मन्त्रिपरिषद्को यही मङ्सिर १३ गतेको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङ्कङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो ।

काठमाडौँ- सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही मङ्सिर १३ गतेको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङ्कङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो ।

ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई आज राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरेको हो ।

जनजीवनलाई सामान्य राख्ने उद्देश्यले अर्को आदेश नभएसम्मका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकारबमोजिम सरकारले यसअघि नै आदेश जारी गरिसकेको छ ।

ती मुलुकमा ट्रान्जिटमा रहेका सम्पूर्ण यात्रु नेपाल आगमनपछि आफनै खर्चमा अनिवार्यरूपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

सङ्क्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अनअराइभल भिसा पनि नदिने सरकारले निर्णय गरेको छ ।  

जोखिमयुक्त मुलुकमा अत्यावश्यक कामबाहेक अनावश्यक यात्रा नगर्न पनि सरकारले आग्रह गरेको छ । नेपालबाट विदेश जाने कर्मचारीले पूर्वस्वीकृतिसमेत लिनु पर्ने छ ।

सरकारले सङ्क्रमण जोखिम भएका मुलुकमा नेपालबाट यात्र गर्न योजना बनाएको व्यक्तिले अति आवश्यक अवस्थाबाहेक यात्रा नगर्न यात्रा सुझाव जारी गर्ने निर्णय गरेको छ । 

सरकारबाट सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ खोप उपलब्ध गराउने प्रतिबद्धता अनुरुप प्रतिदिन न्यूनतम दुई लाख जनालाई खोप अनिवार्यरूपमा दिलाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

साथै त्यसको रोकथाम तथा नियन्त्रणका लागि मन्त्रिपरिषद बैठकले कोभिड–संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को नेतृत्वमा क्वारेन्टिन व्यवस्थापन टोली गठन गर्न निर्देशन दिएको छ ।

आजै भारतमा पनि नयाँ भेरियन्टका संक्रमित देखिए पछि नेपालमा पनि उक्त भेरियन्टको जोखिमको सम्भावना उच्च रहेको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...