काठमाडाैँ । बैतडीको विद्युत् सेवा चार दिनका लागि बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार असार ६ सोमबारदेखि  असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो । विद्युत् सवस्टेशन मर्मत गर्ने कार्य सुरु हुने भएकाले विद्युत् सेवा अवरुद्ध भएको छ ।

उनले भने, “जिल्लामा नयाँ विद्युत् सवस्टेशन राख्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध भएको हो । मर्मत तथा नयाँ सवस्टेशन राख्न चार दिन नै लाग्ने अनुमान छ, त्यसैले उक्त अवधिमा विद्युत् सेवा अवरुद्ध हुन्छ ।”

सवस्टेशन पुरानो हुँदा बेलाबेलामा विद्युत् सेवा अवरुद्ध हुने गरेको र अब त्यस्तो नहोस् भन्नका सवस्टेशन नयाँ राख्ने प्रक्रिया सुरु भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।

आज बिहान ७ बजेदेखि नै प्राविधिक कर्मचारी मर्मतका लागि खटिएका र बिहानैदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । यद्यपि वैकल्पिक लाइनमार्फत विद्युत् सेवा सञ्चालन गर्न उपाय खोजिराखेको भट्टले बताए ।

उनले भने, “सम्भव भयो भने दिउँसोको केही घण्टा सेवा दिन्छौँ तर त्यो सम्भव हुन्छ भन्ने यकीन छैन ।” विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति विद्युत् प्राधिकरणले क्षमासमेत मागेको छ । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...