काठमाडाैँ । गोदावरी नगपालिकाका केही स्वास्थ्य संस्थाले निःशुल्करूपमा नागरिकलाई रेबिजको भ्याक्सिन (सुई) लगाउने  भएको छ । कुनै पनि व्यक्तिलाई कुकुरले टोेकेमा सो रोगबाट जोगाउन नगरपालिकाले उक्त खोपको व्यवस्था गरेको हो ।

गोदावरी–५ स्थित लेले प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं ११ को बज्रवाराही चापागाउँ अस्पताल र वडा नं १४ को बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रबाट उक्त खोप दिइने गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर थापाले जानकारी दिए । उनले भने, “नगरवासीको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर हामीले खोपको व्यवस्था गरेका हाैँ ।” सो खोप गोदावरीका मात्र नभइ अन्य पालिकाका नागरिकलाई समेत निःशुल्क लगाइने थापाले बताए ।

स्वास्थ्य सेवा विभागको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको पहलमा ललितपुरका ६ पालिकामध्ये गोदावरीमा सो खोपको  व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. सतिश विष्टले बताए । उनले भने, “गोदावरीमा रेबिजबाट कोही पनि सङ्क्रमित नहुन् भनी भ्याक्सिनको व्यवस्था गरेका हाैँ ।” यसअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्थात् पाटन अस्पतालमा मात्र उक्त खोपको व्यवस्था थियो । कुकुरले टोकेमा रेबिजको भ्याक्सिन सुरुको दिनमा दुई मात्रा, लगाएको तीन दिनमा दुई मात्रा र साताैँ दिनमा दुई मात्रा लगाउनुपर्ने हुन्छ । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...