Yubaraj Kandel

Mr. Kadel has been working in the field of environment and development for two decades. Currently, he is a Ph.D. Scholar at LBU.

धैँ दसैँमा बा खलकमा टीका लगाएपछि मावली खलकमा टीका लगाउन जान्थ्यौँ । त्यो वर्ष टाढाको आफन्त मरेर जुठो परेकोले बा आमाले टीका लगाउनु भएन । केटाकेटीले टीका लगाउन छुट भएकोले दिदी बहिनीहरूसँग मामाघर गएँ । हजुरबा हजुरआमा कतै टीका लगाउन जानुभएकोले घरमा हुनुहुन्थेन । एकजना मामा मात्र हुनुहुन्थ्यो । मामाले राडीमा लहरै राखेर हामी ५ जना केटाकेटीलाई टीका लगाइदिनुभयो । भर्खर एसएलसी पास गरेर क्याम्पस पढ्न थाल्नुभएको मामाले सकेसम्म मिलाएर आशिर्वाद दिनुभयो । तर हामीलाई आशिर्वाद भन्दा पनि दक्षिणाको चिन्ता थियो । मामाले सबैको टाउकामा जमरा घुसारेपछि दक्षिणा पाइने पक्का थियो । मामाले टीका लगाएको हात पुछपाछ गर्नुभयो । अब कति दक्षिणा पाइन्छ भनेर मामाको हातमा हेर्‍याैँ ।. तर मामाले दक्षिणा दिनुको साटो हातमा एक एकवटा पहेला केरा राखिदिएर भन्नु भयो, “पोहोर पराल बोक्न गएको साढे सात रुपैयाँ मैले भिनाजुसँग लिन बाकीँ छ, त्यही पैसा मागेर ५ जना भान्जाभान्जीले बाँडेर लिनु  ।”

हजुरबा घरमा नभएकोले दक्षिणा कम पाइन्छ भनेर मन खिन्न भैरहेको थियो, त्यसमाथि मामाको उधारो दक्षिणाले मन अमिलो भयो । रुन मात्र सकिएन । दसैँमा २/४ रुपैयाँँ कमाउने सपना तुहिएकोले पिलपिल गर्दै घर आयौँ ।

बाल्यकालमा दसैँले केटाकेटीलाई उत्साहित बनाउनुमा मिठो खाना, राम्रो नाना र दक्षिणाको मुख्य भूमिका रहन्थ्यो । मालभोग केरा,च्युरा, मासु, सेलरोटी र अचार दसैँका मुख्य परिकार हुन्थे । हरेक वर्ष दोहोरिने यस्ता परिकारले केटाकेटीलाई खासै फरक पार्थेंन । नयाँ नानाको रूपमा आकाशे रंगको सर्ट र निलो पाइन्ट पाइन्थ्यो । जसले दसैँको नयाँ कपडा र स्कूलको ड्रेस दुबैको काम गथ्र्याे । खास महत्व त दक्षिणाको हुन्थ्यो । घरमा दुई रुपैयाँ सम्म पाइन्थ्यो । आफ्नै मामा नभएकोले मामाघरको आम्दानी प्राप्त हुन्थेन । आमाको साँइलो बाको घर नै हाम्रो मावल थियो । त्यहाँ टीका लगाउँदा १/२ रुपैयाँ आउने सम्भावना रहन्थ्यो । टीका लगाउन त गाउँका प्रायजसोको घर गइन्थ्यो, तर त्यहाँ केटीहरूलाई एक सुका मोहरसम्म दिएपनि केटाहरूलाई दक्षिणा दिन हुँदैन भन्थे । टीका लगाइदिने कुनै दयालु परेछन भने केटाहरूले पनि १० पैसासम्म पाउने सौभाग्य पाउथे । त्यसैले मावल नभएका केटाहरूले जति घर चाहरेपनि ५ रुपैयाँ पुर्‍याउन मुस्किल हुन्थ्यो ।

दसैँमा जम्मा गरेको दक्षिणाले स्कुल खुलेपछि फुर्मास गर्न पाइने भएकोले दसैँमा सकेसम्म धेरै दक्षिणा जम्मा गर्ने ध्याउन्नमा हामी केटाकेटीहरू हुन्थ्यौँ । धेरै घरमा टीका लगाउँदा धेरै दक्षिणा पाइने सम्भावना हुने भएकोले बा आमासँग बोलचाल हुने सबैको घरमा, गाउका गण्यमान्यको घरमा, आफन्तको पनि आफन्तको घरमा टीका लगाउन पुगिन्थ्यो । 

कान्छोबाको ससुराली नाता पर्नेको घर नजिकै थियो । उनीहरूमध्ये एकजनासँग ठूलोबाको मितेरी नाता समेत थियो । कान्छी आमालाई बहिनि भन्ने भएकोले उनका छोराछोरीलाई भान्जाभान्जी भन्थे । त्यो नाताले हामीहरूपनि भान्जा भान्जी नै भैयो । एकसाल कान्छो बाका छोराछोरी पार्वती दिदी, नारन दाई, मैया र किष्णसँग मेरा बहिनीहरू र म पनि उनीहरूको मामा पर्नेको घरमा टीका थाप्न गयौँ । टीका लगाइदिएर बहिनीहरूलाई १०/१० पैसा दिएपछि घरमुलिले भने, “यिनीहरू त कन्या भएकोले दक्षिणा दिएँ, तिमीहरू त छोरा हौ क्यारे, छोरालाई पैसा दिन भएन ।”

फेरि मन अमिलो भयो । ५/१० पैसा दक्षिणा पाउने सपना तुहियो । कन्सिरी तात्यो । मैले त दक्षिणा पाइन् नै, उनले भान्जा भन्ने नारन दाइले समेत छोरा भएकोले दक्षिणा पाएनन् । त्यसपछिका वर्षहरूमा दसैँंमा उनका घरतिर फर्केर पनि हेरिएन ।

केही आफन्त पर्ने र केही गाउँले पण्डित र पाका मान्छेहरू भएको घरमा बा आमा टीका थाप्न जानुहुन्थ्यो– आशिर्वाद लिन भनेर । हामी केटाकेटीहरूपनि पछि लागेर जान्थ्यौँ । बा आमासँग जादा बहिनीहरूसँगै मैलेपनि एक सुकासम्म हात पार्थें । दिपनगरदेखि शान्तिनगरसम्म कसले केटाहरूलाई दक्षिणा दिन्छन, कसले ५/१० पैसा वा सुका मोहर दिन्छन, कसले दक्षिणा दिन्नन भन्ने हामीलाई पत्तो हुन्थ्यो । मनमा बनाएको त्यही सूची अनुसार अर्को वर्षको दसैँमा टीका लगाउन जान्थ्यौँं । दिपनगरमा खनाल र घिमिरे खलक, ज्योतिनगरमा लोकनाथ पण्डित, छिमेकी कुरुन्चेली साइलोबा/आमा, नेपानेबाहरू, बलामेबा नाता नपरेपनि केटाहरूलाई टीका लगाएर दक्षिणा दिनेमा पर्थे । ठूली आमाको नाता पर्ने ढकालमामा, पुड्के भण्डारी, कटहरे पण्डितले पनि केटाहरूलाई दक्षिणा दिन्थे । त्यसैले उनीहरू हामी केटाकेटीलाई निकै मन पर्थे ।

कहिलेकाही हातमा आउने लागेको दक्षिणा पनि फुस्कँथ्यो र पुरै दसैँ खल्लो बन्थ्यो । एकपटक दसैँमा एकजना टाढाको आफन्त पर्नेको घरमा टीका लगाउन गएँ । उनको छोराले बम्बैमा राम्रै काम पाएकोले उनले अघिल्लो वर्षदेखि दक्षिणामा उदारता देखाउन थालेका थिए । उनले केटाकेटीलाई पनि एक दुई रुपैयाँको कट्कटिया नयाँ नोठ दिन्थे । टीका लगाउन पुग्दा टीका थाप्नेको लाइन थियो । उनले टीका लगाइदिँदै नयाँ नोठ दिइरहेका थिए । नाति पर्ने भएकोले मैले पनि नयाँ नोठ पाउने निश्चित थियो । मेरो पालो आउनै लाग्दा एकजना मान्छे हस्यांगफस्यांग गर्दै आएर हजुरबाको कानमा फुस्फुसायो । उनले आत्तिँदै धारामा गएर निधारको टीका पखाले । हामी केटाकेटीले केही बुझ्न सकेका थिएनौँ । परिवारमा आपसमा खासखुस चल्यो अनि सुक्क सुक्क रुन पनि थाले । पछि थाहा भयो– हिजै उनका आफन्त मरेका रहेछन, मान्छेले खबर लिएर आउँदा दसैँको दिनमा बल्ल आइपुगे । त्यहाँ टीका लगाउने कार्यक्रम अन्त्य भयो । मुखैमा आएको आहारा फुस्किए झैँ भयो ।

माइली आमाका सोल्टी थिए एकजना । हामि सानो बा भन्थ्यौ । उनि वर्षमा आधा भन्दा बढी समय कतै हराउथे र आधा समय मात्र घरमा झुल्किन्थे । दसैँको दिन कताबाट हाम्रो घरमा टुप्लुक्क आए । बा आमाको हातबाट टिको थापे । मेरा बहिनीलाई पनि टीका लगाएर एकएक रुपैयाँको डबल दिए. मलाई पनि टीका लगाईदिएर् गोजी छामछुम गरे । पैसा रहेनछ । त्यसपछि उनले भने, “मसँग पैसा सकिएछ, मसँग घर हिँड, उतै दिउला ।"

एक रुपैयाँको सवाल थियो । म पछि लागें. घर पुग्दा सानीमा पनि रहिछन । उनले पनि टीका लगाइदिइन् । सानोबाले एक रुपैयाँको ढ्याक हातमा राखिदिए । सानिमाले “छोरालाई पनि कसैले दक्षिणा दिन्छ ?" भन्दै त्यो ढ्याक मेरो हातबाट च्यात्त खोसेर लगिन । सानोबाले जति भनेपनि उनले फिर्ता दिइनन्, बरू केटाकेटीको बानी बिगार्ने भन्दै सानोबालाई गाली गरिन् । म रुन्चे अनुहार बनाएर अँध्यारोमा घर फर्कें ।

जति कोशिस गरेपनि दसैँमा १० रुपैयाँ दक्षिणा पुर्‍याउने सकिएन ।

एकसाल भने सोचेजस्तो भयो । त्यो साल दसैँमा टीका लगाउन भारतबाट सानिमा र सानोबा पनि मामाघर आएका रहेछन । हजुरबाले टीका लगाईदिएपछि उनीहरूले पनि टीका लगाइदिए. सानोबाले आइसी ५ रुपैयाँ र सानिमाले आइसी २ रुपैयाँ दिए । त्यतिबेला भारतीय एक रुपैयाँको १६५ वा १६८ पैसा यस्तै कति हुन्थ्यो । घरमा पाएको दुई रुपैयाँ, मावलमा पाएको २ रुपैयाँ सहित थप करिब १२ रुपैयाँ पाएको थिएँ । पहिलोपटक दसैँमा टीका लगाएर १५ रुपैयाँ भन्दा बढी रकम जम्मा गर्न पाउदा गजक्क फुलेको थिएँ म । 

फुरुंग हुँदै घर आएँ । सदाको दसैँ जस्तै आँगनमा लिंगेपिंग बनाएका थियौँ । घर आउने बित्तिकै मच्चिमच्ची पिङ खेलेँ ।
दिदीबहिनीहरू जम्मा भएपछि दक्षिणाको कुरो उठ्यो. म पनि गजक्क पर्दै पैसा देखाउन खल्तीमा हात हालें ।
ला.... पैसा त छैन !

म असिनपसिन भएँ । यताउति खस्यो कि भनेर खोजें, मावलबाट आउँदा खस्यो कि भनेर दगुर्दैदगुर्दै मावलसम्म पुगेर फर्कें. पिङको वरिपरी, आगन, भान्साकोठा, सुत्नेठाउँ जताततै खोजें. अहँ, कति भेटिएन ।

बसेर रुनु सिवाय मैले गर्न सक्ने अर्को उपाय थिएन. म रोएपनि पैसा आउने कुरै थिएन् ।. जिन्दगीमा पाएको सबैभन्दा धेरै दक्षिणा र मैले मेरो भन्न पाउने सबैभन्दा ठुलो रकम हराएको थियो ।

त्यसपछि बाल्यकालमा दसैँमा टीका पछि कहिल्यै दक्षिणाको आश लागेन । हजुरबाको निधन पछि मावलमा टीका लगाउन जाने क्रम टुट्यो । बा खलक र छिमेकी बाहेक अन्यत्र दसैँमा टीका लगाइन । यसको सिधा अर्थ हो बाल्यकालभरि मैले दसैँमा दक्षिणा पाइन ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार