कविको घर हुँदैन
घर भए पनि भित्ता हुँदैन
ऊ त डुली हिँड्छ
गाउँको पहिरोदेखि शरणार्थी शिविरहरूसम्म
बगैँचादेखि डढेलोसम्म
रिङटोनदेखि साइरनसम्म ।
कविलाई घरमा नखोज्नू
घरमा कवि हुँदैन
घरमा भएको बेला
कवि कवि हुँदैन ।
त्यहाँ त हुन्छन्
उसले कमाएकी स्वास्नी
रचेका छोराछोरी
र आधा लेखेर छोडेको कविता।
बाँकी आधा कविता खोज्न कवि भौँतारिँदै निस्कन्छ
कवि झट्टै फर्कनै पर्छ र हामीलाई पूरा गर्नै पर्छ भनेर
आधा कविता आमरण अनसनमा बसेको हुन्छ।
कवि हाँस्दा भीड हाँस्दैन
भीड हाँस्दा कवि हाँस्दैन
भीडलाई ऊ चिन्छ
भीडले उसलाई चिन्दैन।
एकथोक भन्न मञ्चमा चढ्छ
अर्कैथोक भनेर ओर्लन्छ
अनुभूति खान्छ, बिम्ब डकार्छ
मानवताको गणित बिग्रिएको बेला
कविलाई शब्दको पखाला चल्छ।
पाठ्यपुस्तकमा उसको कविता पढ्ने विद्यार्थीहरू
उसलाई आँखा तर्छन्
‘साँझ परेपछि के खोज्न निस्केकोरु’ पत्नी कराउँछे
ऊ चुप
ऊदेखि पत्नी कवितौँ टाढा छ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...