काठमाडौँ – डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको ‘पुसे १५’ पर्व सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासपूर्वक मनाइँदै छ । एकापसमा ‘लोक कथा’ र ‘दन्त्य कथा’ सुन्ने र सुनाउने पर्वका रूपमा यसलाई लिइने याे पर्वलाई डोटेली लोकसंस्कृतिमा विशेष महत्वका रूपमा लिइन्छ ।

आजको रातलाई ‘ठूली रात’ मानेर घरमा मीठा खानाका परिकार पकाएर खाने र रातभर जाग्राम बस्ने, डेउडा खेल्ने परम्परा रहीआएको छ । दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेरिन्छ । आजको रात वर्षभरिकै सबैभन्दा लामो रात मानिन्छ ।

छर छिमेक एक घरमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, तरुल, पिडालु, सखरखण्डलगायतका कन्दमूल खाने गरिन्छ । साथै पाकेको फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका मीठा परिकार बनाएर खाने र वृद्धवृद्धाबाट लोक कथा एवं दन्त्य कथा सुन्ने सुनाउने प्रचलन पनि छ ।

आज १५ हात लामो दाउराको मुढोको आगो ताप्नुपर्ने र आपसमा हाँसो–ठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने चलन रहेको डाेटेली जानकारहरू बताउँछन् । 

पर्वको तयारीस्वरूप हरेक घरका गृहेणीले आ-आफ्नो घरमा खानाका मीठा परिकार पकाउने तयारीमा लागेका छन् । पर्वमा विवाहिता छोरीबेटीलाई घरमा आमन्त्रण गरी भव्यरूपमा स्वागत र सत्कार गर्ने गरिन्छ ।

विशेष गरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहेको भए पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्साउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको जानकारको भनाइ छ । पर्वको मौलिकपना लोप हुन नदिन सबै सचेत हुन जरुरी देखिन्छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...