नहुदो विदेश जाने जनताको लहर चल्यो । बाउआमाले घरजग्गा धितो राखेर छोराछोरी विदेश पठाउने क्रम ह्वात्तै बढ्यो । छोराछोरी पठाए तर सोचेअनुसार प्रतिफल नपाएपछि अन्ततः आफ्नो जायजेथो नै डुब्यो । यसैबीच व्यापार व्यवसायमा लगानी गर्ने क्रम पनि बढ्यो । नाफा हुने देखेपछि उनीहरुले आफूसंग भएको रकम लगानी गरेर सिद्याए । ऋण लिएर लगानी गर्नेहरु पनि उत्तिकै छन् । तर, अहिले सटरभाडा तिर्न सकेका छैनन् । 

सुपर मार्केट र सपिङ मलमा ग्राहक जान ठप्पझै भइसकेको छ । सटरभाडा थपिदै गएको छ भने आफ्नो लगानी डुब्ने चिन्तामा व्यापारी छन् । पछिल्लो समय बजारमा पैसाको हाहाकार भएको छ । खाद्य सामग्रीसमेत उधारोमा कारोबार भइरहेको छ । होटलमा गएर रमाइलो गर्ने काम रोकिएको छ । फजुल खर्च गर्न जनताहरुले छोडिसकेका छन् । घरभाडा थुप्रिदै गएको छ । मुलुकमा सरकारी जागिर खाने थोरै छन् । निजी कार्यालयमा जागिर खाने जनसंख्याको आधा हिस्सा होलान् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसंगै महँगी बढेको छ । तर, तलब भने यथावत नै छ । जसको कारण कम तलब हुनेलाई खानलाउन पनि धौधौपर्न थालेको छ । 

पछिल्लो समय नेपालीहरु एकदमै विलासिताको भोगी हुन थालेका छन् । काम नै नगरी बढी कमाउने सपना देख्न थालेका छन् । दिनमा दुई गुणा र रातमा चार गुणा सम्पत्ति जोड्ने मोह बढ्यो । जसले गर्दा घरजग्गा र सेयरमा लगानी गर्नेहरु ह्वात्तै बढे । अहिले सेयर र घरजग्गाको मूल्य गुन्द्रुकको भाउमा झर्यो । तर, ऋण लिएको ठाँउमा त चुक्ता गर्नुपर्यो । सापटी लिएको भए फिर्ता दिनैपर्यो । डुब्यो भनेर मान्दैनन् । यता, बैंकको कर्जा तिरेन् भने ‘घर न घाट’ को बनाइहाल्छन् । बजारमा सेयर र घरजग्गा बेच्नेहरु यत्तिकै छन् । तर, किनिदिने कोही छैनन् । देश यत्रो आर्थिक संकटमा परेको बेलामा अर्थ मन्त्रालय नै रित्तो छ । अर्थमन्त्रीले राजीनामा दिए र अर्थ सचिव त अनिश्चितकालका लागि बिदामा बसेका छन् । 

केही दिनअघि निजी बैंकको भेलामा सिईयोहरुले बैंकहरु डुब्ने भयो भनेर निचोड निकाले । नेपालको हालत पनि श्रीलंकाजस्तै हुने भयो भने उनीहरुले भने । उनीहरुको यो भनाइसग जनता थप त्रसित भए । बैंकमा भएको रकम के गर्ने ? भनेर जनतामा चिन्ता थपिएको छ । चिन्ताले जनतालाई रोगी बनाउने भो । जनतामाथि यत्रो त्रासको पहाड खस्दा पनि राजनीतिक दलका नेतालाई केही फरक परेको छैन् । प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै धुनमा मग्नमस्त छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अरुलाई गाली गरेर भ्याईनभ्याइ छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अत्तोपत्तो छैन् । यतिखेर अन्य मुलुकले नेपाललाई अनुदान दिन पनि कम गरिसकेको छ । त्यसैगरी, विदेशी ऋण पनि पाउन मुश्किल परिसकेको छ । 

नेपालको स्थिति नाजुक बन्दै जाँदा ओली जतिखेर पनि बुरुकबुरुक उफ्रिरहेको मात्र भेटिन्छन् । आरोप प्रत्यारोप गर्नबाहेक उनले जानेको सायदै केही होला । पाँच दलीय गठबन्धनले राज्यको ढुकुटी सोत्तर पार्यो भनेर उनी चिच्याउदै आएका छन् । सरकारले देश नराम्रोसंग सञ्चालन गर्न नसक्दा जनता शोकमा छन् । व्यापार घाटा बढ्दो छ, विदेशी ऋण ठप्पजस्तै बनेको छ । मुलुक नै धरासायीमा परेपछि जनता निराश भएका छन् । अब मुलुकलाई नेताले पहिल्यैकै गतिमा ल्याउन सक्छन् ? स्थीर भएको अर्थतन्त्रलाई फेरि चलायमान बनाउन सकिन्छ ? जिम्मेवारी त आखिरी नेताकै हातमा छ । अरुलाई हिलो छ्यापेर आफू कतिञ्जेल सफा बन्न खोज्ने ? आफु कसरी प्रधानमन्त्री बन्ने र राजतन्त्र कसरी फिर्ता ल्याउने भनेर ओली कम्मर कसेर लागिपरेका छन् । 

२०६३ वैशाख ११ गते राजाले पढेको वक्तव्य मैले नै लेखेको हो भनेर ओलीले हिजो खुलेआम भने । आफु राजावादी हु भनेर उनले प्रस्टीकरण दिइसकेका छन् । घुमाउरो भाषा बुझ्न जनतालाई धेरै बेर लागेन् । नेकपा एमाले कम्युनिष्ट होइन् राजदलीय पार्टी रहेछ । अब देशमा राजतन्त्र फेरि ल्याउनुपर्छ भनेर उनले जोडबल दिइरहेका छन् । उनको कारणले रगत बगाउनुपर्ने दिन फेरिपनि नआउला भन्न सकिदैन् । यस्ता चोर नेताले गर्दा नेपाल झन् नराम्ररी चपेटामा पर्ने देखिएको छ । नेपाली–नेपाली बिच नै युद्ध रच्ने रणनिति ओलीले रचेका छन् । एकातिर राजवादी उत्रिन्छन् अर्कोतिर राजतन्त्र चाहिदैन् भनेर सडकमा ओइरिन्छन् । रगतको खोलो बग्छ । ओली एक नम्बरका गद्दार व्यक्ति रहेछन् भनेर जनताले बुझिसकेका छन् । आजसम्म जनताको आँखामा धुलो झोके । यस्ता दलाल व्यक्तिलाई नेता भन्नु नै लाजमर्दो कुरा हो । 

अब देशको व्यवस्था कतातिर मोडिन्छ हेर्ने बाँकी छ । तर, यसले क्षति भने एकदमै हुन्छ । विदेशी लगानी रोकिन्छ । व्यापार व्यवसाय चुलुम्मै डुब्छ । नेपाल गरिबीको दलदलमा फस्दै जान्छ । विदेशीले गरेको लगानी पनि चाँडो उठाउन खोज्छन् । अर्थतन्त्र सुध्रिएला भनेर अब कल्पनै नगरे हुन्छ । सेयर र घरजग्गााको मूल्य बढ्छ भनेर सोच्नु भ्रम मात्र हो । खान लाउन पनि धौ पर्ने दिन आउदै छ । देशमा फेरि पनि युद्ध भयो भने ओली जिम्मेवार हुनुपर्छ । सडकमा रगतको खोला बग्यो भने ओलीलाई देश निकाला गर्नुपर्छ । मुखमा लगाम लगाएर बोल्नुपर्दैन् ? जनता उचाल्ने र थचार्ने गरी बोल्न मिल्छ ? गर्ने सबै आफू अनि दोष चाहि अरुलाई ? लाज भनेको के हो ? ओलीलाई थाहा नै रहेनछ । पाए भने ओलीले नै देश नै बेच्छन् । 

अहिले श्रीलंकामा एक प्याकेट पाउरोटीको सात सय रुपैंया तिर्नुपरेको छ । खाद्यान्न नभएर बालबालिका भोकभोकै सुताएका छन् । नेपालको स्थिति पनि यस्तै बन्न बेर लाग्दैन् । तीन महिनालाई पुग्ने विदेशी मुद्राको सञ्चिति छ भनेर नेपाल राष्ट्र बैंकले भनेको छ । यता, जनताले पटकपटक पाँच सय र हजारको नोटलाई प्रतिबन्ध लगाऊ भनिरहेका छन् । तर, सरकारले चासो दिदैन् । वित्तिय संस्था रित्तो बनेको छ । जनताले घरघरमै पैसा लुकाएका छन् । लुकाएको पैसा बजारमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले कुनै निर्णय गर्न सकेको छैन् । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र ओलीले देश नै ध्वस्त बनाउने हो । भन्नलाई गर्भनर तर हुन् एमालेका खंखुर कार्यकर्ता । अधिकारीले गर्भनर होइन् कार्यकर्ता भएर काम गरे । 

सरकारलाई असफल बनाएर ओलीलाई सफल बनाउने खेल रचिएको छ । पार्टीको निर्देशनबाट चल्ने व्यक्तिले देशको लागि केही गर्छ ? ओलीले सरकारलाई असफल बनाएरै छाडे । देश ध्वस्तै बनाउने यी दुई हुन् । गर्भनरलाई बर्खास्त गर्नुपर्छ । जे पायो त्यही बोल्ने ओलीलाई कारबाही गर्नुपर्छ । बोल्ने ठाँउ पायो कि अर्थतन्त्र डुब्यो, सेयर लगानीकर्ता विस्थापित भए मात्र भन्छन् । उनलाई चुप लगाउने कोही छैनन् ? जनतामा त्रास देखाउने कुरा बोल्नेलाई कडा कानूनको दायरामा ल्याउनुपर्यो । जनता र राष्ट्रभन्दा ठूलो उनी होइनन् । 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार