जनक कार्की, राजु झल्लु प्रसाद

एक जना साथीले फोन गरेर भन्नुभयो, ‘बुढा, प्रज्ञाको नाङ्गो नाच देख्नुभयो ? हिजोको ?”
‘देखेँ । मैले दुई वर्ष अगाडि नै देखेको । उतिबेलै ‘एकेडेमीमा रमिता छ’ लेखेको थिएँ । तर, त्यो लेखेर केही पनि भएन, किनभने यहाँ हुँदैन । यहाँ लेखेर हुँदैन हाउ बड्डा । लेखाएर/लेख्दिएर मात्रै हुन्छ । छपाएर/छाप्दिएर मात्रै हुन्छ । लेखेर हुने भनेको बिचल्ली हो । उठिबास हो । भइरहेकै पनि छ ।.. ’
‘के साह्रो बिरक्तिएको हो ? अस्ति ‘कपुरी क’ लेखेर देश हल्लाएको होइन ?’
‘हल्लियो होला । तर, सङ्ली पनि त हाल्यो । जसले सुनुन्, बुझुन् भनेर लेखेको तिनैले टेरेनन् । ‘अटेर’हरूसँग सकिँदैन क्यार ।’

‘के भयो र ? कसैले केही भन्यो ?’
‘भने, धेरैले धेरैथोक भने । एक-दुई दिन गाली र स्याबासी पाएँ  । त्यसपछि तैँ चुप, मैँ चुप । फेरी उस्तै रचना, उनै रचनाकारहरू दोहोरिएका छन् क्यार ।’

‘गाली चाहिँ किन गरेका रे नि ?’
‘नाम तोके भनेर अरे । तँ बौद्धिक सत्ताधिकारी भइस् भनेर औँल्याइदिएको भएर अरे । ’
‘अनि तपाईँले त प्रवृत्तिमाथि हानेको पो हो त ।  दीपक सापकोटायीएन प्रवृत्ति, राजु स्याङ्तानयीएन प्रवृत्ति? तिवारीयीएन प्रवृत्ति? एकेडेमीयीएन प्रवृत्ति ?..?’’
‘हो क्यारे ।’

‘अनि ?’
‘हिजोको एउटा किस्सा सुनाउँछु सुन्नुस्  । यता एकेडेमीले नाङ्गो नाच्दै गर्दा ‘कपुरी क’को झटारोले डामिएका एक जना संयोजक मसँग अकस्मात् ठोक्किए  । भेटिनासाथ मलाई कविता पठाउन भने । ..आँट हेर्नुस् न, झल्लुको कविता छापिएन, त्यही भएर हाम्रोबारे लेख्यो भन्ने परेको रहेछ संयोजकजीलाई  । कठै यार..  ।’
‘तर, मार्जिनमा तपाई आफैँ संयोजक हुनुहुन्छ त । तपाईँको रचना अन्यत्र पनि छापिइरहेकै छन् त । फेरी तपाईँकै छापिने पर्ने तपाईँसँग केही त्यस्ता कुरा छन् र ? फेरी, तपाईँले त्यस्तो उधुमै केही लेखिरहेको जस्तो पनि लागिरा'छैन । कि कसो हो ?’
“त्यही त । मसँग नयाँ कुरा छैन यार, यसैले छापीहालौँ भन्ने पनि छैन । किताबको तयारीमा हो, छाप्ने मुडमा पनि छैन । तर, उनीहरूलाई अझै पनि हाम्रै स्पेस खतरा भन्ने छ । उनीहरूले दया नदेखाएसम्म तपाईँ-हामी कवि लेखक हुँदैनौ भन्ने नै छ । ‘झल्लु बोल्यो, झल्लुको छाप्दिम्, झल्लु चुप लाग्छ’ भन्ने नै छ उहाँहरूलाई । तर, म मेरो छापिएन भनेर बोलेको होइन । त्यो स्पेसमा तिनीहरू पाँच वर्ष रहलान्, नाथे पाँच वर्ष एउटा पत्रिकाको संयोजक हुँदा त्यो विधि दादागिरी ? सार्वजनिक थलोमा मनोपोली चल्न भएन भन्ने मात्रै कुरा हो । ’

‘तपाईँलाई कविता पठाउनुस् भन्नुभन्दा अर्को सीमान्तमा रहेको कुनै कविको कविता छापेको भए कति काइदा हुन्थ्यो ? यिनको बुद्धि छैन् यार । तपाईँको झटारो फेरी भेट्ने भए  ।'
‘हान्दिन हाउ यार अब  । मैले देखेको बोलेको हुँ  । मेरो अरू कुनै लाभ छैन  । बाँकी, बुझ्नेले जसरी बुझिरहुन् ।’ 

‘फेरी हान्नुपर्‍यो । एकेडेमीलाई पनि, उनीहरूलाई पनि ।’
‘भयो यार, तपाईँ लेख्नुस् बरु । म पढौला, छापौला ।’

‘होइन, मिलेर लेखौँ ।  भर्खरै सम्पन्न भएको कविता तथा निबन्ध प्रतियोगिताको रमिताबारे लेखौँ  ।
‘हुन्छ, जनक जी । तपाईँ सुरु गर्नुस् । म तपाईँलाई पछ्याउला ।’’

***
प्रभात भाइ (तिमिल्सिना) बेलामौकामा नयाँ-नयाँ सिद्धान्त अघि सार्छ । यसपाला नेपालगन्जको कुनै अस्पतालबाट बिरामी कुरुवा उसले ‘काल्पनिक सहजता’ भन्ने कुरा अघि सार्‍यो । यसबारे ऊसँग मेरो त्यति छलफल भएको छैन, तर उसको ‘काल्पनिक सहजता’सँग अडेस लागेर यति चाहिँ भन्न सकिन्छ, ‘प्रज्ञा खत्तम भइसक्यो, पतित भइसक्यो । यसबारे लेख्नु भनेकै आफू पनि खतम हुनु हो, पतित हुनु हो ।’ तर, वास्तविक सहजता के हो ? प्रज्ञा खतम होस् भनेर म चाहन्छु ? या अन्य साहित्यिक अनुयायीहरू चाह गर्छन् ?  प्रश्न छन् । प्रश्नहरू छन् । र, मसँग उत्तर नभएकाले मैले सोध्ने भनेको पनि प्रश्नै न हो । 

भिन्नता र भिन्नताको एकता भन्ने कुरा हुन्छ । हरेकसँग भिन्नभिन्न ‘काल्पनिक सहजता’ हुनसक्यो तर ‘हरेक भिन्न काल्पनिक सहजता’को एकता सम्भव छ कि छैन भन्ने प्रश्न हो । यही प्रश्न छोडेर यहीनेर 'अस्तु !' गरेर म फुत्त् निस्कन मिल्दछ । तर, यसो गरेको खण्डमा 'एकेडेमी, कपुरी क'हरू उधुम खुसी हुनेछन् किनभने उनीहरूसँग भिन्न काल्पनिक सहजता फेरी पनि उपलब्ध हुन्छ ।

'झल्लुको कविता पुरस्कृत भएन होला, यसैले लेखिराछ ।' 
'झल्लु लेख्ने मान्छे होइन, ५-७ जनाको कुरा सुनेर उम्लिन्छ । पोखिनै छ, पर्खीऊ ।'
र, यावत यावत ! - यी तिनका 'काल्पनिक सहजता'का नालीबेलीहरू भए ।

 छोडौँ, यसलाई सजिलोसँग सजिलरी सुनौँ ।

***
जनकजी लेख्नुहुन्छ,  
प्रज्ञा प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमा २०७८ माघ २६ गते एउटा सूचना आयो । सूचनामा ‘प्रजातन्त्र दिवस मूल समारोह समिति र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोध बमोजिम नेपाल प्रज्ञा प्रतिष्ठानले संयोजन गर्ने गरी प्रजातन्त्र दिवस - २०७८ का अवसरमा राष्ट्रव्यापी रूपमा आयोजना गर्न लागिएको कविता तथा निबन्ध प्रतियोगिताका लागि राष्ट्रिय भावना र लोकतान्त्रिक चेतना प्रतिबिम्बित हुनेगरी १५० शब्दसम्मको कविता र २,००० शब्दसम्मको निबन्धको आव्हान गरेर मिति २०७८ फाल्गुन ४ गते कार्यालय  समयभित्र पठाउन’ आग्रह गरिएको थियो ।

सोही प्रतियोगिताको नतिजा हिजो फाल्गुन ५ गते प्रज्ञा प्रतिष्ठानकै आधिकारिक फेसबुक पेजमा सार्वजनिक भयो । अब सोच्न पर्ने विषय के छ भने २४ घण्टाभित्र १५० शब्दका कविताहरू र २,००० शब्दका निबन्धलाई निर्णय गर्न सक्ने निर्णायक हुन् या रोबर्ट? यसरी प्रायोजित प्रतिस्पर्धा गरेको हो भन्ने शङ्का पक्कै उत्पन्न हुन्छ । पटकपटक विवादमा तानिएको प्रज्ञाको कामले प्रज्ञाप्रति विश्वास न्यून हुँदै गइरहेको छ । 

प्रज्ञाको यस किसिमको टिठलाग्दो व्यवहार प्रति केही सचेत कवि तथा लेखक पनि बोलेका छन् । प्रज्ञाको पेजमा निर्णयको सूचनामा गएर धेरै आफ्ना प्रतिक्रिया दिएका छन् । धेरैले शुभकामना र बधाई त दिएकै छन् साथमा असन्तुष्टि पनि जनाएका छन्।

प्रकाश पोख्रेली  भन्छन्, "पोहोरका तिन अनुहार दोहोरिनु भएछ, अनि १२ घण्टाभित्रै २,००० शब्दका सबै निबन्धहरू र १५० शब्दका सबै कविताहरू निर्णय गर्न सम्भव थियो र ? व्यक्तिको नाम पढेर परिचित व्यक्तिहरूलाई पुरस्कारको लिस्टमा राखे जस्तो देखियो (यद्यपि पुरस्कार पाउने व्यक्तिको रचना अब्बल छैन भन्ने चाहिँ होइन है, कुरा प्रज्ञामा रहेका लाजका पसारोहरूको निष्पक्षतामाथि हो, यती छिटै नतिजा आउनुमा प्रायोजित र सुनियोजित नै हो  ।)

कवि राधिका कल्पित पनि यो निर्णय देखेर अचम्मित छिन्  । नतिजा प्रकाशनपश्चात् कवि राम गोपाल आशुतोष यस्तो धारणा राख्छन्, “यो नियोजित प्रतियोगिता हो । यसको चर्चा/निन्दा गर्नु दुवै बेकार हो ।”

नारायण निरसी लेख्छन्, “प्रज्ञामा निर्णय  गर्ने व्यक्ति कविभन्दा बढी पार्टीका  कार्यकर्ता हुन्छन्  । मैले बीस वर्षदेखि प्रज्ञाको निर्णय हेर्दै आएको छु  ।”

केबि पारखी सुवेदीले लेख्छन्, “साह्रै अचम्म  । रोबर्टको सुरुवात नै हो कि ।”

कवि मनोज पण्डितले व्यङ्ग्य गर्दै भनेका छन्, “पुरस्कृत नहुनेहरूले पुरस्कृतहरूलाई नियोजित प्रायोजित नातावाद कृपावाद आदि आदि भन्न नछुटाम् । मौका यही हो  ।”

सन्तोष विष्ट लेख्छन्, “नजिकका मान्छेले प्राज्ञहरूलाई आफ्ना रचना देखाउँछन् । कस्तो भयो भनेर प्रतिक्रिया माग्छन् । प्राज्ञले सल्लाह सुझाव दिन्छन्  । लेखोट खारिइन्छ । त्यही उत्कृष्ट लेखोट प्रतियोगी हुन्छ । अनि प्राज्ञले पुनः पढ्छन् र खारिएका ती लेखोटमाझ अरूका रचना के रचना भन्ने मानिकन विजयी घोषणा गरिइन्छ । छिटो गर्ने तरिका छन्  । हामीले जानेका हुँदैनौँ र मात्रै ।”

शम्भु प्रसाद गजुरेल प्रश्न गर्छन्, “प्रज्ञाप्रतिष्ठानमा आएका सबै कविता हेरिन्छ कि योजना अनुरूप विजेता घोषित गरिन्छ ? भन्नुहोस् न, तलब खाने जागिरे प्राज्ञ ज्यूहरू । १५ मिनेटमा तत्काल कविता लेख्ने प्रतियोगिता गराउनुस् ।”

निबन्धकार प्रमोद अमात्य टिप्पणी गर्छन्, “नेपालका र नेपाल बाहिरका साथीहरू यत्तिकै हल्लाखल्ला मात्र गर्ने । उता नेपाल प्रज्ञा- प्रतिष्ठानले कस्तो रफ्तारमा प्रगति गर्दै छ, हेक्कै नराख्ने । फागुन ४ गते बुझाउने अन्तिम मिति रहेको कविता र निबन्ध प्रतियोगिताको रचनाहरू रातभर पढेर, गुनेर, नापेर, तौलेर, नतिजा भोलिपल्ट नै फागुन ५ गते प्रकाशित गरेर, फेरि अर्को दिन फागुन ६ मा पुरस्कार दिँदैछन् । लु कोटी कोटी बधाई छ नेपाल प्रज्ञा-प्रतिष्ठानलाई । विकासको गति गतिलो भइरहोस् । जय होस् ।”

***
अलिकता कुरा..

समालोचक रामकृष्ण शर्मा कहन्छन्, “कुनै पनि वस्तुको आलोचना मात्र हुन् सक्छ, समालोचना हुन् सक्दैन । कुनै पनि वस्तुप्रति प्रकट गरिएको विचार, विचारकको स्वभावको, जातिको संस्कृति, देश र कालको प्रभावले रङ्गिएको हुन्छ, यसर्थ उत्तमोत्तम समालोचना पनि केवल आलोचना हो ।’ उनी अगाडि कहन्छन्, “प्रकृतिको कार्यप्रणालीको समालोचनाबाट नै विज्ञानको जन्म भएको हो । अनुमानको सत्यासत्यको समालोचनाले नै तर्कशास्त्र जन्माएको हो । नीतिशास्त्रको उत्पत्ति मानवजातिको कृतिको कर्तव्याकर्तव्यको समालोचनाद्वारा नै भएको हो । यथार्थमा ज्ञानरुपी वृक्षको जन्म र वृद्धिको मूल कारण नै मानिसमा भएको समालोचना गर्ने शक्ति हो । ” (सप्त शारदीय, पृ. ३३,३५)

१. आलोचना भनेको कसैको तारिफ गर्नु या विरोध गर्नुमध्ये कुनै एक हो, दुवै एकसाथ गर्नु पनि होइन ।
२. समालोचना गर्नु भनेको सो तारिफ या विरोधविरुद्ध विरोध या तारिफ गर्नु हो ।
३. तारिफमाथि तारिफ या विरोधमाथि विरोध समालोचना होइन, आलोचना त झन् हुँदै होइन  । भ्रस्टालोचना हो ।
४. हामीकहाँ चलिआएको फेसनजस्तो, ‘किताब त राम्रै हो तर गाता मनपरेन’ लेखेर चाहिँ समालोचना भइहाल्दैन । न, एकैसाथ किताबबारे नराम्रो-राम्रो दुवै कहेर (दोधारे भएर) समालोचना हुन्छ  ।
५. राम्रो कुरा राम्रो भन्ने/लेख्ने मेरो आधिकार छ भने मैले देखेको राम्रो ‘यस यसकारण नराम्रो छ’ भनेर भन्ने/लेख्ने दोस्रोको अधिकार रहन्छ  । र, एक-दोस्रोको अधिकारीमाथि एकदोस्रो सचेत रहनैपर्छ । 
६. जम्माजम्मीमा, समालोचनाको पनि समालोचना हुन्छ भन्ने कुरा । (मेरो बुझाइ)

शर्माको कुराको चुरो के हो भन्दाखेर, साहित्यिक क्षेत्रका (अन्यत्रका पनि)  झगडाहरूको यथार्थ निवारण तबसम्म सम्भव छैन, जबसम्म झगडा गर्ने, झगडाको कारण, झगडा निवारणका तरिका, उपादेयता र स्वार्थहरूबारे अर्कोपटक झगडा गरिँदैन । भन्नुको मतलब, यो लेखको आलोचना जबसम्म हुँदैन तबसम्म यो झगडा परिरहन्छ, प्रज्ञाले यस्ता रमिता (मेरो बुझाइमा) र नाङ्गो नाच (जनकजीको बुझाइ)मा देखाइरहन्छ ।

कमसेकम, यो लेख (या जनकजी र म, या हामीजस्तै कोही पनि विरुद्ध)बारे झगडा गर्ने हो भने मात्र झगडा, झगडा हुन्छ नत्र रोइलो हुन्छ, रमिता हुन्छ । सो कामै छैन । हामीविरुद्ध आलोचना भयो भने समालोचना हुन्छ । र, सो समालोचनाविरुद्ध समालोचना भयो भने उत्तमोत्तम समालोचना हुन्छ । उत्तमोत्तम समालोचना पनि केवल आलोचना हो भनेर शर्माजी माथि बोलिसकेका छन् । 

उही, यो झगडा रचना पठाइरहने, पुरस्कृत नहुनेहरू बीचको झगडा मात्रै हो भने झगडा गर्नुको कामै छैन । जसरी पुरस्कृत होइन्छ (गरिन्छ), त्यसैत्यसै गरौँ, पुरस्कृत होऔँ । रमाइलो गरौँ । साहित्यको उन्नति-प्रगति केके गर्नुछ, गरौँ । रामकृष्ण शर्मा, तारिणीप्रसाद कोइरालाहरूलाई देवकोटाको मुनामदन, समको चिसो चुल्ह्यो र विपीका योनमनोवैज्ञानिक विशेषताले चेपिरहूँ । एउटैलाई पुरस्कृत गरिरह्यौँ, एउटैलाई राष्ट्रिय-अन्तराष्ट्रिय कवि-निबन्धकार घोषित गरिरह्यौँ । नत्र, केके खस खस हो ?   

सक्दिऊ क्यार..

‘साहित्य जीवनका विविध, विभिन्न, विपरीत अनुभूतिको कलापूर्ण आलोचना तथा समालोचना हो । त्यही जीवनानुभूतिमाथि गरिएको आलोचनाको आलोचना गर्नु नै साहित्यिक समालोचना कहलिन्छ’ भन्ने शर्माको तर्कसँग पछिल्ला दिनहरूमा मेरो लसपस बढेको कुरा साँचो हो । यो सच्चाइले मकन आई के प्रश्न गरिरहेको छ भन्दा, ‘साहित्य आफैँमा जीवनको समालोचना हुँदै गर्दा साहित्यमाथि समालोचना गरी पुरस्कृत गर्ने नीति, निर्णायकमाथि समालोचना किन भइरहेको छैन ? कसले गर्नुपर्ने हो ? किन गरिरहेका छैनन् ? यसरी गर्ने हो भनेर थाहा पाएकाहरू त्यसरी किन गरिरहेका छैनन् ? र, त्यसरी नगरिरहेकाहरूमाथि यसरी किन गरिस् (या त्यसरी किन गरिनस्) भनेर प्रश्न नगरेर हामी के गरिरहेका छौँ/हौँ ?’ 

शर्माज्यू, आलोचनासमेत हुन् नसकिरहेको यस बखतमा हाम्रो लेखको आलोचना कुन बेला होला अनि सो आलोचनाको  आलोचना कुन बेला होला ? सप्त शारदीय पुन:मुद्रण गर्न साझाले अनकन्याई गरेर ‘देवकोटा र सम चोर होइनन्’ भनेर कहिलेसम्म प्रमाणित गरिरहला ? साझा-एकेडेमीलाई यो ‘काल्पनिक सहजता’कहिलेसम्म उपलब्ध होला ?

प्रभात भाइ, तिमि र म चिया खाइहाल्नुपर्छ किनभने ‘काल्पनिक सहजता’बारे कुरा गरिहाल्नु छ । साहित्यिक-बौद्धिक हनुमानहरूको गदाघात सहदै टिकापुरको तातो हावा र धुम्मिएको हुस्सु लेख्न छाडेर कहिलेसम्म बानेश्वरको चिसो हावामा कठ्याङ्ग्रिरहन्छौ ? तिमिजस्ता विचारहरू एकेडमीको बाटो नहिड्दिनाले एकडेमी अझ नाङ्गो भइरहेको हो । पर..पर बसेर, तर्किएर हिँडेर कहिलेसम्म एकडेमीको 'काल्पनिक सहजता'माथि व्यंग्य कसीरहन्छौँ ? तिमि र तिमि जस्ताको दोष पनि म भरपुर देख्छु ।  लौ त भाइ, अस्तु !

तर, एकैछिन !

यो लेख्न बस्नुभन्दा अलिकता अगाडि म एउटा क्याफेमा तातो पानी घुट्काउँधै थिएँ । उठेर भात खान अबेला भएको थियो, तर एउटा प्रश्नले मलाई थपक्क बसायो । मलाई अरूका कुरा सुन्न पनि रुचि लाग्छ । लेखकहरू कनसुत्ला हुन् र होउन् भन्ने पनि लाग्छ । अँ, उनीहरू सप्तकोसीमा हरेक साल किन बाढी आउँछ, र किन हजारौँको दुवैतिर (नेपाल-भारत)तिर बिचल्ली हुन्छ भनेर कुरा गर्दै थिए । 

फागुनको जाडो (अँ जाडो छ)मा असार-साउनको कुरा गरेको फिटिक्कै मन परिरहेको थिएन । तर, एउटा बहिनिले भनिहाली, “बाढी आउँछ भन्ने जानीजानीकन ती मान्छेहरू त्यही बस्न किन जान्छन् ?”
‘जाउन् पनि कहाँ ? जग्गा छैन । जागिर कसैले दिनेवाला छैन । भएकै त्यही जग्गा हो । जब नदी एकसुरले बग्छ, जग्गा देखिन्छ । यतिबेला त एक याम खेती पनि लगाउन मिल्छ । त्यही लोभले त्यहाँ बस्छन् । तर, बाढी झुक्काएर आइदिन्छ । घरखेत डुबाइदिन्छ ।”

नेपाल-भारतको भूराजनीतिक दाउपेचलाई दरकिनार गरेर उनीहरूले आ-आफ्ना मौलिक तर्कहरूअघि सारिरहेका थिए । उहीँ प्रभातको ‘काल्पनिक सहजता ।' मलाई उनीहरूको संवाद रुचिकार लाग्यो । भन्नुस्, न केही बेर कनसुत्लो बन्दिरहूँ लाग्यो । 

पहिलो चाहिँ बहिनी एक्कासि जङ्गिँदै भनी, ‘नदीले बर्सेनि त्यस्तै गर्छ, त्यस्तै बिचल्ली पार्छ भन्ने थाहा पाइसकेपछि आन्दोलन गरे हुँदैन ? सरकारसँग उचित व्यवस्थापनको माग गरे हुँदैन ?’
‘हुन्थ्यो होला, तर किन भइरहेको छैन मलाई के थाहा? तँलाई थाहा भए भन् क्यारे’, दोस्रो बहिनी । 
‘तँ, म जाबालाई पनि यति थाहा छ भने थाहा पाउनुपर्ने, थाहा पाएकाहरूलाई कति थाहा होला ? भन् त ?’
‘त्यही त, तर किन थाहा भइरहेको छैन होला ?’

यसपछि दुवै बहिनीहरूबिचको संवाद रोकियो । पहिलो बहिनिले मलाई हेरी । मैले पनि उसलाई हेरेँ । दोस्रो बहिनिले पनि मलाई हेरी । ..दोस्रो बहिनीसँग आँखा नजुधाई म बेपत्ता कुदेँ । तर, यतिबेला पनि दोस्रो बहिनीको प्रश्नले ङ्याकिरहेछ, ‘हुन्थ्यो होला, तर किन भइरहेको छैन ? एकेडेमीमा रमिता बन्द हुन्थ्यो होला, तर किन भइरहेको छैन ?  

यस प्रश्नको उत्तरमा कसैले पनि 'काल्पनिक सहजता'को उपयोग नगरिओस् । जे हो, त्यो, जसले बोल्नु पर्ने उसले बोलुन्, बताउन् । 'कपुरी क'हरूलाई अनुरोध छ, 'एकेडेमीको रमिता' बन्द गरौँ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार