काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन् । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक' २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

एमाले सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिन अघि अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरिएको आरोप लगाउँदै आएका छन् । उक्त विषयमा संसदीय छानविन समिति बनाउन एमालेले माग गर्दै आएको छ ।

बैठकको सुरुमै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले आगामी आवको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको पहुँच पु¥याएर मुलुकलाई हानी पु¥याएकाले त्यसको निश्पक्ष छानबिन नभएसम्म आफूहरूको विरोध रहिरहने बताए । बजेट निर्माणमा भएको कमजोरीको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्न आफूहरुको माग रहेको र एमाले संसदीय दलको बैठकले सो माग पूरा नभएसम्म बैठकमा सहभागी नहुने निर्णय गरेकाले आफूहरूले बहिष्कार गरेको उनले बताए ।

त्यसलगत्तै एमाले सांसदहरू कार्यसूचीमा रहेको आर्थिक विधेयकसँग सम्बन्धित विषयको छलफलमा सहभागी नहुने भन्दै बैठकस्थलबाट बाहिरिएका थिए । एमालेको बहिष्कारका बीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको कार्यसूची अगाडि बढाए । बैठकले अर्थमन्त्री शर्माले प्रस्तुत गरेकाे ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...