मोर खोला तर्ने लिम्बुनी पुलबाट अलि माथि छ जोगी गाउँँ । जोगी गाउँँबाट एक झ्वाँक हिँड्दा पुगिन्छ पचाससाले जङ्गल । जङ्गल मास्तिर पोमुटार । पोमुटारको शिरानमा छ चुली जङ्गल । जङ्गलको बीचमा छ अग्लो डाँडा ।

यो डाँडालाई शुरूमा पोमुजङ्गयक भन्थे । पहिले पोमु राजाहरूले स्थापना गरेको गढी थियो यहाँ । त्यो गढी पृथ्वीनारायण शाहको सेनासँग युद्ध हारेपछि आधा उनीहरूले भत्काए । आधा चैँ पहिरोले । धेरै टाढासम्मको ठाऊँहरू देखिन्छ यहाँबाट । सायद टाढाबाट हेर्दा चुली जस्तो देखिने भएर होला यस्को अहिलेको नाम हो चुलीडाँडा ।

चुलीडाँडाको दाहिनेपट्टि छ हेलेले डाँडा । हेलेले डाँडा मास्तिर छ गौथले । गौथलेमा गौथलि छैन बरू ऊमेरले असी काटेकी बूढी बोजु छिन् । घर भन्दा अलि तल गौथली बस्ने ठूलो ओडार छ ।

गौथले बूढी घरधन्दा घाँसपात अझै आफैँ गर्छिन् । मर्चा बनाउछिन् । उनको आङ्गमा देउता छ । उनी बूढीबोजु हुन् । बोजु उमेरमा हाक्पारे गाउँथिन्  । पालाम गाउँथिन्  । मुन्धुमको कथाहरू भन्थिन् ।

म बोजुलाई गाईको खोले पकाऊनु सघाऊँदै थिए । लठ्ठीले छामछाम-छुमछुम गर्दै ध्वाँसे आइपुग्यो । मान्छेको चाल थाहा पाएर होला अलि परैबाट करायो ।

आमै मर्चा छ ? छ भने एकसयको देऊ न ।

मैले बोजु घरभित्र भएको बताएँ । उसले मलाई चिन्यो कि चिनेन कोनी । तर भन्यो भाई गाउँँका केटाहरूले मलाई सहयोग गर्दिनु पऱ्यो ।

मैले उसलाई के सहयोग नभनी उसले नै भन्यो ।

बूढी माइत गाकी फर्केर आइन् । छोरोलाई पठाए । फोन गरे । आइन् । अरूलाई लाइदिने होलान । ससुरालाई फोन गर्दा हेम्ब्या गाउँँको केटाहरू भेला पारेर तेरो हातखुट्टा भाच्छु अनि मात्रै पठाउँछु भने ।

थैट् अनि आफ्नो बूढी लिनु त आफैँ जानु पर्छ । काँ हामी जान्छ हाऊ । मैले भने ।

हैन भाइ मलाई मार्छन् । यताबाट दस-बीस जना लाठे लिएर जानु पर्ने भो । ज्यानको ग्यारेन्टीलाई ।

त्यतिकैमा बोजु हातमा सिरक बोकेर बाहिर आइन् ।

को हो ? ए! ध्वाँसे हो ? तेरीमा बूढी कुटेर खेदिस् अहिले हामीलाई भन्छस् बज्याँ फटा ।

ऊ केहीछिन् चुप लाग्यो । फेरि मर्चाको कुरा गर्‍यो । बोजुले छैन भनेपछि जसरी आएको थ्यो त्यसरी नै बाटो लाग्यो ।

यो बज्यालाई पनि चुनाव लाग्यो । स्वास्नी कुटेर खेदायो । निकै भो आङ्गबुङ्गमै पो रैछे अझै ।

आजकलको चुनाव पनि कस्तो हुन थाल्यो ? बोजु एकछिन् रोकिइन । आँगनको छेउमा बासँ गाडेर बनाएको लुगा सुकाउनेमा सिरक सुकाऊँदै ।

खै कुन सालको चुनावको कुरा । त्यतिबेला हाम्रो गाउँँलाई बामेको लाल किल्ला भन्थे । त्यतिबेला भोट माग्नु आउनेको ताँती हुन्थ्याे । कोही चुलीडाँडामा माइक लगाएर कराउँथे । कोइ खरिभिरमा । घरघरमा झण्डा गाड्थे । दिउँसोभर कुद्थे । रातभर कुद्थे । मेरो छोरा पनि कुद्थ्यो । हिँडेपछि राती कतिबेला आऊने टुंगो नहुने । आऊँदा आठदस जनाको हुलमा आउने । मकै, जाँड जे-जे छ बाँडेर खाने गर्थे ।

एकचोटी अलिधेरै आएछन् । घरमा भएको ओड्ने धुसा, कमल केहिले पनि पुगेन । ओच्छ्याउनेको नाममा गुन्द्री त थ्यो ओड्ने पुगेन । हामीसँग एउटा साह्रै पुरानो सिरक थियो । खाडी र कपासले बनाएको । मलाई माइतबाट आमाले आफैँ हातले सिलाएर पठाइदिएको । त्यो झण्डै म जत्तिकै पुरानो । कति चोटी फाट्थ्यो । म कहिले मजेत्रोले टालेर सिउँथे कहिले आफ्नो गुन्युको टुक्राले । खोल थिएन । टाल्दा-टाल्दा पूरै टाटेपाटे देखिने । बाहिरको मान्छेलाई देखाउनै लाजमर्दो । मैले अप्ठ्यारो मान्दै त्यही पनि दिए ।

पुरानो भए पनि लास्टै तातो भएर होला भोलिपल्टबाट उनीहरूले त्यो सिरक छाड्नु मानेनन्  । माले सिरक । ए! त्यो माले सिरक खै भन्दाभन्दै पछि गएर एमाले भो ।

गौथलेको देब्रे पट्टिबाट ऊकालो लागे पुगिन्छ अमले । दाहिने पट्टि छ गैरी गाउँँ । गौथले ओडार मुनि चुलीजङ्गल छ । त्यहि जङ्गलकै मुखमा छ गहते कामीको घर ।

गहत जस्तै कालो भएर उसलाई गहते भनेको होइन । बरू थर गहतराज भएकोले सबैले उसलाई गहते भन्छन् । उसकै जेठा छोरा हो ध्वाँसे ।

ध्वाँसेले पहिला आँखा देख्थ्यो । गीत साह्रै मिठो गाउँने । यति मिठो कि ऊ सिक्किममा काम गर्न जाँदा गीत गाएर नै पट्याएर बाहुनी केटी बिहे गर्‍यो । उसकाे अनुसार बाहुनी भएर यस्तो कामी सँग किन आइस् भनेर आफ्नै गाउँकाले उच्काए उसकी स्वास्नीलाई । कुराले नै उचालेपछारे । अरूको कान फुकाइ भन्दा उसकाे माया कम भो । छेऊकै मैनाली जेठोले मुहनी पासोमा पारेर लिएर भाग्यो उसकाे मुटु । स्वास्नीले उसकाे भाग्य र आँखा दुवै लिएर गइ ।

अहिले ऊ आँखा देख्दैन । उसकै भाषामा भन्दा आफ्नो भाको जेथो सक्काएर नेपाल,भारत,इण्डिया सारा संसार उता बम्बई सम्मको डाक्टरलाई देखायो तर आँखा ठिक भएन उसकाे । खै कसरी एउटै लठ्ठीको साहारामा सारा गाउँँ डुल्छ । रूखको घाँस पनि झार्छ । शंका लाग्छ । बा अलि-अलि देख्छ पो कि ?

निकै पछि उसकाे दोस्रो बिहे भयो मागेर । आफू भन्दा दस वर्ष जेठीसँग । गाउँँमा अर्काको पाप भिर्यो भन्ने हल्ला पनि छ । साँचो कुरा भगवान जानुन । कान्छीबाटै उसकाे छोरी र छोरा भए । खै कुन कुरामा गहतेसँग दह्रो लकड्याम पर्यो छोरा बुहारीको । उनीहरू छुट्टिए बसे । देवे दमाइको जग्गाको सानो झुप्रोमा ।

ध्वाँसेलाई सरकारले अपाङ्ग भत्ता दिन्छ । उसकी बूढी अरूकोमा खेतालापात जान्छे । काम सघाँउछे र जसोतसो घर चलाउँछे ।

छोरी स्कुल पढ्दैथी दस कक्षामा । अस्तिको साउनको कुरा । ऊ एक्लै घाँस काट्नु चुलीजङ्गल गएकी थी । ध्वाँसेको घरमास्तिरको बाटो कोकले वेशी निस्किन्छ । त्यही बाटो हिँड्दै चोक्पुर तिरबाट सँगै पढ्ने रामे खरेल आइपुग्यो । ऊ नजिक आयो । निकैबेर गफ गर्‍यो । मौका पाउनासाथ हातपात गर्‍यो । लडायो । मुख थुनेर जबरजस्ती बलात्कार गर्‍यो । ऊ रुँदै कराउँदै रामेले चिथोरेको जीउ बोकेर घर पुगी । सबैलाई भनी । गाउँँ भरि हल्ला भो ।

उसलाई प्रहरी र मानवअधिकारवादीहरूले ऊद्धार गरेर लिएर गए । अझै फर्केकी छैन । रामे भने सात दिन पछि सोति खेतको याक्सामा सुतिराखेको बेला पक्राउ पर्यो ।

यसपाली यस्तो कोरोनाको बेला पनि स्कुलको चुनाव थियो । गाउँँको एउटैमात्र मावि जुन धेरै वर्षदेखि एसएलसीमा निल खाँदै बसेको । धन्न एसईई शुरू भयो र ढुक्क छ ।

मेरी आमा! यस्तो स्कुलको चुनाव पनि के हो त्यस्तो । रातारात स्कुल पढ्नेको लाइन लाग्यो । छोराछोरीको एडमिसन हुनेको त दसै नी हो । कङ्लिबा ठूलीले एक भोटको पन्ध्र हजार पाइ । घरमा बत्ती नहुनेहरूले सित्तैमा सव-मिटर पाए । रम्तेलले भोट बिगार्छ भनेर अघिल्लो दिन सक्दो जाँड ख्वाए । बाइकमा हालेर डाँडा कटाएर छाडेर आए । खुँगीलाई त झन् पारिको होटलमा लगेर रक्सी किन्दिए अनि बाहिरबाट चाबी लाइदेछन् । हग्नुमुत्नु भित्रै नि हाव् । रामेको बाउलाई तेरो छोरोलाई ध्वाँसेको छोरीले फसाइ । निर्दोष छ । हामी निकाल्छौ भन्दै भोट मागेछन् ।

यता ध्वाँसेको छोरीको स्कुलमा नाम काटिएको थिएन । उसले पनि भोट हाल्नु पाउने भो । चुनाव हुन्ु अघि एकजना नेता चामलको बोरा र नुन तेलको पोको बोकेर उसकाे घर गए । उसकाे बूढीलाई फकाए । उसलाई भोट जिताए घरमा सित्तैमा बत्ति आऊने पनि पक्का भो । ध्वाँसे पनि राजी थ्यो तर चुनावको अघिल्लो रात उसकै मामाहरूले एक्कासी ऊठाएर लगे उसलाई । रातभर जाँड ख्वाए । झन धेर पैसाको लोभ देखाए । उसकाे भोट आफ्नो नेतालाई दिनलाई बाचा कसम ख्वाएर केहि पैसा पनि दिएर पठाए ।

अर्को पट्टिकाले यो कुराको सुइँको पाइहाले । शुरूमै देवेको छोरी र ध्वाँसेको बुढीलाई बाइकमा हालेर स्कुल लगे । आफ्नो पक्षमा भोट हाल्नु लगाए । ध्वाँसेको नामको एक भोट उसकी बूढीले हानी । उसले पाएन । रात भरीको जाँडले उसलाई छाडेकै थिएन । त्यसमाथि गाउँ डुलेर थप्दै साँझमा घर पुग्यो । आफ्नो बूढी र छोरालाई त्यही निहुँमा घरबाट कुटेर खेदायो ।

बूढी छोरालाई लिएर माइत गइ । ध्वाँसेको भत्ता आउने बेला भएको थियो । कमाइ खानु केही थिएन । ऊ गाउँँ डुल्थ्यो । जाँड खोजी खान्थ्यो । अरूले दिए भात खान्थ्यो नभा जाँडकै भर ।

मर्चा मागेको एकहप्ता पछिको कुरा हो । कस्ले तेरो बूढी र देवेको छोरीलाई सँगै बाइकमा लगेर भोट हालेको भनेर सुनायो ध्वाँसेलाई । जाँड र रिसले चुर भएर मेरो घर भाड्नेलाई छाड्दिन भन्दै बाटोबाटै कराउनु थाल्यो । देवेको घरमै बाज्नु गयो । रातभरि कम्निष्टलाई सुताएर भोट हाल्नु लाइस् मेरो बूढीलाई भन्दै करायो देवेको छोरीलाई । अति भएपछि देवेको छोरा-छोरी मिलेर ढुस्लुण कुटे ध्वाँसेलाई । पुलिस बोलाए । गाउँँको मान्छे बोलाए । छलफल भो । उसकाे पक्षमा बोल्दिने कोही भएन ।  ध्वाँसेले त्यही हप्ता देवेको घरजग्गा छाड्नु पर्ने भो ।

कुटाइले हो की केले‚ ध्वाँसेलाई ज्वँरो आयो । अरूले मुड्के कोभिड भन्दै जिस्काए । नभन्दै ध्वाँसेलाई गाउँँमै पहिलो कोरोना लागेको पुष्टि भो । गाउँको कोही पनि उसकाे छेउपर्न मानेनन् । उसलाई घरको छेउपर्न पनि दिएनन् । ऊ धर्मरिँदै आएर घरमास्तिरको गौथले ओडारमा बस्यो । देवेको घरमा भएको उसकाे नामको समान लिएर । ऊ निकै साह्रो बिरामी भयो । ऊठ्नै नसक्ने गरी । कुनै नेता पनि उसलाई हेर्न आएनन् ।

मलाई बोलाएर बोजुले तन्नाको गुण्टा र खाने कुराको पोको दिँदै भनिन् ।
ला यो लगेर दे त्यो ध्वाँसेलाई । यो जाडोमा कक्रेरै मर्ने भो विचरा ।

म गुण्टा र खानेकुराको पोको बोकेर गौथले ओडार तिर लागे । गुण्टाभित्र एमाले सिरक थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल मगर

लेखकबाट थप...