सिमकोट- हिमाली जिल्ला हुम्लामा हिमपातसँगै अत्यधिक चिसो बढेपछि अधिकांश विद्यार्थी खुला चौरमा बसेर परीक्षा दिन बाध्य भएका छन् । सात गाउँपालिका रहेको हुम्ला जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।

जिल्लाका तेस्रो पटक हिमपात भएपछि चिसोले कक्षा कोठाभित्र कठ्याङ्ग्रिने अवस्था आएपछि घाम ताप्दै खुला चौरमा विद्यार्थीको परीक्षा लिइएको मानसरोवर माद्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए ।

कक्षा कोठामा बसेर परीक्षा दिन सकिने अवस्था नभएकाले घाम लाग्ने खुला चौरमा परीक्षा दिइरहेको अदानचुलि गाउँपालिकाको सूर्योदय माद्यामिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्र दीपक फडेराले जानकारी दिए ।

फडेराले हिमपात भएपछि विद्यालयको कक्षा कोठाभित्र चिसोले हात कठ्याङ्ग्रिएर कलम चलाउनसमेत कठिन हुने गरेको बताएका छन् ।

हिमाली जिल्ला हुम्लाका विद्यार्थीले यस वर्ष कोरोनाले पुरै समय अध्ययन गर्न नपाएको नागरिक समाज अगुवा राजबहादुर रोकायाले बताए । त्यसमाथि चिसोले परीक्षा दिन सकस भइरहेको र चौरमा आएर परीक्षा दिनुपर्ने बाध्यता रहेको उनले बताए ।

सिमकोट गाउँपालिका मानसरोवर नमुना माद्यामिक विद्यालयकी छात्रा अनिता रोकायाले घाममा आएर परीक्षा दिन थालेपछि लेख्न सजिलो भइरहेको बताइन् । विद्यार्थीहरूले कक्षा कोठाभित्र चिसोले परीक्षा दिन समस्या भएको बताएपछि घाममा बसेर परीक्षा दिने व्यवस्था गरिएको मानसरोवर विद्यालय स्रोतले जानकारी दिएको छ ।

अर्धवार्षिक परीक्षामा सहभागी शिक्षक रेसमराज रोकायाले चिसोले प्रभावित भएपछि विद्यालय व्यवस्थापन समिति घाम लागेको चौरमा परीक्षा सञ्चालन गर्न राजी भएकाले आफूहरूले घाममा परीक्षा सञ्चालन गरिरहेको बताएका छन् । दुई वर्ष पहिले यो समयमा हुम्लामा अर्ध वार्षिक परीक्षा हुने भए पनि यो पटक कोरोनाले ढिलो भएको बताइएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार