साहित्यको शाश्वत पक्ष कुन्नि के पो हो तर ‘साहित्य, एक यात्रारत समाज हो’ या ‘समाज, एक यात्रारत साहित्य ।’ हो, मानवीय समवेदना र भावानुभूतिहरू पनि समाजकै हिस्सा हुन् । गतिशील मानव स्वभावले यात्रा रुचाउँछ । दैनिकीको व्यस्तता र फुर्सद पनि यात्राकै तलासमा हुन्छन् । कोही निस्कन्छन्- यात्रामा । कोही थन्किन्छन् बिस्तारामा ।

यात्रामा दम फुल्छ, खोकी छुट्छ, स्वा स्वा बढ्दछ । यात्रा- तुवाँलो, कुहिरो र स्याँठ । यात्रा- घाम, बादल र ओझेल । यात्रा- झरी, छत्री र सुकसुकाहट । थाक्नु, विश्रामलिन हुनु र रुमल्लिनु पनि- यात्रा । खिन्नता, प्रफुल्लता र असमन्जस्यता पनि यात्रा । ज-जसले जे-जे गरे पनि खोज आफ्नै, भेट्याइ स्वयंको। जिन्दगी यात्रा, यात्रा साहित्य र साहित्य जिन्दगी । त्रिपक्षीय सङ्गम । गजब, चित्ताकर्षक । यही कुरा लागू हुन्छ- युवराज नयाँघरेमा ।



निरन्तर यात्रामा निस्किरहने । आकर्षक शैलीमा नौलो विषयलाई यात्रासहित्य र निबन्धमार्फत लेखिरहने ।  रसास्वादन नै बेग्लै उनको लेखनीको । गद्य कुशलता उस्तै । छोटा वाक्य । मुग्ध पारिदिने । लेखनमा राजनीति, समाज विज्ञान र इतिहासका गिर्खाहरूलाई चलाइरहने, पन्छ्याइरहने । कताकता कविताजस्तो अनुच्छेद, कताकता हाइकुजस्तो वाक्य विन्यास । कसोकसो गीतका टुक्काहरू जस्तो शब्द संरचना । 

नेपाली अग्रज साहित्यकारहरूले हाउगुजी बनाएर छाडेका निबन्ध विधामा उनको छरितो उपस्थिति। नेपाली अगुवा निबन्धकारहरूलाई नपछ्याएका, आफ्नै अन्दाज-ए-बयामा रमाइरहेका ।  थाक्नु नि ! मरे, नथाक्ने । गतिशीलता उनको व्यक्तित्व, यसैकारण म उनीप्रति लोभिएको । तर भेट्न नपाएको । होइन, मेसो नमिलेको । सायद मिलाउन नसकेको ।  र, उनी यात्रामा निस्किरहेकै । काठमाडौँ छन् कि छैनन्, अडकल गर्न पनि नसकिएको । यावत कारण- उनको साक्षात्कारबाट म वञ्चित नै रहिरहेको । 

म निबन्ध भनेसि हुरुक्कै। उनका ९ वटा निबन्धसंग्रह । तर पछिल्लो समय लेख्नै छाडे, आकलझुकल पत्रिकाहरूमा मात्रै पढ्न पाएको। यद्यपि उनी यात्रारत र उनको यात्रा साहित्य पनि पढिरहेकै  ।

तर, मनमा खुलदुल जीवित ।  नयाँघरेले आजभोलि निबन्ध लेख्न किन छाडे ? नेपालमा निबन्ध लेख्ने परम्परा किन लोपोन्मुख बन्दै गइरहेको ? निबन्धप्रति लेखकका वितृष्णा के-कति कारण ? अब उनको यात्रा कता छ ? कता पुगेर आएका होलान् ? के देखेर आएका होलान् ? के बटुली ल्याएका होलान् ? 

प्रश्न मेरो, उत्तर उनको । समग्रमा- निबन्धको अन्तर्य चिहाउने अभिलाषा । अग्रज साहित्यकारहरूका किस्सा सुने चाह । निबन्धको आडमा एउटा भलाकुसारी । देशबारे जान्ने रहर । निबन्धबारे गफिने चाह । यावत कारण । उनलाई भेट्ने उत्कट चाहना । 

पर्खाइ टुङ्गियो । आखिरकर त्यो मेसो मिल्यो । एक साँझ । प्रज्ञा भवन । साँझ आइपुग्न एकाध घण्टा बाँकी तर वर्षा ओइरिन एकाध मिनेट पनि बाँकी नभएको । उनी भानुभक्त शालीक मुनि खुट्टा भुँइमा झारेर बसिरहेका । 



कपाल हिउँ जस्ता, तरचिसा होइनन् । अनुहारमा छिपछिपे हाँसो । के सोधौँ-के नासौधौँको दोसाँध । साँझजस्तै अवस्था मेरो । उज्यालो-उज्यालो, अँध्यारो-अँध्यारो मनोवृत्ति।  

पर्खाएको क्षमा पाउने आशमा उनलाई अगाडी पाउँदाको खुसी लुकाएर, ‘पर्खाएँ है दाइ?’, 

“‘तपाईँले नै त पर्खिन भन्नुभएको ।”, मुस्कान सहित ।

त्यसपछि अनौपचारिक कुराकानी । सिलसिला तोड्दै, मोड्दै र जोड्दै । गफगाफ निरन्तरता । 

प्रस्तुत छ; द मार्जिनको साप्ताहिक स्तम्भ  'किनाराका साक्षी'का लागि सन्ध्याकालीन एकेडेमी परिसरमा झरीमा ओत खोज्दै, ४/५ ठाउँ बसाई सर्दै, अलिअलि रुझ्दै, चिया पिउँदै,आलु-चना चपाउँदै युवराज दाइसँग विभिन्न विषयमा गरिएका कुराकानीको सारसङ्क्षेप :

दाइको निबन्ध आउनै छाड्यो नि ?

म निबन्धबाट नै आएको हूँ । पछिल्लोपटक नियात्रामा मेरो बढी कलम चलिराछ । यसको मतलब मैले निबन्ध लेख्दै नलेखेको भन्ने होइन । ०६९ मा 'स्वाहा' आएपछि सङ्ग्रहकै रूपमा चाहिँ आएको छैन, तर फुटकर रूपमा लेखिरहेको छु । 

मेरो ९ वटा निबन्ध सङ्ग्रह प्रकाशित छ, जसले मेरो उपस्थितिलाई कहीँ न कहीँ प्रतिनिधित्व गर्दछ भन्ने लाग्छ । अब लगत्तै पनि म निबन्ध नै निकाल्छु होला । 

निबन्ध के रहेछ ? 

गद्यको कसी नाप्ने विधा पनि निबन्ध हो । शक्तिशाली गद्य लेख्न नसक्ने कवि/लेखकहरू कवि/लेखक नै होइन भनिन्छ । हो पनि । हामीहरूलाई स्कुलमा आमाको बारेमा, हिमालको बारेमा, पुस्तकालयको बारेमा, गाईको बारेमा निबन्ध लेख्न लगाइन्थ्यो । यी विषयहरूमा निबन्ध लेख्न लगाएर हाम्रो गद्य शिल्प जाँच्ने गरिन्थ्यो ।  

जीवन बुझेर, राजनीति बुझेर, संस्कृति बुझेर, समाज बुझेर लेख्ने कुरा निबन्ध हो।  एकातिर दर्शनको कुरा पनि आउनु पर्छ र अर्कोतिर लेखकोको कलाकारिता पनि आउनु पर्छ । 

पछिल्लो समय नेपालमा निबन्ध किन कम लेखिएको ?

निबन्ध सिरियस विधा हो । शालीन विधा हो । समर्पित विधा हो । निष्ठावान् विधा हो। निबन्ध लेख्न ध्यान बढी चाहिन्छ । यसमा लाग्नुपर्छ । आजको समय छिटोछरितो  छ ।  टुक्का लेख्ने प्रचलन बढेको छ । निबन्धमा दर्शन, कला, चिन्तनको परिपाठ चाहिन्छ । निबन्ध एलियट विधा हो, यसमा आउँछु भन्दैमा सबै आउन पनि सक्दैनन् । 

निबन्ध नलेखिनुका धेरै पाटोहरू हुन सक्छन् । सबैलाई छिटो चाहिएको हुँदा गम्भीर कुराहरू कला-साहित्यमा कम आइरहेको हो की ? लेखकले पनि अलिकति समय दिन नसकेको हो कि ? 

सिर्जना गर्ने मान्छेलाई प्रविधिले पनि दास बनाएको छ । दीर्घकालीन प्रतिबद्धताको अभावमा निबन्ध लेखन अलि कम भएको होला । व्यापक हुँदै गएको सञ्चार क्षेत्रको दोष पो हो कि ? तुरुन्तै लोकप्रिय हुनुपर्या छ । तुरुन्तै वाहवाही पाउनु पर्या छ । यावत कारणहरूले  निबन्ध अलिकति सेप परेको हो कि ? अलिकति ओझेल परेको हो कि ? अलिअलि काठे च्याउ भएको हो कि ?

फेरी, निबन्ध विधा कविता या गजलझैँ ठुलो हल्ला गर्ने विधा होइन । दुई किनार लिएर बगिरहने नदी जस्तो हो निबन्ध- शान्त । स्वर सानो हुँदा निबन्धको आवाज नसुनिएको पनि होला ।   

र, एउटा कुरा जोडिहालौँ- म दिल खोलेर निबन्ध लेख्न चाहन्छु तर पत्रिकाहरूले मलाई १००० शब्द भन्दा बढी नहोस् भनिदिन्छन् । समसामयिक साहित्यिक पत्रकारिताले पनि  लेख्न चाहनेलाई लेख्न दिइरहेको छैन । यसरी शब्द सीमाले बाँध्दिँदा साहित्यको आयाम र सीमालाई दक्खल पुग्छ, पुगिरहेको छ  । 

तर,

निबन्ध लेख्दै नलेखिएको भने होइन । भित्री रूपमा लेखिएको छ । जस्तो अभि सुवेदीले लेखिरा’छन्, विजय कुमार, झमक  घिमिरेहरू लेखिरहेका छन् । मैले  मदन पुरस्कार पाएपश्चात् निबन्धात्मक कृतिहरू नै पुरस्कृत भएको पाउँछु । जगदीश घिमिरेको अन्तर्मनको यात्रा नेपाली साहित्यले पाएको अब्बल निबन्ध कृति हो । आत्मकथा, संस्मरण, दैनिकी, डायरी निबन्धकै हाँगाबिँगा हुन्, यिनै हाँगाबिँगा पुरस्कृत भइरहेका छन् । यो खुसीको कुरा हो । 

यसलाई यसरी भनौँ न- निबन्ध लेख्दै नलेखिएको भन्ने होइन तर समग्र रूपमा नलेखिएको हो । आँगनमा बिस्कुन छरिएको छ, एक ठाउँमा प्रस्तुत नभएको अवस्था चाहिँ हो ।  फेरी, अगाडिको अग्रजहरूले निबन्ध गाह्रो छ भनेर हाउगुजी पनि खडा गरिदिएका छन् ।, जसका कारण अनुजहरू यस विधामा पस्न डराएका हुन् कि?

भन्नाले ?

शङ्कर लामिछानेले २४ सालमा मदन पुरस्कार पाएपछि मैले ०६५ मा पाए । म २६ सालमा जन्मिए। मभन्दा २ साल अगाडी जन्मिएको निबन्धले पहिलो मदन पुरस्कार पायो । यो ४० वर्षको समयावधि पनि एकप्रकारको हाउगुजीको प्रतिफल हो । 

बिहान लेखेर दिउँसो उपस्थिति जनाएर बेलुका हिट हुने युगमा निबन्ध फितलो हुँदै गएको हो कि ? यसप्रकारको प्रचलनले बढोत्तरी पाउँदा साहित्यको गुणवत्ता टिक्छ/टिक्दैन भविष्यले बताउला तर म चाहिँ छिटोछरितो गरेर लेख्न रुचाउन्न । 



निबन्धमा किन यति बिघ्न रम्नुभएको ?

निबन्धभित्र भाषामा खेल्न पाउनु हुन्छ, दर्शन दिन पाउनु हुन्छ। शिल्प र कला दिल खोलेर पोख्न पाइन्छ। त्यसकारण पनि निबन्ध रोजेको रहेछु।म भित्रको कथा, कविता, गीत, उपन्यास, आलोचना लगायतका विधाहरू पनि निबन्धमै आएको जस्तो लाग्छ। नयाँ विधि, तौरतरिकाले यो विधामा अझै काम गर्न मन छ । म यो विधाबाट पछि हट्दिन । अझै काम गर्ने रहर छ निबन्धमा।

मैले यसो भन्दा अहङ्कार नभन्नु होला, मैले काठे च्याउलाई भत्काएँ। सम्भ्रान्त विधालाई जनमनको कुरा लेख्न सकिने, भुईँको कुरा लेख्न सकिने बनाएँ । निबन्धमा हाडे ओखर जस्तो कुरालाई छोडेर दाँते ओखरजस्तो बनाएँ। शङ्कर लामिछानेले विश्वयुद्धहरू मात्रै देखे र त्यही लेखे तर हाम्रो समयमा क्षण-क्षणमा ठुला-ठुला घटनाहरू भइरहेका छन् । मलाई यस कुराले निबन्ध लेख्न घचघचाईरहन्छ । 

निबन्धले हेलाहेलितो पाएकै हो ?

कविता, गीत/गजलले मञ्च पाए जस्तो, कथाले वाचनको वातावरण पाएजस्तो अवस्था निबन्धको हकमा छैन । निबन्धले बहस, छलफल, चिन्तन, मीमांसाको माध्यमबाट आफ्नो स्थान बनाउने हो । यस कुराहरूको हामी कहाँ अल्पता हुँदा निबन्ध ‘दूध कटुवा बच्चो’ जस्तो भएको छ । उपेक्षा भन्न त भएन तर कम महत्त्व चाहिँ पाएकै हो । 

त्रिविको नेपाली विभाग नाम मात्रैको छ । उसकै कुरै भएन । जसको मुनी बसेर हामी कुरा गरिरा'छौं, यसले गर्नुपर्ने हो- गर्दैन । बिचरा, निजी पब्लिकेसनहरू गरिरहेका छन् । पुस्तक प्रदर्शनी गर्दाखेर निबन्ध सङ्ग्रहहरू पनि समेटिएकै छन् । फेरी, निबन्ध सङ्ग्रहका पुस्तकहरू संस्मरण पनि आइरहेकै छन् । पाठकहरू राम्रा निबन्ध समग्रहरू त खोजीखोजी पढिरहेकै पनि छन्  । यसकारण निबन्ध अपमानित भयो, हेलामा पर्‍यो भनिहाल्न पनि मिल्दैन । अन्य विधाको दाँजोमा निबन्धको सहभागिता कम हो तर सङ्ग्रह नै आएनन् भन्न चाहिँ मिल्दैन । 

निबन्धभन्दा कविता, नाटक, आलोचनाहरूको सहभागिता कम देख्छु म । अझै पनि आख्यानसँग कुम जुधाउने गैर आख्यानतर्फ निबन्ध नै हो ।  

नियात्रा/निबन्धमा फरक के ? समानता के ?

दुवै विधा गैर-आख्यानकै हाँगाबिँगा हुन् । नियात्रासँग बाह्य भूगोल/ संस्कृति/ लोकसभ्यता/ चेतना र चरित्रका कुराहरू आउँछन् । तर अन्तर्मनका कुरा, अन्तरप्रकाश, अन्तरचेतना, अन्तरसंस्कृतिका कुराहरू चाहिँ निबन्धमा अट्दछन् । 

म आफै पनि बाह्य भूगोल देखाउनु छ भने नियात्रा लेख्छु, तर मेरो मन भित्रको भूगोल देखाउनु पर्‍यो भने चाहिँ निबन्ध लेख्छु । अथवा जगत्लाई खुस पार्न मैले नियात्रा लेखेको छु भने आफू खुसी हुन निबन्ध लेखेको छु ।

मेरो विचारमा निबन्ध र नियात्रा दुई पाइलाहरू हुन्, को अघि-को पछि भन्ने कुरा मात्रै हो । भाषाशास्त्री तथा निबन्धकार बालकृष्ण पोखरेलले नियात्राको न्वारन गरिदिएका हुन् । अलि पछि आएको विधा पनि हो यो ।

तपाईँले खाना खाएको विवरण लेख्दा अत्यन्त मसिनो पारामा लेखिदिनुभयो त्यो नियात्रा हुन्छ । अझ भनौँ न, लेखकले स्थानीय कुरालाई जोडजाम मात्र गर्ने हो । स्थानीय पात्रहरूकै मुखबाट बोलाइएका कुराहरू नियात्रामा लेख्दा बढी मिठास हुन्छ।

आज नियात्रा लेखिएका छन् तर ती टिप्पणी जस्ता हुँदै गएका पनि छन्, होइन ?

हो, अहिले नियात्रा प्रशस्त लेखिएका छन्। तपाईँले यात्रा लेख्दाखेरै ठाउँको मात्र वर्णन गरिदिनु भएन। ठाउँसँगै तपाईँको अनुभूति पनि हुनु पर्छ। तपाईँको पीडा र अनुभवलाई निखारेर, एकदम खारिएर परिष्कारका साथमा कतै संवादका रूपमा, कतै हाँसो ठट्टाका रूपमा पनि आउनु पर्छ। त्यो अलि कथानकता जस्तो पनि हुनुपर्छ।

गैर आख्यानको एउटा स्वादिलो विधा हो-नियात्रा। र पछिल्लो समयमा यात्राहरू धेरै लेखिए पनि विवरणका कुराहरू मात्र धेरै भए कि भन्ने पनि लाग्छ। उत्कृष्ट यात्रा साहित्य आउनका लागि आफैले पैताला खियाउनु पर्छ। पसिनामा नुहाउनु पर्छ। हैन भने यहाँबाट  त्यहाँ गएँ र त्यहाँबाट यहाँ आए मात्र भन्ने विवरण हुन्छ। 



म हतारो गर्दिन भन्नुभयो, तर तपाईँका किताबहरू त आइरहेकै छन् क्यारे !

म हतार नगर्ने मान्छे नै हो तर भोगाइले दियो । १८ वटा पुस्तकहरू निकाल्न सकें ।  

आजभोलि यसो हिसाब गर्छु, अब मैले दिन सक्ने भनेको मोटामोटी ५ वटा किताब हो । ८३ सालसम्म म किताब लेख्न सक्छु होला, उता नसकुँला कि ? आँखा कमजोर भए, घुँडाले पनि दुःख दिन थाल्या छ ।

यतिका वर्ष लेख्नुभयो, लेखन भनेको के रहेछ ? 

लेखन जीवन हुन् पुग्यो । खाएसरह, हिँडेसरह । लुगा फेरेजस्तो । साता-दश दिनमा एउटा रचना नलेखी आज पनि म बस्न सक्दिन । म लेखनसापेक्ष भइसकेछु । 

अर्को कुरा- लेखक/साहित्यकारहरू भनेका सांस्कृतिक राजदूत हुन् । राज्यले विना लगानी यात्रा साहित्यकारहरूबाट ठुलो सूचना पाइरहेको हुन्छ। तारानाथ शर्माले उहिले नै खप्तड पुग्न बाटो छैन, गाह्रो छ भनेर लेख्नुभयो। बुझ्ने मान्छेले त्यो कुरालाई अनुभव गरेर बाटो पुर्‍याउन पहल गरेँ। राज्यले सूचना सङ्कलनको लागि लाखौँ खर्च गरिरहँदा लेखकले नपत्याउँदो तरिकाले सूचना सङ्कलन गरिदिएको हुन्छ। मेरो प्रयास पनि यहि रहन्छ, लेखनमार्फत यहि कुरा भन्न खोजिरहेको छु ।

यति धेरै किताबहरू लेख्नुभयो तर तपाईँ चाहिँ चिप्लिनु भएन । नचिप्लिने तरिका के रहेछ दाइ ?  

म मेरै आँगनका कुरा गर्छु, मेरै भुईँका कुरा गर्छु । मेरै बार्दलीका कुरा गर्छु । मेरै पिँढी पँधेराका कुरा गर्छु । म ठुला-ठुला दर्शनका कुरा गर्दिन । म यही रुखपातका, यही फेदका, यही हाँगाका कुरा गर्छु । आफ्नै भुईँका कुरा गर्न मलाई जाति लाग्छ । अरूका कुराबारे म त्यति जानकार पनि हुन् सक्दिन । जानकार नभएको कुरा गर्दा चिप्लिन सक्छु । त्यस्ता कुरा गर्दा म पाखण्डी देखिन पनि सक्छु । 

मैले आफ्नै पसिनाको कुरा किन नगर्ने ? मेरै खिलका कुरा किन नगर्ने ? मेरै जनैखटीरोको कुरा गर्दा पो साँचो हुन्छ । मैले आफ्नै पेरिफेरीको कुरा गर्दा म साँघुरो हुला तर चिप्लिहाल्न चाहिँ नसकुँला । नचिप्लिएको हुँला कि ?

तपाईँको पुस्तकसँग साक्षात्कार कसरी हुन् पुग्यो ?

म इलाममा जन्मिएँ । तर मेरो  बाल्यकाल धेरै ठाउँमा बित्यो । झापा, मोरङ हुँदै भारतसम्म म बालापनमै पुगे। ठाउँ चिन्न पाएँ, संस्कृति देख्न पाएँ तर एउटा बेफाइदा पनि भयो- मेरा स्थायी साथीहरू भएनन् । म बिरामी धेरै हुने हुनाले धेरै ठाउँमा राखी मलाई हुर्काइयो । यसप्रकार किताबसँग मेरो सान्निध्य बढ्यो । किताबहरूको लसपसमै मेरो बचपन बित्यो । 

मेरा साथीहरू पुस्तक हुन् पुगे । म अलिक ठुलो भएपछि ठुला दाइ र दिदीका किताब पढ्न थालेँ । नबुझे पनि पत्रिकाका सबै समाचार पढ्थेँ म । खास गरी गोठाला जाँदा म भैँसीमाथि चढेर पुस्तक पढेरै दिन बिताउँथेँ । भैँसीमै चढी पुस्तक पढ्दै निदाउँथे, ब्यूझन्थें । 

संसारका उत्कृष्ट साहित्यका पुस्तकहरू मैले त्यतिखेरै पढेँ । लेखनाथ, देवकोटा, रवीन्द्रनाथ, अन्तोन चेखब, शेक्सपियर र टाल्सटायका नेपाली र हिन्दीमा लेखिएका पुस्तकहरू मैले भैँसीको ढाडमा  बसेर घुम ओढ्दै पढेको हुँ। तिनै किताबहरूले मलाई नयाँ बाटो देखायो र लेखक पनि बनायो ।

गाउँमा मट्टितेलको दुःख थियो, राती अबेरसम्म बत्ती बाल्न नपाइने।  गृहकार्य दिउँसै स्कुलमै सक्थे र राति विद्या पुस्तक पसल (मोरङ)बाट भाँडामा ल्याएका किताबहरू सिरकले बत्ती छोपेर पढ्थे ।अर्को दिन किताब नबुझाए जरिबाना तिर्नुपर्दथ्यो । त्यो बेला घरबाट दिने साताको एक सुका पैसा किताब पढ्न खर्च गर्थे । दाजु र साथीहरू त्यो पैसा खैनी खाएर सिद्ध्याउँथे । 


May be an image of 1 person, standing and outdoors


'हिँड्दा भेटिने र हेर्दा देखिने मात्रै नभई तिनलाई कसरी हेर्ने भन्ने पक्ष' पनि नियात्राको उल्लेख्य पाटो हो । तपाईँको मत ?

हो ।  यात्रामा म तीन भागमा चोइटिएको हुन्छु । एउटा व्यक्ति युवराज नयाँघरे, एउटा लेखक युवराज नयाँघरे र अर्को चाहिँ पाठक युवराज नयाँघरे ।

एउटा उदाहरणबाट भनौँ- अस्ति काला पत्थरको छेउछाउ पुगेर आए । त्यहाँ पुग्दा अलिकति हिलारी पनि सम्झिएँ । अलिकति तेन्जिङ पनि सम्झिएँ । तेन्जिङलाई नेपालले न्याय गर्न नसकेको पनि सम्झिएँ । त्यतिखेरका शासकहरू सम्झिएँ । अलिकति नेहरुलाई पनि सम्झिएँ । नेहरुलाई अँगालो हालेर लागेका तेन्जिङलाई पनि सम्झिएँ । अहिलेको शेर्पाहरूले तेन्जिङलाई कसरी हेर्छन् पनि सम्झिएँ । म आफैँले पनि नेपाललाई छाडेर जाने नोर्गेलाई 'नर्के' भनेर पनि सम्झिएँ । उनले नेपाललाई नर्क जस्तो बनाएर गएकै हुन् । यसर्थ, यथार्थता र कल्पनाको मिश्रण सँगसँगै मेरो वैचारकी, सोचाइ र भोगाइको मिश्रण नै नियात्रा हो । 

तपाईँले पसिना चुहाउनु हुन्छ, पैतालामा ठेला उठाउनु हुन्छ, आएर लेख्नु हुन्छ। त्यो पसिनाको गन्ध र ठेला दुखाइको अनुभूति पाठकले गर्छ भने त्यो साहित्य, सिर्जना, लेखन र अभिमत उत्कृष्ट हुन्छ। आँगनमा, वल्लो र पल्लो कोठामा, छतमा मात्र सीमित हुँदा अझ भनौँ अक्षर यात्रामा मात्र सीमित हुँदा न पाठकले पसिनाको गन्ध महसुस गर्छ, न त पैतालामा उठेको ठेलाको दुखाइ अनुभूत गर्छ।

तेन्जिङको प्रसङ्ग कोट्याउनुभयो, हाम्रो देशले आफ्नो प्रतिभा चिन्न र उसलाई आफ्नोपन दिन नसकेकै हो? 

आर्थिक हिसाबमा हामी कमजोर छौँ । कर्मचारीतन्त्र हाबी छ । राजनीतिक तत्त्वको बोलवाला छ । तर चिन्दै नचिनेको पनि होइन तर चिन्ने मामलामा आनाकानी चाहिँ बढ्तै गर्छ । म लेख्ने मान्छे, 'मलाई बसेर खा र लेखिराख्' मात्रै भन्दिने हो भने त मेरो लेखाइ चौगुना बढ्थ्यो होला । तर यहाँ कठिन छ । विदेशमा एउटा निबन्धकारले यति नै काम गर्दा उसलाई खान-ल्याउन पुग्छ, तर हामीकहाँ चाहिँ पुगिहाल्दैन । 

अर्कोतर्फ, ऐय्यासी जीवन सृजनशील हुन् सक्दैन । लक्ष्मी तत्त्व धेरै भयो भने सरस्वती तत्त्व स्वतः कमजोर हुन्छ । फेरी, राज्यले कला-साहित्य मात्रै होइन धेरैतिर हेर्नुपर्छ । यसो हुँदा कमबेसी परिराख्छ । 

'ऐय्यासी जीवन सृजनशील हुन् सक्दैन' भनेर भन्नुभयो । अब्बल सिर्जनाका निमित्त आर्थिक अभाव, मानिसक विचलन जस्ता फ्याक्टरहरू अनिवार्य सर्त नै हो ?

लेखक सृजनशील व्यक्ति हो तर ऊ पारिवारिक व्यक्ति पनि त हो । यस मानेमा व्यक्ति असफल हुन् सक्ला, लेखक सफल हुन् सक्ला । यस्ता थुप्रा उदाहरणहरू छन् । अर्को चाहिँ- व्यक्ति सफल हुन् सक्ला, लेखक असफल पनि हुन् सक्ला । यस्ता उदाहरणहरू पनि थुप्रा छन् । एकै व्यक्ति दुवैतिर सफल हुन् सक्दैन । भूपीको परिवार हामीलाई थाह छैन र ? भानुभक्तकै परिवार पनि त अस्तव्यस्त थियो, होइन र? 

मेरै कुरा गर्दा- मेरो छोरीलाई डाक्टर पढ्ने इच्छा थियो । मैले खुम्चाएर कानुन पढाएँ । विदेशमा हुन्थ्यौ पनि उनी डाक्टर बन्न सक्थिन । हामीकहाँ त्यो सम्भव छैन, यसलाई सम्भव तुल्याउने जिम्मा तपाईँहरूको थाप्लोमा छ, राजु भाइ । 

तपाईँ नियात्रा लेख्दै हुनुहुन्छ, यो विधा आफैँमा खर्चालु विधा हो । फेरी छोरीलाई डाक्टर पढाउन पनि सकिन भन्नुहुन्छ । अलि विसंगत सुनिएन ? अरू विधा अलि कम खर्चिला पनि हुन् क्यारे!

राम्रो प्रश्न गर्नुभयो । म भूतपूर्व कवि हुँ । चार लाइमा म रमाउन सकिन ।   वारि तिमि, पारी म भनेर वारिपारिमा म बस्न सकिन । दिल खोलेर ह्वेल झैँ छलाङ मार्न मलाई मनपर्छ । मलाई कुलो, पैनीमा रहन मन पर्दैन, मलाई समुन्द्र नै चाहिन्छ । तुरतुरे धारमा मुख धोएर किन जीवन काट्ने, छाँगोमा गएर आकाशतर्फ फर्केर मुख धुने नि । यो मजा बेग्लै छ, यो मस्ती बेग्लै छ । 

एउटा नामी ग्रन्थ पढेर पाउने निचोड तपाईँ एउटा यात्रामा पाउनुहुन्छ । जनजीवन, संस्कृति, रुख बिरुवा, भूगोल, अर्थतन्त्र, सामाजिकीकरण यात्रामार्फत मज्जाले बुझ्न सकिन्छ । दिनभरि हिँड्दा राति मस्तले निदाइन्छ । नानाथरी तर्कनाहरू मनमा उठ्न पाउँदैन । हाम्रो शरीर पनि यात्राकै लागि बनेको हो । हामी घुमन्ते प्राणी नै हौँ । बजारका पिज्जा खाएर हामी आफूलाई ध्वस्त पारिरहेका छौँ ।  त, यात्रा किन नगर्ने ?

माओवादी द्वन्द्वको बेलामा पनि मैले धेरै यात्रा गरेको छु। माओवादीले सरकारी जासुस र सरकारले माओवादी हो कि भनेर शङ्का गरिरहँदा पनि नितान्त लेखक भएर हिँडेँ। त्यो बेला पनि म मुलुक, जनजीवन, संस्कृति, सभ्यता, प्रकृति अध्ययन गर्न आएको मान्छे हुँ भन्दै पनि यात्रा गरेको थिएँ।

अहिले अलि चाडै थाक्ने हुन् थालेको छु, तर यात्रा गर्न छाडेको छुइन। काठमाडौँमा वान्तावमन जस्तो गरे पनि मैले मेरा अधिकांश किताबहरू बाहिर पुग्दा नै सम्पादन गरेको हुँ । किनकि त्यहाँ पुग्दा म त्यसो गर्न सम्भव हुन्छ ।  

र, खर्चालुको कुरा गर्नु भयो । मलाई ब्रान्ड चस्मा, घडी किन लगाउनु पर्‍यो र ? ब्रान्ड चामल नखाए पनि त हुन्छ । मेरो शरीरलाई फापर खाए पनि हुन्छ, कोदो खाए पनि रमाउँछ । यसैगरी दुई पैसा बचाए त पुगिहाल्यो नि ।  आजसम्म मैले औषधि खान परेको छैन, यसो गरेर पनि त मैले खर्च जोगाएँ नि । पर्सी (असोज १९) म बाउन्न पुरा हुँदै छु । पैदलयात्रा गर्छु, फाइभस्टारमा बस्ने खर्चलाई मैले पसिना पुछ्दै गरेको रुमालमा लगेँ । चौरी गोठालो भएर हिँडे, खच्चडमा पनि हिँडेको छु।  यसरी पनि त खर्च जोगाउन सकिन्छ । 

छोरीको कुरा चाहिँ बेग्लै हो, हाम्रा पाठकहरू पनि साना होलान्, पढ्ने मान्छेहरू पनि कम होलान् । त्यो भन्दा बेसी कला-साहित्यप्रति सरकारको बेवास्ता कुरा गरेको । एउटा लेखक कमसेकम लेखेर नै खाइपाई जीवन बाँच्न सकोस् भने ध्येयले मैले त्यसो भनेको हुँ । तपाईँले अलि बेसी असजिलो कुरा गर्नुभयो । (हेहे)

प्रसंग बदले- हाम्रा हिमाल, पाखापखेरी, खोलानाला, छाँगा छहराहरूले के भन्दै छन् ? तपाईँसँग उनीहरू के-कस्ता गुनासाहरू गर्छन् ? 

यो कस्तो गाँठो पर्ने कुरा तपाईँले गर्नुभयो । 

म डोल्पा, हुम्ला, मुगुतिर पुगेँ । पूर्वमा कन्चनजङ्गा पुगेँ  । पश्चिमका अपि-सैपाल पुगेँ  । ७७ जिल्ला सबै पुगेँ  । अधिकांश ठाउँ म पैदल हिँडेर पुगेँ  । झ्याल खोल्दा हातैले समाउन मिल्ने हाम्रा हिमालहरू छन् । नदीनाला त्यस्तै छन् ।

यतिका ठाउँ पुग्दा मलाई के लाग्यो भने हामीले ‘माल पाएर पनि चाल पाएकै छैनौँ’ । विदेशका होचा हिमालहरूमा हाम्रा शेर्पा दाजुभाइहरूलाई बोलाएर, त्यो सुविधा दिएर पर्यटन व्यवसाय सञ्चालन भइरहेका छन् । हामी काठमाडौँ खाल्डो भित्र साँघुरिएर/कोचिएर अनावश्यक रणनीति बनाएर देशलाई झन्-झन् साँघुरो, झन्-झन् कोप्चो बनाइरहेका छौँ । कागजमा बाघ बनाइरहेका हामीहरूको स्याल पनि कुद्न नसक्ने कार्यान्वयनका पक्षहरू छन् । दु:ख लाग्छ । 

खोला वारी एउटा भाषा, खोला पारी अर्को भाषा छ । तर ती भाषा सुन्ने-सुनाउने हामीले वातावरण तय गरेका छैनौँ । खानपान, बोलीचाली, मौसम फरक-फरक छ । हाम्रा पुर्खाहरू धर्म गर्ने नाममा गया-काशी पुग्थे, तर हामीलाई काठमाडौँ-पोखरा छोड्न सकेनौँ । न हाम्रा पुर्खा, न हामी- कसैले कुनै हिमाल चढेनौँ, चढ्ने मनाशय नै बनाउन सकेनौँ। कुन हकले हामी आफूहरूलाई हिमालको बासिन्दा भनिरहेका छौँ ? हामीले हाम्रा हिमालहरू चिनेकै छैनौँ । हाम्रा हिउँहरू हत्केलामा लिएकै छैनौँ । पीडा हुन्छ ।

मैले २०/२२ वटा देश घुमे, नेपाल जस्तो देश अन्त भेट्टाइन । एक रातमै तपाईँ आफ्नै ओछ्यानमा  तीन किसिमको मौसम पाउन सक्नुहुन्छ । सुत्ने बेला खुट्टा मुनी रहेको सिरक मध्यरातपछि ओढेर घाम झुल्केपछि फेरी मिल्काइरहेका हुन्छौ हामी । यस्तो अन्त कहाँ हुन्छ ? 

दुर्भाग्यपूर्ण कुरा- हामीले हाम्रो प्रकृतिलाई चिनेनौँ, पूजा मात्रै गर्‍यौँ । गुफाहरूका  तस्बिरमा फुल-अक्षता टाँस्ने हामीहरू ती गुफाहरूमा छिरेनौँ । गुफाभित्र के छ भनेर खोजेनौँ, खोज्न जानको लागि नयाँ पुस्तालाई उत्प्रेरित गरेनौँ । आफ्नै सुगन्ध थाहा नपाएर भौँतारिरहेका कस्तुरीको मनोदशा नेपालीहरूको छ । 

बल्ल हाम्रा मुस्ताङहरू चल्दै छन्, बल्ल हाम्रा शैलुंगहरू खुल्दै छन् । बल्ल हामी हलेसी, पाथीभरा पुग्दै छौँ । बल्ल हाम्रा व्यास गुफाहरू खुल्दै छन् । यी त उहिल्यै खुल्नुपर्थ्यो । तर अब खुल्ला समाज आएको छ, यस्ता कुराहरू चर्चा-परिचर्चा गर्दै छ । हिमनदीको डोबले बनेका यहाँका विभिन्न सभ्यताहरू बारे खोज-अनुसन्धान अब तपाईँहरूको काँधमा छ । 

हाम्रा हिमालबारे विदेशीहरू आएर चर्चा, चासो गरिरहेका छन्, तर हामी बेखबर छौँ ।  भौगोलिक विकटता मात्रै त कारण होइन होला ? 

पाठ्यपुस्तकदेखि नै हिमाल भनेकै शेर्पाहरू हो भनेर हामीले जिम्मा लगाइदिएका छौँ ।

हिमाल भनेको हिउँ मात्रै होइन, संस्कृति हो, सभ्यता हो, जनजीवन, लोकगीत हो । किन मधेसमा छिटो-छिटो नाच्छन्, पहाडमा अलि बिस्तारै र हिमालमा अझ बिस्तारै नाच्छन् ? यसको अध्ययन खै ? माथि बाक्ला लुगा धेरै लगाइन्छ तर कम धोइन्छ ? यसको अध्ययन खोइ ? हिमालमा घिउ किन बढ्ता खाइन्छ ? यो अध्ययन कसले गर्ने ? हिमालका फेदीहरूमा यति धेरै कथाहरू छन्, ती पाठ्यपुस्तकमा किन छैनन् ? काठमाडौँमा बहसमा ती कुराहरू किन समेटिँदैनन् ? अनि पो नेपालीहरू हिमालप्रति लोभिन्थे । विकटता मात्रै प्रमुख कुरा हुँदै होइन, त्यो एउटा कारण मात्रै हो । केही हिमालहरू विगतमा प्रतिबन्धित पनि थिए । ठुलो देशको कारणले बोर्डरका कुराहरू आए होलान् । हामीले ओठले हाम्रो हिमाल भने पनि मनले हाम्रो हिमाल भन्न सकेकै छैनौँ । हामी मानसरोवर कैलाशको कुरा गर्छौँ, तर हामीकहाँ रहेका अन्य चार कैलाशको हामीलाई अत्तोपत्तो नै छैन । सधैँ विदेशी आएर खोजिदिने हो र ? हामी आफैँ पुगेर खोज-अनुसन्धान गर्न पर्दैन ? 

हिमाल र गुफाहरूको प्रसङ्ग निस्किहाल्यो,  यतीका बारेमा विभिन्न किम्बदन्तीहरू प्रसिद्ध छन्। ती रोचक पनि छन्। यता, विदेशीहरू आफ्ना फिल्म, एनिमेसन, स्केचमार्फत यतीलाई स्थापित गर्न लागि परेका छन् । तर, किम्बदन्तीको रूपमा रहेको यस जीवको हालसम्म कुनै प्रमाणिक अस्तित्व प्राप्त भएको छैन।  यतीको उपस्थितिलाई लिएर तपाईँको टिप्पणी?

यतीबारे म पनि त्यति जानकार छैन । मैले मेरो सूचना र जानकारीको आधारमा मात्रै भन्न मिल्छ । म  विगत २५/३० वर्षदेखि हिमाली समुदायसँग नजिक भएर काम गरिरहेको भएर थोरबहुत जानकार पनि छु । त्यस भेगमा जनमानसले हिमाललाई पवित्रता/देवतासँग जोडेर हेर्छन् । र, उनीहरूले यतीलाई नदेखिने, असाध्यै लजालु, असाध्यै कुनामा लुक्ने, हिउँकै ओडारमा बस्ने एउटा ईश्वर को रूपमा कल्पना गरेका छन् । यती हिंस्रक छ भन्ने कुरा चाहिँ होइन । तर ठुला पैतालाको सवालमा हामीले के पाउँछौँ भने प्राचीन कालका जीवहरू ठुला भए पनि तिनीहरूले सागपात खाएको अनुसन्धानकर्मीहरूले खेला पारेका छन् । मैमथ हात्ती शाकाहारी थियो । 

यतीलाई आजसम्म देखेको कसैले छैन तर यसको पैताला, आकार प्रकारका बारमा त्यताका लामाहरू, रिम्पोछेहरू, दार्शनिकहरूसँग कुराकानी गर्दा उनीहरूले यतीलाई एउटा सादगी जीवको रूपमा व्याख्या गरे । कहिलेकाहीँ घाम ताप्न मात्रै यती बाहिर निस्कने उनीहरूको व्याख्या छ । 

मलाई के लाग्छ भन्दा हाम्रो राष्ट्रिय जनावर ‘यती’लाई बनाउनुपर्छ । गाई बनाउँदा पनि बिगार रह्यो, गाई एउटा सम्प्रदायको  भोजन संस्कृति अन्तर्गत आउँछ । सगरमाथा यदि हाम्रो राष्ट्रिय चिन्ह, राष्ट्रिय उदयको प्रतीकको रूपमा विश्व प्रसिद्ध छ भने त्यसकै आसपास बस्ने यतीलाई राष्ट्रिय जनावर बनाउँदा के बिग्रिन्छ ? यसमा विवाद पनि आउँदैन जस्तो लाग्छ, सबैले यस कुरालाई स्विकार्छन् होला । यसो गर्दा यतीको खोजी पनि व्यापक हुन्थ्यो कि? 

दन्त्यकथाहरू, लोकसंस्कृतिहरूलाई संरक्षण त गर्ने तर तिनले समस्या पनि निम्ताइरहेका छन् । यस कुरालाई कसरी हेर्नुहुन्छ ?

हरेक दन्त्यकथाहरू, लोकभाषाहरू, लोकसंस्कृतिहरूलाई संरक्षण गर्ने/गराउने सवालमा आजको आँखाले मात्रै हेर्नु भएन । यी चिजवस्तुहरू त्यतिखेरको सामाजिक, सांस्कृतिक अवस्थामा सृजना भएका हुन् । यी कुराहरू त्यतिबेलाका नियम हुन्, कानुन हुन्, मर्यादा हुन् । राज्यमा प्रहरी प्रशासन, नियम-कानुन नभएको खण्डमा यिनै कथाहरू समाजलाई गाइड गरिरहेको थियो । त्यतिबेला मुखियाले एउटा कथा सुनाएर गाउँलाई नियन्त्रणमा राखिरहेको थियो । यी दन्त्यकथाहरू त्यतिबेलाका शिक्षा पद्धति हो । यी कुराहरू हेर्दा-खोज्दा त्यतिबेलाको समय सापेक्ष आँखाले हेरिनुपर्दछ । इतिहासलाई संरक्षण गर्दा आजको आँखाले मात्रै हेर्यौं भने विवाद बढ्छ । मलाई डर छ, यी विवादहरूले कहीँ हाम्रा ऐतिहासिक सम्पदाहरू दुर्घटित नहोउन् ।

इतिहास परिमार्जन अत्यावश्यक कुरा हो, तर पुरानो रूप यो र नयाँ रूप यो भनेर पठनपाठन गराउनु पनि उत्तिकै आवश्यक छ । आजको आँखाले परिमार्जन गर्दा मौलिकता ध्वस्त हुने डर हुन्छ, हामी यहाँनेर सचेत हुनुपर्दछ । 

दाइ, आजलाई सकौँ क्यारे ! झरी पनि रोकिएन ।
प्रज्ञाले तपाईँ-हामीलाई ओताउन सकेन क्यारे भाइ । (हेहे..लामो हाँसो) जाऊ, चिया खाऊँ ।

उपसंहार :

हामी चिया पिएर फर्किँदै थियौँ । झरी रोकिएकै थिएन । साँझले अँगालो फिजारिसकेको थियो । हामी उसको अँगालोमा छिर्यौं । मसँग बर्सादी थिएन । दाइले छाता खोल्नुभयो ।  म उहाँको छातामुनि छिरें । एउटा न्यानो आत्मीयता । 

“म पहिले-पहिले यता माथि (प्रज्ञा भवनतर्फ देखाउँदै) छिर्थे पनि, आजभोलि मन लाग्दैन । सबै म भन्दा साना छन् ।”, दाइ उमेरका कुरा गरिरहेका थिएनन्- यो मैले बुझेको थिएँ ।  यो व्यंग्यमात्रै थिएन । नेपाली साहित्य जगतको अभिभावक मानिएको एकेडेमीमाथि एक स्थापित लेखकको वितृष्णा थियो । 

र, यो विष्मायोधिबोधक स्थितिको साक्षात्कार भई घर फिरिरहँदा म बाटोभर आफूलाई प्रश्न गरिरह - ‘एकेडेमी परिसरमा कहिलेसम्म यस्तै झरी परिरहेनछ ?’

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...

सम्बन्धित समाचार