सर्लाही - गत वर्ष संघीय राजधानी काठमाडौंमा भएको उखु किसानको आन्दोलनमा जान नपाएकोमा सर्लाहीको रामनगर गाउँपालिका–६ का कासी रायलाई ठूलो पछुतो लगेको छ । 

गत वर्ष आफूले उद्योगलाई बिक्री गरेको उखुकोे भुक्तानी वर्षौंसम्म नपाएका सयौँ किसानले खाली खुट्टा काठमाडाैँ गएर आन्दोलन गरेका थिए । लामो आन्दोलनपछि सरकारसँग सम्झौता पनि भयो । तत्काल केही उखु किसानले बाँकी रहेको भुक्तानी पनि पाए । केहीले अझै पाउँदै छन् । तर, रामनगरका रायले भने अहिलेसम्म एक पैसा पनि पाएका छैन्न । गाउँका सबैजना आन्दोलनमा जाँदा उनलाई पनि जान मन लागेको थियो । तर, पैसा नभएपछि उनी यसै रोकिए । 

‘गाउँमा अरु किसानहरूसँग भन्दा उनीहरूले पनि गाउँका अरु गएपछि तिमी नगए पनि पैसा पाइहाल्छौ नि भने,’ रायले दुखेसो गरे, ‘अहिले धेरै धेरै पैसा हुने, आन्दोलनमा गएकाले पैसा पाइसके, आफ्नो एक पैसा आएको छैन ।’ अब त रायलाई पनि आफू आन्दोलनमा नगएकै कारण पैसा नआएको जस्तो लाग्न थालेको छ ।

रायले झन्डै पाँच वर्षदेखि ८० हजार रुपैयाँभन्दा धेरै उखुको पैसा पाएका छैनन् । त्यति पैसाका लागि ऋण नै गरेर आन्दोलनमा जान पनि उनलाई मनासिव लागेन । 

तर, अहिले गएको भए हुनेरहेछ जस्तो लागेको उनले सुनाए । उनले भने, ‘लौन, अब त पैसा पाइन्छ जस्तो पनि लाग्न छाडिसक्यो ।’ किसानहरूको आन्दोलनपछि करोडौँ भुक्तानी गर्न बाँकी राखेका उद्योगहरूले धेरैजसो भुक्तानी गरिसकेका छन् । अझै धेरै किसानको बाँकी रहेको उनीहरूको गुनासो छ । उद्योगले पटकपटक निवेदन मागेको, तर पैसा नदिएको उनले बताए ।

उद्योगले किसानहरूलाई हिसाबकिताब नै नदेखाई भुक्तानी पूरा गरेको दाबीसमेत गर्न थालेपछि उनीहरूमा निराशा र आक्रोश देखिन थालेको हो । तर, उखु किसानका अगुवाहरू भने चुपचाप लागेका छन् । अगुवा किसान र उनीहरूका नजिकका किसानलाई उद्योगले भुक्तानी गरिसकेका कारण अन्य साना किसानको भुक्तानीमा वास्ता नगरेको उनीहरूको बुझाई छ । किसान नेताहरूसँग आफूहरूको भुक्तानी नभएको कुरा गर्दा विभिन्न सम्झौताको बहाना गर्ने गरेको अर्का किसान राममोहन दाशले बताए । 

त्यसबेला स्वास्थ्यमा समस्या भएपछि आन्दोलनमा सरिक हुन नपाएका गोडैता नगरपालिका(१०, का शिवशरण पासवानले पनि अझै पैसा पाउन सकेका छैनन् । आर्थिक अवस्था अत्यन्त दयनीय रहेका पासवानले त्यसबेला सञ्चारकर्मीसँग पैसा नभएकै कारण उपचार गर्न नपाएको गुनासो गरेका थिए । उद्योगले पैसा देला र वर्षातको समयमा भत्किएको फुसको घर बनाउला भनेर बसेका पासवान अझै छिमेकीको छिँडीमा रात कटाइरहेका छन् ।

गोडैता नगरपालिका–१०, सिसौटका शुभलाल महतो उमेरले ८० लागिसके । गत वर्ष घरमा नातिनीको मृत्यु भयो । त्यहीबेला छोरासमेत बिरामी भए, उनी पनि आन्दोलनमा जान पाएनन् । उनले त्यतिबेला पनि यस पंक्तिकारसँग आन्दोलनमा जान नपाउँदा पैसा नपाउने हो कि रु भनेर शंका गरेका थिए । आखिरमा भयो पनि त्यस्तै । छिमेकमा सबैले आधाजसो पैसा पाइसक्दासमेत उनको बाँकी दुई लाख ५० हजार रुपैयाँ आएको छैन । 

सात करोड बक्यौता

उखु किसानको अधिकारका लागि भन्दै आन्दोलनको अगुवाइ गरेका हरिश्याम रायलगायतका नेता मौन मात्र छैनन्, यसअघि विवादितसमेत बने । उखु किसानको भुक्तानी के कसरी भइरहेको छ भन्ने बारेमा आफूहरूलाई जानकारी नगराएको उनीहरूको भनाइ छ । उद्योगीसँग बुझ्दा लगभग पूरा भएको कुरा आएको, तर किसानहरूका अनुसार अझै सात करोडको हाराहारीमा बाँकी रहेको उनले जानकारी दिए । किसानको विवरण संकलन गर्ने र एकिन तथ्यांक तयार गर्ने काम भइरहेको उनले दाबी गरे । 

उद्योगी, सरकार र उखु किसान प्र्रतिनिधिसँग बसेर गरेको निर्णयबमोजिमको समयसीमासमेत सकिएकाले अब फेरि किसानहरूलाई निर्णायक आन्दोलन गर्न तयार गरिरहेको रायले बताए । उद्योगीले पनि किसानलाई दिएको र आफूले राखेको हिसाब फरक पार्ने र पछि गरौंला भन्ने गरेको अर्का उखु किसान आन्दोेलका अगुवा रामविलास महतोले बताए । उनीसमेत आफूले पाउनुपर्ने पैसा माग्न काठमाडौं गएका थिए । 

उखु किसानको हकहितका लागि भनेर गठन भएका संघसंगठन किसानले नपाएको भुक्तानीको विषयमा बेखबर बनेको किसानहरूको भनाइ छ । तर उद्योगसँग किसानले गरेको सम्झौताअनुसार नै भुक्तानी भइरहेको नेपाल उखु उत्पादक किसान संघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए । सरकारले उद्योगीसँग गलत साँठगाँठ गरेर किसानलाई दुःख दिने काम गरेको उनको भनाइ छ । किसानले पाउनुपर्ने अनुदानमा समेत मनत्रालयका कर्मचारीहरूले झमेला खडा गरेका उनी बताउँछन् ।

किसानको अत्यधिक भुक्तानी बक्यौता राखेको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगले आफूहरूसँग भएको विवरणअनुसार भुक्तानी गरिरहेको जनाएको छ । बाँकी रहेको भनेका किसानसँगसमेत चलान पुर्जा मागेर विवरण संकलन गर्ने काम गरिरहेको उद्योगीको भनाइ छ ।

सर्लाहीका किसानले पाँच वर्ष पहिले बेचेको उखुको भुक्तानी पाउन थालेका छन् । सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण जनरल इन्डस्ट्री प्रालिले किसानले पुरानो बक्यौता दिइरहेको उद्योग सञ्चालकसमेत रहेका शैलेन्द्र गुप्ताले बताए ।

पुरानो रकम किसानलाई चुक्ता गरेर मात्र मिल किनबेचको सम्झौता भएपछि उद्योगी राकेश अग्रवालले किसानलाई भुक्तानी दिइरहेको उनको भनाइ छ । उद्याेगले निकालेको सूचना अनुसार १५ सय ५० भन्दा बढी किसानले आफ्नो १२ करोडको हाराहारीका भुक्तानी लिन बाँकी रहेको भन्दै उद्योगमा यस पहिला नै निवेदन दिइसकेका छन् । त्यसमध्ये आफूहरूले नौ सय ८० जना किसानको सात करोड ५० लाख बराबरको रेकर्ड मात्र फेला परेको गुप्ताले बताए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...