विश्व स्वास्थ्य संगठनले आगामी छ देखि आठ हप्ताभित्र आधा युरोप कोरोना भाइरसको चपेटामा आउने प्रक्षेपण गरेको छ । डब्लूएचओले चेतावनीसहितको यो अनुमान सन २०२२ को पहिलो हप्तामा युरोपमा देखिएका ७० लाख संक्रमितहरूलाई आधार मानेर गरेको हो । 

सन् २०२२ को पहिलो हप्तामा ७० लाख नयाँ संक्रमित थपिएका छन् । दुई हप्ताको अन्तरमा संक्रमितको संख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । डब्लुएचओका डाक्टर हान्स क्लुगले डेल्टा भेरियन्टको संक्रमण फैलिरहेकै बेला अहिले ओमिक्रोन भेरियन्ट ज्वारभाटाकाे गतिमा फैलिरहेको बताएका छन् ।

सियाटलमा रहेको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएयनले गरेको अध्ययनलाई उद्धृत गर्दै उनले युरोपका आधा जनसंख्यामा अबको छ देखि आठ हप्ताभित्र ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्ने बताए ।

उनका अनुसार युरोपेली र मध्य एसियाली देशहरू ओमिक्रोन भेरियन्टको तीव्र चपेटामा छन् । डेल्टा भेरियन्टको संक्रमण फैलिन नदिनका लागि प्रयास भइरहेका बेला ओमिक्रोन भेरियन्ट नयाँ चुनौतीका रुपमा आएको उनले बताए । 

पछिल्ला अध्ययनहरूका अनुसार ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिने भए पनि गम्भीर बिरामी पार्ने सम्भावना भने कोभिडका अरु भेरियन्टभन्दा कम रहेको छ । खोपको पूर्ण मात्रा लगाएको भए पनि ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्ने वैज्ञानिकले बताएका छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...