'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ २२

विता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौँ हामीले । 

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरूले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैँमा विशिष्ट नदी हो । यससँग लाखौँ मानिसहरूको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ । 

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । 

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ । 

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक शृङ्खला” (आन्दोलन कविता)का रूपमा आयोजना गर्ने निश्चय 'कालीगण्डकी बचाऔँ अभियान' ले थालेको छ । 

यस अन्तर्गत प्रस्तुत छ, कवि विनोदविक्रम केसीको कविता– 'नागबेली उपनिवेश’ । 

तिमीले मलाई दिएको पहिलो शिक्षा थियो- 
कदापि नघस्रिनू जिन्दगीमा 
बग्नू, कहिले मतापमा 
आफ्नै पिरतीलोकमा मग्न मायालुझैँ 
बग्नू, कहिले गडगडाएर 
दुनियाँ फेर्न व्यग्र बागीझैँ

धन्यवाद नदी !
तिमीले मलाई गतिहीनताले
सुपारी दिएर निम्तो गर्ने
मृत्युबाट जोगाइदियौ

आमा बितेकौ चौधौँ दिनमा
किनारको एउटा ढुंगामा बसेर
म तिम्रो बगिरहेको अनुहार हेर्दै रोइरहेँ

भन्थिन् आमा-
'फोहोर नगर्नू नदीमा उसको आत्मा रुन्छ'

फोहोरी नियतका मान्छेहरूले
बसाएका छन् नागबेली उपनिवेश एउटा
घातीहरुलाई के हेक्का रहन्थ्यो-
माछा, गिट्टी र बालुवा कसैका सन्तान हुन्

एकएक गरी
कहिले अनिकालमार कहिले युद्धमा
छोराछोरी गुमाएकी आमाझैँ
तिमी छातीमा अनन्त शोकगाथा
र, गलामा हिक्काको नुनिलो धुन बोकेर
बेसुर, बेसुर भौंतारिरहेकी छौ

सपनामा म अखबार पढिरहेको हुन्छु
अखबारमा एक्कासि औरही खोला पस्छ
बगरमा
नदीप्रेमी ओमप्रकाश उर्फ दिलीपकुमार महतोको
रगताम्य शव टिपरको चक्कामुनि अड्किरहेको हुन्छ

प्रेमीहरूको कत्लेआम गर्न पल्केको देशमा
यो खुद्रा समाचार हो
(अथवा, समाचारै होइन......)
तर, कहिलेकाहीँ
एउटै काँटीले पनि तपाईंको निद्राको जगत्
भस्म पारिदिन सक्छ
र, त्यसपछि तपाईं रूखलाई, नदीलाई, बादललाई,
चरालाई, माछालाई, केटाकेटीलाई, दिलीपहरूलाई
पहिले कहिल्यै नगरेको चोखो प्रेम गर्न थाल्नुहुनेछ
यो एउटा कविको विश्वास हो
कृपया, मिथ्या साबित नगराइदिनुहोला

यस घडीमा
मैले साबित गर्नुपर्ने कुरा धेरै छन्....

म नदीलाई
प्लेकार्डमा या ब्यानरमा,
फेसबुकमा या ट्विटरमा मात्र
बास दिने मान्छे होइन

मेरा सारा धमनीहरू नदीका आफ्नै घर हुन्
नदीको आखेट गरेर फर्केकाहरुको काँधको बन्दुकसँग
म डराउँदिनँ

खुंखारहरूको हातबाट नदीको बागडोर खोसेर
उसैका हातमा थमाइदिन
मेरो हृदयबाट
आगोको एउटा नदी त बग्छ, बग्छ ।

काठमाडौँ

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार