काठमाडौं- कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गर्दा नाकामा सरकार पूर्वतयारीसहित छ । विगतको तुलनामा अहिले सरकारको उपस्थित सचेत र पूर्वतयारीसहित देखिन्छ । 

विगतमा नाकाको हेल्थ डेस्कमा बस्ने ज्वरो नाप्ने थर्मल गनसँग मात्र देखिन्थ्यो । तर, अहिले भने कोरोना परीक्षणको एन्टिजेन्ट किट, कोरोनाविरुद्धको खोपसहितको स्वास्थ्य सामग्रीसहित छन् । तर, विगतमा नेपाल-भारतमै लकडाउन हुँदा नाका केही व्यवस्थित थियो । 

अहिले नाकामा खोपको डोज पूरा गरेको कार्ड भएपछि सहज आवतजावत हुन्छ । जसका कारण नजिकका भारतीय बजार पानीट्यांकी लगायत क्षेत्र पुगेर दैनिक उपभोग्य सामग्री खरिद गर्नेको भीड हुन्छ । उनीहरूकै कारण नाकामा जोखिम पनि बढेको छ । 

दैनिक नाकामा एक हजार बढी नेपाल प्रवेश गर्छन् । तीमध्ये आधा दैनिक उपभोग्य सामग्री खरिद गरेर नेपाल फर्कने हुने गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनील दाहालले जानकारी दिए ।

‘पारी गएर दैनिक आवश्यक सामग्री खरिद गर्नेको भिड हुन्छ । यो त नेपालमै पाउन्छ । पहिलो महत्त्वको हैन । अस्पताल, विद्यार्थीको परीक्षा पहिलो प्राथमिकता हुन् । उनीहरू कमै आउँछन् । आएका पनि स्वास्थ्य मापदण्डसहित हुन्छन् । दैनिक उपभोग्य सामग्री ल्याउनेबाट खतरा छ ।’

स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन माथिल्लो निकायबाट मौखिक निर्देशन आएको बताए । नाकामा दैनिक उपभोग्य सामग्री खरिद गर्नेलाई पनि कडाइ गर्ने निर्देशन आए त्यहीअनुसार अघि बढ्ने डिएसपी दाहालको भनाइ छ । 

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले नाकामा कडाइ गरिएको बताए । उनले खोप नलगाई नेपाल प्रवेश गरेका नेपाली नागरिकलाई नाकमै खोप लगाइने व्यवस्था गरिएको छ । यस्तै, शंकास्पदलाई नाकामै एन्टिजेन्ट परीक्षणको पनि व्यवस्था गरिएको उनले बताए । ९ पुसबाट नाकामा खोपको कार्यक्रमसुरु गरिएको छ । 

विदेशी नागरिकको हकमा ७२ घण्टाको पिसिआर रिर्पोट वा डोज पूरा गरेको खोप कार्ड वा एन्टिजेन्ट रिर्पोट अनिवार्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाली नागरिकको हकमा कुनै कागजात नभए पनि नेपालमै खोप लगाएर एन्टिजेन्ट परीक्षण गरेर पठाइन्छ ।

एन्टिजेन्ट रिर्पोट पोजेटिभ आए ती व्यक्ति बस्ने सम्बन्धित पालिकासँग समन्वय छुट्टै गाडीमा पठाइने गरेको प्रजिअ तिमिल्सिनाले बताए । त्यसरी जान नसके मेची अस्पताल भद्रपुर लगिने उनले बताए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...