काठमाडाैँ - 'रोट्राक्ट क्लब अफ दमक' र 'कदम थिएटर'को संयुक्त प्रस्तुतिमा नाटक 'तिम्रो आँखामा खसेको साँझ' दमकमा मञ्चन हुने भएको छ । नाटक दमकस्थित कदम थिएटरको नाटक हलमा प्रस्तुत हुने भएको हो । 'हामी लगभग प्रस्तुतिको अन्तिम तयारीको प्रयासमा छौँ । नाट्य त जीवनजस्तै हो, पूर्ण तयारीको निश्चितता कहिल्यै हुन्न', नाटकका परिकल्पनाकार तथा निर्देशक सागरले बताए ।

त्यस्तै उनले विश्वव्यापीरूपमा फैलिएको महामारीले आम क्षेत्रमा झैँ रंगमञ्चको क्षेत्रमा पनि प्रत्यक्ष प्रभाव पारेकाे बताए । 'बीचमा भर्चुअल माध्यमद्वारा केही नाटकहरू प्रस्तुत भए । पछिल्लो समय खासगरी विश्व महामारीको संक्रमण कम हुँदै गएपछि भौतिक रूपमै नाटकहरू मञ्चन हुन थालेका छन् । नेपाली रंगमञ्च क्षेत्रको लागि यो खुसीको कुरा हो', उनले भने । 

त्यस्तै नाटकका लेखक प्रकाश शर्मा अधिकारीले भने, 'कोभिड अघि एक किसिमको रंगमञ्चको माहोल थियो पूर्वमा । बीचमा केही गर्न सक्ने अवस्था रहेन । रंगमञ्चको प्रभावलाई पूर्ववत् अवस्थामा ल्याउँ भनेर यो नाटकको तयारीमा लागेका हौँ । यसपल्ट नाटकको विषयलाई छुट्टै र समाजकेन्द्रित गरौँ भनेर लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको विषयलाई उठान गरेका छौँ ।'

उनले अगाडि भने, 'मानवअधिकारको बहस गरिरहँदा सँधै ओझेलमा परिरहने 'लैंगिक तथा यौनिक अल्पसंख्यक'हरूको अधिकारको बहस पनि हो । सन् दुई हजारको दशकपछि नेदरल्यान्ड, स्वीजरल्याण्ड लगायतका देशहरूमा लैङ्गिक अल्पसंख्यकहरूको अधिकारको मागलाई प्रत्याभूत गरिए पनि अन्य देशहरूमा अझै बहसको विषय बन्न सकेको छैन । हाम्रो देशमा पनि उल्लेखित संवैधानिक व्यवस्थाको अतिरिक्त वैयक्तिक स्वतन्त्रताको सन्दर्भमा मुलुकी ऐन/कानुन प्रष्ट देखिँदैन । विशेषतः यौनिक अल्पसंख्यकहरूको सन्दर्भमा । विश्व स्वास्थ्य संगठनको अनुसार तेस्रो लिङ्गी तथा समालिङ्गी हुनु कुनै मानसिक समस्या हैन । सन् १९९० को दशकपछि यसबारे केही ठूला बहस भए । त्यसपछि विश्व स्वास्थ्य संगठनले यसलाई प्राकृतिक तथा मानवीय स्वाभावको रूपमा व्याख्या गर्यो ।'

रोट्राक्ट क्लब अफ दमकका अध्यक्ष सपना लिम्बूका अनुसार, 'आजपनि ती लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूलाई उदार रूपले समाजमा रहने सक्ने अवस्था छैन । गोपनियताको डरले आफैँ खुल्न सकिरहेका छैनन् । अब त्यो अवस्था हुनुहुन्न । समाजको यहि मुद्दालाई केही रूपमा भएपनि उठान गरौँ भनेर हामीले कदम थिएटर दमकसँग समन्वय गरौका हौँ ।' 

उनले अगाडि भने, 'समाजमा रहेका लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको आफ्नै संघर्ष छ । आफ्नै कथा छ । न त राज्य, न त कानुन । न समाज नै । उनीहरूको उपस्थितिलाई आम रूपमा हेरेको पाइन्न । आफू जे हो, त्यसमा खुलेर बाँच्ने वातावरण अझै बनेको छैन । संयुक्त जनगणना २०६८ ले समेत उनीहरूको उपस्थितिलाई जरुरी ठानेन । समाजमा उनीहरूको उपस्थितिको संघर्षलाई नाटकले समेट्न खोजेको छ ।'

नाटकको मञ्चन यही असोज २२ देखि २५ सम्म रहने छ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार