नेपालगञ्ज- बाँकेको नरैनापुर गाउँपालिकाले कक्षा ६–१२ का छात्राहरूलाई विद्यालयसँग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा साइकल वितरण गरेको छ । 

गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकामा रहेका तीन माध्यमिक विद्यालय र एक आधारभूत तहमा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्दै आएका ५ सय २ जना छात्रालाई साइकल वितरण गरेको हो ।

सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले नरैनापुरको विकासको लागि छात्राको पहुँच विद्यालयसम्म पुर्‍याउन आवश्यक भएकोले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छात्रालाई साइकल वितरण गरिएको बताइन् ।

उनले भनिन्, ‘जुन उद्देश्यको लागि साइकल वितरण गरिएको छ । नरैनापुरका सबै छोरीहरू विद्यालयसम्म पुग्न सजिलो होस भनेर साइकल चलाउन सक्ने कक्षा ६ देखि १२ सम्मका सबैलाई साइकल वितरण गरिएको छ । यसको सदुपयोग गर्नुहोस् र पढाइलाई निरन्तरता दिनुहोस् ।’ 

नरैनापुरमा रहेका सामुदायिक विद्यालय मध्ये तीन वटा मावि तह, १ आधारभूत तह र ४२ वटा प्रावि तहका रहेकोले अधिकांश कक्षा ५ सम्म पढेर विद्यालय टाढा भएको बहाना बनाउँदै कक्षा छाड्ने गरेको जनगुनासो आएपछि गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि माथिका सबै छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले बताए ।

उनले नरैनापुर हरेक क्षेत्रबाट पछाडि पारिएको पालिका भएकोले प्रदेश सरकारले यहाँको शैक्षिक क्षेत्रको विकासमा टेवा पुराउने उद्देश्यले छात्राहरूको विद्यालयसम्मको पहुँच बढाउने उद्देश्यले उनीहरूलाई विद्यालय आउन र जानको लागि सहज होस भनेर साइकल उपलब्ध गराइएको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले पालिकाले शिक्षालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले पालिकाका छात्राको विद्यालयसम्मको पहुँच पुराउन छात्रवृत्तिदेखि निःशुल्क साइकल वितरण गरेको बताए ।

उक्त कार्यक्रमका लागि लुम्बिनी प्रदेश सरकार र नरैनापुर गाउँपालिकाको सहकार्यमा ५० लाख बजेट रहेको पालिकाका लेखा प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । कार्यक्रम शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुको अध्यक्षतामा र सहजीकरण अरुणकुमार यादवले गरेका थिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार