काठमाडौँ- नेपालमा एचआइभी एड्स सङ्क्रमण दर घटेको एक अध्ययनले देखाएको छ । विगत १० वर्षको तथ्याङ्क हेर्दा सङ्क्रमण दर घटेको अध्ययनले देखाएको हो ।

१० वर्षको अन्तरमा सङ्क्रमण दर ६३ प्रतिशतले घटेको हो । अध्ययनका अनुसार सन् २०१० मा २१५ जना बालबालिकामा सङ्क्रमण रहेकामा सन् २०२० मा पुग्दा ८० बालबालिमामा मात्र रहेको पाइएको छ । यस्तै सन् २०१० मा एड्सका कारणले एक हजार ४१३ जना मानिसको निधन हुने गरेकोमा त्यो सङ्ख्या सन् २०२० मा पुग्दा ६३६ जनामा झरेको छ ।

सन् २०१० मा दुई हजार ६१ जना नयाँ सङ्क्रमित पाइएकोमा सन् २०२० मा ७५४ जना मात्र पाइएको छ । नेपालमा अहिले एचआइभी सङ्क्रमितलाई ६१ जिल्लामा ८३ वटा एआरभी सेवा प्रदान गरिँदै आइरहेको छ । अहिले २० हजार ८८३ जनाले नियमित एआरभी सेवा औषधि सेवन गर्ने गरेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितको ६९ प्रतिशत हो । सन् २०२० को अन्त्यसम्म नेपालमा करिब ३० लाख ३०० सङ्क्रमित रहेको थियो । सङ्क्रमितमध्ये ०.१३ प्रतिशत वयस्कमा सङ्क्रमण रहेको छ । नेपालमा एचआइभी सर्नसक्ने जोखिममा रहेका समूहमा एचआइभी सङ्क्रमण दर ५ प्रतिशत भन्दाबढी र सामान्य जनसङ्ख्यामा एचआइभी सङ्क्रमण दर एक प्रतिशत भन्दा कम रहेको छ ।

यस्तै सुईद्वारा लागूऔषध प्रयोग गर्नेमा तीन प्रतिशतका दरले सङ्क्रमण रहेको पाइएको छ । यस्तै महिला यौनकर्मीमा २.२ प्रतिशत, पुरुष समलिङ्गीमा ६.२ प्रतिशत, भारतमा कामदार नेपालीमा पश्चिममा ०.३ प्रतिशत र सुदूरपश्चिममा ०.६ प्रतिशत सङ्क्रमण पाइएको छ ।
सरकारले एचआइभी सङ्क्रमण रोकथामका लागि कण्डम प्रयोग प्रवर्द्धन, एचआइभी परामर्श र परीक्षण, यौन रोगको निदान र उपचार, एन्टी–रेट्रोभाइरल (एआरभी) सेवा प्रदान गरिँदै आइरहेको छ । 

सरकारले २०३० सम्ममा नेपालमा एचआइभी तथा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य राखेको छ ।

‘असमानता हटाऔं एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइएको छ ।   

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...