र एउटा यस्तो ठाउँ हो, जहाँ मन बस्छ । नाङ्गो आँखाले देख्दा घरभित्र मनहरू बस्छन्, तर मनले देख्दा मनहरू भित्र घरहरू बस्दारहेछन् । त्यसैले त होला सायद, विद्यालयमा शिक्षिकाले गाली गर्दा मन दुखाएको अवोध बालकले आँसु खसाएर भन्छ घर जान्छु । र, घर सम्झन्छ । बाटामा बालबालिकाहरू चल्छन् झगडा गर्छन् । रोए, मन दुखाए भने घर सम्झन्छन् । र, घर जान्छु भन्छन् । सायद त्यसैले होला, म सानो छँदा हजुरबुवासँग बस्तु चह्राउन जंगल जान्थे । त्यसबखत आकाशमा बिजुली चम्कदा, मेघ गर्जदा, अनि चट्याङ पर्न खोज्दा म सधैँ सधैँ घर सम्झन्थेँ । जब मेघ गर्जन थाल्दथ्यो, म सधैँ हजुरबुवालाई ‘घर जौं’ भन्दथे । यदि साँच्चै चट्टयाङ् नै परे घर गोठले नथाम्ने कुरा मलाई मेरो माक्ला दाजुले राम्रो सम्झाउनु भएको थियो । अझ भनौ चट्टयाङ् नै परे घरले नछेक्ने कुरो मलाई राम्ररी थाह थियो तै पनि जब मेघ गर्जेर, बिजुली चम्कन थाल्दथ्यो, म हजुरबुवाको चोरी औंला समातेर घरसम्म ल्याएपछि मात्र म ढुक्क हुने गर्थे । साँचै घर मेरो मनभित्र भएर न यति छिटो घरको याद आउथ्यो होला । अनि म जब घरभित्र बस्दथेँ, आफूलाई सबैभन्दा सुरक्षित महसुस गर्दथे । त्यसैले त होला सायद घर हाम्रो मनभित्र बस्नेरहेछ अनि हामी घरभित्र ।

घर छोडेर संसारको कुना कुनामा मानिसहरू धन कमाउन पुग्छन् । ज्ञान, धन, सीप र शिक्षा हासिल गर्न पुग्छन् । तर उनीहरू सञ्चो, बिसन्चो हुँदा पनि घर सम्झन्छन् । अलिकति सपनाले छुँदा पनि घर सम्झन्छन् । बरू मर्नै परे पनि घरैमा मरौँ भन्छन् । घर साँचै उनीहरूको मनमा नहुदौ हो त, उनीहरू घरैमा मर्ने सपना सायदै देख्दैनथे ।

कोसौं तलबाट शुरू भएको पहिरो हरेक बर्खामा अलिअलि गर्दै चार सालमा आँगन चरक्क चर्कायो । घरबारी आधा बग्यो । करेसाबारी एक–एक डिल तल–तल सरिसक्यो । कुनदिन या कुन रात पहिरोले घर तान्छ पत्तो भएन । कुन दिन रेडियो समाचार बन्छौ पत्तो भएन । कुन दिन टेलिभिजनको समाचारको दृष्य बन्छौ पत्तो भएन । त्यसैले त धेरै गाउँलेहरू बसाई सरिसकेका थिए । बुवा र आमाले दुःखले पर गैरीगाँउमा नयाँ घर बनाउनु भयो । त्यहि नयाँ घरमा बसाई सरौँ भनेको हजुरबुवा र हजुरआमा मान्नु भएन । हामी मरे पनि यहि घरमा मर्छौ भन्नु भयो । यहिबाट थाह हुन्छ हजुरबुवा र हजुरआमाले आफूले बनाएको त्यो घरलाई आफ्नो जीन्दगीभन्दा धेरै माया गर्नुहुन्थ्यो । त्यहि घर उनीहरूको मनभित्र थियो र न मरे पनि यहि घरभित्र मर्छौ भन्नुहुन्थ्यो ।

गाउँ गाँउबाट छोराछोरी नाति नातिना सबै सहरबजार छिरे । देश विदेश छिरीसके गाउँहरूमा घरहरू छन् । अनि बुढापाकाहरू छन् । अझै पनि बुढा पाका घर छोड्न सक्दैनन् । गाँउघरबाट युवायुवती सर्लक्क सहर सरे जसरी सहरबजारका देश विदेश सरेका छन् । वास्तवमा भन्ने हो भने यो समय घर छोड्ने समय बनेर आएको छ । हाम्रो देशबाट अन्य देश सरेका ती छोरा छोरीले आफ्ना बुवाआमालाई आफूसँगै लग्न नसक्ने कदापी होइन । तर यी घरहरू छोडेर क्यानडा, अस्टे«लिया, युके, युएसएका ती ठुला–ठुला घर अनि कोठाहरूमा कदापी बुवाआमाका मनहरू अटाएनन् । गल्ली–गल्ली, छेडी छेडीमा टेको लगाइएकै भएपनि आफ्नै गाँउ शहरको, आफ्नै देशको घरहरूलाई छोडन सकेनन् ती आमाबुबाहरूले । यो हेराइबाट हेर्दा शहर भए पनि गाँउ भएपनि एउटै पीडामा छन् । तर सहरका घरहरूमा कुल्ली, ज्यामीदेखि लिएर हाकिम, पियन, विद्यार्थी अनेकौ मानिसहरू बस्छन् । तर मानिस–मानिस बिचमा पनि मानिस चिन्दैन । सहरका घरहरूमा मानिसहरूको भिडमा एक्लो भईन्छ मानिस आफैँ । त्यसैले त भन्छन् सायद, सहरमा घरहरू नजिक–नजिक भएर पनि मनहरू टाढा–टाढा हुन्छन् । सहरमा मर्दा–पर्दा देख्ने कोहि हुँदैनन् । गाउँमा घरहरू टाढा–टाढा भए पनि मनहरू नजिक नजिक हुन्छन । मर्दा–पर्दा हेर्ने मनिसहरू हुन्छन । तर आजभोली लास उठाउने पनि तन्नेरी छैनन् गाउँहरूमा । घरहरू एक्लो–एक्लो छन् गाउँमा, । वर्षौ वर्ष पनि एक्लै उभिरहेका छन् घरहरू फक्ताङलुङ (कुम्भकर्ण) जस्तै गरी अनि चम्जङलुङ (सगरमाथा) जस्तै गरि । छोराहरू मुग्लान पसेसँगै बुहारीहरूले घर छोडे तर घरहरूले मन कहिले छाडेनन् घर त साँचैकै घरै रहेछ ।

घरहरू एक्लो–एक्लो छन् गाउँमा, । वर्षौंवर्ष पनि एक्लै उभिरहेका छन् घरहरू फक्ताङलुङ (कुम्भकर्ण) जस्तै गरी अनि चम्जङलुङ (सगरमाथा) जस्तैगरी । छोराहरू मुग्लान पसेसँगै बुहारीहरूले घर छोडे तर घरहरूले मन कहिले छाडेनन् घर त साँचिक्कै घरै रहेछ ।

हुरी चल्दा मनले घर सम्झन्छ । वर्षात हुदा मनले घर सम्झन्छ । सुनामी आउदा घरको याद आउछ । आकाशमा मेघ गर्जदा, विजुली चम्कदा, असिना बर्सीदा मनहरू घरमा ठोकिन्छन् । लड्दा पर्दा, दुःख बिराम पर्दा मनहरू घरमा ठोकिन्छन् । साथमा कोहि नभएर एक्लो–एक्लो हुदा घरमा पुग्छ मन । अनि हुलमुलहरूमा मानिस मानिसहरूबिच एक्लो–एक्लो महसुस हुँदा घरमा पुग्छ मन । त्यसैले त घरभित्र हामी बसेर पनि हाम्रो मनभित्र बसेको हुँदोरहेछ घर । कहिल्यै उत्ता कुनामा ड्याङ्ग ठोकिन्छ । कहिल्यै यता कुनामा ड्याङ्ग ठोकिन्छ मनभित्र घर । घर साँच्चिकै घर नै रहेछ ।

भनिन्छ, समय बलवान हुन्छ वास्तवमा हो रहेछ । हामीले यति धेरै माया गरेको घर । मनभित्र राखेको घरबाट हामी टाढा भाग्नुपर्ने समय पनि आउँदो रहेछ । जसबखत हामी घरसँग डराएर टाढा भाग्ने रहेछौँ ।

राजधानीको एउटा प्रमुख ठाउँ ललितपुरको लगनखेलदेखि जावलाखेलसम्मको बजार क्षेत्र कुमारीपाटी । दायाँबायाँ अग्ला–अग्ला घरहरूबिचको चिल्लो बाटो सहितको बजार क्षेत्र । वर्षमा एकपटक ५ दिनसम्म चल्ने कुमारीपाटी जावलाखेल महोत्सव चलिरहेको हुन्छ । महोत्सवको दोस्रो दिन शनिबारसमेत परेकाले बढी भिजिटरको अपेक्षासहित हामी हाम्रो प्रर्दशनीस्थललाई विशेष श्रृगार तथा व्यावसायिक अफरहरूलाई अझ बढाएर तयारीमा जुट्यौ । समयसँगै भिजिटरर्सको संख्या बढ्दै गयो । घडीमा बाह्र बजेको केहि समयमै पृथ्वी पल्टेझैँ गरेर जमिन हल्लिन थाल्यो । मेलामा आएका ती हजारौ मानिसबिच सडकमा कोहि रुने, कोही चिच्याउने क्रम शुरू भयो । कुमारीपाटीजस्तो दुइतिरै घरले घेरिएको विच सडकमा हामी पनि एक अर्काको हात समातेर घरि दाँया त घरि बायाँ गरिरहेका थियौ । भुकम्प रोकिन्छ भन्ने आशामा बसेका हामीहरूले धरहरा ढल्यो, यति मानिस मरे, हरिसिद्धिमा पुरै घरहरू ढलेजस्ता समाचारले हामी झन् आतङकीत बन्न थाल्यौ । भुकम्प नरोकिने तथा ठुलो धनजनको क्षति भइसकेको महसुस गरि तत्काल हामी प्रर्दशनस्थलबाट अघिल्लतिर रहेको अग्लो घरको पाँचौ तल्लामा रहेको हाम्रो कम्पनीको कार्यलयमा हाम्रो सामान थन्काउन जुट्यौ । हामी हातमा कम्प्युटर प्रिन्टर लिएर घरको तल्ला चढिरहेका हुन्थ्यौ । जोडसँग घर भुकम्पले हल्लाउथ्यो हामी सामान त्यहि छोडेर तल भाग्थ्यौ । कम्पन केहि कम भएसगै हामी पुनः माथि चढ्थ्यौ फेरि हल्लाउने बितिकै तल दौडन्थ्यौ । भुकम्पको समय यस्तो समय रहेछ, जुन समय हामी घर भन्ने शब्दसँग पनि भाग्ने रहेछौ । यो समय हामी घर सम्झन त परै जाओस्, घर देख्ने वितिकै जुत्ता छोडेर भाग्ने रहेछौ । मानिसलाई घरसँग यति धेरै डर हुने रहेछ । मानिसहरू आयो–आयो भनेर चिच्याउथे हामी घरभन्दा टाढा–टाढा भाग्थ्यौ ।

हामी घरको चौथो तल्लामा चढिरहेका थियौ । एक्कासी भुकम्पको धक्कासँगै घर हल्लिन शुरू भयो । चिच्याहट सडकमा छताछुँल्ल मानिसहरू चिच्याएको सुनिन्थ्यो । हामी हातमा लिएका सामान भुइँमा छोडेर घरको सीढिबाट बाहिर निस्कन थाल्यौ । अफ्सोच मानिसहरू यति धेरैको संख्यामा घरभित्र पसिरहेका थिए । त्यहा न त तल झर्न सकिन्थ्यो, न त केहि सोध्न सक्ने परिस्थिति नै थियो । भिड घरको सिढिहरूबाट यसरी माथि उक्लिरहेको थियो कि हामीलाई उचालेरै अझ माथिको तला चढाउनेछन् । म महसुस गरिरहेको थिए भुकम्पले हल्लाइरहेको थियो । तर मानिसहरू घरसँग डराइरहेका थिएनन् । केहि समय अघिमात्र भुकम्पको कम्पनसँगै घरभन्दा टाढा–टाढा भाग्ने त्यो भिड अब जस्तो कम्पन आएपनि घरभित्र बेपरवाह छिरिरहेको थियो । मलाई लाग्यो जमिन फाट्न शुरू भयो त्यसैले मानिस घरभित्र छिरिरहेका छन् । वास्तविकता बुझ्न भिडलाई पन्छाउदै जब म बाहिर आए बाटोहरू उस्तै थिए । कुनै जमिन त फाटेको थिएन । केहि समयपछि बुझ्दा पो परतिर जावलाखेलमा भुकम्पले चिडियाखाना भत्कियो । बाघ निस्केर कुमारीपाटीतिर आएको हल्ला रहेछ । अनि पो मानिसहरू भुकम्पको प्रवाह नगरि घरभित्र दौडिएका रहेछन् । बाघको हल्ला सुन्नुअघि भुकम्पमा घरको छायाँ पनि देख्न नहुने मानिसहरूलाई बाघको हल्लाले मात्र पनि घरको यति नजिक बनायो । कि सबै मानिस भुकम्प बिर्सिएर घर खोजी–खोजी भित्र छिरिरहेका थिए । घर वास्तवमा हाम्रो मन मष्तिष्कमै हुनेरहेछ ।

बाघ निस्केर कुमारीपाटीतिर आएको हल्ला रहेछ । अनि पो मानिसहरू भूकम्पको प्रवाह नगरी घरभित्र दौडिएका रहेछन् । बाघको हल्ला सुन्नुअघि भूकम्पमा घरको छायाँ पनि देख्न नहुने मानिसहरूलाई बाघको हल्लाले मात्र पनि घरको यति नजिक बनायो । कि सबै मानिस भुकम्प बिर्सिएर घर खोजी–खोजी भित्र छिरिरहेका थिए । घर वास्तवमा हाम्रो मन मष्तिष्कमै हुनेरहेछ ।

भोलिपल्ट मात्र थाह भयो, कि चिडियाखानाका बाहिरको केही इँटाको गाह्रो मात्र भत्किएको रहेछ । र, बाघ निस्किएको पनि होइन रहेछ । थोरै कुरालाइ धेरै बनाएर बोल्ने हाम्रो आचरण खराब मात्र रहेछ । एक दिन म गाडीबाट कामको लागि निस्किए । काम भनेको त्यही न थियो शिक्षक मान्छेको पढाउने काम । गाडी राम्ररी चलाइरहेको थिएँ । मनमा कुराहरू खेल्दै गए । गाउँको एक्लो घरहरूमा मनहरू ठोक्किए । मेरो घरको प्वाल प्वालहरूमा गौथलीले कति राम्रो–राम्रो उसको आफ्नो घरहरू बनाएसक्यो होला । मैले मात्र एक्लै छोडिराखे मेरो घरलाई । कसरी ठिङ्ग उभिरहेको होला एक्लो घर । एक छिनमा थाहा पाए म त विद्यालय कटेर पनि निकै पर पुगिसकेछु । एक्लै हाँस्ने पागल हो भन्थे । म एक्लै हाँस्दै फर्केर आएर पढाई राखेर कोठा फर्केँ ।



अहिले पनि सम्झन्छु, सहरमा प्रत्येक कोठाहरूमा अगल–अगल मानिसहरू बस्छन् । एउटा कोठाको भाडा हजारौ रुपैयाँ तिर्नुपर्छ । यता मैले एउटा सिङ्गो घर भाडामा लिएको छु । एउटा घरको भाडा एक पेटी बुझाउनु पर्छ हरेक महिना । चाहे भएका जायजेथा बेचेर होस्, चाहे साँझ बिहान छाक काटेर होस् समयमा पेटी गन्नुपर्छ । उत्ता गाँउमा मेरो घरमा बसिदेउ म मासिक पैसा दिन्छु भन्दा पनि बसिदिने कोहि हुदैनन् । एक्लो छोडेको घरको याद आउँछ । अब त भित्ताहरू पनि चर्किसकेका होलान् ।

अब त परार साल पनि भईसक्यो क्यार म घर पुगेको थिएँ । त्यो भन्दा यता म घर पुगेको छैन । रातो माटोले लिपेको सबै वर्षातको बाछिटाले बगाएर फिक्का–फिक्का बनाइसकेको थियो । पक–पक उक्किएका थिए गोबर र माटोले लिपेका भुइँहरू । ढोकानेर कति सुन्दर बुट्टेदार जाली जालीवाला घर बनाएको रहेछ माकुराले । तर त्यो जालीमा एउटा झिगाँ पनि परेको थिएनन् । यो देखेर मन खिन्न भयो, हामीले छोडे पछि त जाबो झिँगाले पनि घर छोड्ने रहेछ । आँगनमा फुलहरू भन्दा लामा–लामा झारहरू थिए । पिढीमा जातोको मुखबाट उम्रिएको मकै लामो नभइ सुकेर सानोमै खोस्टा भएर बसेको रहेछ । माथि बार्दलीमा घरमाहुरीहरू एउटा–एउटा जाने आउने गरिरहेका रहेछन् । ठुलो रातो अरिङ्गाल घरमाहुरीको गुडको मुख पनि घुमिरहेको रहेछ । पक्कै छानी–छानी माहुरीहरूलाइ समातेर लगिरहेको छ त्यसले । यो सब नहुने हामीले घर रुँगेसम्म मात्र रहेछ । सम्झिदा मनहरू दुख्छन् । देख्दा आँखाहरू दुख्छन् ।

हामीले छोडे पछि त जाबो झिँगाले पनि घर छोड्ने रहेछ । आँगनमा फुलहरू भन्दा लामा–लामा झारहरू थिए । पिँढीमा जातोको मुखबाट उम्रिएको मकै लामो नभइ सुकेर सानोमै खोस्टा भएर बसेको रहेछ । माथि बार्दलीमा घरमाहुरीहरू एउटा–एउटा जाने आउने गरिरहेका रहेछन् ।

झ्याउकीरीहरू झ्वाइँ–झ्वाइँ गरी एउटै लयमा गीत गाइरहेको थिए । मानौ उनीहरूलाई एकदमै बैराग चलेको छ । ओखरबोट मुन्तिरको बाटो हुँदै बाटैबाटो गएँ । शान्त वातावरणमा एकोहोरो घामको किरणहरू गाँउभरि छरिएका थिए । एउटा दुइटा होइन धेरै घरहरू एक्लो एक्लो थिए । कति घरहरूमा ढोकाहरू लगाइएका थिए त कति घरहरूमा ढोकाहरू खुल्ला खुलै छोडिएका देखिन्थे । यसरी नै हेर्दौ गाँउ छेउको घरनिर पुगेथेँ । खरले छाएको घर । यताउती एक दुइओटा फूलहरू फुलेका । तर ती फूलका बोटहरू भन्दा लामा–लामा झारहरू कूरोका बोटहरू । परतिर बाबरीफूलको बोट घरको भित्ता चर्काएर ठुलो झ्याङ् बनाइसकेको रहेछ । घरको आँगननिर टिमुरको ठुलोबोट माथि–माथि टुप्पोमा राता–राता टिमुरका पाकेका दानाहरू । भेटिने जतिका उचाइसम्मका हाँगाहरू शुद्ध भाँचेर टिपेर लगएको । भाचिएका हाँगाहरूमा सुकेको पातहरूले बताइरहेका थिए । घरछेउमा भएको घरधनि बिनाको बिरुवाको दुःख यो भन्दा धेरै के हुनु । टिमुरको बोटमुनि गाईको गोठ आदि छानो भत्किसकेको रहेछ । गोबरको मलमा हरियो झाँगिएका उदासे झारहरू पुलुङघे झारहरू रहेछन् । वर्षौ पुरानो गोबरको डल्लो सुकेर कक्रक्क डल्लो परेर बसेको रहेछ । यी सबैले बताइरहेका थिए यी घरका धनीहरूले यो घर माया मारेको । तर पनि ढोकामाथि ठुलो भोटे ताल्चा तेस्रो पारेर झुण्डिरहेको रहेछ । सिकुवामा लिपेको गोबरमाटो सबै उक्किसकेको रहेछ । चुहिएको छानोबाट आएको पानीका लामा–लामा रेखाहरू भित्ताहरू । घरको भित्तामा लगाइएको कमेरो माटोको रङ्ग पक–पक उक्किएर झरिरहेको रहेछ । यो सबै हेरिसके पछि यो भन्दा परको गाँउ जान मानेनन् मेरा पाइतालाहरू । पीआरहरू, ग्रीन कार्डहरू मनमा ठोकिन आए । त्यहि घरको माथिल्लो डिलको बाटो हुँदै म फर्किएँ । घरमाथिको बाटो पुग्दा त्यहि घरको छानो आँखा अगाडी देखेँ । खरले छाएको छानो, त्यहि खर पुरानो भएर कुँहिएको मक्किएको ठाउहरूमा झारहरू कूरोका बोटहरू उम्रिएका रहेछन् । कूरोको बोट उम्रिएर पनि फूलेको रहेछ । सम्झिएँ यो घरको धनीहरू टोरोन्टो कि सिड्नी, कि त क्यालिफोर्निया कि त लण्डनतिर यहि कूरोको बोट छानोमा फुलेझै ढकमक फुलेका होलान् । यो कूरोको बोट छानोमाथि मक्किएको खरको छानोमा कहिलेसम्म फुल्ने होला ? भोलि नभए पर्सि, पर्सि नभए निकोर्सी त यो कूरोको बोटले थाहा पाउने नै छ । यो ऊ फूलेको ठाउँभन्दा धेरै तल जमिन छ । त्यहा मात्र ऊ राम्रोसँग उम्रन सक्छ । हुर्कन सक्छ । राम्रोसँग फूल्न र बढ्न सक्नेछ ।

त्यसयता ती घरहरू हेर्न पुगेको छैन । तर ती घरहरू समय समयमा मानसपटलमा ठोकिन्छन् । अनि पुग्नुपर्ने गन्तव्य बिर्सिएँ, त्यो भन्दा पर–परसम्म गाडी दौडाइरहेको हुन्छु एक्लै–एक्लै ।

प्रकाशन तयारीमा रहेको लिम्बू भाषाको निबन्ध सङ्ग्रह ‘थिक् निसेन’ आधुनिक लिम्बू निबन्धबाट नेपालीमा अनुवादित ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

निशेष आङदेम्बे

लेखकबाट थप...

सम्बन्धित समाचार