'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ ३९

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले । 

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ । 

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ । कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । 

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ । 

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय 'कालीगण्डकी बचाऔँ अभियान' ले थालेको छ । 

यस अन्तर्गत प्रस्तुत छ, कवि विश्व सिग्देलको कविता– ‘अत्यन्त जरुरी’ 

मलाई फलाउनु थियो फल
फूललाई सुस्त धकेलेर चिचिला
अगाडि बढेको हेर्नु थियो
आँधीबेरीसँगको पौंठाजोरीमा 
हाँगामै झुन्डिने जब्बर आँटमा
कसरी चढ्छ टर्रोपना हेर्नु थियो
र हेर्नु थियो
हलुवाबेदको टर्रोपना गुलियोमा बदलिएको !

मलाई फलाउनु थियो लसुन
आफ्नै आङलाई उधारेर
कसरी जन्म दिन्छिन् सन्तानलाई आमा
माटोमा 
बिस्तारै माकुराका बच्चाजस्ता सिलिङबिलिङ
लसुनका टुसा हेर्नु थियो
तिनमा पिरो चढेको हेर्नु थियो
बास्ना चढेको हेर्नु थियो
र हेर्नु थियो
संस्कृतिको मियोमा घुम्दै गरेको चक्र

मलाई फलाउनु थियो मकै
धानचमरले सजाउँदै आफूलाई 
हेर्नु थियो,
कसरी कलिला मकैमा  चढ्छन दूधका थोपा
मलाई फलाउनु थियो केराउ
र हेर्नु थियो
एकै कोठाको सानो घरमा
कसरी बस्छन् सिंगो परिवार खुसी-खुसी
मलाई फलाउनु थियो धान, गहुँ ,आलु, जौ र कोदो
कालीगण्डकी तीरमा

वास्तवमा,
यी अनेक नाम त सुविधाका लागि भनेँ
मलाई त फलाउनु थियो
मेरा केटाकेटीका ओठमा काउलीफूल
उनीहरूका पेटमा सन्तुष्टिको दाइँ
र आँखामा सुन्दर लहलह फाँट 
सिँचेर कालीगण्डकी
सायद,
मेरो खुसीले
वडा अध्यक्षको बाइकको पेट्रोल भरिँदैनथ्यो
न त भरिन्थ्यो पालिका प्रमुखको गाडीको डिजल
मेरो खुसीले फुल्न सक्दैनथ्यो क्यार
मेरो क्षेत्रको सांसदको रहर
पुग्दैनथ्यो क्यार, 
प्रदेश सरकारको समर्थनलाई सदनमा ताली
वा केन्द्र सरकारको टाउको दुखाइमा राहत

ओ कालीगण्डकी 
लाखौं भुइँमान्छेका हरिया सपनाभन्दा
गुन्डा, दलाल र माफियाको टेको जरुरी छ सरकारलाई
यो जरुरी पूरा गर्न
अत्यन्त जरुरी छ
कालीगण्डकी दोहन !!
-बनेपा-४,  काभ्रे

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार