भूपेन्द्र पाण्डे

भूपेन्द्र पाण्डे साहित्यका विभिन्न विधाका साथै स्वास्थ्य एवं समसामयिक विषयमा कलम चलाउँछन् ।

प्रसङ्ग - १ः ८/९ वर्षको देखिने एक बालक रूखको फेदमा लुकेर चुरोट पिउँदै थियो । मैले देखेर र बाेलाए । ऊ डरायो । फकाएर बोलाए र किन चुरोट खाएको ? कसले सिकायो ? भनेर सोधे उसले जवाफ दियो, 'हिरो बन्न चुरोट खाएको ।' फिल्ममा हिरोले चुरोट पिउँछ र गुन्डालाई पिट्छ । हिरोहरू सबैले चुरोट खान्छन् । मैले सोधे फिल्म कहाँ हेरेको ? जवाफ ममिको मोबाइलमा ।

प्रसङ्ग - २ः गाउँको १२/१४ वर्षको एक भाइ रक्सी पिएर टिल्लु थियो । मैले सोधे रक्सी किन पिएको ? जवाफ यस्तो थियो, 'दसैँमा रक्सी पिउनु पर्छ रे, घरमा बा, बाजेहरू रक्सी खाइरा छन् अनि मैले नि खाए । गाँउका दाइहरू पनि खान्छन् । दसैँ तिहारमा रक्सी खाए केही हुँदैन रे । अनि सोधे रक्सी कहाँ पायौ ? जवाफ घरमै ममिले बनाउनु हुन्छ ।

प्रसङ्ग - ३ः छिमेकी एक बहिनी थिइन् ८/९ मा पढ्दै गरेकी । उनको बिहे भएको थाहा पाए । ११ मा पढ्ने एक किशोरसँग बिहे भएको रे । त्यो पनि प्रेम बिहे । मैले सोधे तिमीले प्रेम गर्नु पर्छ, बिहे गर्नु पर्छ कहाँबाट थाहा पायौ ? जवाफ- 'फिल्म र सिरियलमा हिरो हिरोइन लभ गरेर र बिहे गर्छन् त है । म नि हिरोइन भन्दा के कम लभ गरे बिहे गरे उसमा प्रेम बिहे भएको, हिरोइन भएको फिल थियो । 

उल्लिखित प्रसँग नेपाली समाजमा गाउँघरतिर छ्यापछ्याप्ति छन् । यी हामी सबैले अक्सर देखे पढेर सुनेका प्रसँग हुन् । यसरी बालबालिका सानैमा दुर्व्यसनीमा फस्नु, चिढ्चिढे हुनु, झर्किनु, रिसाउनु, बाल र चाँडाे बिहे गर्नुका कारणहरू के हुन् ? पाठ्यपुस्तक, विद्यालय शिक्षा, विभिन्न कार्यक्रमहरू हुरी सरी आउँदा पनि यस्ता समस्याहरू निर्मुल नहुनुको कारण के हुन सक्छन् । यो सोच्न जरुरी छ । यसरी यी समस्याहरू अझै जीवितै हुनुको एक कारण पारिवारिक वातावरण र बालमनोस्वास्थ्य पनि एक हो । आज म यसैबारे छलफल गर्दै छु । 

के हो परिवार र पारिवारिक वातावरण ?

परिवार पहिलो पाठशाला हो । यो हामीहरूले सुन्दै र भन्दै आइरहेको तथ्य हो । पारिवारमा रहेको वातावरणको आधारमा बालमनोविज्ञानको विकास हुन्छ । यस कुरालाई पुष्टि गर्ने एक उक्ति छ, 'गुरु घर विद्या सर ।' अर्थात् घरमा भएका परिवारका सदस्यहरूले प्रयोग गरेका शब्द, व्यवहारहरू नै  बालबालिकाको सिकाइको प्रथम खुड्किला हो भन्दा अन्यथा नहोला । एक पुरानो दुई सुगाको कथा छ । जसमा उनीहरूको मूल्य सुगाले बोल्ने बेला प्रयोग गर्ने शब्दको आधारमा तय गरीन्छ । जहाँ सुगा हुर्किएको परिवारको आधारमा प्रयोग गर्ने शब्दहरू फरक हुन्छ । परिवारमा प्रयोग भइरहेको काम कार्य, व्यवहार बोलीबचन यी सबै पारिवारिक वातावरण हुन् । परिवारको सामाजिक, आर्थिक, संस्कृत, मूल्य, मान्यता, शिक्षा जस्ता थुप्रै पक्षले बालबालिकाको सिकाइका साथै उनीहरूको मानसिक स्वास्थमा प्रभाव पार्दछ । परिवारमा कुनै नयाँ मान्छे आएको समयमा घरमा भएका बालबालिकासँग तिम्रो नाम के हो ? के गर्छौ ? कति कक्षामा  पढ्छौ  जस्ता प्रश्न गर्दा अक्सर उक्त प्रश्नको जवाफ अभिभावकहरूले नै दिने गर्छन् । यसो गर्नाले बालमस्तिकमा मेरो जवाफ अरू कसैले नै दिन्छ भन्ने छाप बस्छ र ऊ अरूमा निर्भर हुन थाल्दछ । यस्ता सामान्य प्रश्नको जवाफ बालबालिकाहरूले नै दिन सक्ने अवस्था सृजना भयो भने उनीहरू अरूमा निर्भर हुन छोड्छन् । जसले गर्दा बालबालिकाको वृद्धि र विकास राम्रो हुन पुग्दछ । बाल मनोस्वास्थ उनीहरूको पारिवारिक भोगाइका आधार तय हुन्छ । बाल मनाेस्वाथ्यलाई प्रभाव पार्ने परिवारिक पक्ष के-के हुनसक्छन् छलफल गरौँ ।

१. परिवारको प्रकारः

बालबालिकाको मनोस्वास्थ्यलाई प्रभाव पार्ने ठूलो पक्ष हो परिवारको आकारप्रकार । नेपाली परिवेश संयुक्त परिवारमा आधारित छ । तर पछिल्लो समय परिवर्तित संस्कार, रोजगारी, सुविधासम्पन्न ठाउँतिरको बसाइँसराइँ जस्ता अनेक कारणले एकल परिवारको संख्या बढ्दै गएको पाइन्छ । एकल परिवारमा हुर्किएका बालबालिकाहरूमा देखिने प्रमुख समस्या हो, समूह वा समुदायमा सजिलै घुलमिल हुन नसक्नु । परिवारका सदस्यबाट प्राप्त समय नपाउने हुँदा एक्लो महसुस गर्ने, झिझिने, चिढचिढे स्वाभाव बढ्ने आदि हुन्छ । यो उनीहरूको मनोस्वास्थ्यमा परेको प्रभाव हो ।

२. साथीभाइ, परिवार तथा अन्य व्यक्तिबाट हुने र्‍यागिङ वा दुर्व्यवहारः 

परिवार, विद्यालय तथा समाजमा रूपरङ्ग, शारीरिक अवस्था, नामथर, लैंगिक स्थितिका आधार गरीने र्‍यागिङ र जिस्काइने कार्य, दुर्व्यवहार, भेदभाव, यौनजन्य दुर्व्यवहार जस्ता कार्यले बालबालिका मानसिक रूपमा बिछिप्त हुने, टोलाउने, एकोहोरो हुने, डराउने, सामाजिक कार्यमा सरिक हुन नसक्ने, कुरा खोल्न नसक्ने जस्ता समस्याहरू देखिन्छन् र उनीहरूको बालमनोविज्ञान कमजोर बन्न पुग्दछ । 

३. परिवारिक कलह तथा झगडाः

बालबालिका हुर्किने ठाउँ परिवार हो । यदि परिवारका सदस्यहरूमा मेलमिलाप छैन र दिनहुँ सामान्य कुरामा झगडा हुने विवाद हुने जस्ता कार्य भएको खण्डमा बालबालिकामा मनोवैज्ञानिक असर पर्न गै । बालबालिका हिंस्रक बने, रिसालु रझगडालु, तुच्छ शब्दहरूको प्रयोग गर्ने असामाजिक बन्ने जस्ता असरहरू देखा पर्न थाल्दछन् । परिवारिक कलहले बालबालिकाको  सिकाइ तथा विकासमा असर परी परिवारका सदस्यप्रति वितृष्णा पैदा गराउँछ ।

बालबालिकामा झगडा गर्नु राम्रो भन्ने भाव पर्ने, डराउने, बोल्न नसक्ने साथी समुहमा पुग्न नसक्ने अवस्था सृजना हुन्छ । झगडा वा कलहका दौरान प्रयोग भएका नमिठा शब्दहरू याद गरी त्यही शब्द अरूमाथि प्रयोग गर्ने अवस्थामा पुग्दछन् । यसो हुनुको प्रमुख कारण हो, बालमनोस्वास्थमा प्रभाव ।

४. टिभि कार्यक्रम, सिरियल, फिल्म, अनलाइन गेम आदिको प्रभावः 

पछिल्लो समय बालबालिकाकाहरूको समय व्यतीत गर्ने प्रमुख माध्यम हो टिभी तथा मोबाइल फोन, बालबालिकाले हेर्ने टिभी कार्यक्रम ,सिरियल, फिल्मका मन पर्ने पात्रले गर्ने व्यवहारको अनुसरण गर्न खोज्छ । उदाहरणका लागि बालबालिकाले हेरेको कुनै एक फिल्मको हिरोले धूमपान गर्छ भने बालबालिकाको मनोविज्ञानमा के असर पर्छ भने हिरो हुन चुरोट पिउनु पर्छ, केटि जिस्काउनु पर्छ, यति बुझे पछि ऊ परिवार तथा समाजमा त्यस्तै व्यवहार देखाउन थाल्दछन् ।  सिरियलहरूका पात्रले बोलेका संवादहरू स्मरण गरी बोल्ने वा उक्त कार्यक्रम नहेरी खानै नखाने जस्ता समस्या देखिन थाल्छन् । अनलाइनमा खेलिने गेमहरूको असरले उनीहरू एकोहोरो हुने, सामाजिक रूपबाट टाढा हुने, परिवारको कुरा नसुन्ने, हिंस्रक हुने जस्ता समस्याहरू देखा पर्न थाल्छन् ।

बालमनोस्वास्थ्यलाई बलियो बनाउन के गर्ने ?

बालबालिकालाई अभिभावकले जस्तो वातावरणमा हुर्काउन सके उनीहरूको व्यवहार सिकाई सोही अनुसार विकास हुने तथ्य विभिन्न अध्ययनले देखाएको छ । बालबालिकाको मनोस्वास्थ्यलाई मजबुत बनाउन सबैभन्दा पहिला गर्नुपर्ने कार्य हो । उनीहरूलाई पर्याप्त समय प्रदान गर्नु । बालबालिकाको कुरा सुन्नु, उनीहरूको आवश्यकताहरू पहिचान गर्नु, उनीहरूको व्यवहारको अध्ययन गरी व्यवहारमा आएको फरकपनको कारण खोजी समाधान गर्नु । बालबालिकाका अगाडि परिवारिक कलह झगडा नगर्ने, उनीहरूसँग सकारात्मक कुरा गर्ने, उनीहरूले भोगेका समस्याबारे उनीहरूलाई सोध्ने । परिवारमा भएको भेदभाव वा दुर्व्यवहारलाई हटाउने गर्ने, बालबालिकासँगै बसेर बालबालिकाहरूमा आधारित टिभी कार्यक्रम र सिरियलहरू हेर्ने । उनीहरूले प्रयोग गर्ने मोबाइल ल्यापटपहरूको नियमित निगरानी गर्ने र उनीहरूलाई पारिवारिक काममा सरिक गराउने उनीहरूले गर्नसक्ने कामहरू, उनीहरू स्वयमलाई गर्न लगाउने जस्तैः व्यक्तिगत सरसफाइका काम, भान्साका काम, सामूहिक खेल आदि । बालबालिकाहरूको मानसिक स्वास्थ्य बलियो भएको खण्डमा उनीहरूको वृद्धि, विकास, सिकाइ प्रभावकारी र सबल बन्द छ । 

बालबालिकाको वृद्धि विकास उमेर अनुसार हुने गर्छ । यसै अनुरूप उनीहरूको सिकाइ व्यवहार बाढ्दछन् । यसरी सिकाई व्यवहार कसरी कुन धारमा बढाउने भन्ने कुराको मुख्य निर्धारक हो परिवार । परिवारमा भएको बाताबरणको आधारमा बालबालिकाको मनोस्वास्थ्य निर्धारणहुन पुग्दछ । उनीहरूको व्यक्तिगत ,सामाजिक, वातावरणीय व्यवहारकाे निर्धारण उनीहरूको मनोविज्ञान वा मनोस्वास्थ्य हो । बालबालिकाहरूमा यो मनोस्वास्थ्य निर्माण परिवार र परिवारिक वातावरणले तय  गर्दछ । तसर्थ परिवारले स्वस्थ्य परिवारिक वातावरण निर्माण गर्नु पर्दछ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

भूपेन्द्र पाण्डे

लेखकबाट थप...