'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ २४
'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ २४
कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले ।
नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ ।
दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।
दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।
त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ ।
त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय 'कालीगण्डकी बचाऔँ अभियान' ले थालेको छ ।
यस अन्तर्गत प्रस्तुत छ, कविता- ‘तिमीले खोजेको कुरा’
मैले तिमीलाई प्राण धान्ने जल दिएँ
अनमोल प्रकृति र वातावरण दिएँ
बदलामा तिमीले मलाई डोजर र एक्स्काभेटर दियौ
बगरमा फ्याँकिएको लासलाई गिद्धले ठुँगेझैं
चरनमा गएको चौंरीलाई जुकाले चुसेझैं
घेरा हालीहाली हुँडारले हरिणलाई लुछेझैं
एक्स्काभेटर र डोजरले लुछिरहेछन् मेरो शरीर
म कालीगण्डकी मात्रै होइन आमा पनि हुँ
आकाशको काखमा जून र तारा लुटपुटिएझैं
ढुंगा, गेगर र बालुवा
मेरा काखमा लुटपुटिने सन्तति हुन्
मेरा सन्तानहरुको सर्वनाश गरेर तिमी
मेरो मर्मछेदन गरिरहेका छौ
म सर्पको काँचुलीजस्तै सुक्खा हुँदै छु
म आगो सल्किएको लामो डोरीजस्तै खरानी हुँदै छु
मलाई मेरै लयमा गाउन देऊ
मेरै बाटोमा हिँड्न देऊ
नत्र म सुक्नेछु र छटपटाई(छटपटाई मर्नेछु कुनै दिन
दुःखको कुरा मेरो मृत्यु देख्न पाउने छैनौ तिमीले
किनकि मभन्दा पहिला नै
तिम्रो जीवन समाप्त भएको हुनेछ
मेरो बगरमा न म हुनेछु, न तिमी नै हुनेछौ
केबल खियाले खाएका डोजर, एक्स्काभेटर र
असरल्ल लासहरु मात्र बाँकी हुनेछन् ।
के तिमीले खोजेको कुरा यत्ति हो ?
भक्तपुर
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...