Prakash Angdembe

Prakash Aangdembe is a seeker of Nepali theater, art and literature as well as film writer, director and producer.

“क्रागेरो घुम्न जाने हो ? देवी भाइको दुई दिन बिदा छ रे ।”
२८ मे । स्थानीय पहाड, जङ्गल १३ किमी जति एक्लै पैदल हिँडेर घर फर्कदै थिएँ । सानुको कल आयो । 
सानु मेरो श्रीमती । उनी ड्युटीमा छिन् । मैले पनि हुन्छ भनेर सहमति जनाएँ । सानुको काम भएकोले गइनन् । म मात्र जाने भएँ । देवी खरेल भाइ मलाई लिन आए । उनी केमिकल इन्जिनियर हुन् । पारिवारिक साइनोले सालो ।

हामी साँझको समय क्रागेरो लाग्यौँ । साँझ त के भन्नु र नर्वेको यो दक्षिणी भेगमा पनि यो समय रातको ११ बजेसम्म उज्यालै हुन्छ । अझ उत्तर त्रोम्सो, अल्टा, भाद्सो, साल्वर्ड आइसल्यान्डतिर त घाम नै अस्ताउँदैन तीन महिना । विन्टरमा फेरि ठिक उल्टो ।

    
पारिवारिक सिलसिला र केही योजनाका तयारीका लागि अहिले म नर्वेमा छु । नर्वेको दक्षिणी सुन्दर शहर सियानमा । जुन शहर विश्वप्रशिद्ध नाटककार हेन्रिक इव्सनको जन्मस्थान हो। अर्को कुनै लेखमा सियानको बारेमा पनि केही उल्लेख गर्नेछु ।

देवी भाइ र म सामान्यतया नेपालकै वर्तमान अवस्था र राजनैतिक दुर्गतिका कुराहरू गर्दै गयौँ । पोस्क्रुन, बाम्बले हुँदै एक घण्टा १५ मिनेटमा क्रागेरो पुग्यौँ । हामी पुग्दा आन्टी (देवी भाइको आमा) चट्टानलाई फोडेर मिलाएको बारीमा काम गर्दै हुनुहन्थ्यो । यहाँ पनि सानो सानो ठाउँमा ताजा तोरीको साग उमार्नु भएछ । अरू देशमा थाहा भएन नर्वेमा यो हुने भनेको सामान्य होइन । एक त यो संसारकै चिसो देश, जहाँ हिउँको साम्राज्य रहन्छ । अर्को यहाँ जमिन भन्दा चट्टान अथाह छ । यही चट्टानलाई फोडेर मिलाएर, मार्केटवाट माटो किनेर ल्याएर उहाँहरूले सागसब्जी, फलफूल उमार्नु भएको रहेछ । उहाँहरूको परिश्रम मैले पनि खान पाएँ ।  

भोलिपल्ट देवी भाइ र म यसै क्रागेरो घुम्न निस्कियौँ । क्रागेरोको यात्रा मेरो निम्ती चौथो पटकको हो यो । विन्टरको चिसोमा होस या समरको रमझममा जतिपटक आए पनि यो ठाउँ उस्तै सुन्दर लाग्छ मलाई । 

यो शहर पारम्परिक ग्रिनल्यान्डको क्षेत्र अन्तर्गत पर्दछ । ३०७.४ किमी वर्गमिटरको क्षेत्रफलमा फैलिएको छ । समरमा अत्यन्तै बढी पर्यटकको चाप हुन्छ । यो क्षेत्र कागहरूको लागि उत्तम जनेन्द्रिय क्षेत्र मानिन्छ । कागहरूलाई डेनिस भाषामा क्रेगरो भनिँदो रहेछ । क्रेगरकाबाट यो क्षेत्र अपभ्रंस भएर क्रागेरो भएको रहेछ । जसलाई सन् १७ सय शताब्दीमा स्थापित गरिएको थियो । मरिहम आइसल्यान्ड र भल्खकोस्की फिनल्यान्ड, स्लागिल्स, आइसल्यान्ड, डेनमार्क, भिस्बी स्वीडेन व्यावहारिक हिसाबले क्रागेरो क्षेत्रको सिस्टर सम्बन्ध भएका क्षेत्रहरू मानिँदा रहेछन् । यो स्थान नर्वेको राजधानी ओस्लोवाट २०१ किमी दक्षिण पश्चिम टेलमार्क जिल्ला अवस्थित छ । बस, साना गाडीहरूबाट यहाँसम्म जान सकिन्छ । ट्रेनमा भने नोर्तेदमसम्म गएर थोरै गाडीमा जान सकिन्छ ।

उपन्यासकार, नोभलिस्ट, नाटक लेखक, पत्रकार, साहित्यिक समिक्षक रोनाल्ड फेन्गेन (Ronald Fangen), नर्वेजीय एक्टर (eugen Skjonberg), नर्वेजीयन/जर्मन एक्टर/सिंगर (Kirsten Heiberg), नर्वेजीयन एक्ट्रेस (Else Heiberg), लगायत कयौं विश्वप्रशिद्ध व्यक्तित्वहरू यो क्षेत्रले जन्माएको छ (कलासँग सम्वद्ध प्रतिभाहरूको बारे मात्र बुझेँ)।  विश्व प्रशिद्ध नर्वेजीयन अभिव्यक्तिवादी/पेन्टर एडवर्ड मुंक (Edvard Munch) (उनीद्वारा सृजित पेन्टिङ प्रकृतिको चित्कारले चित्रकारिताको दुनियाँमा [The Scream of Nature]  नयाँ तरङ्ग स्थापित गरेको छ) जसकाे पेन्टिङ सन् २०१२ मा १२० मिलियन डलरमा बिक्री भएकाे थियाे । उनी यो क्षेत्रको सौन्दर्यले मोहित भएका थिए रे । त्यसैले यहाँ पटक-पटक आउने जाने गर्दथे । उनले पनि यो क्षेत्रलाई ‘तटीय शहरको मोती’ भनेका छन् । लण्डनबाट प्रकाशित समाचारपत्र ‘द इन्डिपेन्डेड’ ले लखेको छ, “अन्य देशमा पनि धारिलो समुन्द्री किनारहरू छन् तर नर्वेको यो समुद्र तटले जादुगरी सौन्दर्य प्रस्तुत गर्छ ।” ती उर्जाशील, सृजनशील सन्तहरूले सत्सङग गरेको यो वातावरणमा पुग्न पाउँदा म पनि भावुक, आनन्दित भएँ । 

लक्ष्मी अंकल, जानुका आन्टी र सरस्वतीले प्रेमपूर्वक सेवा दिनु भो । मलाई देवी भाइले अत्यन्तै सुविधाका र जानकारीका साथ यी स्थानहरूको भ्रमण गराउनु भयाे । याे सबका लागि उहाँहरूलाई साधुवाद ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।