भूपेन्द्र पाण्डे

भूपेन्द्र पाण्डे साहित्यका विभिन्न विधाका साथै स्वास्थ्य एवं समसामयिक विषयमा कलम चलाउँछन् ।

प्याड के हो ?
सेनिटरीको सामान्य अर्थ हुन्छ सरसफाइ/सफा । यो महिलाले महिनावारी भएको समयमा प्रजनन अङ्गबाट बग्ने रगतलाई बाहिर नखसोस भनी प्रजनन अङ्गको मुखमा राख्ने एक कपडा वा पेपरबाट बनेको टुक्रा हो । जसले महिनावारीको समयमा आएको रगतलाई आफूमा नियन्त्रण गरेर राख्छ र बाहिर बग्न दिँदैन ।

के हो त सेनिटरी प्याड ?
सेनिटरी प्याड हेर्दा प्याड जस्तै देखिए तापनि यो फरक हुन्छ । वैज्ञानिक अनुसन्धानबाट निर्माण गरिएको यो प्याड किटाणु, जिवाणु लगायत संक्रमण गराउन सक्ने कुराबाट पूर्ण रूपमा सुक्षित राखी निर्माण गरिएको हुन्छ । जो महिनावारीको समयमा प्रयोग गरेको खण्डमा प्रजनन अंङ्गमा संक्रमण हुन दिँदैन । यसरी निर्माण गरिएका प्याड मेडिकलहल तथा बजारमा किन्न पाइन्छ । जस्तैः विचपर, स्टेफ्री, सेफ्टी आदि ।

एकपटकको महिनावारीमा कति रगत बग्छ ?
विभिन्न अध्ययनहरूलाई आधार मान्दा एक स्वस्थ महिलाको एकपटक को महिनावारीमा कम्तीमा ४०-६० मिलि रगत बग्दछ । तर पछिल्लो समय अस्वस्थकर जीवनशैली, अस्वस्थ खानपानको कारण महिनावारीको समयमा धेरै ६० मिलि भन्दा बढी रगत बग्ने गरेको स्त्रीरोग विशेषज्ञहरू बताउँछन् । 

सेनिटरी प्याड कति प्रकारको हुन्छ ?
सेनिटरी प्याडलाई विभिन्न प्रकारले विभाजन गरेको देख्न सकिन्छ । तर सामान्यतया सेनिटरी प्याड दुई प्रकारले विभाजन गर्न सकिन्छ । परम्परागत रूपमा घरमा निर्माण गर्न सकिने र आधुनिक सेनिटरी प्याड । परम्परागत वा घरमा निर्माण गर्न सकिने प्याड भने महिनावारिको समयमा घरम उपलब्ध कपडाका टुक्राहरू र थाङ्नाहरू प्रयोग गरेर निर्माण गरिने हुन्छन् । जो एक पटकमात्र प्रयोग सकिने वा पुनः प्रयोग गर्न सकिने दुबै हुन्छन्। विषेशगरी कटनको कपडाबाट यी प्याड निर्माण गरिन्छन् भने आधुनिक प्याड वैज्ञानिक अनुसन्धानबाट निर्माण गरिएका हुन्छन् । आधुनिक प्याडमा पनि सामान्य प्याड र सेनिटरी प्याड दुई प्रकारका हुन्छन् । साधारण प्याड वैज्ञानिक विधिबाट तयार भए पनि संक्रामक वस्तुरहित नहुन सक्छ तर सेनिटरी प्याड भने सफा र सुरक्षित हुन्छन् । यी दुबै प्रकारका प्याड बजारमा किन्न पाइन्छन् । अहिले चलिरहेको बहस यही आधुनिक प्याड निःशुल्क हुनुपर्छ भन्ने हो । 

परम्परागत प्याड हुँदाहुँदै आधुनिक प्याड किन प्रयोग गर्ने ?
परम्परागत प्याड नराम्रो छ यो कहीँकतै भनिएको छैन र नराम्रो पनि छैन । तर, यसमा कमजोरी भने छ । प्याडको रूपमा निर्माण गरिएको कपडाले सामान्यतया ७-१० मिलि भन्दा बढी रगतलाई सोस्न सक्दैन । सो भन्दा बढी रगत  भएको खण्डमा भिझेर समस्या हुने, कपडा वा थाङ्नाको घर्षणबाट तिघ्राहरूमा घाउ हुने, पास्ने, पोल्ने, हिँड्न अप्ठेरो हुने, कपडा खस्ने डर हुने समस्याका साथै कपडा फोहोर भएको खण्डमा प्रजनन अङ्गमा संक्रमण हुने सम्भावना बढ्छ। भने आधुनिक सेनिटरी प्याडले कम्तीमा २५-३५ मिलिसम्म रगत सोस्न सक्ने ४-६ घण्टा समयसम्म राख्न सकिने तथा सुरक्षित तरिकाले सेनिजाइज गरिएको हुने हुँदा प्रजनन अङ्गमा संक्रमणको सम्भावना कम हुनुका साथै तिघ्रामा घाउ हुने, हिँड्न-काम गर्न अप्ठेरो हुने, खस्ने जस्ता समस्याबाट छुटकारा मिल्दछ । 

एक महिलाले महिनावारीको समयमा कति प्याड प्रयोग गर्छिन् ?
एक स्वस्थ महिलाले महिनावारीको समयमा दैनिक ४ वटासम्म प्याड प्रयोग गर्छिन् । रगत बढी बग्ने समस्या भएको खण्डमा त्याेभन्दा बढी प्रयोग हुन सक्छ । 

औसतमा बजारमा पाइने सामान्य सेनिटरी प्याडको मूल्य रु ५० देखि शुरू हुन्छ । यदि एक महिलाले ५० को प्याड किनेको खण्डमा महिनावारीको ५ दिनसम्म खर्च २५० रुपैयाँ पर्न जान्छ ।

सेनिटरी प्याड सर्वसुलभ तथा निःशुल्क नहुनुका कारण के हाे ? 
 विभिन्न दृष्टिकोणबाट हेर्दा विभिन्न कारणहरू देख्न सकिन्छन् होला तर यहाँ ती कारणलाई यसरी देख्दछु । 

१. स्वास्थ्य शिक्षाको अभावः
 विद्यालयतहमा स्वास्थ शिक्षा राखिएता पनि प्रजनन प्रणाली पढाउनु पर्दा शिक्षकले नपढाई आफैँ पढ भन्ने अवस्था अहिले पनि छ । समाजका अगुवा, युवा, किशोर तथा महिनावारी हुने उमेर समूह किशोरीलाई तथा समाजलाई महिनावारीको समयमा प्रयोग गरिने प्याडको महत्त्व, आवश्यकता र यसकाे प्रभावबारे ज्ञान नभएकोले प्याड आवश्यक पर्छ भन्ने धारणा नै बन्दैन र उनीहरू महिलालाई प्याड चाहिन्छ सोच्दैनन् ।

२. महिनावारीलाई पाप वा एक अस्वस्थ अवस्थाको रूपमा लिइनुः
महिनावारी एक अस्वस्थ प्रक्रिया हो, भगवानले दिएको श्राप हो । त्यसैले यो पाप वा फोहर रगतलाई त्यतिकै बग्न दिनु पर्छ भन्ने धारणा सामाजमा व्याप्त छ र यही धारणा युवा पुस्तामा समेत स्कुलिङ्ग भएको छ । महिनावारिलाई महिलाको प्रजनन क्षमताको प्रक्रिया हो । जो स्वस्थ महिलामा नियमित हुन्छ भन्ने जबसम्म बुझिन्न/बुझाइँदैन तबसम्म प्याडको लागि आवाज एक हुँदैन ।

३. स्थानीय तथा केन्द्रिय सरकारको स्वास्थ्य नीति तथा कार्यक्रमः
सरकारले स्वास्थ सम्बन्धी र त्यसमाथि प्रजनन स्वास्थ्य सम्बन्धी धेरै कार्यक्रमहरू ल्याउँदा पनि सेनिटरी प्याडलाई समावेश गर्न नसक्नु दुखद हो । स्वास्थ्य क्षेत्रमा प्रयोगविहीन भएका कार्यक्रमलाई पहिचान गरी उक्त कार्यक्रम हटाई ती कार्यक्रममा प्याडलाई जोड्न सक्नुपर्छ ।

उदाहरणका रूपमा एक स्वास्थ्य चौकीमा वर्षेनि कति कण्डम इन्सिनेरेसनमा जलाइन्छ। यसरी जलाइनु भनेको तोकिएको अवधिमा प्रयोग नहुनु हो । यसरी प्रयोग नभएका सामाग्री कटाई प्याडमा कार्यक्रम स्थान्तरण गर्न सक्नु पर्छ ।

४. सामाजिक व्यवस्था र पितृसत्तात्मक सोचः
संसारका सतप्रतिशत देश जस्तै नेपाल पनि पुरुषप्रधान देश हो । जसमा महिलाका समस्याहरूलाई गौण गरिन्छ । सामाजिक व्यवस्था पितृसत्तात्मक सोचको प्रभाव नीतिनिर्माण तहसम्म पुगेकाले उक्त तहमा महिला तथा उनीहरूको प्रजनन स्वास्थ समस्या सम्बन्धी समस्यामा छलफल बहस र सुनुवाइ नहुनु र भएता पनि सतही हुनुले गर्दा महिलाको प्रजननस्वास्थ्य अन्तर्गत पर्ने महिनावारीकाे अवस्था जस्ताकोतस्तै रहन  पुगेको छ । 

सेनिटरी प्याडलाई सर्वसुलभ र निःशुल्क किन बनाउने ?
महिनावारी महिला प्रजनन प्रक्रियाकाे लागि सबल छिन् भन्ने संकेत हो । महिनावारीको समयमा बगेको विकार रगतको उचित नियन्त्रण नगरिएको खण्डमा वा रगत रोक्न प्रयोग गरिएका साधन सफा र स्वस्थ्य न भएको खण्डमा प्रजनन अंगमा विभिन्न प्रकारका संक्रमण हुन सक्ने । महिलामा मानसिक, शारीरिक र सामाजिक स्वास्थ्य समस्या आउनसक्ने हुन्छ । महिनावारीको समयमा आएको रगतलाई उचित नियन्त्रण गरी उनीहरूलाई शारीरिक, मानसिक, संवेगात्मक स्वास्थ्य समस्याबाट बचाउनु व्यक्ति, परिवार, समाज र राष्ट्रको दायित्व हो । जसका लागि सुरक्षित र स्वास्थ्य महिनावारी चक्र बनाउनका लागि र विभिन्न संक्रमणबाट बचाउन तथा परम्परागत प्याडको प्रयोगबाट हुने घाउ, हिँडडुल गर्न अप्ठेरो हुने कार्यलाई नियन्त्रण गर्न सेनिटरी प्याड सर्वसुलभ र निःशुल्क गर्न जरुरी छ।

निष्कर्षः
पछिल्लो केही समय यता महिला सशक्तिकरणकाे बहस चलिरहेको समयमा पनि महिलाहरूलाई महिनावारीको विषयलाई नै मुद्दाको रूपमा उठाइरहनु परेको छ । यसरी मुद्दा अहिलेसम्म जिउँदै हुनुको कारण महिलाका समस्यालाई गौण गरिनु, सतही सोचाइ राख्नु, महिनावारी एक सामान्य प्रक्रिया त हो यसमा के नै गर्नु छ भन्ने विचार व्याप्त हुनु, पितृसत्तामक सोच प्रगाढ हुनु यसकाे महिला स्वस्थको क्षेत्र कमजोर देखिनु हो । उक्त क्षेत्रलाई बलियो बनाउनका लागि सरकारले महिला स्वास्थ्य तथा महिनावारीलाई प्रथामिकतामा राखी नीति निर्माण तथा कार्यक्रम तय गर्नु समाजमा स्वास्थ्य शिक्षा बढाउने, स्वस्थ्य साक्षरता बढाउने कार्य गर्नुका साथै महिनावारीकोको समयमा प्याड प्रयोग गर्ने चेतनाको विकास गर्नुपर्छ र महिलाको महिनावारी समयलाई सुरक्षित राख्न सेनिटरी प्याड निःशुल्क र सर्वसुलभ गराउन जरुरी छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

भूपेन्द्र पाण्डे

लेखकबाट थप...