देशमा दोस्रो चरणको महामारी शुरू भएको हल्ला एकाएक फैलिन थाल्यो । मानिसहरू डराउँदै रेडियो र टिभीमा समाचार सुन्न झुम्मिए । संक्रमणदर बढेर नयाँ रेकर्ड कायम भयो । दैनिक कोभिड केस पुष्टि हुनेको संख्या झण्डै दस हजार पुग्यो । ......प्राय यस्तै समाचारहरू हरेक बुलेटिनको हेडलाइन बन्न थाल्यो । जोखिम र असुरक्षा बढेकोले देशवासीहरूलाई सचेत र सुरक्षित हुन सरकारले आग्रह गर्न थाल्यो । जोखिमको सम्भावित क्षेत्रहरूमा मान्छेहरूको चहलपहल शून्यप्राय भयो । देशका हरेक शहरहरूमा लकडाउन शुरू हुने निश्चित देखियो । गाउँबाट सहर झरेका मजदुर, विद्यार्थी र व्यवसायीहरू कुम्लो कुटुरो बोकेर आ-अफ्नो गाउँ फर्कन थाले ।

'हाउ सेसेको आमा ! यसपालिको कोरोनाले त लाग्नेबित्तिकै मार्छ हरे नि हौ ।' - नोकियाको सादा सेटमा साँझको समाचार सुनिरहेको हर्कबोली ओछ्यानबाट खोक्दै बोल्यो।

'खै सबैले तेसोइ भन्छ' - चुलाबाट खान उतार्दै जङ्गरानी बोली ।

'भोलि राति १२ बजेबाट दमकमा पनि लकडाउन हुने हरे हौ' -हर्कबोलीले फोन सिरानिमा राख्दै जङ्गरानीलाई सुनाइ ।

जङ्गरानीले केही पनि प्रतिक्रिया नदिई खाना पस्किन थाली ।

'त्यसै बिरामी मान्छे।ज्यान जोगाउन गाह्रो भो है !' - हर्कबोली उदास हुँदै बोल्यो।

'आ एकदिन मर्नैपर्ने हो । काल आए मरुङ्ला नि ! बेकार के को टेनसेन ! लु भात पस्किएँ है' - खाना पस्किँदै जङ्गरानी बोलिन् ।

जङ्गरानीले खाना पस्केर हर्कबोलीको ओछ्यानमा लगिदिइ ।

'यो कोरोना कि सोरोनाको सातोले नि नछोड्ने भो हौ' - ओछ्यानमा खाना राखिदिँदै जङ्गरानी बोली ।

'लु, तँ पनि खा है' -खाना मुछ्दै हर्कबोलीले सोध्यो ।

'भरै सेसेसँग खान्छु' - जङ्गरानीले भित्ताको फोटो पुछ्दै जवाफ दिइन् ।

'कहाँ गा'को छ भात खाने बेला त्यो चैँ' - हर्कबोली ।

'वाइफाइ चलाउनु गयो होला नि हौ साथीहरूकोतिर' - जङ्गरानी ।

'यस्तो बेला डुलिराखोस् जाँठा' -हर्कबोली ।

भोलिपल्ट वैसाख १९ गतेको दिन दमकबाट खचाखच मान्छेहरू खाँदेर पहाडको ट्याक्सीहरू आउन थाल्यो । गाउँ फर्किने पाँचथको घुर्विसे पन्चमी, सप्तमी र रवीतिरका मान्छेहरूको भिड हेर्नलायक देखिन्थ्यो । माङसेबुङकै ट्याक्सीले पनि दुई तीन ट्रिप गर्न थाल्यो । तराई झरेकाहरू आ-आफ्नो घर फर्किँदा माङसेबुङमा महामारीको निक्कै त्रास र जोखिम बढ्यो ।

बाहिरबाट आउनेलाई कसैले पनि रोक्ने कुरो भएन । उनीहरू ओइरिएपछि गाउँ पूर्ववत् अवस्थामा नरहने भयो ।वार्डका समितिहरू ट्याक्सीमा सचेतनाको बिगुल फुक्दै गाउँ वरिपरि हिँड्न थाले ।
'अनिवार्य माक्स लगाउने.......'
'बीस मिनेटसम्म नियमित हातखुट्टे धुने........।'
'व्यक्तिव्यक्तिबीच कम्तीमा दुई मिटरको दूती कायम गर्ने....' आदि इत्यादि । विद्यालय र पसलहरू सबै बन्द भए ।मान्छेहरूले बाँसका किल्लाहरू गाडेर डाेरी टाँङ्दै आ-आफ्ना घरहरूमा प्रवेश निषेध गरे । सडकमा सवारीहरूको चहलपहल पूरै ठप्प भयो । बाटोमा खेलिरहने केटाकेटीहरू घरभित्रै बस्न थाले । छिमेकीहरू गुँड लागेको चरीजस्तै आँगनमा निस्किएर रित्ता बाटा र सुनसान वातावरण हेर्दै टोलाउन थाले । टोलका सरोकारवालाहरू सेनिटाइजर छर्किँदै घरघर डुल्न थाले ।

दमको दीर्घरोगी हर्कबोली थलिएको पनि लगभग एक महिना भएको थियो । सेसेले क्लिनिकमा गएर नियमित सालबुटामोल ट्याबलेट ल्याउँथ्यो । घरमा एउटा गाई र तीनचारवटा बाख्राहरू थिए । उसकी आमाले बाख्राहरू घरछेउछाउ नै चराउँथी । उनी पनि सन्च त कहाँ हुन् र ! बाथले चिसोमा घरिघरl गाह्रो बनाइ रहन्थ्यो । तैपनि सेसेलाई हल्का होस् भनेर घरको घरधन्दा सम्हाल्ने गर्थी । गर्मी महिनातिर र ठिकै हो जाडो समयमा चैँ भरसक घरधन्दा गर्न नपरोस् झैँ हुन्थ्यो ।

'लिसिबुङ्गे जेठालाई पनि कोरोना देखापर्यो रे नि !'

डढेलो जस्तै हल्ला फैलिन के बेर ! गाउँमा पहिलोपटक महामारी देखापरेपछि सबैजना त्रसित भए । हप्तादिनबाट रुघाखोकी र ज्वरोले आक्रान्त लिसीबुङ्गेलाई बिराम नओर्लिएपछि स्वास्थ्यकर्मी बद्री सरलाई नि शंखा लाग्यो । त्यसपछि वार्डको पहलमा गाउँपालिकाबाट कीट झिकाएर जाँच गर्दा कोरोना देखायो । शुरूमा त लिसिबुङ्गे आफू संक्रमित भएको सुनेर एकदमै डरायो । तर बद्री सरले सान्त्वना दिएर रोगलाई जित्न सकिने आत्मविश्वास दिएपछि भने उसको चिन्ता अलि मत्थर भयो । संक्रमित लिसिबुङ्गे भए नि डर र त्रासले भने गाउँका सबैजनालाई गिजोल्यो । सबैले लिसिबुङ्गे संक्रमित हुनमा उसका छोरा हाङसिङलाई शंखा गरे । हाङसिङ दमकबाट अलिअलि बिरामी हुँदै घर आएको थियो । 

हर्कबोलीलाई पनि अब पर्नु पीर पर्यो । दमले थलिएपनि ऊ बिरामी लिसिबुङ्गेलाई हेर्न अस्ति भर्खरै गएको थियो ।दिउँंसोभरि नजिकै बसेर दुःखसुख र महामारीको गफ गरेको थियो । उसले यी सब कुराहरू जङ्गरानीलाई सुनायो ।जङ्गरानीले डराउनु हुँदैन भनेर ढाडस् दिई । तैपनि उसलाई मनको बाघले खाइनै रह्यो । त्यसै पनि दीर्घरोगी । फेरि दीर्घरोगीहरू संक्रमित भयो भने गाह्रो हुन्छ भनेर बद्री सरले भनेका थिए । पक्कै पनि लिसिबुङ्गेबाट आफूलाई नि असर पर्यो होला भन्ने सोच्दै उ दिनरात दुखित भइरह्यो ।

मनको बाघले खान्छ भनेझैँ हर्कबोलीलाई ज्वरोले च्यापी हाल्यो । हाटखुट्टा गलेझैँ हुन थाल्यो । खाना रुच्न छाड्यो ।
बुबालाई लक्षण देखिएपछि सेसेले हतारहतार बद्री सरलाई फोन गर्यो । बद्री सरले हर्कबोलीको लक्षण मिल्दोजुल्दो पाएपछि ब्यागबाट कीट झिकेर जाँच गर्यो । सेसे र जङ्गरानी आत्तिसकेको थिए । नभन्दै किटमा दुईवटा धर्का देखियो ।
मृत्युको त्रासले हर्कबोलीको शरीर चिसो भएझैँ भयो । के गरुँ कसो गरुँ भयो । छिमेकीहरूले के भन्ला भनेर चिन्ता भयो । सेसे र जङ्गरानी पनि चिन्तित भए । बद्री सर पनि भित्रभित्रै डराइसकेको थियो तर उसले आफ्नो धर्म छोडेन ।छुट्टै कोठामा राखेर नियमित तातोपानी र खाना खान सुझाउँदै औषधि दिएर ऊ आफ्नो क्लिनिकमा गयो । सेसेले काठमाडौँमा भएको दिदी फुङचेलीलाई फोन गरेर बुबाको जानकारी दिइन् । उनले लकडाउनको कारण आउन नपाउने भन्दै खर्च पठाइदिने भइन् ।

लिसिबुङ्गे हुँदै हर्कबोली संक्रमित भएपछि भने छिमेकी र गाउँलेहरू घर बाहिरै निस्कन छाडे । सबैजना तातो खानेकुरा र बेसार पानी पिँउदै बस्न थाले । यता हर्कबोलीलाई बिसेक हुनको साटो झनझन व्यथाले च्याप्दै लग्यो । त्यसै पनि बन्द कोठामा सकसपूर्ण भइरहेको उसले शुरूमा त खानाको स्वाद र गन्ध पहिचान गर्थ्यो । तर दुईतीन दिनदेखि भने स्वाद र गन्धको भेउ नि पाउन नसक्ने भयो । शरीर लल्याकलुल्युक भई हिँड्न नसकेर चौबिसै घण्टा ओछ्यानमै पल्टिरह्यो । एकोहोरो ज्वरो र खोकीले सताइरह्यो । बिस्तारै सास फेर्नपनि गाह्रो हुन थाल्यो । सेसे र जङ्गरानीको त्रासको एपिसेन्टर झन बढेर गयो । सोचे यो कस्तो धर्मसंकट ? आफ्नो ज्यान जोगाउनु कि बिरामीको ख्याल गर्नु ?छिमेकीहरू हेर्न आउने कुरो त परकै भयो । बेलाबेला फोनमा के कसो छ भनेर सोध्ने गर्दथे । वार्डका समितिहरू प्रत्यक्ष अनुगमनको साटो फोनबाटै सान्त्वना दिन्थे । प्राय सेसे घरको काममै व्यस्त हुन्थे । स्याहार सुसार र औषधोपचारको जिम्मा सबै जङ्गरानीको थियो । बिरामी लोग्नेलाई खाना र औषधि दिनअघि उनी ओछ्यान वरिपरि भक्कु सेनिटाइजर दल्थी । बेलाबेला त वाक्क लागेर त्यतिकै बस्थी । फुङचेलीले आत्तिएर फोन गर्दै बुबाको अवस्था सोधिरहन्थी । बुबासँग फोनमा बोल्न खोज्थी तर बिरामी हर्कबोली बोल्न सक्थेन । त्यतिबेला उनी डाको छोडेर रुन थाल्थी ।

एकरात हर्कबोलीलाई व्यथाले च्याप्यो । उसको स्वासप्रस्वास रोकिएला झैँ हुन थाल्यो ।

'सेसे यता आइज त !' - आत्तिँदै जङ्गरानी कराइन् ।

सेसे माक्स लाएर दगुर्दै बुबाको कोठामा छिर्यो ।

'यहाँ बस न ! तेरो बुबालाई गाह्रो बनायो जस्तो छ ।' जङ्गरानी सुँकसुँक गर्दै रुन थालिन् ।

'बुबा ए बुबा !' - सेसेले बुबालाई बोलायो ।

हर्कबोलीले आँखा खोलेर मात्रै हेर्यो । बोल्न सकेन ।

'म बद्री सरलाई फोन गर्छु ल' - सेसेले नम्बर डायल गर्यो । नेटवर्कको समस्याले फोन उपलब्ध हुन सकेन । उसले झ्याल खोलेर बाहिर हेर्यो । सिमसिम पानी परिरहेको थियो । कुहिरोले डाँडाकाँडा घपक्क ढाकेर अध्याँरोे भएको थियो । त्यतिकैमा बत्ती नि गयो । उसलाई के गरुँ, कसो गरुँ भयो । ढुकढुकी एकदमै तुफानमा बढिरहेको थियो । आमा एकोहोरो रोइरहेकै थिइन । सेसेले छिमेकी फौदसिङ काकालाइ गुहार्यो । काका र काकी अँध्यारोमा टस बाल्दै आइपुगे । सेसेलाई अलि आँट आयो । उसले भान्सामा गएर बेसारपानी ल्यायो । बेसारपानी पिएपछि हर्कबोलीले थोरै सास फेर्यो । जङ्गरानीले हतारहतार आँसु पुछेर हर्कबोलीको बौँडिएको हातहरू घर्षण गर्दै मालिस गर्दिन थाली ।फौदसिङ काकाले धुपौरोमा धुप बाल्दै जङ्गलीहरू मन्साउन थाल्नुभयो ।

'स्याँठा यो गाउँको मान्छेहरू पनि पसुइ हो । छिमेकिलाई साह्रोगाह्रो पर्दा त !' - धुपौरो राख्दै फौदसिङ बिच्कियो।

'उनारु त निरोगीहरू, जोगिनु परेना । भरै हामीले कोरोना सार्दियुङ भने !' - आँखा मिच्दै जङ्गरानीले व्यंग्य पोखिन् ।

सेसेले आफ्नो कोठामा पसेर बद्री सरलाई फोन ट्राइ गर्यो । बद्री सरको नेटवर्क व्यस्त देखायो । फेरि दिदीलाई ट्राइ गर्यो । दिदीकोमा सम्पर्कै हुन सकेन । रिस उठेर फोन खाटमै फाल्यो । बुबा फेरि हिँकहिँक गर्न थाल्नुभो । ऊ हतारहतार बुबाको कोठामा छिर्यो । आमा फेरि डाँको छोडेर रुन थालिन् । 'यतिबेलै पानी नि दर्किनु पर्ने.. ! बिच्किँदै फौदसिङले झ्यालबाट टाउको निकालेर छिमेकीहरूलाई बोलायो । सेसेले काकाको टस मागेर बद्री सरलाई घरैमा बोलाउन जाने कुरो गर्यो । छिमेकी खड्क दाइ, सुभामाइला तुम्बा र पृथीसिङ बाजे पनि आत्तिँदै आइपुगे । सेसे टस बोकेर आँगनमा निस्कियो । कुहिरो लागेकोले चारैतिर अँध्यारो थियो । टस बाल्दा थोरै उज्यालो देखिन्थ्यो । ऊ छिटोछिटो सास फेर्दै बद्री सरको घरतिर हिँड्न थाल्यो । टसको उज्यालोमा उसलाई आफ्नै छाँयाले पछ्याएझैँ लाग्यो ।कहिल्यै डर नलाग्ने ऊ यतिबेला भने पूरै डरसरी भो । शरीर चिसो भएझैँ भो । टाउको फुल्लिएझैँ भो । ऊ अघि बढ्नै सकेन । ऊ वरपर केही पनि नहेरी फनक्क घर फर्कियो ।

आँगनीमा आइपुग्दा थाहा भो बुबाको प्राण गइसकेछ । ऊ अवाक भयो । उसको खुट्टा भासिएझैँ भयो । शरीर गलेजस्तै भयो । यस्तोबेला सधैँ हिँडिरहेको बाटो पनि हिँड्न कठिन हुँदोरहेछ । बुबाको कोठामा पुग्न एकदमै गाह्रो भयो । बिस्तारै गह्रौँ मन लिएर कोठाभित्र छिर्यो । आमा मेरिङ साम्लो गाउँदै रोइरहेकी थिइन् । फौदसिङ काकाहरू मुख थुन्दै होहल्ला गरिरहेका थिए । ऊ बुबाको छेउमा गएर उभियो । बुबाको मृत अनुहार हेर्यो । बुबा शान्त मुद्रामा लडिरहेको थियो । अशान्त त उसको मन थियो । लास भइसकेको बुबाको खुट्टा छोएर ढोग्यो । खुट्टाहरू चिसा भइसकेका रहेछ । त्यसपछि जुरुक्क उठ्यो । सबैले उसलाई हेरिरहेको थिए ।

मलाई त अघि बाटोमा नै संकेत दिइसकेको थियो ।' - ऊ घुँक्कघुँक्क गर्दै बोल्यो अनि आँसु पुछ्दै आफ्नो कोठामा गयो । त्यतिन्जेलसम्म निक्कै छिमेकीहरू भेला भइसकेका थिए ।

'यहाँ छिमेकी मरिसक्दा पनि तिमेरु चैँ डराउँदै बस है ! स्याँठाहरू' - फौदसिङले सबैजनालाई हकार्दै बत्तीको इन्तजाम गर्नतिर लाग्यो । सबैजना घोसेमुन्टो लाउँदै लासको वरिपरि बसे । लास रुङ्न परेकोले लिसिबुङ्गेनी भान्सामा गएर आगो फुक्न थालिन् । सेसेले आँसु पुछ्दै बुबाको निदारमा नयाँ ढक्की पैसा राखेर शिरपट्टि दियोकलस बाल्यो ।सुभामाइलाले सेतो कपडा लिएर लासलाई ओढायो । खड्क दाइ केटाहरू लिएर आँगनमा त्रिपाल टाँग्न हिँड्यो ।पृथीसिङले फुङचेलिलाई सम्पर्क गर्यो । खबर सुन्नुबित्तिकै अत्तालिएकी फुङचेली गाडी रिजर्भ गरेर श्रीमानसँगै रातिनै बाटो लाग्ने भयो ।

भोलिपल्ट बीस तिसजना छिमेकीहरू भेला भए । प्राय सबै टाढैबाट लासमा फूल र अक्षता चढाएर घरघर फर्के । दस पन्ध्र जना लाठेहरू मात्रै मलामी हिँड्ने भए । पाँचदस भाइ खाडल खन्न बिहानै जङ्गलतिर गए । गाउँपालिकाबाट मलामीको सुरक्षाको निम्ति सेफ्टी पिपि, माक्स, सेनिटाइजर र ग्लोब्सहरू लिएर एम्बुलेन्स आइपुग्यो । सेसे, खड्क दाइ, फौदसिङ काका र रत्नेले लास बोके । त्यसपछी लासलाई जङ्गलतिर लगियो । फुङचेली र उनको श्रीमानले लासलाई जङ्गलमै भेटे । विक्षिप्त फुङचेलीलाई सम्हाल्न निक्कै गाह्रो भयो । सेसेकी आमा एकोहोरो मेरिङ साम्लो गाउँदै रोइरहेकी थिइन् । सेसेले मन दह्रो बनाउन खोजेपनी बुबालाई खाल्डोभित्र लाउँदा भने तुरुरु आँसु चुहिहाल्यो।उसले आँसु चुहाउँदै बुबाको मलीन अनुहार नियाल्यो । सुकेका ओँठहरू नियाल्यो । गडिएका परेलीका डिलहरू नियाल्यो । चाउरी पर्दै गरेको बुबाको अनुहारमा पराजयको रेखाहरू छछल्किरहेको देख्यो । हिनताबोध उर्लिरहेको देख्यो । उसले बुबाको मृत शरीर हेर्न नसकी खाल्डोछेउको सखुवाको फेदमा गएर घोप्टिएर रुन थाल्यो ।लास पुर्दैगर्दा घाम डुबेर आकाश गोधुली भइरहेथ्यो । लाग्थ्यो पहेलिँदै गरेको साँझले पनि हर्कबोलीको मृत्यु हेर्न सकिरहेको थिएन । जेनतेन लास लुकाएर फर्किँदा लगभग साँझ पर्यो ।

लास लुकाएको साँझबाट छाक बार्ने काम शुरू भयो । पृथिसिङ बाजेले कर्मकाण्ड सम्हाल्ने भयो । सेसेले बुबालाई पिण्ड दिन चाहिने सबै कुराहरूको बन्दोवस्त गर्यो ।खाना, दाल, तरकारी, बिस्कुट, कोक, घिउ, फलफुल, मिठाई, दूध, पनीर........ इत्यादि । त्यसपछि बुबाको फोटो अगाडि राखेर पिण्ड चढाउने कर्म शुरू हुन थाल्यो । जङ्गरानी पीर र सुर्ताले विक्षिप्त भएकी थिइन् । त्यसमाथि भोको पेटले अझ कमजोर हुन थालिन् । उनी पिण्ड दिने कोठाबाट बाहिर निस्कन्थिन् । भान्साको काम सबै फुङचेली र लिसिबुङ्गी काकीले सम्हालिन् । सेसे वस्तुलाई घाँसपात गर्न र सरसमान व्यवस्थापनमै व्यस्त रह्यो ।

चार दिनसम्म प्रत्येक साँझबिहान पिण्ड चढाइसकेपछि चोखिने कार्य शुरू भयो । परिवार, छिमेकी, आफन्त र इष्टमित्र सबैले नुनतेल छोएर चोखिए । जङ्गरानी झनझन थला पर्दै गइन् । सेसेले बद्री सर बोलाएर आमालाई जँचायो । त्यसै पीर परेको शरीरलाई व्रतले झन् कमजोरी बनाएको रैछ । उनी बिस्तारै खानै खान नसक्ने भइन् । घरमा अर्को फसाद शुरू भयो । माङसेबुङ गाउँंपालिकाबाटै कोभिड संक्रमणले मृत्यु हुनेमा हर्कबोली पहिलो व्यक्ति रहेछ । त्यै भएर चोखिने दिन गाउँपालिका अध्यक्ष एम्बुलेन्स लिएर सेसेहरूलाई भेट्न आयो । उसले संक्रमितबाट मृत्यु हुनेलाई ३५ हजारको दरले गाउँपालिकाबाट सहयोग गर्ने बन्दोबस्त मिलायो । साथमा सुरक्षाको केही साधनहरू अनि बिरामीहरूलाई निःशुल्क औषधीहरू वितरण गरी मृतकको विवरणहरू लिएर गयो ।

बिस्तारै गाउँका अरू मानिसहरू बिरामी पर्न थाले । बिरामी पर्नेमा प्राय सबै बुढाबुढी थिए । सबैले शुरूशुरूमा भाइरल रुघाखोकी होला भनेर खासै वास्ता गरेनन् । बिस्तारै लक्षण मिल्ने भएकोले बद्री सरलाई जानकारी गराइयो ।यस्तो विकराल रूप देखा परेपछि बद्री सर पनि पूरै डराइसकेको थियो । उसले गाउँपालिकामा सम्पर्क गरेर स्वास्थ्यकर्मीलाई झिकायो । त्यसपछि एस्ट्रोजनबाट विद्यालयको ग्राउन्डमा जाँच गर्ने कार्य शुरू भयो । सम्भावित पचास साठ्ठीजना बिरामीहरू सबै भेला भए । सेसेले उसकी आमालाई पनि लिएर गयो । जाँच गर्ने मेसिन नाकको प्वालभित्र हाल्दा हाछ्छिउँले सेसेको आमाको सिगाँनै निस्कियो । जाँच गरिसकेपछि सबैजना आ-आफ्नो नाक छाम्दै आँखा खुम्च्याउँथे । सबैले डराउँदै किटमा आफ्नो परिणाम पर्खिरहेका थिए । उनीहरूलाई संक्रमणको डरसँग सामाजिक विभेदको पनि चिन्ता थियो । केही छिनमा रिजल्ट देखा पर्यो । लगभग तीसजनालाई संक्रमण देखा पर्यो । त्यसमा सेसेको आमा नि परिन् । त्यत्रो संख्यामा बिरामीहरूलाई पोजिटिभ देखाउँदा मान्छेहरूले पत्याउनै सकिरहेको थिएन ।सबैजना चिन्तित भएर घर फर्किए । बुबा गुमाइसकेको सेसेलाई झनै पिर पर्यो । गाउंँको युवायुवतीहरूको फेसबुकभरि कोरोनाकै अपडेट र स्टेटस पोस्ट भएको हुन्थ्यो ।

संक्रमणले यस्तो भयङ्कर रूप लिएपछि सबैजना डराए । वार्ड समितिले विद्यालयमा आइसोलेसन कक्ष सन्चालन गर्ने निर्णय गर्यो । प्राय आधाजसो संक्रमितहरू आइसोलेसन कक्षमा गए । कसैले चैँ काम गरेरै पचाउँछु भनेर घरैमा थन्किए । स्याहार पुग्दैन भनेर सेसेले आमालाई चैँ घरैमा राख्यो । फेरि बुबाको सुदाइँको निम्ति नि बन्दोबस्त गर्नु थियो । सुदाइ नसकुन्जेल उसलाई आफूभन्दा गह्रौँ भार बोकेकोजस्तो आभाष भइरह्यो । सेसेकी आमा हरेक रात आफ्नो लोग्नेको फोटो हेर्दै रोइरहन्थी । आइसोलेसन वार्डमा रिकभर हुनेहरू घर फर्किए । रिकभर हुन नसकेका संक्रमितहरूलाई रातारात दमकको लाइफलाइन झारियो ।

'लिसिबुङ्गे पनि बित्यो रे !'

गाउँमा फेरि हल्ला फैलियो । सबैजना मृत लिसिबुङ्गेलाई  हेर्न गए । उनी मुढा भएर पल्टिरहेको थियो । छोराछोरी र स्वास्नी रोइरहेका थिए । खड्क दाइले लासको वरिपरि सेनिटाइजर छर्कियो । अब चैँ कसैलाई पनि बाँच्छौँ भन्ने लाग्न छोड्यो । सेसेकी आमा झन् झन् चिन्ताउन थाली । औषधि र खानामा सक्दो जोड गर्नुपर्ने उनलाई खानै नरुच्ने भयो ।

'बित्थामा चिन्ता नगर्नु हौ !' - सेसेले ढाडस दिन्थ्यो ।

'तेरो बिहे पनि नगरी बाउ खस्यो । अब म पनि खसेभने तेरो त बिजोक हुन्छ सेसे !' - यसो भन्दै जङ्गरानी ओछ्यानमा पल्टेर रुन थाल्थी ।

अब भने गाउँमा लास उठाउनै समस्या हुन थाल्यो । मलामी हिँड्नेको संख्या झनझन घट्यो । ५,६ जना भएर लासलाई जसोतसो जङ्गल पुर्याइयो । सबै मुन्दुम सकेर खाल्डोमा हाल्न आँट्दा सेसेलाई अचानक घरबाट फोन आयो । ऊ रत्नेको बाइक मागेर घर हुइँकियो । घरमा पुग्दा आमा मर्नु न बाँच्नु भएकि रहेछ । बद्री सरले अक्सिजन सिलिण्डरकै आवश्यकता हुने भएकोले धरान झार्न सुझाव दियो । फौदसिङले गाउँपालिकाको एम्बुलेन्स बोलायो । सेसेले छिमेकीमा ऋण खोजेर आमालाई धरान लग्यो । उसँग लालध्वज र बिर्खे नि गयो ।

धरानको घोपामा पुर्याएर आमालाई एमर्जेन्सी वार्डमा राखियो । त्यसपछि कोभिड जाँच गरेर डाक्टरहरूले कोभिड वार्डमा सारे । अरूलाईभित्र जान निषेध गरियो । सेसे माङलाई प्रार्थना गर्नमै तल्लीन थियो भने लालध्वज र बिर्खे उसलाई धैर्यधारण गराउनमै । घरबाट फुङचेलीले आमाको अवस्थाबारे सोधिरहन्थिन् । सेसे मोबाइलको रिङ बज्नसाथ अत्तालिने भएको थियो । लगभग त्यो रातभर आमालाई अक्सिजन दिएरै राखियो । उनको अवस्था निक्कै कृटिकल नै रहेको थियो । लालध्वज र बिर्खे खाना खान क्यान्टिनमा गयो । सेसेलाई केही खान पनि मन परेन । ऊ आमालाई रुङ्दारुङ्दै भुसुक्कै निदायो । लालध्वज र बिर्खे कतिबेला आएर सुत्यो उसले पत्तै पाएन ।

लगभग बिहानको चार बजेतिर डाक्टर उनीहरूलाई भेट्न आए । सेसे अनिँदो र कमजोरीले उभिनै सकिरहेको थिएन । डाक्टरले उदास हुँदै भन्यो- 'सि इज नाे माेर !' जङ्गरानीले प्राण त्यागिन् । डक्टरले कोभिड-१९ को रिपोर्टसँगै डेथ सर्टिफिकेट ल्याएर दियो । सेसेलाई सबै सपनाजस्तो लागिरहेको थियो । सोच्यो यस्तो अकल्पनीय घटना फगत एउटा कहानी मात्रै होस् ! तर यथार्थ उसकै अघि दुर्घटित भइरहेथ्यो । अनिँदो र पीडाले सुकेका उसको आँखा र ओठहरूलाई आँसुले थोरै चिसायो । ऊ टाउकोमा हात राखेर थचक्कै भुइँमा बस्यो । जेनतेन आमाको अनुहार हेरेर बुबाको पीडा भुलिरहेको ऊ आमाले नै छोडेर गएपछि बेसाहारा भएझैँ लाग्यो । घरमा सम्पर्क गर्ने काम बिर्खेले गर्यो ।आमाको मृत्युको खबरले फुङचेली मुर्छा परिन् रे । दस पन्ध्र मिनेटपछि मात्रै उनको होस् आएछ । गाउँमा थप जोखिम बढ्ने भएकोले वार्डबाट लासलाई तलै व्यवस्थापन गर्न सुझाव आयो । आफन्तसँगको सल्लाहमा लासलाई सीतापुरीको जङ्गलमा राख्ने निर्णय भयो । फुङचेली, फौदसिङ काका र अन्य मलामीहरू ट्याक्टरमा झर्ने भए । सेसेले सम्पूर्ण बिल भुक्तान गर्यो हस्पिटलले लास डिस्चार्ज गरिदियो । अनि एम्बुलेन्स, मलामीको पिपिई, सेफ्टी र सेनिटाइजरहरू पनि व्यवस्था गरिदियो । त्यसपछि लासलाई प्याक गरेर सीतापुरी लगियो ।

राजमार्गदेखि अलि मास्तिरको सीतापुरीको चिहानघारीमा एम्बुलेन्स रोकियो । सीतापुरीको आदिवासीहरूको चिहानहरू शान्तसँग निदाइरहेका थिए । बिहानको घाम मसलाको रूखहरू छिचोल्दै जङ्गल छिरिरहेको थियो ।सेसेलाई त्यो घामले आमाको मृत्युको साक्षी बसेझैँ लाग्यो । उसले आमाको लागि ठाउँ रोज्यो । आँखाबाट तुरुरु आँसु चुहिएर भुइँमा खस्यो । उसले ती आँसु आमाको नाममा चढायो । लगभग एक घण्टापछि फौदसिङ काकाहरू आइपुगे । फुङचेली ट्याक्टरबाट ओर्लनेबित्तिकै आमाको लास छेउमा गएर भक्कानिँदै रुन थालिन् । आमाको अनुहार कालो भएको थियो । लिसिबुङ्गी काकीले उनलाई सम्हालिन् । मलामिहरूले शुरूमा सेसेको आमाको लास हेरे । फौदसिङ काकाले एक रुपैयाँको सिक्काले जमिन किन्यो । त्यसपछि धमाधम खाल्डो खन्ने काम शुरू भयो । मलामीहरूले दुई घण्टामा खाल्डो खनिसके ।

पृथीसिङले मुन्धुम फलाक्न थाल्यो । लासलाई खाल्डोमा हाल्ने बेला भयो । सेसेतिनपटक वरिपरि घुमाएर लासलाई खाल्डोभित्र फुङचेली आमासँग खाल्डोभत्र पस्न खोजिन् । लिसिबुङ्गी काकी उनलाई सम्हाल्नमै व्यस्त थिइन् । सेसे अर्कोपट्टि फर्किएर घुँक्कघुँक्क रुन थाल्यो । उसको शरीर पूरा भरिएजस्तो भयो । थाम्दाथाम्दै पनि उसले बान्ता गरिहाल्यो । लिसिबुङ्गेले खाल्डोभित्र छिरेर लासको गरगहना झिक्यो । प्राय सबै मलामीहरूको आँखा आँसुले टम्म भरिएका थिए । लासलाई फल्याकले छोपिसकेपछि मलामीहरूले माटो हाल्न थाले । सेवासाबाले टाउकोपट्टिको सिन्काले सातो झिक्दै भन्यो- 'ूकेरेक्ले आनि नोसाम्मिन् आलन्देए आलन्दे मेम्बिहौ !'

सबैले एकैस्वरमा भन्यो- 'आलन्दे आलन्देरो हौ !'

त्यसपछि मट्टि दिने काम भयो । सबैले पछाडि फर्केर मट्टि दियो । सेसे र फुङचेलीले पनि आमाको नाममा मट्टि दियो ।सेसेले मट्टि दिँदै स्वर्गमा आमाको आत्माको शान्तिपूर्ण बास होस् भनी माङलाई कामना गर्यो । लास पुरिसकेपछि खाल्डो वरिपरि तिनपटक घुमेर आमालाई आगो दियो । फुङचेलीले घरबाट ट्याक्टरमा ल्याएका आमाका सबै लुगाकपडा र ओढ्ने ओछ्याउनेहरू खाल्डोमाथि राखेर जलाइन् । उनको आँसु अझैसम्म रोकिएको थिएन ।सबैजनाले ढुङ्गाहरू भेलाएर चिहानमाथि राख्यो । सेसेले चिनोस्वरूप ढुङ्गाको थुप्रोमाथि एउटा लठ्ठी गाड्यो ।

लासको काम सक्दा लगभग पाउने १२ भइसकेको थियो । मलामीहरूले पानी र बिस्कुटहरू लिए । सेसे एकोहोरो चिहान मात्रै हेरिरहेको थियो । उसको मनमा मर्न अघि आमाले भनेको एकएक शब्दहरू गुन्जिरहेथ्यो- 'म पनि मरेँ भने तेरो त बिजोक हुन्छ सेसे !' खाल्डोमा नहालुन्जेलसम्म त उसलाई आमा आफ्नै छेउ भएकोजस्तो लागिरहेथ्यो । तर अब भने आमा नभएकोजस्तो लाग्न थाल्यो । उसलाई आमाको चिहान छोडेर कतै नजाउँ जस्तो भयो । घाम चर्किँदै मसलाको टुप्पितिर चढ्दै थियो । तात्तिरहेको उसको आत्मा र शरीरलाई चिस्याउन एकझोँक्का चिसो हावा चल्यो ।

'हैन सेसे घर नफर्किनु ?' - ट्याक्टरको छेउमा उभिरहेको लिसिबुङ्गेको आवाजले ऊ झसङ्ग भयो ।

उसले मलामिहरूतिर फर्केर हेर्यो । सबैजना ट्याक्टरको डालामा चढिसकेका थिए । ऊ हिँड्नै सकिरहेको थिएन । खुट्टा भासिएझैँ भइरहेथ्यो । ऊ एकोहोरो भएर सडकतिर हिँड्न थाल्यो ।
'हैन कहाँ गाको हौ फेरि ?' - फौदसिङ काकाको चर्को स्वरले उसलाई रोक्यो । 
ऊ आँखाको कचेरा पुस्दै फनक्क फर्केर ट्याक्टरमा चढ्यो । अनि सबैभन्दा पछाडि फर्केर बस्यो । फुङचेली र
लिसिबुङ्गेनी ड्राइभरको पछाडि बसे । उसले एकोहोरो आमाको चिहान हेरिरह्यो । ट्याक्टर जति अघि बढ्थ्यो उसको आँखाबाट आमाको चिहान त्यति सानोसानो हुँदै जान्थ्यो । सायद एकोहोरो चिहान हेरेर हुँदो हो उसलाई सम्पूर्ण संसार फिनिनी घुमेझैँ हुन थाल्यो । पाडाजुङ्गी हुँदै दमकको फाल्गुनन्द चोक कटेर ट्याक्टर रातुवा बगर छिर्यो ।

रातुवा बगरबाट उसले अग्लाग्ला चुलीहरू हेर्यो । चुलिहरूको ती साँघुरो खोँचभित्र आफूलाई कतै भास्सिएजस्तो पायो ।पहिरो भत्केर ती चुलीहरूको छाती खण्डहर भएका थिए । आमाको मृत्युले उसको मन घाइते । पीडाको क्या प्रतिबिम्ब ! दुःखको क्या संयोग !

लगभग घर पुग्दा चार बजेको थियो । छिमेकी सबैजनाले आँगनीमा निस्केर उनीहरूलाई हेरे । कसै-कसैले झ्यालबाटै टाउको निकालेर हेरिरहेथ्यो । सेसेको घरमा यत्रो घटना घटिसक्दा पनि उनीहरू भने स्वार्थको मखुण्डो ओडेर त्रास हटाउने बहाना गरिरहेका थिए । छिमेकीहरू सधैँ मर्दाको मलामी कहाँ हुँदो रहेछ र ? सेसेलाई आफ्नै गा पनि बिरानो लाग्यो । बद्री सरले सबैजनालाई सेनिटाइजर छर्किदियो । सबैजना ट्याक्टरबाट उत्रिएर आ-आफ्नो घरतिर लागे ।

फुङचेली भान्साभित्र पसिन् । सेसे सरासर कोठामा छिर्यो । लुगाहरू फेर्यो । अनि आमाको कोठामा छिरेर भित्ताबाट बुबा र आमाको जोडी फोटो निकाल्यो । फोटोमा आमा र बुबा एकअर्कालाई हेर्दै बेफिक्री हांँसिरहेका थिए । ऊ फोटो हेरेर एकछिन रोयो । बुबालाई सम्झ्यो । आमालाई सम्झ्यो । बुबा र आमालाई सँगै राख्न नपाएकोमा दुखित भयो ।त्यसपछि त्यो फोटो बोकेर हठात् बुबालाई पिण्ड दिएको कोठामा गयो । अनि पिण्ड दिएको ठाउँंमा झुण्डिरहेको बुबाको फोटो हटाएर आमा बुबाको नयाँ जोडीफोटो राख्यो । स्वर्गमा पनि यसरी नै सँगै हाँसिराख्नु है ! उसले मनमनै सोच्यो ।

त्यत्तिकैमा गोजीभित्र फोनको रिङटोन बज्यो । ऊ झसङ्ग भयो । खासमा ऊ फोनको रिङ्टोनले नै झस्किने भइसकेको थियो । स्क्रिनमा औँला चलाउँदै फोन उठायो ।

हेलो ! सेसे भाइ, म नरेन्द्र सर ! गापा अध्यक्ष क्या ! तपाईंको घरको अवीस्वसनीय घटना सुनेँ....., दुःख लाग्यो ! धैर्यधारण गर्नुहोला....। कोभिडबाट बितेका सबै मृतकलाई गापाबाट पैँतीस हजारको दरले सहयोग गर्ने प्रावधान मिलाको छौँ है.... हेलो......!

अध्यक्षले यति बोलिसक्दा नसक्दा फोन स्वीच अफ भयो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सञ्जित फलाना

लेखकबाट थप...

सम्बन्धित समाचार