काठमाडौँ – नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा मंगलबारदेखि मोबाइल वालेट ‘नमस्ते पे’ औपचारिक रूपमा सुरु हुँदैछ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार प्रारम्भिक चरणको व्यवसायिक सञ्चलन आज गर्ने र औपचारिक सेवा शुभारम्भसमेत गरिँदै छ । टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा इन्टरनेटबिनै पैसा तिर्न मिल्नेगरी बहुप्रतिक्षित ‘नमस्ते पे’ वालेट सञ्चालनमा ल्याउन लागेको हो । 

नमस्ते पेको सञ्चालनका लागि छुट्टै कम्पनी ‘नेपाल डिजिटल पेमेन्ट’ कम्पनी स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । इन्टरनेटविनै विभिन्न भुक्तानीको रकम तिर्न मिल्ने यो वालेट नै पहिलो रहेको कम्पनीको दाबी छ । हाल मोबाइल फोनबाट विभिन्न डेटा प्याक लिए जस्तैगरी यूएसएसडी कोड थिचेर आफूले तिर्न चाहेको रकम भुक्तानी गर्न मिल्नेछ ।

तत्कालका लागि राष्ट्रिय वाणिज्य बैंकमा खाता हुनेहरुले यो सेवा प्रयोग गर्नसक्ने छन् भने क्रमशः अन्य बैंकमार्फत पनि सेवा सुरु गरिने कम्पनीले जनाएको छ । ४० करोड रुपैयाँ चुक्ता पुँजीको यो कम्पनीमा टेलिकमको ६० र राष्ट्रिय वाणिज्य बैंकको ४० प्रतिशत हिस्सा हुने उल्लेख छ । ‘नमस्ते पे’ बाट भएका भुक्तानीको सेटलमेन्ट भने राष्ट्रिय वाणिज्य बैंकबाट हुने भएको छ ।

बिजुली, खानेपानी, इन्टरनेटलगायतको भुक्तानी यसमार्फत गर्न सकिनेछ। त्यस्तै रिचार्ज गर्न, विभिन्न टिकट बुकिङ गर्न, एउटा बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्न, बीमाको प्रिमियम भुक्तानी गर्न सकिनेछ । कम्पनीले प्रदान गर्ने कोडका आधारमा रकम भुक्तानी गर्न सकिनेछ ।

टेलिकमले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडबाट नमस्ते पे नामक डिजिटल भुक्तानीको सेवा दिने भन्दै ३ चैत ०७७ मा राष्ट्र बैंकबाट सञ्चालन अनुमतिसमेत पाइसकेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...