मलिषा याक्थुङ्बा लिम्बू

पान्थर जिल्लाको याम्बोङमा जन्म भई सोही क्षेत्रलाई कर्मथलो बनाएका लेखक मलिषा याक्थुङ्बा लेखन/सम्पादनका अलवा शिक्षण क्षेत्रमा संलग्न छन् ।

छक्कलीटार तेह्रथुमको थरगत याक्थुङ् सम्मेलनमा जान कत्ता–कत्ता मनैभित्र देखि छुद्दे चलेर आउँछ, बेकसुर । वास्तवमा आयोजकहरूले मेरो नाम लिन कत्ता हो कत्ता हुटहुटी अनाहकमा आउनु र बारबार जाउँ–जाउँ लाग्नु मानसिक पाप जस्तै हुँदो रहेछ । योजना बनाउँछु आफैँ अनि मेरो वंश र थरीहरूको हतारजस्तै बैठक जत्ति व्यस्तता रहेपनि राख्छौँ र म पर्यवेक्षकको रूपमा ।

जाने समय मंसिर १६ गते, सल्लाह भएझैँ तयारी हुन्छु छोरा निसुमको मोटरसाइकल मे.९ प ८१६८ (टुट्वेण्टि) । नामेमा केही साथीहरू रहे पनि हिँड्ने बेलामा मेरो थरीको सङ्जुम्भोका पूर्वअध्यक्ष दाई कृष्णकुमार नेम्बाङ् र सङ्जुम्भोको वर्तमान सचिव भतिज सागर नेम्बाङ् र म याम्बोङ् चोकबाट लाग्छौँ । मेची राजमार्ग हुँदै फेदेनबजारमा एकछिन कामहरू सबैले सकाएर लगभग साढेएक बजे लाग्छौँ । जोरसालदेखि मध्यपहाडी राजमार्ग पछ्याउँदै तमोरपुल नाघ्दै माथि चुहानडाँडा, संक्रान्तिबजार भएर । जब सक्रान्ति बजार नाघेपछि धुलाम्य आउँछ । पाँचमिनेटको फरकमा मोटरसाइकल रफ्तार निरन्तर छ । कोयाखोला नाघेरपनि बाटो अवस्था उहि छ । गाडी कुद्यो कि बाटो नै टाल्ने गरीको धुले बादल । हुनु त ‘निरोगी ज्यानको धुलो न मुलो’ झैँ एउटा शाहसले टिकी रहेको छ ।

दुःखले एउटा डाँडा काटेर आकाशेधुलो पचाउँदै ओरालिन्छौँ र खरङ्वा खोला पार गरेर हली मेला पुग्छौँ । रिमरिम अँध्यारो भएको हुन्छ । हली मेलाको बजारमा चिया खाने सोँचमा उत्रेपनि रेडिमेड चियामात्र पाइने भएकाले पीच सडक तताउँछौँ । लगभग साढे पाँचबजे मेयङ्लुङ् बजारको मेयङ् स्तम्भमा पुग्छौँ र चिया किनेर खान्छौँ । बेलुका गोविन्द आङ्बुङ, याम पङ्याङ्गु, राम मादेन, पत्रकार मनु याक्थुङ्बा लगायत प्रवुद्ध व्यक्तिहरूको भेट जर्नि होटलमा हुन्छ । हाम्रो थरीको अध्यक्षलाई फोन गरेर दायित्व बुझाउन चाहेका हुन्छौँ तर अध्यक्षले फोन केही गर्दा पनि रिसिभ गर्नुहुन्न । आउने बैठकमा समस्या होला भनेर हामी तिनभाइले होटलमा आ–आफैँ तिरेर बैठक सम्पन्न गर्ने सोँचमा हामी लाग्छौँ तर आयोजक साथीहरूले हाम्रो सर्तमा विमति राख्दै टुँडिखेल छेउको खड्का होटलमा सिफ्ट गर्छन्, पत्रकार मनु याक्थुङ्बाको गाइडमा । 



मंसिर १७ गते बिहान, हामी तिनभाइ उठेर मेयङ्लुङ् मन्दिरमा पुग्दै मनोकामना लिन्छौँ भने कृष्णकुमार दाईभित्रै छिरेर मेयङ्लुङ् शिलाको अवलोकन गर्छन् । मेयङ्लुङ् बजारको आकार फेरिएको देखिन्छ, आजभन्दा पाँचसात वर्ष अघिको मुहारमा । केही फोटो खिचेर चियानास्ता तेही नजिकै होटलमा गर्छौं । नास्ता लिँदै गर्दा अन्दाजी साढेसात बजेतिर तेह्रथुम चुम्लुङ् सचिव तेजमान कन्दङ्वा आफ्नो मोटरसाइकल चोकहरूको घुम्तीका कारण सन्तुलन गुमेको देख्छौँ, अन्जानवश । सामान्य वाहेक अन्य केही हुन्न । नास्ता सकेर कोठा पुग्छौँ तर आयोजक साथीहरूले तुरुन्त मेयङ् स्तम्भमा उपस्थित रहेर र्‍याली निकाल्ने सूचना दिन्छन् र हामी आयोजकहरूको नास्ता चिया, अण्डा र चना लिएर तेत्तै लाग्छौँ । सहरको मानव समूहहरूमा थुप्प्रै चिनारु साथीहरूसँग ‘है हेल्लो’ हुँदै स्तम्भमा पुग्छौँ ।

चोकमा च्याब्रुङ्हरूको सम्मोहन, केही महिलाहरू पनि अधिकारका लागि भेला । थरगत भेलाको पनि बाक्लो उपस्थिति । लगभग ११ बजे र्‍याली लगेर छक्कलीटारको पल्लो खेलमैदानमा पुग्छौँ । खुल्लासभाको अध्यक्षता थरगत सहजीकरण अभियानको अध्यक्ष नन्द कन्दङ्वा र सञ्चालन राम मादेनले गर्छन् । प्रमुखअतिथि २०२५को छक्कलीटार किपट सम्बन्धी भेलाको जिउँदो दस्ता प्रेमभक्त खेवालाई राख्छन् र आसन ग्रहणमा प्रवुद्ध तथा बौद्धिक र गाउँपालिका तथा नगरपालिकाका अध्यक्ष–मेयर साथै राजनैतिक दलका प्रतिनिधिहरूलाई पनि ।

फेदाङ्मा विधिबाट स्वास्ती शान्तिसँगै वक्ताहरू बोल्छन् । खेलमैदान भरिभराउ र च्याब्रुङ्हरूको ताल गुञ्जायमान तरंग । भाषणहरू नेपाली कांग्रेस र नेकपा एमाले प्रतिनिधिहरू किपट सम्बन्धी त्यति गम्भीर चर्चा गर्न सक्दैनन् तथापि व्यक्तिगत रूपमा समर्थता राख्छन् । उता नेकपा (माके), नेकपा (एस), जसपा, लिम्बूवान मञ्च, जनमुक्ति पार्टी प्रतिनिधिहरूले किपट र किपटसँग जोडिएका अधिकारहरूबारे व्यापक उद्घोष र भाषण गर्छन् । 

छक्कलीटारको खुल्लासभा सक्ने बित्तिक्कै च्याब्रुङ्को र्‍यालीसहित टुँडिखेलको सामुदायिक भवनमा प्रवेश गर्दछन् । बेलुका कार्यपत्रहरू आउँछन् । डा. कमल तिगेला, अमर तुम्याङ्, अमृता थेवे र शंकर लिम्बूहरूको । अधिकारका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरू, किपटको सवाल र अतिक्रमण भएका किपटको प्राप्तिका आधारहरू, तुम्याहाङ्को उपादेयता र पूनरजीवनका आधारहरू र खसकरण स्थाननामको पूर्ववत नाममा पुग्ने आधारहरू साथै पुरातात्विक साँष्कृतिक धरोहरहरूको अतिक्रमणको सवालहरूमा कार्यपत्रहरू आउँछन् । तेस उपर समूहगत बहस सकिएपछि कार्यक्रम स्थगन र भोलीपल्ट ९ बजे प्रारम्भका लागि सूचना हुन्छ । यसैबेला पत्रकार भाइहरू मंगल बेघा र सन्देश सुब्बा भेटिन्छन् । उहाँहरूको पनि बास, हाम्रै होटलमा हुन्छ र पाँचजनाको सहवास ।

मंसिर १८ गते बिहान सातबजे मेरो स्टाफ शर्मिला नेम्बाङ्को घरमा पुग्छौँ । छोरासम्धी र नातिज्वाइँमात्र रहेको घरमा रितपूर्वक ढोगभेट गर्छौं, तिनै भाइ हामी सम्धीहरूले । बिहानै खाजापानी खाएर बैठकका लागि हत्तारले फर्कन्छौँ । 
बैठकमा घनीभूत छलफल हुँदैछ । मेरो पालोमा समूह नं. ९ का लागि सुझावहरू म राख्छु । हाम्रो समूहमा याङ्देम्बा नेम्बाङ्, आङ्देम्बे, तुम्रोक, कुगेत्नाम्बा, याङ्सोबा सार्ताप्पा फेजङ् नाम्लाक्पा नेम्बाङ अथवा यासाफेना नेम्बाङ, तुम्बाहाम्फे, पङ्याङ्गु, तुम्बापो, लाओती ।

धेरै राम्रा बहसहरू हुँदैछन् र भए । तर हरेक कार्यपत्रहरू सहर केन्द्रित पत्रहरू भएको देखिन्छन् । कुनै गाउँघरको वास्तविक पीडाहरू पत्रहरूमा आउन सकेनन् भन्ने केही गुनासोहरू पनि सुन्छु । मलाई तेस्तै लाग्छ । दिनभरि साथीहरू भरत थोक्लेन्, टीका थोक्लेन्, राजकुमार तेयुङ्, मनोज (भगिश्वर) तेयुङ्, मनु याक्थुङ्बा, फीपराज बेघा, टिआर लिम्बू, सुरेन शिसिर, नरेन्द्र अन्योल, आङ्बो सोयोइङ्मी, राम येक्तेन्, मंगल बेघा, सन्देश सुब्बा लगायतसँग भेटघाट गन्थन मै समय बित्छ । बेलुकानेर पनि मैले नै सुझाव राख्छु, समूहको । बेलुका एकछिन खडका होटलमै मजाक हुन्छ । प्रेम येक्तेन्, मंगल बेघा, सन्देश सुब्बा, हर्क बेघा, जीवन सेर्मा, भवानी आङ्देम्बे, मनु याक्थुङ्बा आदि–आदि । यसैबेला भवानी आङ्देम्बेलाई लिफ्ट गर्न जीवन सेर्मा भाइले मलाई आग्रह गर्छन् र म सहमत हुन्छु, मधेस लैजानका लागि ।



मंसिर १९ गते बिहान चियानास्ता गरेर पत्रकार भाइहरू मंगल बेघा र सन्देश सुब्बालाई पहिलो विदा गर्छु र यसपछि दाई कृष्णकुमार र भतिज सागर नेम्बाङ्लाई विदा गर्छु । उहाँहरू लुमुघाट हुँदै फेदेन जाने यात्राक्रममा निस्कन्छन् र म पनि निस्कन्छु । जर्नि होटलमा पुग्दा भाइ भवानी आङ्देम्बे पुग्छन् र हामी पनि लाग्छौँ । मेयङ्लुङ् बजारदेखि निर्माणावस्था सडक खण्ड र धुलाम्य अनि बिहानको शीतहुँदै जिरिखिम्ति बजार, लसुने बजार । लसुने बजारको पीच भएर बसन्तपुर बजार पुग्छौँ । बसन्तपुर बजार लालीगुराँस नगरपालिकाको बहुचर्चित चोःत्लुङ् पार्क छिर्छौँ । वास्तवमा ‘पशुपतीको बजार सिद्राको व्यापार’ झैँ । मेयर अर्जुनबाबु माबुहाङ्को पार्क अवधारणा अवलोकन हुन्छ । घरहरू सँग्रहालय तरिकाबाट शुरु भएको एक टारबारी र वरिपरि सामान्य जंगल र ढुङ्गाहरू ठड्याएर याक्थुङ् चोःत्लुङ् उठाएको आभाष प्रष्टै दिँदैछ । अलिक मुन्तिर एउटा मानवनिर्मित पोखरी देखिन्छन् भने अलिक पर्तिर खानेपानीको ढुङ्गे हिटि धारा र कुवा देखिन्छन् । प्रवेश स्थलदेखि नै ढुङ्गा बिछ्याएर चौताराहुँदै घर, बाटोको निर्माणाधीन अवस्थाहरू सबै अवलोकन हुन्छ । याक्थुङ् घरहरूमा पुराना र तमोर पश्चिमी प्रकारका घरहरू जसमा याक्थुङ् आगे तथा अमाली सुब्बाङ्गिको याद दिने घर देखिन्छन् । लाग्छ, यहाँ मौलोहरू पनि भएका भए सुन्दर थपिन्छ जस्तो लाग्ने वातावरण । भित्तापट्टि घाँसलाई मिलाएर नौ धर्का कोरिएर काटिएको देखिन्छन् । लाग्छ, यो युमा साम्माङ्को प्रतिक होला नै । वरिपरि केही गुराँसको विरुवाहरू रोपिएका र फूलहरू रोपिएका र रुखहरूमा सुनाखरीहरू राखिएका देखिन्छन् । अझै चङ्हिम र घुमाउने घरहरू भएको भए झनै सुनमा सुगन्ध हुन सक्छ र वाँकि समयमा यो हेर्न उत्सुक मेरो मनका आँखाहरू हुन्छन् । याक्सामा ढिकी, जाँतो देखिन्छन् । झिँगुटि अनि इँटाका घरले याक्थुङ् शासकीय विम्व दिन्छन् भने सँग्रहालय याक्थुङ् स्मरण लायकको छ । सँग्रहालयभित्र पैसा, रूपैँया, हात–हतियारहरू, पुराना गरगहनाहरू, घरायशी सामानहरू, चोयाप्रकारका, काठ प्रकारका र ढुङ्गा प्रकारका, तान उद्योगका, जलहारीका सामानहरू अत्ति पुराना याक्थुङ् सामग्रीहरूको संकलन रहेको देख्छु । यसै बेला मैले नगरपिता अर्जुनबाबु माबुहाङलाई फोन गरेर धन्यवाद दिन्छु । भवानी भाइले युट्युब वार्ता गरेर लगभग साढे नौबजे लाग्छौँ, चोःत्लुङ् पार्कलाई विदा गरेर ।
बतासेडाँडा, सिँधुवा बजार, हिलेहुँदै धनकुटा बजार भएर लगभग ११ बजे मुलघाट पुग्छौँ र मुलघाटको तमोर पश्चिमपाटा पुलकै मुखमा रहेको एउटा होटलमा माछाभात भोजन हुन्छ । एकछिनपछि जीवन सेर्मा र प्रेम येक्तेन आइपुग्छन् । माछाहरूको किनमेल भएपछि भेँडेटार लाग्छौँ । लगभग १२ बजे मध्यान्हमा भेडेटार पुगेर एकछिन चिया सेवन गरी धरान लाग्छौँ । धरानको मुक्कुमलुङ् होटलमा जीवन सेर्मा र प्रेम येक्तेन खाना खान्छन् । खाना खाएपछि म र भवानी पूर्व लाग्छौँ । लगभग साढेचार बजे भाइ भवानी आङ्देम्बेलाई डुँडामारी छोडेर बेलुका पाँचबजे विर्तामोड छोरी इङ्सोनुमाको कोठा पुग्छु र गलेकाले खाना खाएर आराम गर्छु ।

मंसिर २० गते सोमबार विर्तामोड बजारमा थुप्प्रै कामहरू गर्नुछ तर सोमबारका दिन बिर्तामोड बजार पुरै बन्द रहेछ र मेरो काममा प्रभावित पार्छ । बिहान नौबजे जसपा केन्द्रीय सदस्य तथा लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माक्खिमको अगुवाईमा प्रदेश नं. एकको सामाजिक विकास मन्त्री जयराम यादवलाई भेट्न तुम्देन होटलमा आउन खवर गर्छन् । म यसैबेला विभिन्न मागहरूको फायल बुझाउने मनसाय थियो तर बजारवन्दले प्रभाव पारेकाले परिचयमात्र गर्ने सोँचमा हुन्छु । मन्त्री लगभग १० बजे आइपुग्छन् होटलमा । परिचय हुन्छ । त्यहाँ म लगायत विराज आङ्देम्बे, टीकाधोज नेम्बाङ्, टंक सेलिङ्, श्री सेलिङ् र उहाँका थुप्पै ओयामेली पार्टीका टिमहरू, हरिशंकर शाह, खगेन्द्र माखिम, शर्मीला आङ्देम्बे, मन्त्री जयराम यादव र उहाँका पिएसओ । ओयाम टिमले मागपत्र पेश गरेर फोटोसेसन पश्चात छुटिन्छौँ ।



दिनमा मेची नगरपालिकाको काँकाडभित्तामा पार्टीको कार्यक्रम हेर्न म र खगेन्द्र माखिम पुग्छौँ । समायोजन कार्यक्रममा आशाजनक उपस्थिति र प्रवेश कार्यक्रमले यो पार्टी चाँडै देशको शसक्त पार्टी बन्नेमा दुइमत नरहने आभाष मलाई दिन्छ । तर सभाध्यक्ष धनप्रसाद गुरुङ्ले मेरो अनुहार चिन्न सकेन । अलिकपछि फोन नम्बर माग्छु र नाम दिन्छु । तथापि अलमल नै पर्छन् । वास्तवमा विगत कांग्रेसमा रहँदाबस्दा निक्कै नजिक थियौं चिन्थे तर अहिले नजिकता गुमेर गएछ भन्ने लाग्छ । उमेरले हो कि ? चियाखाजा पश्चात फर्कन्छौँ विर्ता बजार । म कोठा पुग्छु र आराम गर्छु ।

मंसिर २१ गते बिहानै निस्कन्छु । फायलहरू किन्न र छापहरू बनाउन । एसवि सरलाई फोन गरेर प्रदेश सरकार मन्त्री परिषदमा पठाउने कागज प्रतिलिपि पठाउने शर्त बमोजिम उहाँले पठाएको तार आउँछ । दिनभरि प्रदेश सरकार र संघीय सरकारमा पेश गर्ने फायल बनाउँदै समय बित्छ । मोटरसाइकलको रफ्तार छ । दुवैआँखा अप्रेशनका कारण छ महिनासम्म धुलो धुँवाबाट जोगाउन पर्ने भएकाले नयाँ हेल्मेट किन्छु । एसवि सरले पठाएको सामानहरू प्राप्त हुन्छ र ति कागजहरू रिसिभ गरेर अध्योपान्त गर्छु । केही सच्याउनु पर्ने भएकोले सच्याउँछु । सबै फायलहरू र छापहरू बेलुकासम्म तयार हुन्छ र आराम गर्छु । आरामकै बेलामा मैले दमकका साहित्यकार सेसेमी सेनाल्बो, किरात याक्थुङ् चुम्लुङ झापा अध्यक्ष सेसेहाङ फियाक, साहित्यकार पुष्पहाङ् लोवाहरूमा फोन चलाउँछु । मोरङ्का साहित्यकारहरू डा. भरत सुब्बा, डिल्ली लिङ्दम, राजभक्त चेम्जोङ् र पत्रकार फिपराज बेघा लगायतलाई तार पठाउँछु र पान्थरका साहित्यकार तथा समालोचक लछामी सेर्मालाई पनि ।

मंसिर २२ गते साढे छ बजे निस्कन्छु । दमकमा सेसेहाङ् फियाकलाई लिएर जान । दमकमा पुगेर सेसेमी सेनाल्बोलाई फोन गर्छु । उहाँहरू हिँडी सकेको खवर हुन्छ । पुष्पहाङ् लोवालाई फोन गर्दा अहिलेको अहिले राजकुमार सुब्बालाई साथी भनेर मोटरसाइकल तयार हुन्छन् । हाम्रो अभियानमा एक सशक्त लेखक राजकुमार सुब्बा पनि सामेल हुन्छ । लाग्छौँ, विराटनगरमा भेट हुने हिसाबले ।

म र सेसेहाङ् फियाक लगभग ११ बजेमात्र विराटनगरको सामाजिक विकास मन्त्रालय परिसरमा पुग्छौँ । मन्त्री ज्यूले दिएको समयसिमा नाघेको बेलामात्र पुगेकाले अलिक त खल्लै हुन्छ । उता साथीहरू पनि तितर–वितर नै छौँ । सबैलाई फोन गर्छु । पुष्पहाङ् लोवा र राजकुमार सुब्बा पुग्छन् भने सेसेमी सेनाल्बो र लछामी सेर्माहरू आइपुग्छन् । खानाका लागि मन्त्रालय नजिक चोकमा खाना खान्छौँ र सबैको खाना व्यवस्थापन म गर्छु । खाना खाइ सकेर बसेको बेला विराटनगरको प्रोफेसर डाक्टर भरत सुब्बा आइपुग्छन् भने यसपछि साहित्यकारहरू डिल्ली लिङ्दम र राजभक्त चेम्जोङ पनि आइ पुग्छन् । यसरी भेला हुँदाहुँदै मन्त्री ज्यू आधाघण्टाका लागि बाहिर निस्कन्छन् ।



मन्त्रालय पुगेर पर्खाइ हुन्छ, बेजोडले । राज्यमन्त्रीको स्वकीय सचिव चन्द्रसिंह नेम्बाङ् र सचिवालय सदस्य इन्दिरा नेम्बाङ्सँग भेट र चिया सेवन हुन्छ । ढिलै भएपनि पत्रकार फिपराज बेघा आइपुग्छन् । निक्कै खुशी म हुन्छु किनभने हरेक कार्यहरूको सूचना प्रशारण हुन्छ भन्ने मलाई लागेकोछ । सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फेलाई पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेश गर्नका लागि लिम्बूभाषा उच्चमाद्यमिक शिक्षा बोर्डको कक्षा ११ र १२ को पाठ्यक्रम, पुस्तक र शिक्षक राहत व्यवस्थापन सम्बन्धी मागपत्र प्रतिलिपि हस्तान्तरण गर्छु ।

संयोग भन्नुपर्छ । किरात याक्थुङ् चुम्लुङ् लिम्वुवान अध्यक्ष प्रोफेसर ध्रुब सुब्बा र उहाँका टिमहरूसग अनायास भेट हुन्छ । ‘के खोज्छस् काना आँखो’ जसरी हाम्रो सोँच, मक्सद र विचार मिलेर हो कि सायद एउटै विषयमा भेट हुन्छ । उहाँहरू प्रदेशमा याक्थुङ् भाषालाई सरकारी कामकाज बनाउन मन्त्रीलाई स्मरणपत्र बुझाउन आउनु भएको रहेछ । हामी चैं उच्चशिक्षा कक्षा ११ र १२ को याक्थुङ् भाषाको मार्कसिट, पाठ्यक्रम, पुस्तकलाई प्रदेश भरि मान्यता दिनका लागि र शिक्षक राहत व्यवस्थापनका लागि मागपत्र पेश गर्न जमघट भएका छौँ । तेहि बहस हुन्छ । सरकारी कामकाज प्रदेश सरकारले तोके भने तिनको मानवस्रोत कहाँबाट ल्याउने ? सुक्खिमबाट । होइन, यसको लागि हामीले हजार बाह्रसय शैक्षिक जनशक्ति लिम्बूभाषा उच्चमाध्यमिक शिक्षा बोर्डबाट तयार गरेका छौँ । जब पाठ्यक्रम विकास केन्द्रले याक्थुङ् भाषा शिक्षालाई कोड नम्बर दिन सक्दैन । तहिलेसम्म यो अभियान जारी छ र तसर्थ यसलाई प्रदेश सरकारले मान्यता दिएर ऐन बनाइनु पर्छ भन्ने माग छ । कक्षा ११ र १२ धरानको पब्लिक हाईस्कुल र वसन्तटार मावि धनकुटाले अध्यापन गर्न छोडे पनि सरस्वती मावि लारुम्बा इलाम, पृथ्वी मावि याशक पाँचथर, सत्यहाङ्मा मावि याम्बोङ् पाँचथर, खलङ्टार मावि याङ्नाम पाँचथर र हालमात्तै सम्वन्धन लिएको सिङ्वा मावि लिङ्खिम ताप्लेजुङ्बाट शैक्षिक जनशक्ति निरन्तर तयार हुँदैछन् । यसकुरामा सबैको सहमत हुन्छ ।

मन्त्री ज्यूलाई समय मागेर लगभग साढे दुईबजे कार्यकक्षमा पुग्छन् र सबै पालैपालो मागपत्र फायलहरू बुझाउने कार्य हुन्छ । दुःखको कुरो, मैले फिपराज बेघा नै मन्त्री ज्यूको प्रेस सल्लाहकार हुन सक्ला भन्ने आँकलन गलत भएछ क्यार । यस्तो मागहरूको सार्वजनिक गराउने सूचनाको माध्यम मैले पाइन । यसरी आ–आफ्नो मागहरू पेश भएपछि मन्त्री ज्यूले हाम्रो कुराहरूको सम्वोधन गर्नुहुन्छ । वेलुका भइसकेकाले सबै साथीहरू तितरवितर हुन्छन् । फिपराज बेघालाई रोक्न चाहेपनि उहाँ हिँडी हालेकाले रोक्न सकिन । यसपछि सेसेहाङ् फियाक र गोविन्द आङ्बुङ्को सल्लाह अनुसार आर्थिक तथा योजना मामिला मन्त्री माननीय इन्द्रबहादुर (मौसम) आङ्बोलाई भेट्न उत्तै लाग्छौ । चारबजे मन्त्रालय छिरेपनि भेट समय लम्बिएकाले सेसेहाङ् सर पारिवारिक समस्याले लाग्छन् भने हामी दुईजनाले साढेचार बजे माननीय मन्त्री मौसम आङ्बोलाई भेट्छौँ । चुम्लुङ्को तर्फबाट कक्षा एकदेखि कक्षा १२ सम्मको पाठ्यक्रम निर्माणका लागि बजेट माग्न पठाइएको रहेछ भने म चैं कक्षा ११ र १२ लाई मान्यताका लागि ऐन बनाउन मन्त्री परिषदमा प्रस्तुत गर्ने अनुरोध रहेकोछ । र माननीय मन्त्री मौसम आङ्बो ज्यूले मेरो प्रस्तुत विषयलाई पेश गर्न तयार रहेको चियागफमा स्पष्ट राख्छन् । बेलुका भयो, सागर भतिजलाई फोन गरेर बुझ्दा ‘बसपार्कको मुखमा धनकुटा होटल छ । त्यहाँ लज पाइन्छ’ भनेपछि खोज्दै पुग्छु र रुम नं. १६ बुक गरेर पत्रकार भाइ मुकेश यादवलाई बोलाउँछु । उहाँ प्रेस मञ्चको मोरङ् अध्यक्ष हुनुहुन्छ । बेलुका बोलाएर यी यावत कुराहरू राख्छु, धनकुटा होटलमा । उहाँ पनि मन्त्री ज्यूको प्रेस सल्लाहकार भने होइन रहेछ । यसै बेला जसपा प्रदेश नं. एक अध्यक्ष प्रबीण चाम्लिङ्लाई फोन गरेर बुझ्छु र उहाँले पनि प्रेस सल्लाहकार नभएको स्वीकार गर्नुहुन्छ । मैले अव निकट भविष्यमा प्रेस सल्लाहकार राखेर यस्ता हाम्रा मागहरूलाई सञ्चार मिडीयामा व्यापकता गराई दिन विन्ति गर्दछु । यत्तिकैमा रात छिप्पेकाले प्रेस अध्यक्ष मुकेश यादव आफ्नो गन्तव्यमा लाग्छन् र म आराम लिन्छु । लिम्बूभाषा उच्चमाद्यमिक शिक्षा बोर्डको मागपत्र पेश अभियानमा साहित्यकारहरू लछामी सेर्मा, सेसेमी सेनाल्बो, सेसेहाङ् फियाक, डिल्ली लिङ्दम्, पुष्पहाङ् लोवा, राजभक्त चेम्जोङ्, राजकुमार सुब्बाहरूलाई धन्यवाद नदिई रहन सक्दैन भने प्राध्यापक डाक्टर श्री भरत सुब्बालाई पनि कृतज्ञ्नता जाहेर नगरी सक्दैन । यस अभियानका सबै प्रवुद्ध व्यक्तिहरूलाई हार्दिकता पूर्वक धन्यवाद दिन्छु । 
मंसिर २३ बिहान मन्त्री जयराम यादव समक्ष फोन गर्छु । आफ्नो घरमा ‘हरेन्द्र लिम्बूलाई लिएर आउनुस्’ भनेर  बोलाउनुहुन्छ । मैले हरेन्द्र लिम्बूको फोन पत्रकार फिपराज बेघालाई ‘धुइँधुइँति खोजेर भएर पनि पठाउनु’ भन्छु । तेसै मुताविक फोन प्राप्त गरी हरेन्द्र लिम्बूको कमाण्डमा सँगै मोरङ् प्रेस मञ्चका अध्यक्ष मुकेश यादव सहित मन्त्री ज्यूको नीजि निवास पुग्छौँ । यसैबेला मैले पेश गरेको योजनाहरू बारे, याक्थुङ् लोकवार्ता नेपालको अवधारणा पत्र र कक्षा ११ र १२ को लिम्बूभाषा उच्चमाद्यमिक शिक्षा बोर्डको मागपत्रलाई मन्त्रिपरिषद बैठकमा पेश गरिदिन आग्रहका साथ प्रस्तुत गर्छु । मन्त्री ज्यूले पनि योजनाहरूको बारे गएको निवर्तमान मुख्यमन्त्री भीम आचार्य प्रदेश सरकारले वजेट रित्याएको अवस्था सुनाउनु हुन्छ । फायलहरू हेरेर सम्भव भएसम्म बजेट व्यवस्थापन हुन्छ, भन्नुहुन्छ । याक्थुङ् लोकवार्ताका लागि अध्ययन गरेर बजेट लगाउने र लिम्बूभाषा उच्च माद्यमिक शिक्षा बोर्डको मागलाई मन्त्रिपरिषदमा राख्ने वचन मलाई दिन्छन् र हामी फर्कन्छौँ ।



धनकुटा होटलमा खाना खाई विराटनगरका हरेन्द्र लिम्बूलाई सहयोग मागेर उहाँकै मोटरसाइकल पथप्रदर्शनमा नागरिक लगानी कोषको कार्यालय र कर्मचारी सञ्चय कोषको कार्यालयमा पुग्छौँ । नागरिक लगानी कोषमा मेरो काम बन्छ भने कर्मचारी सञ्चय कोषमा भने डब्बल परिचयपत्र नम्बर र नाम भएकोले मेरो काम बन्न सकेन र त्यतिकै खल्लो भएर फर्कन्छौँ । धनकुटा होटलमा चिया खाएर हरेन्द्र लिम्बूसँग विदा लिन्छु, फेरी–फेरी भेट्ने सर्तमा । लगभग साढेएक बजे विराटनगरलाई छोडेर इटहरीतिर हुइकिन्छु । खनार पुगेपछि दाई लालबहादुर फेजोङलाई फोन गर्छु र उहाँसँग भेट हुन्छ । उहाँको घरमा पुग्छु । सिकुवामा धानको बोरैबोरा राश र ढुकुटि भरिएको । दुहुना गाईहरू, सुँगुर र वाख्राहरू आँगने गोठमा प्रतिवन्धित छन् । उहाँको कर्म दुःखले साँच्चै नै एउटा एकतले सुविधायुक्त विल्डिङ्, धानखेत, पशुधन र छोराछोरीहरूलाई चाहेजत्ति पढाएको पाउँछु । लालबहादुर दाई भन्नुहुन्छ ‘म त हरेक काममा अर्ध–अर्ध मात्र हुने मान्छे हुँ । पढाईमा, लेखन्दासमा, काममा, राजनीतिमा, व्यवसायमा आदिआदि ।’ वास्तवमा बिस बाइससालमा पाँचकक्षा पढ्नु चानचुन त होइन । तथापि वर्तमान स्थितिमा सानो कक्षा नै मानिएकोले उहाँको ग्लानी आउनु स्वभाविकै हो । गफगाफ मै छोरी कान्छीले फ्राई भैंसीको मासु, चिउरा, आलु चनाको तरकारी र चिया ल्याउँछिन् । गफगाफमै सबै सिध्याउँछु । केही पारिवारिक गफ, जग्गा व्यवहारको गफ र माथि गाउँमा आउने गफसँगै म तिनबजे त्यहाँबाट विदा माग्छु । 

बेलुका दमक बस्ने मेरो रहर, सेसेमी सेनाल्बोलाई फोन गर्छु उहाँ विराटनगर गएकाले रातीमात्र पुग्ने निधो । सेसेहाङ् फियाकलाई भनुँ भनेपनि नाती लाभका कारण घर व्यस्त । यसोतसो साहित्यकार पुष्पहाङ् लोवालाई फोन गरेको त, उहाँ पनि चतरा गएका रहेछन् तर इटहरी पुगेको र केही छिनमा नै दमक पुग्ने सूचना दिन्छन् । अलिकति भएपनि आनन्दको स्वास आउँछ, मनमा । एकछिन भएपनि समय विताउन सेसेहाङ् सरलाई बोलाएर ‘लिङ्देन मिनी मार्केट’मा चिया पिउँदै अलमल गर्दा साहित्यकार पुष्पहाङ् लोवा टुप्लुक्क आइपुग्छन् । उहाँसँग फाक्सा किन्न दमकको भित्रसाइड पुगी उहाँले चिनेको होटलमा एककेजी पु¥याउँछौँ र पूनः एचएसइवि याक्थुङ् भाषाका गोल्ड मेडलिष्ट कल्पना लिङ्देन र साहित्यकार जितेन पन्धाकलाई भेट्न लाग्छौँ । चियानास्ता हुँदै रहेछ तथापि मैले लिइन, पुष्पहाङ् लोवाले भने स्वीकार्छन ।

निक्कै लामो साहित्यिक गफहरू सँगसँगै पुष्पहाङ् लोवाको फेदोःङ् मैले लिन कर लाग्छ, होटलमा । बेलुका उहाँको सामिप्यमा फेदोःङ् लिन्छु र होटलमै दुवैको सहवास हुन्छ । पुष्प सरको साहित्यिक फेदोःङ्ले साहित्यिक ऋणी भएर आएकोछु किनभने याक्थुङ्बा जातिको यो पुरानो चलन भेट्ने मान्छे पनि हुँ ।

मंसिर २४ गते दमक बजार, किरात याक्थुङ् चुम्लुङ् जिल्ला अध्यक्ष तथा साहित्यकार सेसेहाङ् फियाक्ले घरमै आउन निम्तो दिन्छन् । मेरो पूर्ववत मक्सद छ, धाननाच तथा पालाम सम्बन्धी किताब र लेख रचनाहरू संकलन गर्ने । यसरी नै साहित्यकार सेसेमी सेनाल्बो, म र साहित्यकार पुष्पहाङ् लोवा फियाक सरको घरमा पुग्छौँ । निक्कै लामो साहित्यिक अन्तरकुन्तर, याक्थुङ् साहित्य र लेखन विषयमा गफगाफसँगै मैले उहाँहरूबाट धाननाच र पालाम सम्बन्धी किताबहरू लिन्छु । बस्दावस्दै सेसेहाङ् सरले खाना खाएरमात्र जाने प्रस्ताव गरेपछि अलिक मन शान्त भएर बस्छौँ किनभने उहाँको छोरापट्टिबाट नाती प्राप्त भएको खुशीयालीमा । मैले मुक्खेन्जि बधाइ र शूभकामना दिन्छु, खुशीयालीको एक रौनकतामा । हँसिलो मुस्कानले मेरो शब्दहरू स्वीकारोक्ति ग्रहण गर्छन् उत्तरमा ।



खाना ग्रहण गरेर म साहित्यकार सेसेमी सेनाल्बोको मकानमा लाग्छु । त्यहाँबाट केही किताबहरू लिएर सिधैं विर्तामोड पुगेर मोटरसाइकलको ओर्जिनल क्लोजप्लेट सेटै फेर्छु र भतिज सागर नेम्बाङ्लाई बोलाउँछु । मेची आँखा अस्पताल सैनिक मोड नजिक एक कटेजमा घुँगि खान लाग्छौँ, सागर भतिज, अर्जुन भतिज र म । घुँगि खाइसकेर अर्जुन भतिजको कागज लिन चन्द्रगढि पुग्छौँ । तत्कालै फर्कि आएर पूनः घुँगि खान्छौँ र बेलुकामात्र छोरी इङ्सोको कोठा पुग्छु । छोरासँग ईलामको सोयाकमा विवाहको निम्तोका लागि जाने सल्लाह फोनमा हुन्छ र जाने शर्त हुन्छ ।
मंसिर २५ गते बिहान उठेर योगाभ्यास समाप्त पश्चात साडेसात बजे निस्कन्छु, साथी भुपाल सेन्दाङ्लाई भेट्न र धाननाचका किताबहरू हस्तान्तरण गर्न । उहाँले धाननाच र मुन्धुमको विषयमा एमफिल गर्दै हुनुहुँदो रहेछ । उहाँ आठ बजे भनेकै स्थानमा आइपुग्छन् र किताबहरू हस्तान्तरण गर्छु अनि वसपार्कसम्म लिएर उहाँलाई ताप्लेजुङ् डाइरेक्ट जानेमा पु¥याउँछु । यसपछि छोरीको कोठामा गएर खाना खाई विरुवा कलमी गर्दा चाहिने सामानहरू खरिद गर्न चाहार्छु हरेक स्थानहरूमा । यसरी नै चारआली पनि पुग्छु । त्यहाँ तारा फुयाँल र उनका छोरी मनिशा पराजुलीसँग स्वप्निल भेट हुन्छ । केही अन्तरकुन्तर गफगाफ, चिया नास्ता हुन्छ । यसपछि सागर र अर्जुन भतिजसँग भेट भएर फर्कन्छु । सागर र अर्जुनसँगै मिलेर कलमीका सामग्रीहरू बिर्तामोडमा खोजेर किन्छौँ, रुटेक्स् र केही प्लाष्टिकहरू । यसपछि हामी छुट्टिन्छौँ ।

छोरीहरू अफिस लागी सकेकाले मेरो भारीहरू बाँधेर इलामको सोयाक (सु?यक्) गाउँमा लगभग साढेएक बजे लाग्छु । मुक्तिचोक, शनिश्चरे रोड हुँदै खुदुनाबारी, जेमोद्वार, शुक्रबारे भएर लाग्छु । कहीँ धुलाम्य, कहीँ हिलाम्य त कहीँ पीच । लोधिया खोलासम्म त पुरै खुल्ला र पीचबाटो तर जब लोधिया खोला नाघेपछि पूनः तेह्रथुमको कोयाखोला क्षेत्र र खरङ्वा खोला पुगुञ्जेल जस्तै धुलोका लागि वयान गर्नै नसकिने । जुनै साधन गुडेपनि धुलेबादल, बाटै छ्याप्प छोप्ने, दृष्य नै टाल्ने, आक्को हाउ । तथापि सोमबारे भन्ने स्थानबाट सोयाक (सु?यक्) जाने बाटो छुटिँदो रहेछ । 

‘ए
धुलैको बाटो, गेग्रेःङ छ माटो ।
बुङ्बुङ्ति उड्छ, वादलको साटो ।।
माईखोला मुनी, बगेको देख्छु ।
रुखपातमा धुलो, दलेको देख्छु ।।
माइखोला पुल, काटेर जाँदा ।
उकालो धुलो, चाटेर जाँदा ।।
तेह्रथुम र इलाम मितैलाउँ जस्तो ।
धुलो र मुलो मिलेछ उस्तो ।। 
.....।’

ख्याली बग्दैछन्, धुलाम्य वादलभित्रदेखि । माइखोलामा पुल रहेछ पुल नाघेर पनि बाटोको अवस्थामा कुनै फेरवदल हुन सकेन । वाफरे, । धुलै चाटेर भएपनि मेरो गन्तव्यमा चारबजे पुग्छु, कुङ्बा कान्छा असल येक्तेनको आँगनमा । लुगा, झोला, मोटरसाइकल डिस्कलर भएछन् । टक्टक्याउँछु । बेलुका सबै येक्तेन मावली ससुरालीका कुङ्बा, भदा, भदैनीहरूसँग भेट । विहाका लागि तयारी भइ रहेको । पुरै लाठेजनहरू खटि राखेको । बेलुकाको खाना बिहेघरको कुङ्बा माईला एलवि येक्तेन सरकोमा भने कान्छा कुङ्बा असल येक्तेनको घरमा आराम गर्छु ।



मंसिर २६ बिहान पाँचबजे उठेर योगाभ्यास, लामो दिन छोड्नाले शरीरमा बोसोहरू थिग्रिँदै गएको अवस्था । ६ बजेदेखि सुर्योदय हेर्न बाहिर आँगनमा निस्कन्छु । अवस्था चिसो सिरेटो एकोहोरो हावाको बगाई, पूर्वोत्तर र  दक्षिणी भागमा तुँवालो बाक्लो लागेको । माईला कुङ्बा नरबहादुर येक्तेन र साईला कुङ्बासँग कर्णफुसफुस चलाउँछु । ठट्यौली पाउँछु एकाबिहानै । पूर्वको आकाश रातो जलेको अवस्था देखिन्छिन्, यसैबेला । बाक्लो तुवाँलोभित्र लगभग आँगन चिसो उभाइमा आधाघण्टा तापेर ६.३१ मिनेट जाँदा निक्कै तल हेर्नेगरी सानोरातो र लाम्चो आकारमा बलेको देख्छु । वास्तवमा तेही रहेछ, सुर्यको प्रारम्भिक सानो लालीमा । लगभग दुईमिनेटमा निक्कै माथी रातो लालीगुराँस जत्तिकै रातो बलेको देखिन पुग्छ । वाफरे एक आनन्दको सुर्योदय हेर्दैछु, कुङ्बा कान्छा असल येक्तेनको आँगनबाट । लगभग ६.५० मिनेटसम्ममा सुर्यको ज्योति तेज भएर माथि आइसक्छ । तुवाँलो नभएको भए निक्कै सुन्दर देखिने रहेछ भनेर मनमनै गुथ्छु ।

बिहान खाजापानी माईला कुङ्बा एलबि येक्तेनकै किचनमा धेरै गफाष्टमा सम्पन्न हुन्छ । यसपछि मामा र माइजुलाई ढोगभेट गर्छु अनि बाँकि रहेका कुङ्बाहरूसँग सहृदयी गफ हुन्छ । जेठा कुङ्बा चन्द्र येक्तेनको घरमा गएर उहाँसँग केही पारिवारिक गफ हुन्छ र उहाँ पनि खाना खाएर विद्यालय जान्छन् भने उहाँकी कान्छी बुहारी (हेमराज येक्तेनको परिवार) पनि विद्यालय जान्छिन् । मेरो खाना पनि माईला कुङ्बा एलबि येक्तेनकै घरमा हुन्छ । खाना खाई सकेर एकछिन आराम गर्छु । विहाको पूर्वसन्ध्यामा सबै लाठेहरू आएर गेँट बनाउने, लिंगो गाड्ने, घर सरसफाई गर्ने, विजुली तार मिलाउने, किचन र वफे टेन्ट र खाना खाने सुन्दर टेण्टहरू बनाउने अनि पाहुनाहरूको आकर्षक टेण्ट बनाउने कार्यमा जुटी रहेको पाउँछु । मैले पनि घर सिँगारका लागि केही फूलबुट्टा टँसाउनेमा सहयोग गर्छु । केही महिलाहरूले सेल पोल्दै गरेका हुन्छन् । याक्थुङ्बा सँष्कार भेना, फुपा वा बाजे भएकाले होला सालाहरू निक्कै मसँग इत्रिन र मस्किन थाल्छन् । म पनि के कम, याक्थुङ्बा कै सन्तान, सवाल जवाफ चकमक जत्तिकै चल्छ ।

मध्यदिन, कुङ्बा माईला एलबि सरलाई घर जान अनुमति माग्छु । उहाँले तत्कालै भन्नुहुन्छ ‘कुङ्बा सपना बिग्रन्छ है ।’ सरल शब्द तर गम्भीरता छ यहाँ । म ताजुप रहेर एकरात अथवा भोलीपल्टको एघार बजेसम्म रहने मन बाँध्छु । दिनभरि विहाको पाहुना आउने दिन हुलमुलमा बिताउँछु । बिहान घरमा फोन गर्दा मेरो वंशका दाजु साईला इन्द्रवहादुरको छोरी सञ्जुको इङ्मे आउने दिन, उहाँ रिसाएर जानु भो भन्ने खवर हुन्छ । लगभग यो शब्दले दिनभरि नून खाएको कुखुरा जस्तै हुन्छु र टाउको दुःख्न पनि थाल्छ । यी कुराहरू कुङ्बाहरूलाई सुनाउँदा उल्टो जवाफ मात्र पाउँछु, कुरा नबुझ्नेमा न यत्ता न उता ।

मंसिर २७ गते बिहानै उठेर सामान्य योग गरेर ६.१५ बजे आँगन निस्कन्छु, सूर्योदय हेर्न । वरिपरिको वातावरणमा कम तुवाँलो । प्रकृतिले केही साथ दिए जस्तो । हिजोकै समयमा सूर्योदय देख्छु । हिजोभन्दा अलिक सफा र राम्रो देख्न पाउँछु । मैले मनमनै माईला कुङ्बा एलबि येक्तेनलाई धन्यवाद दिन्छु किनकि सपना विग्रन्छ है भन्ने सम्वादले मलाई रोक्यो र सूर्योदय सकुशल देख्न पाउँछु पनि । यो दिन सञ्जु भतिजीको इङ्मे र हःक्त?बा (चारकलम) खाने दिन । म उता सोयाक (सु?यक्) गाउँको मावली कुङ्बा एलबि येक्तेनको कान्छा छोरा रविन येक्तेनको विवाहमा छु । लगभग दशबजेतिर राँगाको फ्राई मासु एकथाल र आधा बोत्तल कोक कुङ्बाहरूसँग मिलेर च्वाट्टै पार्छौँ । खाना भनेको फ्राई मासु र कोक भएपछि के खानु । म मामा र माइजुहरूलाई विदाई ढोग गरेर निस्कन्छु । हिँड्ने बेलामा एघार ट्याक्क बजेकोले आधाघण्टा जत्ति आराम गरेर मोटरसाइकल शुरु गरेर लाग्छुु । कुङ्बा कान्छा असल येक्तेनले एकछिन भन्दाभन्दै पनि भतिजी सञ्जुको इङ्मे भ्याउने गरी हिँड्छु । कुङ्बा माईला एलबि येक्तेन, दिदी लगायत भदाहरू किशोर येक्तेन र बेहुला रविन येक्तेन अनि सम्पुर्ण मामा मावलीका कुङ्बाहरूसँग विदै नमागी लाग्नु शाब्दिक र नैतिक वाध्यता थियो र म विर्सन नसक्ने गरी गोडा छोई माफी माग्छु ।

लगभग साढे एघारबजे सोयाक् (सु?यक्) बाट खान्द्रोङ् पञ्चमी, जीतपुर, गाग्रेहुँदै पीचमा पुगेर नेपालटार भएर रक्से राँके पुग्छु, साढे बाह्रबजे वरिपरि । राँकेदेखि पौवाहुँदै सारताप भएर याम्बोःङ् घर साढेएक बजे पुग्छु । एकछिन् रेष्ट गरेर भतिजी सञ्जुको इङ्मे तल औल विजेटार खेतमा दुईबजे पुग्छु र इङ्मे खान्छु । 

पुरै मंसिर १६ देखि २७ गतेसम्म एकफन्का लगाएर आफ्नो गन्तव्य सकुशल पुग्न सकेकोमाईश्वरलाई धन्यवाद दिन्छु । धन्यवाद !

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मलिषा याक्थुङ्बा लिम्बू

लेखकबाट थप...

सम्बन्धित समाचार