'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ५३

विता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले । 

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो । यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ । 

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । 

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ । 
त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक श्रृङखला” (आन्दोलन कविता) का रुपमा आयोजना गर्ने निश्चय ’कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ । 
यस अन्तर्गत प्रस्तुत छ कवि डा. केशव चालिसेको कविता– 'तिमी अजम्बरी होइनौ’ । 
...
तिमी अजम्बरी होइनौ
————————
© डा. केशव चालिसे

एक क्षणको न हो मित्रता
तिम्रो र मेरो
एउटै समयले देखाएको बाटोमा 
न तिमीलाई पर्खिन्छ
न मेरा लागि रोकिन्छ यो समय

 

तिमी बूढो हुन्छौ
म बगिरहन्छु निरन्तर
तिम्रो मृत्युमा म दु:खी हुन्छु
जसरी तिम्रा पुर्खाको मृत्युमा थिएँ 
तिमी अजम्बरी त होइनौ नि 
तिम्रो, मात्र एक जीवन
अनि म तिम्रा हजारौं पुर्खाको साथी
र, पनि किन गर्छौ तिमी ममाथि राजनीति !?

बचाएकै छु तिम्रो र तिम्रा पुर्खाको आस्था
तिमी रुन्छौ हरेकपटक 
आफन्त र पूर्वजलाई मेरो काखमा छोड्दा 
म चुपचाप तिम्रो दुस्ख समन गर्छु
र पूरा गर्छु मेरो जिम्मेवारी
तिम्रै पुर्खाको पाप पखाल्न
र, हड्डी चोखो बनाउन तिम्रै सात पुस्ता
म सधैं तिम्रै मुक्तिका लागि सुस्साइरहन्छु
तर तिमी मेरा आभूषण बेच्छौ
र किन नांगो पार्छौ मेरो अस्तित्व ?

तिम्रा हरेक अपमानलाई 
सम्मान ठानेकै छु
तिम्रा दृश्य-अदृश्य कर्महरुलाई
स्विकारेकै छु
म सधैं मौन छु भन्दैमा 
मेरो प्रेम र समर्पणलाई 
किन दोहन गरिरहन्छौ रु
छैन नि तिम्रो यौवन पनि अजम्बरी 
अनि किन फुकाल्छौ मेरा बाहिरी वस्त्र 
र, तम्सिन्छौ मेरो बलात्कारका निम्ति !?

मसँग छैन स्वार्थ आफ्नै लागि 
न गर्नुछ राजनीति पद र प्रतिष्ठाको
न कमाउनुछ धन र सम्पन्नता
मेरो अनन्त अस्तित्व 
तिम्रै सभ्यता र संस्कारका लागि हो
मृत्यु साथसाथ बोकेर हिँड्ने 
तिमी अजम्बरी  त छैनौ नि मानिस 
तर पनि
म जस्ता नदीको अस्तित्वमाथि प्रहार गरेर
तिमी उत्सव मनाउछौ
र, किन मेरो पवित्रतामाथि राजनीति गर्छौ रुरु
***
(जैदी, बागलुङ
...
कालीगण्डकी बचाऔँ अभियान

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार